फागुन १८, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको पूँजीबजारको क्षेत्रमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका छन् ।
बुधवार आयोजित पूँजीबजारको बर्तमान अवस्था सम्बन्धि छलफल कार्यक्रममा उनले ५० लाख लगानीकर्ताका समस्या समाधान तिर लाग्न निर्देशन दिएका हुन् ।
पूँजीबजारभित्र धेरै समस्या रहेको भन्दै पूँजी निर्माण कसरी गर्न सकिन्छ त्यतातिर लाग्न आवश्यक रहेको पनि उनले बताए । शेयर बजारमा इन्साइडर ट्रेडिङ धेरै हुने गरेको भन्दै अर्थमन्त्री शर्माले यसलाई रोक्न आवश्यक रहेको बताए । अन्य मुलुकमा आज किनेर आजै विक्री गर्न सकिने प्रणाली रहेको भन्दै उनले नेपाली पूँजीबजारमा पनि यो भित्र्याउन पर्ने बताए ।
उनले ११ लाख सक्रिय लगानीकर्ता र ५० लाख बढी डिम्याट प्रयोगकर्ता रहेको नेपालको पूँजी बजारमा लगानीकर्ताको हितका लागि पूँजीबजार विकास गर्नु आजको आवश्यकता रहेको बताए ।
कार्यक्रममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र नेपाल धितोपत्र बोर्डका नवनियुक्त प्रमुखहरुको पनि उपस्थिति रहेको थियो ।
उनले नयाँ आएका नियामक प्रमुखहरुलाई ईंकित गर्दै भने, ‘म केही भन्न चाहन्छु। मोबाइल एपबाटै कारोबार हुने व्यवस्था मिलाउनु पर्छ, नबुझिकन कारोबार गर्नेलाई शिक्षित गराउँदै सर्ट सेलिङको व्यवस्था गराउनु पर्छ।’
अर्थमन्त्रीले सेलटमेन्ट फन्ड बनाउन निर्देशन दिएका छन् भने भविष्यलाई हेरेर लगानी गर्ने परिपाटी नभएको पनि बताएका छन्। उनले बुक बिल्डिङ प्रणालीमा अक्सन गर्ने व्यवस्था नभएको भन्दै त्यसको व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन्।