रौतहट। धान, मकै, गहुँ, तोरी, मुसुरोजस्ता अन्नबालीको उत्पादन गर्दै आएका चन्द्रपुर नगरपालिका–३ गैंडाटारका कृषक पछिल्लो समय केराखेतीतर्फ आकर्षित हुन थालेका छन् ।
केराखेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका कृषकले अन्नबाली लगाउन कम गरेका हुन् । अन्नबाली उत्पादनका लागि लगानी र परिश्रम दुवै बढी लाग्ने, तर उत्पादन अपेक्षित रूपमा कम हुने गरेकाले यहाँका कृषकले केराखेतीलाई प्राथमिकता दिन थालेका हुन् ।
गैंडाटारका कृषक दिपक श्रेष्ठले एउटा केराको बोटमा एकपटकमा ८० देखि १०० ओटा केरा उत्पादन हुने र जुन प्रतिगोटा ५ देखि ६ रुपैयाँसम्ममा विक्री हुने गरेको बताए । कठ्ठाको ६ हजार रुपैयाँमा जग्गा भाडामा लिएर व्यावसायिक केराखेती गरेका उनले अन्नबाली भन्दा राम्रो आम्दानी गरेको बताए ।
केरा उत्पादन गरेर यहाँका कृषकले वर्षमा १० देखि १५ लाख रुपैयाँसम्म कमाउने गरेको उनको भनाइ छ । एकपटक उत्पादन नहुन्जेल मेहनत र लगानी गर्नुपर्ने र उत्पादन हुन थालेपछि धेरै लगानी गर्नु नपर्ने उनले बताए । गैंडाटार क्षेत्रमा मात्र २५ बिगाहाभन्दा बढी क्षेत्रफलमा कृषकले केराखेती गर्दै आएका छन् । बजारमा केराको माग उच्च रहेको र केरा व्यापारी खेतसम्म खरीदका लागि आउने गरेकाले बजारीकरणमा कुनै समस्या नरहेको उनीहरू बताउँछन् ।
वैदेशिक रोजगारबाट फर्किएका युवासमेत केराखेतीमा लागेका छन् । केराखेतीतर्फ कृषकको आकर्षण बढे पनि स्थानीय तहबाट सहयोग प्राप्त नभएको कृषकको गुनासो छ । गाउँका अधिकांश कृषकले केराखेती नै गरेकाले आगामी दिनमा गैंडाटारलाई केराको पकेट क्षेत्रको रूपमा विकास गर्ने योजना रहेको चन्द्रपुर नगरपालिकाले जानकारी दिएको छ । कृषकलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि नगरपालिकाले विभिन्न योजना ल्याउने बताएको छ ।
व्यावसायिक रूपमा केराखेती हुँदै आए पनि कृषक कृषि बीमा लगायतका सुविधाको बारेमा जानकार नरहेको वडाध्यक्ष बोधनाथ देवकोटाले बताए । कृषि बीमालाई प्रोत्साहन गर्ने उद्देश्यले सचेतना कार्यक्रम गर्ने योजना रहेको उनको भनाइ छ ।
असार २५, कास्की । पोखरा महानगरपालिका–१६ अर्मलाको डिहीमा औषधीय गुणी टिमुरले फल दिन थालेको छ । चार वर्षअघि परीक्षणका लागि रोपिएका बिरुवाले यसै वर्षदेखि फल दिन थालेपछि यहाँका कृषक टिमुरको व्यावसायिक खेतीतर्फ आकर्षित बनेका हुन् ।
परम्परागत मकै र कोदो खेती गर्दा उत्पादनभन्दा लागत बढी हुने र प्राकृतिक प्रकोपका साथै जंगली जनावरले समेत नोक्सान गर्ने हुँदा लामो समयदेखि बाँझै रहेको सो क्षेत्रको जमीनमा यतिखेर टिमुरसहित विभिन्न जातका नगदेबालीले व्यवसायिकता पाउन थालेको हो ।
घरको छेउको बारीमा चार वर्षअघि लगाइएका टिमुरका पाँचओटा बिरुवाले गत वर्षदेखि उत्पादन दिन शुरु गरेको लालशोभा गुरुङले बताए । उनका अनुसार पहिलो वर्ष फाट्टफुट्ट फल फले पनि यस वर्ष भने लटरम्म फलेका छन् ।
कृषि वन कार्यक्रम पकेट क्षेत्र अर्मला डिही कृषक समूहका अध्यक्षसमेत रहेकी उनका अनुसार डिभिजन वन कार्यालय कास्कीले निःशुल्क उपलब्ध गराएको बिरुवाले राम्रो फल दिन थालेपछि टिमुर खेतीप्रति यतिखेर यस क्षेत्रका बासिन्दाको आकर्षण बढेको हो ।
‘स्वास्थ्यबर्द्धक एवम् औषधीय गुण भएको टिमुर खेतीतर्फ युवा वर्गको आकर्षण बढेको देख्दा असाध्यै खुशी लागेको छ’, उनले भने, ‘युवाको उत्साहलाई जीवित राख्न सबै क्षेत्रको सहयोग अपरिहार्य छ ।’ कुरदेखि डिही, लप्सीबोट (रघु) हुँदै पात्लेसम्म ३२ घरपरिवारको ५०० रोपनी निजी जग्गामा प्रत्येक वर्ष टिमुरसहित विभिन्न प्रजातिका विरुवा क्रमिक रोप्दै आएको उल्लेख गर्दै उनले साविकको अर्मलाको पूरै क्षेत्रलाई कृषि वनमा परिणत गर्ने लक्ष्य समूहले लिएको बताए ।
नेपाल सरकारको राष्ट्रिय वृक्षरोपण १० वर्षे रणनीतिअनुसार २०७३ सालदेखि डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा शुरु गरिएको सो अभियानअन्तर्गत हालसम्म १२ हजारभन्दा बढी टिमुरका बिरुवा रोपिएको बताउँदै उनले यस वर्ष मात्र एक हजार ३०० बिरुवा रोप्ने अभियानको थालनी भएको जानकारी दिए ।
लामो समयदेखि बाझै रहेका कारण झाडी र जङ्गलमा परिणत भएको सात रोपनी जग्गामा यस वर्ष १५० ओटा टिमुरका विरुवा रोपेको स्थानीय युवा किरण गुरुङले जानकारी दिए । मसलाका लागि प्रयोग हुने टिमुरको माग बजारमा उच्च रहेकोले व्यावसायिकरूपले खेती शुरु गरिएको उनको भनाइ छ । उनले थोरै लगानी र कम मिहिनेतले राम्रो आम्दानी हुने देखेर उक्त खेतीतर्फ आकर्षण बढेको बताए ।
स्थानीय प्रजातिका कटुस, चिलाउने, उत्तिसलगायतका बोटसहित झाडी रहेको उक्त जग्गामा अलैँची, कफीलगायतका अन्य बालीसमेत लगाउने तयारी भइरहेको उनको भनाइ छ ।
अर्का युवा शंकर गुरुङले सात रोपनी जग्गामा टिमुरका १५० सहित ५०० भन्दा बढी अलैँची, कफी, किवी, एभोकार्डोलगायतका बिरुवा रोपेका छन् । सोही जग्गामा अन्य आयआर्जन गर्न सकिने नवीनतम बिरुवा लगाउने सोचमा रहेको उनी बताउँछन् ।
गाउँमा आफ्नो जग्गामा खेती गर्नभन्दा अर्मलाको फाँटमा अरुको खेत अधियाँ रोप्दा फाइदा हुने हुँदा विगत लामो समयदेखि बाँझिएको साढे चार रोपनी निजी जग्गामा यसै वर्ष टिमुरका ३०० बिरुवा रोपेको लप्सीबोट (रघु) का बलबहादुर विक र भक्तबहादुर विकले बताए ।
डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत केदार बरालका अनुसार राष्ट्रिय वृक्षरोपण दशक अभियानअन्तर्गत अर्मला क्षेत्रलाई कृषि वनमा परिणत गर्ने लक्ष्यका साथ प्रत्येक वर्ष विभिन्न आयमूलक जातका बिरुवा थप्दै गएको जानकारी दिए ।
सो क्षेत्रमा म्याग्दी जिल्लाबाट खरीद गरिएका टिमुरका बिरुवा वितरण गरिएको हो । बिरुवा खरीद र ढुवानीसहित खाल्टा खन्नेसमेत कार्यालयबाट व्यवस्था गरिएको छ । शुरुमा रोपिएका बिरुवाले फल दिन थालेको र आगामी केही वर्षभित्र स्थानीय कृषकले कृषि वनको माध्यमबाट राम्रो आम्दानी लिने उनको विश्वास छ । टिमुरको बजार मूल्य हाल प्रतिकिलो रू. तीन हजार ५०० सम्म रहेको छ ।
समुद्री सतहबाट एक हजार १०० देखि एक हजार ८०० मिटरको उचाइमा रहेको साविक अर्मलाको सो क्षेत्रमा हालसम्म ३५ हजार अलैँची, १२ हजार टिमुर, १० हजार कफी, दुई हजार ५०० एभोकार्डो, १०० किवी, दुई हजार अम्बा, एक हजार आँप, ५०० लप्सी, २०० कुरिलो र ठूलो परिमाणमा राईखनियो, इपिलइपिल, पाउलोनियालगायतका डालेघाँंसका विरुवा रोपिएको कृषि वन समूहका सचिव जितबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार वन कार्यालयले आवश्यक विरुवा निःशुल्क उपलब्ध गराउनुका साथै खाल्टा खन्नका लागि समूहलाई हालसम्म रू. तीन लाख १५ हजार उपलब्ध गराइसकेको छ । वृक्षरोपणदेखि बिरुवाको संरक्षण तथा उत्पादित वस्तुको उपयोगका बारेमा सम्बन्धित निकायले कृषकलाई समयमै तालीमको व्यवस्था गर्नुपर्नेमा उनको जोड रहेको छ ।
दुईदेखि छ मिटरसम्म अग्लो बोट हुने झाडी एवं सदाबहार प्रजातिको टिमुरको फल प्रशोधन गरेर तेल निकालिन्छ । टिमुरको तेल विशेषगरी दाँत दुख्दा निको पार्न र आयुर्वेदिक टुथपेष्ट बनाउने काममा प्रयोग गरिन्छ । साथै यसको प्रयोग अत्तर, साबुन र स्याम्पुजस्ता वासनादार सामग्री उत्पादनमा पनि गरिन्छ । युरोपेली बजारमा प्रत्येक वर्ष यसको माग उच्च रहँदै आएको छ । रासस
असार ३, पाल्पा । कुनै समय घरआँगनका डिल, वरपर, करेसाबारी, बगैंचामा, सोख र सुन्दरताका लागि मात्रै लगाइने सूर्यमुखी फूल अहिले भने किसानको खेती भएको छ ।
यसलाई कृषकले व्यावसायीकरण गर्ने गरेका छन् । त्यसैले अहिले घरआँगनमा गमलामा देखिने सूर्यमुखी फूल अब आम्दानीको माध्यम बनेको छ । पाल्पाका कृषकले सूर्यमुखीको खेती नै थालेका छन् ।
मकै बालीको तुलनामा कम लगानी, मेहनत तर आम्दानीका हिसाबले दोब्बर बढी हुने भएपछि व्यावसायिकतामा पाल्पाली कृषकको मोह बढेको पाइएको छ । बजारमा तेलको मूल्यवृद्धि हुँदै गएको अवस्थामा यहाँका कृषकले आयआर्जनका निम्ति सूर्यमुखीलाई प्राथमिकता दिन थालेको पाइन्छ ।
रामपुर नगपालिका–५ बस्ने युवा बलबहादुर रानाको राम्रै मकै बाली उत्पादन हुने खेत यतिखेर सूर्यमुखी फूलले ढकमक्क छ । उनले घर वरपर फूलेको सूर्यमुखी देख्दा काममा काम गर्ने जाँगर बढेर आएको भन्दै अहिले खेतभरी जताततै सूर्यमुखी फूलेको बताए ।
अहिले उनको यो सूर्यमुखी खेतीमा हेर्न आउने, फूलको बास्नामाा रमाउने, फूलसँगै रमाउँदै तस्बिर खिच्ने र सामाजिक सञ्जालहरुमा फोटो पोष्ट गर्ने, टिकटक बनाउने, भिडियो बनाउनेको निकै चहलपहल देखिन्छ ।
यहाँ फुल्दै गरेको सूर्यमुखीसँग बालबालिकादेखि युवायुवती, वृद्धवृद्धाहरू सबै उमेर समूहका व्यक्ति फूलसँग रमाउँदै फोटो खिचाउने र सामाजिक सञ्जालमा छरपस्ट राख्नेको होडबाजी नै छ । रामपुरको मुख्य व्यापारिक केन्द्र बेझाड बजार जाने सडक छेउछाउमा फूलेको सूर्यमुखीको लोभलाग्दो दृश्य देखेपछि सवारी साधनमा यात्रा गर्ने यात्रु पनि एकछिन गाडी रोकेर फोटो खिचाएर मात्रै जाने गर्दछन् ।
अहिले यहाँ दैनिक ३०० भन्दा बढीको हाराहारीमा फूलमा आएर फोटो खिचाउने, टिकटक बनाउने, भिडियो बनाउने गरेको कृषक प्रभु श्रेष्ठ बताउँछन् ।
उनले मकै बालीको उत्पादन लिंदै आएको पाँच रोपनी खेतमा यस वर्ष मकै बाली लगाउन छाडेर सूर्यमुखी लगाएका छन् ।
कृषि ज्ञान केन्द्रको ६ लाख रुपैयाँ आर्थिक सहयोगमा रामपुर नगरपालिकाको समन्वयमा एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत वडा नं ५ को बेझाड खेतमा करीब २०० रोपनी क्षेत्रफलमा सूर्यमुखी लगाइएको छ । यी जग्गा पहिला भने यतिखेर मकैले भरिएका हुन्थे ।
आम्दानी लिन र तेलजन्य पदार्थको उपभोगका लागि कृषकले सूर्यमुखीलाई व्यावसायीकरण गरेका हुन् । अनुदानमा बीउ तथा सिंचाइका लागि कुलो मर्मत तथा पुनःनिर्माणमा सहयोग पाएपछि उत्साहका साथ कृषक सूर्यमुखी खेतीमा लागेका छन् । प्रतिरोपनी चार मुरी मकै उत्पादन हुने खेतमा अहिले पहेंलै सूर्यमुखी फुल्दा मनका पिरहरु खुशीमा परिणत भएको कृष्णकान्त पौडेल बताउँछन्।
तेलजज्य पदार्थको खपत कम गराउन र मकै बालीको तुलनामा यसबाटै धेरै आम्दानी लिन सकिने, मेहनत र लगानी पनि कम पर्ने भएकाले सूर्यमुखी खेतीलाई व्यावसायिकरूपमा रोजेको कृषक दुर्गादेवी शर्मा बताउँछिन् ।
मकै बालीको तुलनामा सूर्यमुखीबाट धेरै आम्दानी लिन पाइने, लगानी र मेहनत कम पर्ने, स्वच्छ तेल उपभोग गर्न पाइने भएपछि उनीहरु व्यावसायिक तवरले नै यस खेतितर्फ आकर्षित भएका हुन् ।
रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले परीक्षणका रूपमा लगाइएको सूर्यमुखी सोचेभन्दा राम्रो भएको बताउँदै कृषकले यसलाई निरन्तरता दिन सकेमा बाहिरबाट आउने तेलहन बाली कम गर्न सकिने बताउँछन् ।
रामपुरमा तेलजन्य पदार्थको उत्पादन बढाउन वडा नं ५ ले कोइलीटारीमा तोरी खेती र बेझाड खेतमा पकेट कार्यक्रमअन्तर्गत सूर्यमुखी खेती शुरु गरेको वडाध्यक्ष हिमाल मल्लले बताए ।
कृषि ज्ञानकेन्द्र पाल्पाले यस आर्थिक वर्षमा रामपुरको बेझाड खेतलाई सूर्यमुखीको उपयुक्त पकेट क्षेत्रका रुपमा छनोट गरी खेती शुरु गरेको हो । ज्ञानकेन्द्रका अनुसार केन्द्र सरकारको बजेट र कार्यक्रमलाई स्थानीय सरकारको समन्वयमा रामपुरमा सूर्यमुखीको सम्भावना देखेर पकेट कार्यक्रम शुरु गरिएको छ ।
दाना झार्न अप्ठ्यारो हुने भएको हुदा त्यसको लागि कृषकले मेसिनको माग गरेको खण्डमा समाधानको पहल गर्ने कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउँछन्। कृषकले क्षेत्र विस्तार गर्न चाहेमा सूर्यमुखी खेतीमा ज्ञान केन्द्रले लगानी गर्ने उनको भनाइ छ ।
यस वर्ष रामपुर नगरपालिकासँगै निस्दी गाउँपालिका, रम्भा गाउँपालिका, पूर्वखोला, माथागढी गाउँपालिका लगायतका क्षेत्रमा सूर्यमुखी खेती गरिएको ज्ञान केन्द्रले बताएको छ ।
एक बालीबाट तेब्बर उब्जनी लिन सकिने हुँदा पनि यस क्षेत्रमा कृषकको आकर्षण यसमा बढेको छ । सूर्यमुखी फूलको उत्पादित बियाँबाट तेल उत्पादन गरी मनग्य आम्दानी लिन सकिन्छ भने डाँठलाई दाउराका लागि प्रयोग गर्न सकिन्छ ।
सूर्यमुखी फूललाई बाह्रै महिना फूलाउन सकिन्छ । फूलका कारण मौरीलाई चरन हुने र अर्कातर्फ बियाँबाट तेल आउने भएकाले व्यावसायिकतातर्फ कृषक लागेका हुन् ।
खेतबारी जहाँ पानी जाँदैन त्यहाँ यसको खेती गर्न सकिने र बाह्रै महीना फूल फुल्ने भएकाले यसको आम्दानी पनि राम्रै लिन सकिने अनुभव यहाँका किसानको छ । यहाँ अरु किसानले पनि मकै छाडेर सूर्यमुखी फूलको खेती गर्ने सोच बनाएका छन् । रासस
आर्थिक वर्ष ०७३/७४ मा २ सय ६५ मेट्रिकटन केरा उत्पादन थोरै लगानी र कम श्रममै राम्रो आम्दानी हुने भएपछि रुकुमका कृषक केरा खेतीमा आकर्षित हुन थालेका छन् । जिल्लाका कृषकहरूले...पूरा पढ्नुहोस् »