‘टीएमएस’मा विकल्प नहुँदा मर्का पर्‍यो : ब्रोकर

काठमाडौं। दोस्रो बजारमा धितोपत्र किनबेचको ‘ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस)’ मा एउटै कम्पनी मात्र हुँदा नयाँ र पुराना दुवै धितोपत्र दलाल (ब्रोकर) कम्पनीले मर्का परेको गुनासो गरेका छन् । विकल्प नहुँदा टीएमएसमा उनीहरू एउटै कम्पनीमा निर्भर छन् । टीएमएस प्रयोग गरी ब्रोकर र लगानीकर्ताले इन्टरनेटमार्फत धितोपत्र खरीदविक्री गर्न सक्छन् । टीएमएसबाट ब्रोकरले लगानीकर्ताको खाता खोल्ने, कारोबार जोखिम व्यवस्थापन, पोर्टफोलियो व्यवस्थापनलगायत काम गर्छन् । लगानीकर्ताले टीएमएसमार्फत शेयर खरीदविक्रीको आदेश दिने, रकम ट्रान्सफर गर्नेलगायत काम आफै गर्न सक्छन् ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)को टीएमएस ५० ओटा पुराना ब्रोकर, नागरिक स्टक डिलर र कारोबारको अनुमति पाएका नयाँ ब्रोकरले चलाउँदै आएका छन् । नयाँ ब्रोकरसँग विकल्प नहुँदा उनीहरूले पनि त्यही टीएमएस चलाइरहेको अवस्था छ । नेप्सेको टीएमएस वाइकोले निर्माण गरेको हो । मर्मतसम्भार पनि उसैले गर्दै आएको छ ।  नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्सको लागि आवेदन दिने ४६ कम्पनीमध्ये ३७ लाई ब्रोकर लाइसेन्स दिइसकेको छ । तीमध्ये केही ब्रोकरले नेप्सेबाट अनुमति लिएर कारोबार शुरू गरिसकेका छन् । उनीहरू नेप्सेकै टीएमएस चलाउन बाध्य छन् ।  नेपालमा अहिले टीएमएसमा वाइकोको एकछत्र राज भएको बजारका जानकार बताउँछन् । बजारमा एउटै कम्पनी हाबी हुँदा पुराना ब्रोकरले पनि अर्को टीएमएस प्रयोग गर्न नसकेको बताइन्छ ।  बोर्डले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७९ (तेस्रो संशोधन) लागू गरेसँगै ब्रोकरलाई छुट्टै टीएमएस सञ्चालन गर्ने बाटो खुलेको छ । पुराना ब्रोकरले छुट्टै टीएमएस ल्याउन प्रक्रिया अघि बढाइसकेको बताइएको छ ।  पुराना ३३ ब्रोकरले श्रीलंकाको आइरनवान कम्पनीको, सनी सेक्युरिटिजले भारतीय टाटा कन्सल्टेन्सी सर्भिस लिमिटेडको र नासा सेक्युरिटिजले भारतीय डिअन ग्लोबलको टीएमएस प्रयोग गर्न लागेका हुन् । बाँकी १४ ब्रोकरले अहिले सञ्चालनमा रहेको नेप्सेकै टीएमएस प्रयोग गर्नेछन् ।  स्टक ब्रोकर्स एशोसिएशन अफ नेपाल (एसबान) का अध्यक्ष धर्मराज सापकोटा आफूहरू नयाँ टीएमएस ल्याउन वर्षौंदेखि तयारी अवस्थामा रहेको बताउँछन् । ‘हामीले १ वर्षअघि नै सबै तयारी पूरा गरिसकेकाले २०७९ साउनबाटै नयाँ टीएमएस ल्याउने घोषणा गरेका थियौं,’ उनले भने, ‘त्यसका लागि हामीले छुट्टै कम्पनी खडा गरेका थियौं । तर, नियामक निकायले एप्लिकेसन प्रोग्राम इन्टरफेस (एपीआई) पोलिसीमा अनेक प्रावधान राखेर ब्रोकरहरूले नयाँ टीएमएस ल्याउने उद्देश्यले खोलेको कम्पनी क्यापटेकको प्रक्रिया नै रोक्ने काम भयो । नयाँ टीएमएसका लागि क्यापटेक नै उपयुक्त माध्यम थियो ।’  क्यापटेकबाट नयाँ टीएमएस ल्याउने बाटो बन्द भएसँगै अहिले पुराना ब्रोकरले स्थानीय प्रतिनिधि डिजिहबमार्फत श्रीलंकाको आइरनवान कम्पनीले बनाएको टीएमएस ल्याउने प्रक्रिया अघि बढाएका छन् ।  एसबानका एक सदस्यले नेप्से र वाइकोले मिलेर विभिन्न बहाना बनाई विगतदेखि नै नयाँ टीएमएस ल्याउने प्रक्रिया लम्ब्याएको आरोप लगाए । ‘अहिलेसम्म नयाँ टीएमएस सञ्चालनमा आइसक्थ्यो । तर, कहिले डेटा माइग्रेसन त कहिले पोलिसी, कहिले अडिटको नाममा प्रक्रिया लम्ब्याउने काम भएको छ,’ उनले भने, ‘हामीले ल्याउन लागेको नयाँ टीएमएस वाइकोले बनाएको भन्दा राम्रो भएकाले अहिले प्रयोगमा आएको भए नयाँ ब्रोकरले त्यही नै प्रयोग गर्थे । तर, नियतवस स्वार्थ समूहहरूले प्रक्रिया लम्ब्याइरहेका छन् ।’ नेप्सेका एक उच्च अधिकारीले ‘डेटा माइग्रेसन’ र ‘अडिट’का कारण परीक्षण गर्नु पर्दा नयाँ टीएमएसको काम केही महीना ढिलो भए पनि अहिले उक्त प्रक्रिया द्रुत गतिमा अघि बढेको बताए । ‘सर्भर कनेक्सनको काम भइसकेको छ । अब टेस्टिङपछि केही सातामै नयाँ टीएमएस सञ्चालनमा आउँछ,’ उनले भने ।  न्यू स्टक ब्रोकर एशोसिएशन नेपालका अध्यक्ष सागर ढकाल धेरैजसो नयाँ ब्रोकरको मनसाय वाइकोको टीएमएस नै चलाउने रहेको बताउँछन् । ‘नयाँ टीएमएसबारे हाम्रो एशोसिएशनमा कुरा पनि उठेको थियो । तर, अहिले नै ठूलो लगानी गरेर नयाँ ब्रोकरले नयाँ टीएमएस ल्याउने अवस्था छैन । अन्य विकल्प नभएका कारण हामीले वाइकोकै टीएमएस चलाइरहेका छौं,’ उनले भने, ‘तर, बैंकहरूमा एनसीएचएलझैं ब्रोकरहरूको पनि एउटै सिस्टम भने हुनुपर्छ । ’ टीएमएसमा एउटै कम्पनीको एकछत्र राज हुँदा नयाँ ब्रोकरबाट वाइकोले चर्को शुल्क असुलेको उनीहरूको गुनासो छ । वाइकोले नयाँ ब्रोकरबाट ‘अनबोर्डिङ कस्ट’को नाममा ५ लाख रुपैयाँ लिएको पाइएको छ । उक्त शुल्क पुराना ब्रोकरहरूले तिर्नुपरेको थिएन । यस्तै ‘ब्याक अफिस’को लागि नयाँ ब्रोकरबाट वाइकोले प्रतिब्रोकर ४० हजार रुपैयाँभन्दा बढी शुल्क लिएको छ । पुराना ब्रोकरले वाइकोलाई वार्षिक ८० हजार रुपैयाँ तिर्दै आएकोमा नयाँबाट १ लाख २० हजार रुपैयाँ असुलेको पाइएको छ ।  वाइको प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपेश प्रधान वाइकोले नयाँ टीएमएस ल्याउने कम्पनीका साथै नेप्सेसँग प्राविधिक सहकार्य गरिरहेको बताउँछन् । प्रधानले नयाँ ब्रोकर कम्पनीसँग बढी शुल्क नलिएको दाबी गरे । ‘पहिला नेप्सेले प्रोजेक्टका रूपमा काम गरेकाले त्यसबेला ब्रोकर कम्पनीलाई अनबोर्डिङ कस्ट लागेको थिएन,’ उनले भने, ‘अहिले हामीले सेटअप र इन्सटल गरेको शुल्क मात्र लिएका छौ ।’  यस्तै ब्रोकर ‘ब्याक अफिस’का लागि पनि ब्रोकरबाट लागेको शुल्क लिएको उनले बताए । ‘हामीले हार्डवेयर, सफ्टवेयर, जनशक्तिलगायतको शुल्क लिनुपर्छ । पुरानोलाई लिएको थिएन भनेर अहिले शुल्क नलिने भन्ने हुँदैन,’ उनले थपे । 

सम्बन्धित सामग्री

‘नयाँ ब्रोकर आएपछि बजार प्रतिस्पर्धात्मक भएको छ’

नयाँ ब्रोकर सञ्चालनमा आएपछि सेयर बजार प्रतिस्पर्धात्मक भएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बताएका छन् । नयाँ ब्रोकर कम्पनीको संगठन धितोपत्र ब्रोकर एसोसिएसन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ ब्रोकरको...

थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स

नेपाल धितोपत्र बोर्डले थप ११ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ । बोर्डको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ११ वटा ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको हो । योेसँगै बोर्डबाट धितोपत्र कारोबार गर्नका लागि लाइसेन्स...

नयाँ ब्रोकर लाइसेन्स फेरि अन्योलमा

धितोपत्रको नयाँ ब्रोकर लाइसेन्स प्रक्रिया फेरि अन्योलमा परेको छ । संसद्को अर्थ समितिले सोमबार सरकारलाई ब्रोकर लाइसेन्ससम्बन्धी सम्पूर्ण प्रक्रिया तत्काललाई स्थगन गर्न निर्देशन दिएको छ । ४३ कम्पनीलाई आशयपत्र र १८ कम्पनीलाई...

नयाँ ब्रोकर लाइसेन्समा आरोप–प्रत्यारोप

नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रियालाई तीव्रता दिएपछि सञ्चालनमा रहेका ब्रोकर कम्पनीले विरोध जनाएका छन् । उनीहरूले नयाँ ब्रोकर लाइसेन्स वितरणमा भ्रष्टाचार भएको भन्दै त्यसलाई रोक्न मागसमेत गरेका छन् ।  बोर्डले...

समयमै विवरण नबुझाउने ३ सेयर ब्रोकर कारबाहीमा

२६ पुस, काठमाडौं । नेपाल धितोपत्र बोर्डले समयमा विवरण नबुझाउने ३ वटा सेयर ब्रोकर पनि कम्पनीलाई कारबाही गरेको छ । सनि सेक्युरिटिज (ब्रोकर-४२) , इम्पेरियल सेक्युरिटिज (ब्रोकर-४५) र त्रिशूल सेक्युरिटिज कम्पनी (ब्रोकर-२९) कारबाहीमा परेका हुन् । नियामकीय व्यवस्थालाई अटेर गर्दै बोर्डले मागेका विवरण तथा प्रतिवेदनसहित नियमित रुपमा त्रैमासिक आर्थिक प्रतिवेदन पेश नगर्ने तीन वटा कम्पनी […]

आफ्नै टिएमएस चलाउन ३४ ब्रोकर तयार

३४ ब्रोकर कम्पनीहरू आफ्नै टिएमएस चलाउन तयार भएका छन् । बाँकी १६ ब्रोकर कम्पनीले भने नेपाल स्टक एक्सचेन्ज (नेप्से)कै टिएमएस चलाउने नेपाल ब्रोकर एसोसिएसनले जनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार ३३ ब्रोकरले...

४५ कम्पनीले मागे ब्रोकर लाइसेन्स

नयाँ ब्रोकर कम्पनीका लागि ४५ वटा आवेदन परेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सूचना अधिकृत मुराहरि पराजुलीका अनुसार नयाँ ब्रोकर कम्पनीका लागि ४५ वटा आवेदन परेकोमा ४५ वटा नै धितोपत्र बोर्ड समक्ष सिफारिस गरिएको छ ।सोमबार आवेदन दिने अन्तिम दिनसम्म नयाँ ब्रोकर कम्पनी खोल्न ४५ वटा आवेदन परेकोमा नेप्सेले सबै आवेदन सोमबार नै धितोपत्र […]

ब्रोकर लाइसेन्सका लागि ४५ कम्पनीका आवेदन

काठमाडौं । नयाँ ब्रोकर कम्पनीका लागि ४५ वटा आवेदन परेको छ । नेपाल स्टक एक्चेञ्ज (नेप्से) का सूचना अभिकृत मुराहरि पराजुलीका अनुसार नयाँ ब्रोकर कम्पनीका लागि ४५ वटा आवेदन परेकोमा ४५ वटा नै धितोपत्र बोर्ड समक्ष सिफारिस गरिएको छ । सोमबार आवेदन दिने अन्तिम दिनसम्म नयाँ ब्रोकर कम्पनी खोल्न ४५ वटा आवेदन परेकोमा नेप्सेले सबै […]

ब्रोकर नियमावली संशोधनको अन्तिम तयारी

काठमाडौं, साउन १० । धितोपत्र व्यवसायका लागि थप ब्रोकर कम्पनीलाई लाइसेन्स दिइने भएको छ । यसका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र व्यवसायी नियमावली–२०६४ लाई संशोधन गर्दै नयाँ नीतिगत व्यवस्था गर्ने अन्तिम तयारीमा जुटेको छ । हालसम्म बजारमा ५० ओटा ब्रोकर कम्पनी सञ्चालन भइरहेकोमा संशोधित नियमावलीले तोकिएको सीमाभित्र रहेर आवेदन दिने सबैलाई ब्रोकर लाइसेन्स दिनेगरी […]