काठमाडौं। प्रविधिको विकाससँगै यसको बढ्दो पहुँच र प्रयोगले मानिसलाई जति सहज भएको छ, त्यति नै सुरक्षा चुनौती पनि थपिँदै गएको छ । मोबाइल, ल्यापटपजस्ता विद्युतीय उपकरण प्रयोग गरी मानिस सामाजिक सञ्जाल, विभिन्न मनोरञ्जनात्मक वेबसाइटमा रमाएका मात्र छैनन्, डिजिटल बैंकिङ कारोबार समेत गर्दै आएका छन् । यसरी हामीले विद्युतीय माध्यमबाट जति पनि कारोबार गर्छौं, ती सबै र सधैं सुरक्षित नहुन सक्छन् । हामीले प्रयोग गरेका ईमेल ठेगाना पनि पूर्ण सुरक्षित हुन्छ भन्ने ग्यारेन्टी छैन । साइबर अपराधीले फिसिङ स्क्याममा पारेर जुनसुकै समयमा हाम्रा गोप्य सूचना चोर्न सक्छन् । फिसिङ स्क्याम एक प्रकारको साइबर हमला हो, जसको प्रयोग गरेर साइबर अपराधीले इन्टरनेट प्रयोगकर्ताको व्यक्तिगत विवरण, ईमेल तथा पासवर्ड, बैंकको खाता नम्बर, पिन कोड आदि प्राप्त गर्ने प्रयास गर्छन् । साथै कुनै प्रलोभन पारेर वा डर धम्की देखाई बैंकबाट आफ्नो खातामा रकम जम्मा गर्न लगाउने जस्ता प्रयास गर्छन् । सोझासाझा व्यक्तिलाई त्यस्तो जालमा पार्न सफल पनि हुन्छन् । यसका लागि उनीहरूले ईमेल पठाउने, असली जस्तै देखिने नक्कली वेबसाइट प्रयोग गर्ने, म्यासेज पठाउने र फोनकलको समेत प्रयोग गर्छन् ।
पछिल्लो समय भारतीय फोन नम्बर प्रयोग गरेर विभिन्न चिठ्ठा परेको भन्दै व्यक्तिगत विवरण माग्ने, विभिन्न मेल ठेगानाबाट मेल पठाउने वा लिंक पठाउने गरेको पाइन्छ । नेपाल दूरसञ्चार प्राधिकरण तथा साइबर सुरक्षासँग सम्बन्धित सरकारका निकायले विभिन्न समयमा सूचना जारी गर्दै यस्ता स्क्यामबाट जोगिन अनुरोध गर्दै आएका छन् । तर पनि यस्ता स्क्यामका घटना भने भइरहेका छन् ।
जोगिन सकिन्छ फिसिङ स्क्यामबाट
अपरिचित व्यक्ति वा ठेगानाबाट आएको, शंकास्पद ईमेल नखोलौं ।
शंकास्पद ईमेलको एट्याचमेन्ट नखोलौं ।
अपरिचित व्यक्ति वा ठेगानाबाट आएको ईमेलमा रहेको लिंकहरूमा क्लिक नगर्नुहोस् ।
अपरिचित व्यक्ति वा ठेगानाबाट आएको ईमेल वा शंकास्पद ईमेल तत्काल डिलेट तथा ब्लक गर्नुहोस् ।
शंकास्पद ईमेलको रिप्लाई सकेसम्म नगर्नुहोस् । गर्नैपरेमा वेबसाइटमा गएर पहिचान एकीन गरेर विश्वस्त हुनुहोस् ।
पुरस्कार, उपहार, चिठ्ठा लगायत विभिन्न प्रलोभन देखाएर पठाएको वा डर/धम्की दिई पठाइएको ईमेल, सन्देश, फोनकलको रिप्लाई/रेस्पोन्स नगरौं ।
परिचित वा अपरिचित व्यक्ति/संस्थाबाट आएका ईमेलमा पीडीएफ, टेक्स्ट, सीएसभी जस्ता स्ट्याण्डर्ड फम्र्याट बाहेकका भीडीएस/इएक्सइ जस्ता एक्सटेन्सनका फाइल नखोल्नुहोस् ।
आफूसँग सम्बन्धित नभएका कन्ट्री डोमेन/सबडोमेनबाट आएका ईमेल नखोलौं, त्यसलाई डिलेट गरौं ।
अनावश्यक मेलिङ लिस्टमा सबस्क्राइब नगर्नुहोस् ।
ईमेलबाट आफ्नो पासवर्ड, ओटिपी, बैंक खाता नम्बर, पिन कोडजस्ता विवरण नपठाऔं ।
आधिकारिक वेबसाइटको राम्रोसँग पहिचान गरेर मात्र आफ्ना विवरण आदानप्रदान गरौं ।
प्राप्त भएको कुनै ईमेल वा वेबसाइटको विषयमा शंका लागेमा सम्बन्धित संस्थामा फोन सम्पर्क गरेर, ईमेल पठाएर, व्यक्ति वा संस्थाको राम्रोसँग पहिचान गरेर मात्र रिप्लाई/रेस्पोन्स गर्नुहोस् ।
आफ्नो कम्प्युटर, ल्यापटप, मोबाइल आदिमा एन्टीभाइरसको प्रयोग गर्नुहोस् ।
दूरसञ्चार प्राधिकरणले बेलाबेला जारी गर्ने सूचना तथा सूरक्षा एड्भाइजरी पढ्ने गर्नुहोस् ।