चितवन । चितवनको रत्ननगर नगरपालिकाले किसानलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान दिएको छ । प्रांगारिक खेतीप्रति किसानलाई जागरुक बढाउन नगरपालिकाले अनुदान दिन सुरु गरेको हो ।
मलमा अनुदान दिन नगरपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेको छ । नगर क्षेत्रमा एक टेलर मलको ३ हजारदेखि साढे ३ हजारसम्म पर्ने गरेको छ । नगरपालिकाले एक टेलर मल खरिदमा १ हजार ५०० उपलब्ध गराउनेछ । एक बिघा जग्गा क्षेत्रफल हुने किसानले चार टेलरको अनुदान पाउनेछन् । एक बिघा जग्गाका लागि गोबर मल खरिद गर्न किसानले ६ हजार अनुदान रकम पाउने नगरप्रमुख नारायण वनले बताए ।
नगरपालिकामा सूचीकृत भएका पशुपालन फार्मबाट किसानले गोबर मल खरिद गर्नुपर्नेछ । त्यसका लागि अहिलेसम्म १० वटा पशुपालन फार्म सूचीकृत भएका छन् । वनले रासायनिक मलको प्रयोग घटाउन गोबर मल खरिदमा अनुदान दिइएको बताए । उनले भने, ‘हामीले किसानलाई अनुदानमा गाई दिएका छौं । पशुपालनलाई कृषिसँग जोडेर उत्पादन बढाउने हाम्रो लक्ष्य हो ।’
अन्नबालीमा रासायनिक मलको प्रयोगका कारण प्राणघातक रोगको सिकार हुनुपरेको भन्दै अर्गानिक उत्पादन गरेर स्वास्थ्य सुरक्षा गर्ने अर्को उद्देश्य रहेको उनको भनाइ छ ।
नगर उपप्रमुख विमला दुवाडीले बाली लगाउने बेला हुने मलको हाहाकारबाट किसानलाई मुक्ति दिलाउन गोबर मलमा अनुदान दिइएको जानकारी दिइन् । उनले भनिन्, ‘एकातिर गोबर नबिक्ने, अर्कातर्फ खेती गर्ने किसानले मल नपाउने समस्या छ, यसले समस्या समाधान हुन्छ ।’ नगरपालिकाले कृषि क्षेत्रका विविध शीर्षकमा अनुदान दिँदै आएको छ । यसअघि गाई खरिद, दूध, मेसेरेनरी, सिँचाइलगायतमा अनुदान दिँदै आएको छ । रासस