फागुन ६, काठमाडौं । आईपीओ निष्कासन गर्ने तयारीमा रहेका ५ ओटा जीवन बीमा कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
उक्त वित्तीय विवरण अनुसार ५ ओटा कम्पनीले कुल रू. ५० करोड २१ लाख नाफा कमाएका हुन् । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने ६ दशमलव ८७ प्रतिशत वृद्धि भएको हो ।
५ ओटा कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ४६ करोड ९८ लाख नाफा कमाएको थिए । यी ५ ओटा कम्पनीमध्ये सबैभन्दा बढी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रू. १८ करोड ५ लाख नाफा कमाएको हो ।
यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने १ दशमलव ४ प्रतिशत वृद्धि भएको हो । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १७ करोड ७९ लाख नाफा कमाएको थियो । त्यसैगरी यस कम्पनीको चालू आवको दोस्रो त्रैमाससम्ममा जीवन बीमा कोषमा रू. ३ अर्ब ६१ करोड जम्मा भएको छ ।
सो अवधिमा कम्पनीले कुल रू. २ अर्ब ५ करोड बीमाशुल्क आर्जन गरेको हो । त्यसैगरी यि ५ ओटा कम्पनीमध्ये सबैभन्दा कम नाफा महालक्ष्मी लक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले रू. ५ करोड ३० लाख कमाएको हो । यी ५ ओटा कम्पनीमध्ये सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी रू. २ अर्ब ४८ करोड कुल बीमाशुल्क आर्जन गरेको छ ।
त्यसैगरी, दोस्रोमा रिलायबल नेपाल लाइफले कुल रू. २ अर्ब ५ करोड कुल बीमाशुल्क आर्जन गरेको हो । प्रतिशतका अधारमा भने सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४४ दशमलव २३ प्रतिशत वृद्धि भएको हो ।
कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ५ करोड ५६ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ८ करोड २ लाख पुगेको हो ।
५ ओटा कम्पनीले कुल ३ करोड १५ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेका छन् । यी ५ ओटा कम्पनीमध्ये दुई ओटा कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा (सेबोन) मा आईपीओ निष्कासन गर्नका लागि निवेदन दिइसकेका छन् बाँकी कम्पनीले पनि आवश्यक प्रक्रिया पूरा गरेर निवेदन दिने तयारीमा रहेका छन् ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका छन् । रिलायबल नेपाल लाइफ कम्पनीले रू. ११२ प्रिमियम थप गरी प्रतिकित्ता रू. २१२ मा ६० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । त्यसैगरी, आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएको हो ।
यी दुवै कम्पनीको विक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ । यी दुई कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर बोर्डबाट स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछन् ।
सोत : कम्पनीद्वारा प्रकाशित वित्तीय विवरण