धरान (सुनसरी) । कृषि क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या ठूलो छ । देशमै पनि गाउँको उर्वर खेतबारी चट्टै छाडेर शहरतिर मजदुरी गर्नेहरु उत्तिकै छन् । धरानको वसन्तटारका कृष्ण राईले भने कृषि पेशमै ठूलो सम्भावना रहेको देख्छन् ।
कृषिबाटै नाम र दाम कमाउनु भएको उनि भन्छन्, “अल्छी गर्नेलाई कतै सम्भावना छैन, जाँगर हुनेलाई कृषिमा सम्भावनै सम्भावना छ”, सोताङ अर्ग्यानिक कृषि फर्म खोलेर तरकारी र फलफूलको खेतीसँगै कुखुरा, बाख्रा, बङ्गुरदेखि गाईसम्म पालन गर्नु भएका राईले यसैबाट बार्षिक करोडौंको कारोबार गर्दै आएका छन् । कृषिबाटै उनले करोडौँको जग्गा जमिन जोडेका छन्, भव्य घर बनाउनुभएको छ । कृषिबाट उनि आफुले मात्र कमाएका छैनन्, अरुलाई पनि रोजगारी दिएका छन् । कृषिकर्मबाटै उनले धरानमा अढाई बिघा जग्गा जोडेका छन् भने बराह क्षेत्रमा करिब १५ विघा किनेका छन् ।
ती जग्गामा कतै विभिन्न तरकारी र फलफूल लगाउनु भएको छ भने कतै ठूलो मात्रामा सयौं प्रजातिका फूलको नर्सरी बनाएका छन् । उनको गोठमा ५५ वटा गाई छन् । ती गाईबाट उत्पादन भएको दूध धरान बजारमा दैनिक पाँच सय लिटर बिक्री गर्छन् । त्यस्तै उनको खोरमा अहिले १० वटा बङ्गुरका माउ छन् । तिनबाट उत्पादन भएका बच्चा बेच्ने गर्छन् भने मासुका लागि पालिएका बङ्गुर पनि बेच्ने गर्छन् । उनले कुखुरा, हाँसलगायतका पंक्षीहरु पनि पालेका छन् । घरै उनले माटो बिना साग फलाउन सकिने हाइड्रोफोनिक प्रविधिबाट सागको खेती गर्नु भएको छ भने त्यससँगै माछा पनि पालेका छन् । उनको सोताङ अर्ग्यानिक कृषि फर्ममा राईका बुवा, आमा, श्रीमती र छोराले पनि सहयोग गर्छन् । त्यसबाहेक उनले १६ जनालाई रोजगारीसमेत दिएका छन् । हालसम्म कृषि क्षेत्रमा उनको लगानी नै करोडौँ पुगिसकेको छ । उनले धरान–७ शान्तिपथमा तरकारी तथा फलफूल बिक्री गर्न पसल पनि सञ्चालन गरेका छन् । त्यसबाहेक घरमै किन्न आउनेहरु पनि उत्तिकै हुन्छन् । तरकारी, फलफूल तथा पशुपालनबाट मासिक रु १२ लाखको हाराहारीमा कमाई भइरहेको उनि बताउँछन् ।
अहिले करोडौँको लगानी पुगेको राईको कृषि फर्मको शुरूआत भने जम्मा ५५ रुपैयाँ लगानीबाट भएको थियो । उनि भन्छन्, “शुरूमा ५५ रुपैयाँ लगानी गरेर कृषि क्षेत्रमा लागेको थिएँ, त्यहि फैलिँदै अहिले करोडौंको भएको हो ।” सामान्य आर्थिक अवस्थाको कृष्णको परिवारसँग पहिला जम्मा छ कट्ठा जग्गा मात्र थियो । त्यसैमा बावुले परम्परागत कृषि कर्म गर्दै आएका थिए । खासै राम्रो उब्जनी हुँदैनथ्यो । त्यसबाट जीवन धान्न नै मुस्किल पर्ने अवस्था थियो । करिब २६ वर्षअघि कृष्णले स्कुलबाट फर्किने क्रममा बाटोमा एक जना मान्छेले काँक्राको बीउ किनिरहेको देख्नुभयो । त्यसपछि बीउ बेच्नेसँग सोधखोज गर्दा राम्रो फल्ने काँक्राको बीउ हो भन्ने जानकारी पाउनुभयो । “त्यसपछि मैले पनि १० रुपैयाँमा १८ वटा काँक्राको बीउ किनेर ल्याएँ”, उनि सम्झिन्छन्, “त्यो बीउलाई मलजल गर्दा जम्मा लगानी ५५ रुपैयाँ पुगेको थियो । त्यसबाट फलेका काँक्रा बिक्री गर्दा पाँच सय ५० रुपैयाँ कमाएँ । त्यहीँबाट कृषिमा सम्भावना रहेछ भन्ने बुझेर लागि परेको हुँ ।” कृषिलाई परम्परागतबाट आधुनिक तरिकाले अघि बढाउने सोंच भएपनि तालिमको अवसर थिएन । उनिका लागि त्यसबेला रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रशारण हुने कृषि कार्यक्रम नै तालिम बने । ती कार्यक्रम नियमित सुन्ने र हेर्ने गर्न थाले । पत्रपत्रिकामा कृषिका समाचार देख्ने बित्तिकै पढ्न थाले । उनि भन्छन्, “कसैले खेतीपातीका विषयमा कुरा गरेको सुनें भने ध्यान दिएर सुन्थे, कतै पत्रपत्रिकामा कृषिकाबारे लेखिएको भेटे, घरमा ल्याएर मज्जाले पढ्थें । मेरा गुरुहरु तिनै थिए ।” खेती र पशुपालन गर्दा समस्या नआउने कुरै भएन, उनले पनि धेरै रोग र विभिन्न समस्या भोग्नुभयो तर समस्यासँग कहिल्यै हार मानेनन् । यसरी सिक्दै अघि बढाएको कृषि कर्म अहिले उनि अरुलाई पनि सिकाउँछन् । उनले केही वर्षअघि बसन्तटारमा रु ८५ लाख लगानी गरेर आधुनिक कृषि तालिम केन्द्रका लागि भवन निर्माण गरेका छन् । कृषिसम्बन्धी विभिन्न तालिम यसैमा सञ्चालन गर्छन्। उनको कृषि फर्ममा अध्ययन भ्रमणमा टाढादेखिका कृषकहरु पनि आउने गरेका छन् । उनि भन्छन्, ‘‘अहिले खेतीपाती र पशुपालन गर्ने तरिका मात्र होइन, आफ्ना उत्पादनलाई कसरी बजारीकरण गर्ने भन्ने विषयमा प्रशिक्षण पनि दिंदै आएको छु ।’’
अर्गानिक गाउँ धरान उपमहानगरपालिका–४ मा पर्ने बसन्तटार गाउँ अर्गानिक खेतीका लागि चर्चित छ । यो गाउँमा कृषिलाई व्यवसायीकरण गर्नमा कृष्णकै ठूलो योगदान छ । उनिकै प्रेरणाले गाउँभर अहिले कृषि फर्महरु खुलेका छन् । कृषिबारे बुझ्न आउनेहरुका लागि यो गाउँ पाठशाला जस्तै बनेको छ । कृष्णले आफ्नो खेतबारी मात्र होइन पूरा गाउँलाई नै अर्ग्यानिक बनाउन निक्कै मिहिनेत गर्नु परेको थियो । अन्य गाउँलेले जस्तै कृष्णले पनि शुरूका वर्षमा धेरै उत्पादन हुने लोभमा खेतीमा रासायनिक मल र विषादीको प्रयोग गर्नु भएको थियो । तर केही वर्षमा माटोको उर्वरा शक्ति हराएर उब्जनी घट्न थाल्यो । त्यसपछि उनले किन यस्तो भयो ? भनेर कारण खोजे । धेरैतिर बुझ्दा थाहा भयो, रासायनिक मल र विषादीको प्रयोगले माटोको उर्वरा शक्ति नै हराउने रहेछ । बारीमा रासायनिक मल र विषादी प्रयोग गरेर आफैंले गल्ति गरेको महशुस गरी उनले त्यसलाई सुधार्ने बाचा गरे । तर बिग्रिएको माटो सुधार गर्नु त्यति सजिलो काम थिएन । त्यसका लागि निक्कै मिहिनेत गर्नु परेको उनको अनुभव छ । माटो सुधार्नका लागि त्यसपछि कृष्णले आफैं जैविक मल उत्पादन गर्न थाले । जैविक वनस्पतीकै विषादी बताए। जैविक मल र विषादी बनाउने काम अहिले पनि गरेका छन् । उनि भन्छन्, ‘‘रासायनिक मल र विषादी हाल्नु हुन्न भन्ने बुझेपछि म अर्ग्यानिक खेतीका अभियन्ता बनेको हुँ ।’’ अर्ग्यानिक खेती गर्नका लागि आफ्नो बारीमा मात्र रासायनिक मल र विषादी प्रयोग नगरेर हुने अवस्था थिएन । उनि भन्छन्, ‘‘मैले मेरो बारीमा त रासायनिक मल र विषादी प्रयोग गरिन तर गाउँमा अरुले प्रयोग गरेपछि त्यसको असर मेरो बालीमा पनि पर्ने रहेछ । त्यसो हुँदा अर्र्गानिक खेती गर्न सम्भव नदेखिएपछि अरुलाई पनि बुझाउने कोसिस गरें र सफल पनि भएँ ।’’ अहिले उनको पाइला पछ्याउँदै बसन्तटार गाउँका एक सय ५० घरघुरीले अर्ग्यानिक खेती गर्छन् । त्यसमध्ये ५५ घरको मुख्य आम्दानीको स्रोत अर्ग्यानिक कृषि नै रहेको उनि बताउँछन् । बसन्तटार अहिले कृषि अभियन्ताहरुका लागि सिकाइको थलो बनेको छ । कृषिबाट राम्रो आम्दानी गर्नुका साथै अरुका लागि प्रेरणाका स्रोत समेत बन्नु भएका कृष्णलाई विभिन्न सङ्घसंस्थाले सम्मान समेत गरेका छन् । परिवारसहित कृषिमै रमाइरहनु भएका राई भन्छन्, “कृषिमा अलि मेहनत आवश्यक पर्छ तर सम्भावनै छैन भन्ने कुरा गलत हो । पलायन हुनुभन्दा युवाहरुले आफ्नै ठाउँमा पसिना बगाए देश समृद्ध बन्छ, कसैले पनि परिवार पाल्न विदेश भौंतारिनुपर्ने अवस्था आउँदैन ।” रासस
कुष्माण्ड, अर्थात् शीतलदायक फलका रूपमा आयुर्वेदमा उल्लेख कुभिन्डो नेपाली जनजीवनमा धार्मिक, औषधीय, भान्साथाली एवम् मिष्ठान्न परिकारको महत्त्वपूर्ण अंगका रूपमा रहिआएको छ । सम्भवत: सबैभन्दा लामो समयसम्म सुरक्षित भण्डारण गर्न सकिने लता फलमा कुभिन्डोे रहने गरेको छ जो नेपाली अर्थतन्त्रको महत्त्वपूर्ण अंगका रूपमा समेत रहेको छ । धार्मिक, औषधीय, भान्साथाली एवम् मिष्ठान्न परिकारको बहुउपयोगी फलका रूपमा रहेको कुभिन्डोसँग जोडिएको अर्थशास्त्र आफैमा एक महत्त्वपूर्ण पक्षका रूपमा रहेको छ जसको बृहत्तर उपयोगका लागि व्यवस्थित उत्पादन, वितरण र उपभोग हुन जरुरी देखिएको छ ।
नेपालका कुल घरपरिवारमध्ये नेपालको जनगणनाको धार्मिक संयोजन र घरपरिवार सर्वेक्षणका आधारमा ५४ लाख १२ हजार २९० घरपरिवार हिन्दू रहेको एक अनुमान छ । यस आधारमा एक घरपरिवार एक कुभिन्डो देवीमा अर्पण गर्ने हो भने पनि शारदीय नवरात्रमा करीब ५४ लाख कुभिन्डो र वासन्ती नवरात्रमा ५४ लाख गरी १ करोड ८ लाख गोटा कुभिन्डो खपत हुने एक अनुमान सजिलै लगाउन सकिन्छ । एउटा कुभिन्डोको रू. १ सय बराबरको मूल्यलार्ई आधार मान्ने हो भने पनि शारदीय र वासन्ती नवरात्रमा रू. १ अर्बको कुभिन्डो खपत हुन सक्ने देखिन्छ । नवरात्र पूजनमा कुभिन्डो अर्पण अनिवार्य रहेको सन्दर्भमा विश्वका करीब २५ करोड हिन्दू परिवारमा शारदीय र वासन्ती नवरात्रमा कम्तीमा ५० करोड गोटा कुभिन्डो खपत हुने एक अनुमान लगाउन सकिन्छ । यस आधारमा हेर्दा मूल्यमा रूपान्तरण गर्दा रू. ५० अर्बको कुभिन्डो नवरात्रमा मात्र खपत हुन सक्ने देखिएको छ ।
कुभिन्डोको खपतको अर्को क्षेत्र डोसा लगायतका दक्षिण भारतीय परिकारहरू (जो अहिले पूर्वीय परिकारको आम परिकारका रूपमा प्रचलनमा रहन गएका छन्) को अनिवार्य सहपरिकार हो । नेपालमा डोसालगायत दक्षिण भारतीय परिकारहरू आमरूपमा उपलव्ध भए तापनि कुभिन्डोको परिकार चाहिँ सहपरिकारका रूपमा स्थापित हुन सकेको छैन । परन्तु ग्राहकको चाहना भने यस्ता दक्षिण भारतीय परिकारमा कुभिन्डोको माग अपरिहार्य सहपरिकारका रूपमा रहने गरेको सन्दर्भमा नेपाल पनि कुभिन्डोका लागि अर्को सबैभन्दा महत्त्वपूर्ण बजारका रूपमा रहेको छ ।
कुभिन्डोबाट विभिन्न स्वादका मीठा परिकारहरू तयार गर्ने गरिन्छ । नेपालमा भारतबाट कुभिन्डोका पेडालगायत विभिन्न मीठा परिकारहरू आयात हुने गरेको सन्दर्भमा नेपालमा पनि कुपिण्डाका विभिन्न मिठा परिकारहरू बनाउन सकिने सम्भावनाहरू विद्यमान छन् ।
समाजमा विषादीरहित तरकारीको मागमा वृद्धि हुँदै गएको सन्दर्भ विषादीको प्रयोग नै गर्नु नपर्ने र तमाम औषधीय गुणहरूसमेत विद्यमान रहेको कुभिन्डो माग तरकारीका रूपमा भान्साकोठामा पनि भविष्यमा बढ्ने सम्भावना अधिक रहेको छ ।
कुभिन्डोबाट विभिन्न स्वादका मीठा परिकारहरू तयार गर्ने गरिन्छ । नेपालमा भारतबाट कुभिन्डोका पेडालगायत विभिन्न मीठा परिकारहरू आयात हुने गरेको सन्दर्भमा नेपालमा पनि कुभिण्डाका विभिन्न मीठा परिकारहरू बनाउन सकिने सम्भावनाहरू विद्यमान छन् ।
उपर्युक्त सम्भावना हुँदाहुँदै नेपालमा कुभिन्डोको व्यावसायिक उत्पादन भने हुन सकेको छैन । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांकअनुसार नेपालमा ७१४ हेक्टर क्षेत्रफलमा ९ हजार ८ सय २७ मेट्रिक टन (मेट) कुभिन्डो उत्पादन भएको देखिन्छ । उत्पादकत्वका दृष्टिबाट हेर्दा नेपालमा प्रतिहेक्टर १७ दशमलव ७६ मेट कुभिन्डो उत्पादन हुने गर्छ । प्रतिव्यक्ति खपतका रूपमा हेर्दा २०७८ को जनगणना र २०७८/७९ को कृषि तथ्यांकका आधारमा गणित गरी हेर्दा नेपालमा प्रतिव्यक्ति कुभिन्डो खपत ३३७ ग्राम रहेको देखिन्छ ।
शहरीकरण, विदेश बसाइँसराइले कुभिन्डोको उपलब्धता हिजो जसरी घरमा कम्तीमा एउटा कुभिन्डो रोप्ने र खपत हुने प्रवृत्तिमा परिवर्तन देखिएको छ । नवरात्रको सात्विकीकरण एवम् पशुबलिप्रति उदासीनताका कारण दुवै नवरात्रमा कुभिन्डोको बलि दिने अभ्यासको पुनरावृत्ति हुने संकेतहरू देखापरेका छन् ।
उपर्युक्त पक्षलाई दृष्टिगत गर्दै नेपालमा पनि कुभिन्डो खेतीको व्यवसायीकरण गर्नुपर्ने आवश्यकता देखिएको छ । पश्चिमी गोलाद्र्धमा कुभिन्डोप्रति आकर्षण बढ्दै गएको सन्दर्भ र पश्चिमले अनुमोदन गरिसकेपछि मात्र महत्त्व बुझ्ने पूर्वीय प्रवृत्तिका माझ भविष्यमा कुभिन्डोको खपतमा वृद्धि हुने सहज अनुमान लगाउन सकिन्छ ।
उपर्युक्त पक्षलाई दृष्टिगत गर्दै नेपालमा पनि कुभिन्डो खेतीको व्यवसायीकरण गर्नुपर्ने आवश्यकता देखिएको छ । कुभिन्डोको उत्पादन र खपतबीच अन्तरसम्बन्ध स्थापित गर्नु, खपतमा वृद्धि गर्नु, कुभिन्डोका परिकारहरूको विविधीकरण गर्नु, कुभिन्डोको उत्पादनमा बृहत् खेती (विग फार्म) को अवधारणामा यसको एउटै फार्म हाउसबाट कम्तीमा नेपाललाई पुग्ने गरी कुभिन्डो उत्पादन तथा कुभिन्डो क्षेत्रलाई उद्योगका रूपमा विकास गरी क्षितिजीय र ऊध्र्व योजन गर्नु कुभिन्डो खेतीको व्यवसायीकरणका केही उदाहरण हुन् ।
केरला विश्वविद्यालयको एग्री इन्फोटक पोर्टलको एक अध्ययन अुनसार कुभिन्डोको प्रति फल तौल ४ दशमलव ८२ केजी रहेको छ । यसअनुसार नेपालमा आर्थिक वर्ष २०७८/७९ मा करीब २० लाख गोटा कुभिन्डो फलेको देखिन्छ । एक हिन्दू परिवार एक कुभिन्डो बलि दिने परिकल्पनालाई आधार मान्ने अवस्थामा शारदीय र वासन्ती नवरात्रमा मात्र करीब ८८ लाख कुभिन्डो अपुग रहेको सजिलै अनुमान लगाउन सकिन्छ । यस अनुसार ४२ हजार ४ सय १६ मेट बराबरको कुभिन्डो बलि प्रयोजनका लागि मात्र नेपालमा न्यून उत्पादन रहेको पाइन्छ । यी आँकडामा ३ हजार ८२ हेक्टर क्षेत्रफलमा थप कुभिन्डो खेती हुन आवश्यक देखिन्छ । नेपाली आम बुझाइको भाषामा भन्नु पर्दा
करीब ४ हजार ६ सय २३ बिगाहा अर्थात् करीब ६० हजार ९५ रोपनी क्षेत्रफलमा थप कुभिन्डो खेती गर्नुपर्ने देखिन्छ ।
शारदीय र वासन्ती नवरात्रमा कुभिन्डोको बलिको पूर्ण उपयोग र अभ्यासलाई कुभिन्डोको उत्पादनसँग मात्र एकाकार गर्न सकेको खण्डमा यसले कुभिन्डोको खेतीमा नयाँ क्रान्ति ल्याउन सक्ने देखिन्छ । करीब ६० हजार रोपनी बराबरको कुभिन्डोको फार्म हाउस, कुभिन्डो खेतीभित्र हुने मिश्रित खेतीको अर्थशास्त्र, यस्तो कुभिन्डो फार्म हाउसमा सृजना हुने रोजगारी र उत्पादनदेखि उपभोगसम्मको वितरण प्रक्रियामा हुने आर्थिक गतिविधिहरू र यससँग गाँसिएको धार्मिक उत्साहबाट उपलब्ध ऊर्जाबीच यसले नेपालको समग्र अर्थतन्त्रलाई नै ठोस योगदान दिन सक्ने सम्भावना रहेको छ ।
कुभिन्डोको बृहत् खेती (फार्म हाउस) को अवधारणामा जान स्थानीय निकायहरूको समन्वयमा पहाडी भूभागमा जमीन बाँझो रहेको क्षेत्रको पहिचान गरी माटोको परीक्षणसमेत गरी करीब ६० हजार रोपनी बराबरको कुभिन्डो पकेट क्षेत्रको घोषणा हुन जरुरी छ । कुभिन्डोको उत्पादन, भण्डारण, परीक्षण, लेबलिङ, प्याकेजिङ, प्रशोधन र कुभिन्डोका विविध परिकारहरूसमेत उत्पादन गर्ने गरी पृष्ठ र अग्रयोजन र ऊध्र्वयोजनसहित कुभिन्डो फार्म हाउसको स्थापना हुन जरुरी छ । यस्तो जग्गा प्राप्तिमा स्थानीय निकायको सहयोग र समन्वय, स्थानीय लगानीकर्ताको सहभागिता र स्वदेशमा कृषिक्षेत्रमा लगानीको अनुभव भएका ठूला लगानीकर्तालाई लगानीको प्रत्याभूतिसहित सहुलियतदरमा दीर्घकालीन ऋण व्यवस्थापन र जग्गामा हदबन्दी र त्यससँग जोडिएका व्यवसायमा व्यवधान खडा गर्ने कानूनमा संशोधन गर्न सकेको खण्डमा नेपालमा कुभिन्डोको आम प्रयोग र धार्मिक प्रयोगमा व्यापक वृद्धि हुने र कुभिन्डोका विभिन्न खालका परिकारहरू स्वदेशमा नै उत्पादन भई देशमा कुभिन्डोकृत आफ्नै सुचक्र स्थापित हुने देखिन्छ ।
यसका लागि कुभिन्डो फार्म हाउसको अवधारणाका बारेमा प्राज्ञिक प्रयास अर्थात् अर्थशास्त्रीय दृष्टिकोणबाट यसको पुस्ट्याइँ गर्न संगठित र व्यवस्थित अध्ययनसहित परियोजना तयार गर्नुपर्छ । कुभिन्डोको दोहन हुन नसकेको सम्भाव्यतालाई पूर्णरूपमा उपयोग गर्ने, सम्भानाका नयाँ क्षेत्रहरू पहिचान गर्ने र उत्पादक र उपभोक्ताहरूबीच भावनात्मक र व्यावहारिक सम्बन्ध स्थापित गरी कुभिन्डोलाई नेपालको तरकारी र फल खपतको मूलधारको उत्पादनका रूपमा स्थापित गर्नु आजको आवश्यकता हो ।
विशेष कुभिन्डो फार्म हाउस र उपभोक्ताबीच कुभिन्डो एपमार्फत स्थायी सम्बन्ध स्थापित गरी इकमर्शको माध्यमबाट आपूर्तिको व्यवस्था गर्न सकेको खण्डमा कुभिन्डो क्षेत्रमा दोहन हुन नसकेको सम्भाव्यतालाई पूर्णरूपमा उपयोग गर्न सकिने, सम्भावनाका नयाँ क्षेत्रहरू पहिचान हुन सक्ने, उत्पादक र उपभोक्ताहरूबीच भावनात्मक र व्यावहारिक सम्बन्ध स्थापित हुने र कुभिन्डोको विशाल बजारमा विषादीरहित विशुद्ध नेपाली जातको बीज, वातावरण र क्षेत्रमा उत्पादित कुभिन्डोको उपस्थिति बढ्ने देखिन्छ । हिमालयन कुभिन्डोको ब्रान्डमा यसलाई स्थापित गर्न सकेको खण्डमा नेपालका कृषिजन्य उत्पादनमा कुभिन्डोे एक महत्त्वपूर्ण आर्थिक पाटोका रूपमा स्थापित हुने निश्चित छ । कुभिन्डोको धार्मिक र औषधीय महत्त्वलाई समाजमा स्थापित गर्दै यसमा अन्तरनिहित आर्थिक पक्षलाई बजारशास्त्रको परिभाषा र मान्यताअनुसार ढाल्दै अघि बढ्न सकेको खण्डमा कुभिन्डो नेपालको आर्थिक कायापलटको महत्त्वपूर्ण तत्त्व बन्न सक्ने निश्चित छ । यसरी यति धेरै विशाल सम्भावना बोकेको कुभिन्डो क्षेत्रको विकास गर्न नेपाल सरकारबाट संरक्षणात्मक, प्रवर्द्धनात्मक तथा उत्प्रेरणात्मक उपायहरू अपनाउँदै बृहत् कुभिन्डो फार्म हाउस स्थापना गर्ने दिशामा अभिभावकीय भूमिकामा प्रस्तुत हुन पनि त्यत्तिकै जरुरी छ । यस कार्यमा कृषि विश्वविद्यालय र वनस्पति शास्त्र अध्ययन विभागलाई समेत परिचालन गरी कुभिन्डो क्षेत्रलाई अझ वैज्ञानिक र व्यावसायिक रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ । कुभिन्डोका हाइब्रिड र नश्ल सुधार गरिएका जातहरूको बजारमा प्रवेश बढ्दै गएको र यसको गुणस्तरमा विभिन्न प्रश्नहरू खडा भइरहेको सन्दर्भमा माथि उल्लेख गरेझैं विशुद्ध रैथाने जातका नेपाली कुभिन्डोलाई विश्व कुभिन्डो बजारमा स्थापित गर्ने र बजार प्रवर्द्धन गर्ने रणनीति अंगीकार गर्ने हो भने नेपाल कुभिन्डो उत्पादनमा विश्वकै हब बन्ने निश्चित छ । यसरी धार्मिक महत्त्वका वस्तुहरूमा अन्तरनिहित औषधीय र पोषणीय गुणहरूको सर्वसाधारणीकरण गरी यसबाट समग्र समाजमा आर्थिक गतिविधिहरू व्यवस्थित रूपमा अघि बढाउँदै समाजको बृहत्तर हित गर्न सकिन्छ । धर्म र अर्थ दुवैको रक्षा हुने यस मोडलको उपयुक्त उदाहरण कुभिन्डो हो । समाजले कुभिन्डोलाई मान्यता दिँदा कुभिन्डोले समाजलाई समृद्ध बनाउन सक्ने क्षमता राख्छ ।
धर्म एव हतो हन्ति धर्मो रक्षति रक्षित: ।
तस्माद् धर्मं न त्यजामि मा नो धर्मो हतोऽवधीत् ।।
को मर्म पनि यही हो । हरेक दृष्टि आर्थिक कोण भन्ने अभियान राष्ट्रिय दैनिकको दर्शनको मान्यता पनि यही हो । माता दुर्गा भवानीले सबै हिन्दू धर्मावलम्बीहरूमा यसरी सोच्ने क्षमता प्रदान गरून् । धर्मशास्त्र र अर्थशास्त्रको संगम सृजना गर्दै अघि बढ्दा व्यक्ति, समाज र धर्म सबैका अभ्युदय हुने उदाहरण कुभिन्डोमा अन्तरनिहित धर्मशास्त्र र अर्थशास्त्रले स्पष्ट गरेको छ ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।
काठमाडौं : सरकारले किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले रासायनिक मल खरिद प्रक्रियामा सुधार गरी समयमा नै आपूर्ति सुनिश्चित गरिने बताए ।
मल आपूर्ति र वितरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाइने समेत अर्थमन्त्री महतले घोषणा गरेका छन् । स्वदेशमा नै रासायनिक मल कारखाना स्थापना गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी सार्वजनिक निजी साझेदारीमा लगानी बोर्ड मार्फत काम अगाडि बढाइने समेत बताएका छन् ।
महतको भनाइ
खेतबारीमा प्राविधिक सेवा, उत्पादनमा टेवा भन्ने नाराका साथ हरेक स्थानीय तहमा कृषि एवं पशुपन्छी विषयका स्नातक जनशक्ति व्यवस्थापन गर्न रु. ४७ करोड विनियोजन गरेको छु। यसबाट किसानले खेतबारीमा नै प्राविधिक सेवा प्राप्त गर्न सक्ने विश्वास लिएको छु।
धान र आलुमा आत्मनिर्भर हुन एक सय स्थानीय तहमा धान र आलु खेती विस्तार गरिनेछ। हाइव्रिड जातको धानको विकास र चैते धान खेतीको विस्तार गर्न उत्पादनमा आधारित अनुदान उपलब्ध गराइनेछ।
प्राङ्गारिक कृषि उत्पादन र उपयोगलाई प्रवर्द्धन गर्न कार्यक्रम सञ्चालन गरिनेछ। प्राङ्गारिक र प्राकृतिक खेती गर्ने किसानलाई उत्पादनमा अनुदान दिने व्यवस्था मिलाइनेछ। प्राङ्गारिक कृषि उत्पादनको प्रमाणीकरण तथा ब्राण्ड प्रवर्द्धन गरी बजारीकरणमा सहयोग गर्नुका साथै निर्यात गर्न प्रोत्साहन गरिनेछ। समुदायस्तरमा प्राङ्गारिक तथा गड्यौंले मल उत्पादन गर्न सहयोग गरिनेछ।
मल तथा किटनाशक विषादीको प्रयोग विना नै गरिने प्राकृतिक खेतीलाई प्रवर्द्धन गर्न कार्यक्रम सञ्चालन गरिनेछ। सरकारी कृषि फार्ममा नमुनाको रूपमा प्राकृतिक खेती शुरूवात गरिनेछ। यसबाट माटोको प्राकृतिक उर्वरा शक्ति ह्रास नहुने, गुमेको उर्वरा शक्ति पुन: प्राप्त हुने र न्यून उत्पादन लागतमा स्वस्थ कृषि उपज प्राप्त हुने विश्वास लिएको छु।
माटो परीक्षणका लागि प्रदेश तहका प्रयोगशालाको स्तरोन्नति, जनशक्ति व्यवस्था र क्षमता विकास गर्न सशर्त अनुदान हस्तान्तरण गरिनेछ। खेतीयोग्य जमीनको अम्लीयपना नियन्त्रणका लागि कृषि चुन र प्राङ्गारिक मलको प्रयोगलाई प्रोत्साहित गरिनेछ।
कृषि, फलफूल, तरकारी, पशुपालन लगायतका क्षेत्रमा उदाहरणीय काम गरेका अगुवा किसानको अनुभव र ज्ञान कृषि उद्यम गर्न चाहने व्यक्तिलाई हस्तान्तरण गर्न उत्प्रेरित गरिनेछ। कृषि ज्ञान केन्द्रले यस्ता किसानलाई गुरू किसानको पहिचान दिई कृषि प्रसार एजेन्टको रूपमा परिचालन गर्ने छन्। कृषि पेशालाई थप सम्मानित र आकर्षक बनाउन प्रदेश सरकारसँगको समन्वयमा राष्ट्रपति उत्कृष्ट किसान पुरस्कार प्रदान गरिनेछ।
उखु खेतीको प्रवर्द्धन र जातीय विकासलाई प्राथमिकता दिइनेछ। किसानलाई उखु उत्पादन प्रवर्द्धन खर्च उपलब्ध गराउन रु. ८० करोड विनियोजन गरेको छु।
“पोषणयुक्त घाँसेवालीको विकास गरौं, पशुजन्य उत्पादन बढाऔं” भन्ने नाराका साथ एक सय वटा स्थानीय तहमा जै, नेपियर, मेन्डुला, वर्सिम लगायत जातका घाँसे बाली विकास तथा पोषण सुधारका कार्यक्रमहरू सञ्चालन गरिनेछ। स्थानीय तह मार्फत घाँसे बालीको बीऊ उत्पादनका कार्यक्रम सञ्चालन गरिनेछ। पशु आहारको गुणस्तर मापन तथा मूल्य नियमनलाई प्रभावकारी बनाइनेछ।
कृषि एवं पशुजन्य व्यवसायमा युवा जनशक्तिलाई आकर्षित गरी उद्यमशीलता विकास गर्न स्थानीय तहसँगको सहकार्यमा युवा स्टार्ट अप अनुदान कार्यक्रम सञ्चालनका लागि रु. १ अर्ब २० करोड विनियोजन गरेको छु। साना किसान उद्यम विकास कार्यक्रमलाई सबै स्थानीय तहमा क्रमशः विस्तार गरी वित्तीय पहुँच र उद्यमशीलताको विकासमार्फत युवा जनशक्तिलाई कृषि क्षेत्रमा अभिप्रेरित गरिनेछ।
भूमिको चक्लावन्दी गरी खेती गर्न प्रोत्साहित गरिनेछ। करार खेतीका लागि कानूनी आधार तयार गरिनेछ। मुलुकभर रहेको बाँझो जमीनलाई स्थानीय तहको समन्वयमा मापदण्ड बनाई करार र सामुहिक खेती गर्न उपयोग गरिनेछ। यस कार्यक्रमका लागि रु. ३० करोड विनियोजन गरेको छु।
चितवन । उत्पादनको तुलनामा स्वदेशी महको खपत कम भएपछि मौरीपालक किसान चिन्तामा परेका छन् । नेपाली बजारमा अवैधरूपमा मह भित्रिँदा स्वेदशी उत्पादनको खपत घटेको उनीहरूको भनाइ छ । मह खपत नभएपछि गत वर्षबाट नेपाली महको मौज्दात थपिँदै गएको छ ।
हाल नेपालमा वार्षिक ८ हजार मह खपत हुने गरेको अनुमानित तथ्यांक छ । जसमध्ये २ हजार ५०० मेट्रिक टन मह स्वदेशमै उत्पादन हुन्छ । यस्तै, १ हजार ५०० मेट्रिक टन मह आयात हुने गरेको छ । खपत हुने महमध्ये बाँकी हिस्सा अवैध रुपमा आयात हुने गरेको किसानको गुनासो छ । यसरी आयात हुने मह गुणस्तरीय पनि नभएको किसानको दाबी छ ।
नेपाल मौरीपालन महासंघका निर्वतमान अध्यक्ष शिवप्रसाद शर्माले नेपाली महले बजार नपाउँदा घरमै थन्किएको बताए । ‘एकातिर नेपाली महको लागत मूल्य नै बढी छ । अर्कोतिर विक्री नभई मौज्दात थुप्रेको थुप्रै छ,’ उनले भने, ‘नक्कली मह र अवैध आयातित मह नरोकिने हो भने हामी पलायन हुने बेर लाग्दैन ।’
भारतबाट आयात हुने मह नेपाल आउँदा प्रतिकेजी रू. २११ देखि २३७ सम्ममा आउने गरेको भए पनि नेपाली महको उत्पादन लागत रू. ४२५ पर्ने गरेको पौडेलको भनाइ छ । जसका कारण गत वर्षको ५ सय मेट्रिक टन मह कृषकहरूसँग मौज्दात रहेको तर हाल १ हजार मेट्रिक टन मह किसानसँग र थोक बजारमा गएको मह पनि विक्री नभएको उनले बताए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै मौरीपालन विकास कार्यक्रम भण्डाराका वरिष्ठ बाली विकास अधिकृत गोविन्द पोख्रेलले नेपालमा वार्षिक ८ हजार मेट्रिक टन मह खपत हुने गरेको बताए । उनका अनुसार नेपालबाट वार्षिक ८ मेट्रिक टन मह अष्ट्रेलिया, अमेरिका, जापान, कतार लगायतका देशमा निर्यात हुने गरेको बताए ।
मौरीपालन व्यवसायमा नीतिगत, प्राविधिक, बजारीकरण लगायतका समस्याहरू हुँदा नेपाली महले बजार पाउन नसकेको उनको भनाइ छ । मौरी प्रवद्र्धन नीति २०७३ को कार्यान्वयन हुन नसक्नु, मौरी बीमा र यसको कार्यान्वयनतर्फ व्यावसायी आकर्षित बन्न नसक्नु, विषादीको प्रयोगसम्बन्धी नीति बन्न नसक्नु, मौरी चरन र मौरी स्थानान्तरणमा देखिएको समस्या समाधान गर्न नसक्नु मुख्य समस्याको रूपमा रहेको उनको कार्यपत्रमा उल्लेख थियो । यी नीतिगत समस्या समाधानका लागि तीन तहका सरकारबीच समन्वयको अभाव भएको उनको भनाइ छ ।
यतिमात्र नभई मौरीपालनमा संलग्न जनशक्तिमा दक्षताको कमी, मौरी विज्ञको अभाव, मौरीसम्बन्धी विषयमा अनुसन्धानको कमी, गुणस्तरीय मौरी घार तथा मौरीपालन सम्बन्धी अन्य सामग्रीको अभाव, गुणस्तरीय भालेको अभाव, सीमित मौरी चरन क्षेत्रमा मौरीपालकबीच प्रतिस्पर्धा, चरन नक्साङ्कन भई पर्याप्त चरन क्षेत्रको पहिचान हुन नसक्नु जस्ता समस्या मौरीपालक किसानले भोग्दै आएका छन् । यस्तै चिउरी लगायतका चरनजन्य वनस्पतिको संरक्षण एवं क्षेत्र विस्तार हुन नसक्नु, विषादीको बढ्दो प्रयोग अहिलेको मौरीपालन गर्ने किसानका लागि समस्या देखिएको विज्ञहरूको भनाइ छ ।
कार्यपत्र प्रस्तुत गर्दै मौरी विज्ञ डा. शिवप्रसाद रिजालले नेपालमा उत्पादित महको बजार व्यवस्थापनका लागि सरकारका कुनै पनि निकायले ध्यान दिन नसक्दा मौरीपालन व्यवसाय धराशायी बन्ने खतरा बढेको बताए । मौरी लोप भएको ४ वर्षमा मानिसको समेत अस्तित्व समेत खतरा हुने भन्दै उनले मौरी र मौरीपालक किसानको समस्या समाधान गर्नेगरी काम गर्न जरुरी रहेको बताए ।
मौरीका कारण ८० प्रतिशत परागसेचन हुने भए पनि कृषकहरूले यस विषयलाई बुझ्न नसकेको र राज्यले बुझाउन नसकेको डा. रिजालको भनाइ छ । कृषिबालीमा विषादीको प्रयोग बढाउंँदै लग्दा नेपालमा मौरीको संख्या र गुणस्तर घट्न गई कृषि उत्पादनको साथै महको उत्पादनमा पनि ह्रास आउने उनले बताए ।
महासंघका अध्यक्ष सुवासचन्द्र घिमिरेले चरीचरण मासिंँदै जानु, उत्पादन लागत बढ्दै जानु र नक्कली महको बिगबिगी नरोकिएका कारण पनि नेपाली महले बजार नपाएको बताए । ‘माग हुंँदा पुर्याउन सकिँदैन, मौज्दात रहँदा विक्री गर्न सकिदैन,’ उनले भने ।
कोरोना कालमा महको उत्पादन र विक्री राम्रै भए पनि पछिल्लो समय नक्कली महले बजार पाउँदा वास्तविक किसानलाई मर्का परेको उनको भनाइ थियो । राज्यले महको गुणस्तर मापन र वर्गीकरण गरी बजार व्यवस्थापन गर्नुपर्ने घिमिरेले बताए ।
नेपालमा अहिले २ लाख ४९ हजार ६८० गोला मौरी पालन भइरहेको छ । जसमा ४ हजार ६२ मेट्रिक टन मह उत्पादन हुँदै आएको छ । एपिस सेराना १ लाख १७ हजार ६८० गोला र एपिस मेलिफेरा १ लाख ३२ हजार गोला मौरी पालिँदै छ । नेपालमा मौरीपालक कृषक १ लाख ६५ हजारभन्दा बढी छन् ।
चराको स्वर्ग भनेर चिनिने कञ्चनपुरको बेलौरी नगरपालिका-६ भुराकोटमा रहेको पुरैनी तालमा जलपक्षीको संख्या घट्दै जान थालेको छ ।
हिउँदका बेला बसाइँ सारेर आउने जलपक्षीले भरिभराउ हुने तालमा यस वर्ष थोरैमात्रै जलपक्षी आएका छन् । ताल र त्यसको वरिपरिको क्षेत्र मानव अतिक्रमणको चपेटामा परेपछि तालमा चराका प्रजाति घट्दै गएका हुन् । पहिला ३२ बिघा क्षेत्रफल भएको ताल खुम्चिँदै गएर २८ बिघामा सीमित भएको छ ।
चरा तालमा लामबद्ध भएर पौडिँदै, डुबुल्की मार्दै गरेको र ताल वरिपरि उड्दै गरेको दृश्यले आन्तरिक पर्यटकलाई लोभ्याउँदै आएको छ । 'चिसो मौसम शुरू हुनै लाग्दा पहिला पहाड छिचोल्दै ठूलाठूला हाँस प्रजातिका चरा तालमा आइपुग्थे,' स्थानिय बासिन्दा खड्कबहादुर चन्दले भने, 'गर्मी शुरू हुन थालेपछि मात्रै फर्कन्थे, पहिलेको जस्तो जलपक्षी आउने क्रमम केही वर्षयता कम हुँदै गएको छ ।'
'तालभरि कमल फुलेर मनमोहक हुन्थ्यो, त्यसमा चरा रमाउँदै गरेको दृश्यकले यहाँ पुग्ने जो कोही पनि मन्त्रमुग्ध हुन्थे, तालमा हुने कमल हरायो, चरा पनि हराउँदै गएका छन्,' उनले भने ।
उनका अनुसार तालमा माछाका धेरै प्रजाति पाइन्थे । एउटै माछाको तौल पाँच किलोभन्दा माथि नै हुन्थ्यो । अहिले पनि तालमा एक किलोसम्मका माछा पाइने गरेका छन् । तालमा भएका माछा र चरालाई निकटवर्ती क्षेत्रका भारतीयले आएर मार्ने गरेको लक्ष्मण खत्रीले बताए । 'लुकिछिपी आएर चरा मार्छन्, विषादीको प्रयोग गर्छन्,' उनले भने, 'माछा पनि मारेर लैजान्छन् ।
ताल संरक्षणमा कुनै पनि निकायले चासो नदिँदा ताल खुम्चिँदै जान थालेकोप्रति उनले चिन्ता व्यक्त गरे । तालमा ४८ प्रजातिका जलपक्षी पाइने गरेका छन् भने रैथाने जातका १० बढी प्रजाति पाइने गरेका छन् । मङ्सिर र पुस महिनामा चराको चाप ताल क्षेत्रमा अधिक हुन्छ भने, गर्मी बढ्दै जाँदा चराका प्रजाति पुरानै क्षेत्रमा फर्कंने भएकाले घट्छन् ।
हाल तालमा जलपक्षीको संख्या घटेर २० देखि ३० हाराहारीमा मात्रै देखा पर्ने गरेको स्थानीयको भनाइ छ । चराको बासस्थानमा खलल पुगेपछि जलपक्षीको संख्या घट्दै गएको नेपाल पक्षी संरक्षण सङ्घका चरा विज्ञ हिरुलाल डगौराले बताए ।
'शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सिकारी ताल पछि जलपक्षीका धेरै प्रजाति पाइने पुरैनी हो', उनले भने, 'चराको बासस्थान व्यवस्थापन, ताल प्रतिवर्ष मासिँदै जान थालेकाले यसको सिमाङ्कनको काम गर्नुपर्छ, निकुञ्ज बाहिर रहेको ताल भएकाले स्थानीय तहले विशेष चासो दिनुपर्छ, यो सबैको सम्पदा हो, संरक्षण गरिनुपर्छ ।
'गत वर्ष बेलौरी नगरपालिकाले ताल क्षेत्रको केही भागलाई पोखरी बनाई आयस्तरमा वृद्धि गर्नका लागि सिद्देश्वर सहकारी संस्थालाई प्रधानमन्त्री आधुनिकीरण कृषि परियोजनाअन्तर्गत रु दुई लाख ३१ हजार छ सय ५० अनुदान रकम उपलब्ध गराई तीन वटा पोखरी निर्माण गरी माछापालन गरिएको थियो । जसबाट सहकारीले रु दुई लाख एक हजार पाँच सय २० रकम आम्दानी गरेको थियो ।
स्थानीयले तालमा माछापालनको काम गरेपछि विरोध गरेपछि यस वर्ष भने माछापालनको काम गरिएको छैन । 'नगरपालिकाले ताल संरक्षण र माछापालनको जिम्मा दिएपछि गत वर्ष चरा संरक्षण गर्नका लागि एक जना व्यक्तिलाई खटाएको थियौँ', उनले भने, 'यस वर्ष माछापालनको काम गरिएको छैन ।'
'पहिला धेरै चरा तालमा आउथे', उनले भने, 'जलवायुको असर हुन सक्छ, त्यसैले चरा कम आएका हुन सक्छन्, चराको आहाराको कमी हुन सक्छ ।' तालको अर्को समस्या भने जलकुम्भीको रहेको छ । ताल पुरै जलकुम्भीले भरिँदै गएको छ । तालको पानी स्थानीयले खेतमा सिँचाइ गर्नका लागि प्रयोगमा समेत ल्याउने गरेका छन् ।
स्थानीय थारू भाषामा कमललाई पुरैना भन्ने गरिएका त्यसै आधारमा तालको नाम पुरैनी राखिएको स्थानीय बासिन्दाको भनाइ छ । नगरपालिकाका नगर उपप्रमुख कुलवीर चौधरीले तालको जैविक विविधता नष्ट हुन नदिनका लागि कार्यक्रम सञ्चालन गर्न लागिएको बताए ।
'संरक्षणको कामलाई गम्भीरतापूर्वक लिएका छौँ,' उनले भने, 'माछा मार्न पूर्णरूपमा निषेध गरेका छौँ, खेतीयोग्य जमिन सिमसार भयो भन्ने स्थानीयको गुनासो छ, त्यस कुरालाई पनि सम्बोधन गर्छौं ।' ताल र सीमसार क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकसित गर्ने योजना रहेको उनले बताए । रासस
पर्वत । पर्वतको मुख्य निकासीयोग्य वस्तुको रूपमा रहेको सुन्तलाको उत्पादनमा यस वर्ष वृद्धि भएको छ । गतवर्षको तुलनामा यस वर्ष जिल्लामा सुन्तला उत्पादन करीब २५ प्रतिशतले बढेको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तलाखेती गर्ने क्षेत्रफल र उत्पादन दुवै बढेको हो ।
यस वर्ष जिल्लामा पाँच हजार मेट्रिक टन सुन्तला उत्पादन भएको छ, जसमध्ये चार हजार दुई सय ५० मेट्रिक टन सुन्तला जिल्लाबाहिर निकासी भएको ज्ञान केन्द्रले बताएको छ । गत कात्तिक अन्तिम सातादेखि माघ अन्तिम सातासम्म जिल्लाको सुन्तला निकासी भएको हो । जिल्लाको उच्च पहाडी क्षेत्रमा अवस्थित बाँसखर्कबाट माघको अन्तिम सातामात्र सुन्तला बजार पठाइएको थियो ।
निकासी भएको चार हजार दुई सय ५० मेट्रिक टन सुन्तलाबाट जिल्लामा रू. २९ करोड ७५ लाख आम्दानी भएको वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले जानकारी दिइन् । पर्वतबाट औसत रू. ७० को दरले सुन्तला निर्यात भएको छ । यहाँ उत्पादित सुन्तला पोखरा, काठमाडौं, नारायणगढ र बुटवलसम्म पुगेको थापाले बताइन् ।
जिल्लामा अहिले ८ सय ३० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको छ । सोमध्ये पाँच सय हेक्टर क्षेत्रफलबाट उत्पादन भइरहेको छ भने बाँकी क्षेत्रफलबाट आगामी वर्षदेखि उत्पादन दिन शुरू हुनेछ । उत्पादित सुन्तलामध्ये झन्डै १५ प्रतिशत स्थानीय उपभोगमै खर्चिएको अनुमान छ ।
गतवर्ष पर्वतमा चार हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गतवर्ष चार सय ५० हेक्टर क्षेत्रफलबाट मात्र उत्पादन भएको थियो भने यस वर्ष ११ प्रतिशत बढी क्षेत्रफलमा उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत थापाले बताइन् ।
यस वर्ष अनुकूल मौसम, रोग कीराको प्रकोप कम र हावाहुरी, असिना पानीलगायतबाट कुनै क्षति नभएकाले सुन्तला उत्पादन वृद्धि भएको हो । पछिल्लो समय बाँझै रहेको खेतबारीमा सुन्तला लगाउने र स्थानीय तहहरूले पनि सुन्तला खेती गर्ने कृषकलाई प्रोत्साहन गर्न थालेपछि क्षेत्रफलमा वृद्धि हुँदै गएकाले बर्सेनि उत्पादन बढ्दै गएको छ । ‘किसानले मल, कीटनाशक विषादीको प्रयोग तथा बगैंचा सुधार गरेको र यस वर्ष हावाहुरी असिना नपरेकाले सुन्तला उत्पादनमा वृद्धि भएको हो,’ उनले भनिन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पर्वतका जलजला, मोदी, महाशिला र पैंयु गाउँपालिकाका साथै फलेवास नगरपालिकाका विभिन्न वडालाई सुन्तला जोन र ब्लकको रूपमा विकास गरिएको छ । जिल्लाको जलजला गाउँपालिकाको बाँसखर्कमा सबैभन्दा बढी सुन्तला उत्पादन हुँदै आएको छ । यहाँको एउटै गाउँबाट भन्डै रू. आठ करोडको सुन्तला निकासी भएको छ । रासस
नेपालमा आजदेखि चरा गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न सुरु गरेको हो ।
गणनामा तीन सय ५० जना चरा
काठमाडौँ- चितवनमा विषादी प्रयोगशालामा परीक्षण गरिएकामध्ये १४ नमूनामा बढी मात्रामा विषादी प्रयोग भएको पाइएको छ । कृषि ज्ञान केन्द्र भरतपुर महानगरपालिका र कृषि प्रवद्र्धन बजार विकास प्रालि क्षेत्रपुरले सञ्चालनमा ल्याएको प्रयोगशालामा गत आर्थिक वर्ष २०७८/८९ मा सात सय ४४ नमूना परीक्षण गरिएकोमा सो सङ्ख्यामा बढी मात्रामा विषादी प्रयोग गरेको पाइएको हो । कृषि ज्ञान केन्द्रकी […]
चितवन । चितवनमा मौरीको चरन क्षेत्र खुम्चिँदा मौरीपालक किसान मारमा परेका छन् । मौरीपालनमा किसानको आकर्षण बढे पनि मौरी चरनका लागि लागि चिउरी, तोरी, रुधिलो लगायत बोटविरुवा पाइने क्षेत्र घट्दा अन्य जिल्लामा मौरी लगेर चराउनुपर्ने बाध्यता छ ।
भरतपुर महानगरपालिका–९ का मौरीपालक किसान विष्णु भुसालले केही वर्ष अघिदेखि दाङ, प्यूठान, सर्लाही, महोत्तरी लगायत जिल्लामा लगेर मौरी चराउँदै आएका छन् । ‘चितवनमा प्रशस्त चरन क्षेत्र छैन, अहिले डेढ सय गोला लिएर दाङ आएको छु,’ उनले भने । गतवर्षको तुलनामा यस वर्ष मह उत्पादनमा केही सुधार हुने अपेक्षा गरिए तापनि चरन क्षेत्रको अभावले सास्ती खेप्नुपरेको उनले बताए । अहिले चितवनमा चिउरी पनि नफुलेको र भर्खर धान कोटेर तोरी लगाउने बेला भएकाले चरनको समस्या भएको उनको भनाइ छ ।
रत्ननगर नगरपालिका–१५ का मौरी किसान रोशन पण्डित चरनकै अभावले महको उत्पादन पनि घट्ने बताउँछन् । ‘मौरीपालक किसान र गोलाको संख्या बढेको छ । तर चरन क्षेत्र वर्षेनि घट्दो छ,’ उनले भने । चितवनको मौसमको भर नहुने र नियमित हावा पानी आउने भएकाले मौरी चरनमा समस्या हुने गरेको उनले बताए । अहिले चितवनको मौसम राम्रो नभएको, तर दाङतिर यो समयमा चिउरी र तोरी राम्रैसँग फुलेकाले चराउन लैजानुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
पछिल्लो समय चितवन, प्यूठान, रोल्पा लगायतका किसानले दाङमा मौरी चराउन ल्याएकाले चरन क्षेत्रमा चाप परेको घोराही नगरपालिका–४ का किसान गोपीचन्द्र न्यौपानेले बताए । ‘अहिले हाम्रै जिल्लामा मौरी किसान बढेका छन् । यसमाथि चितवन, प्यूठान, रोल्पाबाट पनि मौरी ल्याउनुभएको छ,’ उनले भने, ‘मौरीको गोला धेरै भएकाले चरन अभाव भयो ।’ कतिपय फलफूल तथा अन्नबालीमा विषादीको प्रयोग गरिएकाले पनि मह उत्पादनमा ह्रास हुँदै गएको उनको भनाइ छ ।
नेपाल मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष शिवप्रसाद शर्मा अहिले मौसम अनुकूल भएकाले गतवर्षभन्दा मह उत्पादन बढ्ने अनुमान गरिएको बताउँछन् । ‘अहिले तराईका जिल्लामा चिउरी चाँडै फुल्न थालेको छ,’ उनले भने, ‘यस वर्ष मह उत्पादन २० प्रतिशतले बढ्ने संकेत देखिएको छ ।’ मौरीपालक किसान बढे पनि जग्गा खण्डीकरण, वनजंगल मासिनु, रानी मौरीको गुणस्तरमा ह्रास र विषादीको अव्यवस्थित प्रयोगका कारण मह उत्पादन अपेक्षित रूपमा बढ्न नसकेको उनको भनाई छ ।
शर्माका अनुसार आर्थिक वर्ष २०७५/७६ मा देशभर ३५ सय मेट्रिकटन मह उत्पादन भएको थियो । तर पछिल्ला वर्ष यो परिमाण घटेर वार्षिक १ हजार ५०० मेट्रिक टनमा खुम्चिएको थियो । यस वर्ष ३ हजार मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ ।
चितवनमा हाल व्यावसायिक किसान साढे ५०० हाराहारीमा छन् । जिल्लाभर ३५ हजार मौरीका गोला छन् ।
महासंघका अनुसार देशभर ११ हजार मौरीपालक किसान छन् भने १ लाखभन्दा बढी घारबाट मह उत्पादन हुँदै आएको छ । नेपालमा विशेषगरी मेलिफेरा र सेरेना जातको मौरी पालन गरिन्छ ।द
सिन्धुलीको दुधौली नगरपालिकाले कमला नदीमा विषादी प्रयोग गरी माछा मार्ने क्रम बढेपछि जरिवानाको व्यवस्था गरेको छ । पछिल्लो समयमा नदीमा विषादीको प्रयोग बढ्दै गएको छ । यसको अन्त्य गर्न विषादी प्रयोग गरी माछा मारेको पाइएमा सात हजार पाँच सय रुपियाँसम्म जरिवाना र प्रचलित कानुनअनुसार कारबाहीको व्यवस्था गरेको दुधौली नगरपालिकाले जनाएको छ ।