चरन अभावले मौरीपालक किसान मारमा

चितवन । चितवनमा मौरीको चरन क्षेत्र खुम्चिँदा मौरीपालक किसान मारमा परेका छन् । मौरीपालनमा किसानको आकर्षण बढे पनि मौरी चरनका लागि लागि चिउरी, तोरी, रुधिलो लगायत बोटविरुवा पाइने क्षेत्र घट्दा अन्य जिल्लामा मौरी लगेर चराउनुपर्ने बाध्यता छ । भरतपुर महानगरपालिका–९ का मौरीपालक किसान विष्णु भुसालले केही वर्ष अघिदेखि दाङ, प्यूठान, सर्लाही, महोत्तरी लगायत जिल्लामा लगेर मौरी चराउँदै आएका छन् । ‘चितवनमा प्रशस्त चरन क्षेत्र छैन, अहिले डेढ सय गोला लिएर दाङ आएको छु,’ उनले भने । गतवर्षको तुलनामा यस वर्ष मह उत्पादनमा केही सुधार हुने अपेक्षा गरिए तापनि चरन क्षेत्रको अभावले सास्ती खेप्नुपरेको उनले बताए । अहिले चितवनमा चिउरी पनि नफुलेको र भर्खर धान कोटेर तोरी लगाउने बेला भएकाले चरनको समस्या भएको उनको भनाइ छ । रत्ननगर नगरपालिका–१५ का मौरी किसान रोशन पण्डित चरनकै अभावले महको उत्पादन पनि घट्ने बताउँछन् । ‘मौरीपालक किसान र गोलाको संख्या बढेको छ । तर चरन क्षेत्र वर्षेनि घट्दो छ,’ उनले भने । चितवनको मौसमको भर नहुने र नियमित  हावा पानी आउने  भएकाले मौरी चरनमा समस्या हुने गरेको उनले बताए । अहिले चितवनको मौसम राम्रो नभएको, तर दाङतिर यो समयमा चिउरी र तोरी राम्रैसँग फुलेकाले चराउन लैजानुपर्ने बाध्यता रहेको उनको भनाइ छ । पछिल्लो समय चितवन, प्यूठान, रोल्पा लगायतका किसानले दाङमा मौरी चराउन ल्याएकाले चरन क्षेत्रमा चाप परेको घोराही नगरपालिका–४ का किसान गोपीचन्द्र न्यौपानेले बताए । ‘अहिले हाम्रै जिल्लामा मौरी किसान बढेका छन् । यसमाथि चितवन, प्यूठान, रोल्पाबाट पनि मौरी ल्याउनुभएको छ,’ उनले भने, ‘मौरीको गोला धेरै भएकाले चरन अभाव भयो ।’ कतिपय फलफूल तथा अन्नबालीमा विषादीको प्रयोग गरिएकाले पनि मह उत्पादनमा ह्रास हुँदै गएको उनको भनाइ छ । नेपाल मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष शिवप्रसाद शर्मा अहिले मौसम अनुकूल भएकाले गतवर्षभन्दा मह उत्पादन बढ्ने अनुमान गरिएको बताउँछन् । ‘अहिले तराईका जिल्लामा चिउरी चाँडै फुल्न थालेको छ,’ उनले भने, ‘यस वर्ष मह उत्पादन २० प्रतिशतले बढ्ने संकेत देखिएको छ ।’ मौरीपालक किसान बढे पनि जग्गा खण्डीकरण, वनजंगल मासिनु, रानी मौरीको गुणस्तरमा ह्रास र विषादीको अव्यवस्थित प्रयोगका कारण मह उत्पादन अपेक्षित रूपमा बढ्न नसकेको उनको भनाई छ । शर्माका अनुसार आर्थिक वर्ष २०७५/७६ मा देशभर ३५ सय मेट्रिकटन मह उत्पादन भएको थियो । तर पछिल्ला वर्ष यो परिमाण घटेर वार्षिक १ हजार ५०० मेट्रिक टनमा खुम्चिएको थियो । यस वर्ष ३ हजार मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ । चितवनमा हाल व्यावसायिक किसान साढे ५०० हाराहारीमा छन् । जिल्लाभर ३५ हजार मौरीका गोला छन् । महासंघका अनुसार देशभर ११ हजार मौरीपालक किसान छन् भने १ लाखभन्दा बढी घारबाट मह उत्पादन हुँदै आएको छ । नेपालमा विशेषगरी मेलिफेरा र सेरेना जातको मौरी पालन गरिन्छ ।द

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशमा मल अभाव, सीमावर्ती क्षेत्रका किसानलाई भारतकै भर

अहिले देशभर रासायनिक मलको अभाव छ । लुम्बिनी प्रदेशका किसान पनि मलको अभावले मारमा परेका छन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष मलको अभाव अझ चरम बनेको हो ।सरोकारवालाहरुका अनुसार ९० प्रतिशत किसानले मल  पाएका छैनन् । मौसमले साथ दिएपछि धान रोपाइँ सुरु गरेका किसानले डीएपी मल पर्याप्त मात्रामा पाएका छैनन् भने युरिया मलको चरम अभाव छ ।लुम्बिनी प्रदेशमा कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङ्गले ३० प्रतिशत मल उपलब्ध गराउने भनिए पनि अहिले कृषकलाई मलको अभाव हुँदा ती निकाय रमिते बनेका छन

मकवानपुरमा युरिया मलको अभाव

बर्षेनी झैं यस वर्ष पनि मकवानपुरमा युरिया मलको अभावले किसान मारमा परेका छन् । मकवानपुरका ५० हजार बढी किसान गत फागुनदेखि युरिया मल अभावको मारमा परेका हुन् । डिएपी र पोटास मल...

मल अभावले झापाको केराखेती संकटमा

वैशाख ३, झापा । यहाँ केराखेती गर्दै आएका किसानले रासायनिक मल अभावका कारण संकट आएको बताएका छन् । यसबाट केराको उत्पादन घट्नाका साथै खेती खुम्चिन थालेको छ ।  विगतमा ५० बीघा जमीनमा केराको खेती गरेका कनकाई नगरपालिका–३ का बेनु पराजुलीले आम्दानी सोचेभन्दा कम भएपछि यसपाली ३० बीघाको केराखेती मासेको बताए । शुरुमा ‘केरा जोन’ बनाउने उद्देश्यले खेती शुरु गरे पनि मल अभाव र लकडाउनका कारण केराखेतीबाट ठूलो घाटा व्यहोर्नु परेको उनको भनाइ छ ।             विगतमा पकेट, ब्लक क्षेत्र घोषणा गरेर सरकारी अनुदान लिएका किसानले पछिल्लो समय भाडामा लिएको जग्गासमेत जग्गा धनीलाई नै फर्काउँदै केराको खेती घटाउन थालेका छन् । विगतमा जिल्लाको कनकाई–५, शिवसताक्षी नगरपालिका–७, बाह्रदशी गाउँपालिका–६ र झापा गाउँपालिका–७ मा दुर्गामाता तथा कोलाखेती कृषि फार्मले ४०० बीघा जमीनमा व्यावसायिक केराको खेती गर्दै आएका थिए ।             किसानहरु बेनु पराजुली, हिमदल पराजुली, कुलप्रसाद चिमरिया, लक्ष्मी चिमरिया र गणेश सङ्ग्रौलाले संयुक्तरुपमा फार्म सञ्चालन गरेका थिए । उनीहरुले स्थानीय किसानको जग्गा पाँच वर्षका लागि भाडामा लिएर सामूहिक केराखेती शुरु गरे पनि तीन वर्षमै लगानीसमेत उठ्न नसकेपछि जग्गा फिर्ता गर्दै केरा खेती मास्न थालेका हुन् ।             केराखेती गर्ने यहाँको सबैभन्दा ठूलो फार्मका रुपमा परिचित दुर्गामाता तथा कोलाखेती कृषि फार्मले यसपाली लगभग १०० बीघा जग्गाको केराखेती मासेको छ । खेतीमा चाहिएका बेला रासायनिक मल नपाइने भएको हुँदा उत्पादनमा ह्रास आउने गरेको फार्मका अध्यक्ष लक्ष्मी चिमरियाले बताए ।              वर्षमा केरालाई तीन पटकसम्म मल लगाउनुपर्ने जनाउँदै उनले गत वर्ष एकपटकसमेत मल लगाउन नपाउँदा उत्पादनमा ह्रास आएको गुनासो गरे । केराखेती गर्नका लागि युरिया, डिएपी, पोटास र फस्फोरस मलको आवश्यकता पर्दछ ।                   फार्मले दुई वर्ष कृषि ज्ञान केन्द्रबाट खेतीका लागि ५० प्रतिशत लगानी गर्ने सर्तबमोजिम  ५० लाख रुपैयाँ अनुदान लिएको थियो । उनले विसं २०६६/ ०७७ मा ३२ लाख रुपैयाँ र विसं २०७७/ ०८८ मा १३ लाख रुपैयाँ अनुदान प्राप्त भएको जानकारी दिए।             अनुदान लिने झन्झटिलो प्रक्रिया, समयमा मल नपाउनेलगायत कारण केराखेतीतर्फ किसानको आकर्षण घट्दो छ । ‘केराको बजार राम्रो छ, व्यापारीसम्म हाम्रो सिधै पहुँच पुग्दैन, ठेकेदारमार्फत बेच्दा भने जस्तो दाम नै पाइँदैन, अनि कहाँबाट नाफा हुनु’, पराजुलीले निराश हुँदै भने । उनले चिनी चम्पा र मालभोग केराको खेती गरेका छन् ।            कृषि ज्ञान केन्द्रले आर्थिक वर्ष २०७७/ ०७८ मा जिल्लामा १ हजार ८०० हेक्टर क्षेत्रमा केराको व्यावसायिक खेती भएको बताएको छ । समयमा मल नपाइने, विभिन्न किसिमका रोग लाग्ने र मौसमी हावाहुरीले केराका बोट ढाल्नेलगायत कारण किसान मारमा परेको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत गणेश शिवाकोटीले जानकारी दिए ।।             उनले केरालाई जैविकसँगै रासायनिक मलको पनि आवश्यकता पर्ने तर समयमा नपाइने समस्याका कारण पनि किसान मारमा परेको जानकारी दिए । उनका अनुसार व्यावसायिक केराखेती गर्ने किसानले बाली बिमा नगर्दा प्राकृतिक प्रकोपका कारण क्षति भएका बेला उनीहरुले राहत नपाउँदा पनि ठूलो क्षति व्यहोरिरहेको देखिन्छ ।  उनले साना किसानले उत्पादन गरेको केरा विचौलियामार्फत बेच्नुपर्दा मारमा परेको बताए । रासस

सकसमा पोल्ट्री व्यवसाय : बर्डफ्लूको प्रकोप र दानाको मूल्यवृद्धि एकसाथ

काठमाडौं । उत्पादनमा आत्मनिर्भर घोषणा गरिएको पोल्ट्री व्यवसायमा बर्डफ्लू रोगको प्रकोप र दानाको मूल्यवृद्धिको असर एकसाथ परेको छ । कोरोना महामारीका कारण २ वर्षदेखि समस्यामा रहेको पोल्ट्री व्यवसायमा पछिल्ला दिनमा दुवै असर एकैसाथ देखिएपछि कुखुरा पालक किसान मारमा परेका छन् । पशुसेवा विभागका अनुसार हाल काठमाडौंसहित भक्तपुर, सिन्धुपाल्चोक मोरङ, सुनसरी, चितवन, उदयपुर, कास्की, लमजुङ लगायत एक दर्जनभन्दा बढी जिल्लामा बर्डफ्लू रोग फैलिसकेको छ, जसबाट सयौं किसान प्रभावित बनेका छन् । विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले स्थानीय तहमा जनशक्ति अभावले बर्डफ्लू नियन्त्रण चुनौतीपूर्ण बनेको बताए । त्यसैगरी दानाको मूल्य समेत एक वर्षमा प्रतिबोरा १ हजार रुपैयाँका दरले बढेको छ । दानाका लागि आवश्यक पर्ने कच्चापदार्थ भटमासको मूल्य एक वर्षमा प्रतिकिलो ६५ रुपैयाँले बढेर १३० रुपैयाँ पुगेको छ भने मकैको मूल्य पनि किलोमै २५ रुपैयाँले बढेर ५० रुपैयाँ पुगेको छ । यी सबैको प्रत्यक्ष असर चल्ला, कुखुराको मासु र अण्डामा परिरहेको छ । कोरोना महामारीका कारण समस्या भोग्दै आएका कुखुरापालक किसान अहिले दुईओटा समस्या एकैसाथ आएपछि पलायन हुने सम्भावना बढेको छ । व्यवसायमा आइरहने यस्ता उतारचढावले हरेक वर्ष १० हजार किसान पलायन हुने, तर थौरै संख्यामा मात्र नयाँ किसान थपिने गरेका छन् । अहिलेको असहज परिस्थितिले थप किसान पलायन हुन सक्ने नेपाल पोल्ट्री व्यवसायी महासंघका महासचिव दिनेशराज मिश्रले बताए । उनका अनुसार विगतकै महामारीको प्रभाव र अहिलेकोे समस्याले किसान धेरै हतोत्साहित भएका छन् । किसानहरू आत्तिएर पेशा छाड्न सक्ने खतरा बढेको उनको भनाइ छ । तर के कति किसानको अवस्था असहज भएको भन्ने यकिन तथ्यांक महासंघसँग नभएको उनले बताए । पोल्ट्री व्यवसाय निकै संवेदनशील भएकाले कुनै समस्या आउनेबित्तिकै अधिकांश किसान हतोत्साहित भएर पलायन हुने गरेको उनले बताए । विगतदेखिकै समस्याका कारण व्यवसायमा घाटा भइरहेपछि ३४० ओटा ह्याचरी उद्योगमध्ये हालसम्म ७० ओटा बन्द भइसकेको ह्याचरी उद्योग संघले बताएको छ । व्यवसायमा यस्तै उतारचढाव भइरहेमा बन्द हुने ह्याचरी उद्योगको संख्या अझै बढ्ने संघका अध्यक्ष टीकाराम पोखरेलले बताए । उनका अनुसार कुखुरापालक किसान व्यवसायबाट निराश हुँदा चल्लाको माग घटेर हप्तामा २५ लाखमा सीमित भएको छ । यसअघि सामान्य अवस्थामा हप्तामा करीब ४२ लाख चल्लाको माग हुने गरेको संघको तथ्यांक छ । कुखुरापालक किसान घटेसँगै ह्याचरी उद्योग समेत बन्द हुन थालेका छन् । तर चल्ला उत्पादन घट्दा बजारमा तयारी मासुको माग बढेको छ । करीब ३ महीना अघिसम्म १८ रुपैयाँमा समेत विक्री नभएको ब्रोइलर चल्लाको मूल्य यतिबेला ८० देखि ९० रुपैयाँ पुगेको छ । मंगलवार ब्रोइलर कुखुराको मासुको मूल्य ४२० रुपैयाँ पुगेको छ भने अण्डाको मूल्य समेत बढेर प्रतिगोटा १६ देखि १७ रुपैयाँसम्म पुगेको छ ।

तालेजुङमा उत्पादित किवीले बजार पाएन, लगानी डुब्ने चिन्तामा किसान

पुस २०, तालेजुङ । बजार अभावका कारण तालेजुङमा उत्पादित किवीले अपेक्षाकृत मूल्य नपाउँदा किसान निराश भएका छन् । सुरुमा धेरै राम्रो मूल्य आएकाले सोहीअनुसार मूल्य पाउने अपेक्षासहित किसानले किवी फलको खेती गर्न थालेका थिए । ताप्लेजुङसहित पूर्वका अधिकांश पहाडी तथा हिमाली जिल्लाका किसानले किवीको राम्रो बजार देखेपछि किवी खेतीप्रति प्रभावित भएर किवीखेती गर्न लागिएको तर अहिले सोचेजस्तो मूल्य नआएपछि उनीहरू निराश भएका छन् । किवी खेतीको आर्थिक लगानी डुब्न लागेको भन्दै खेतीमा संलग्न किसान चिन्तित भएका छन् । ताप्लेजुङमा पाँच/सात वर्षअघिदेखि किसानले किवीखेती शुरु गरेको पाइन्छ । अहिले धेरै किसानले व्यावसायिकरूपमा किवीखेती लगाउन शुरु गरेका छन् । किसानले लगाएको खेतीबाट किवी उत्पादन हुन थालेसँगै बजारमा किवीको माग निरन्तर घट्दै गएकाले सोचेजस्तो फाइदा लिन नपाएको किसानको भनाइ छ ।  किसानकाअनुसार किवी उत्पादन बढ्दै जाँदा बजार माग भने नभएकाले उनीहरूमा बजारको चिन्ता रहँदै आएको थियो । सिरिजंगा गाउँपालिका–५ पेदाङका किसान खेलप्रसाद बुढाथोकीले किवीको बजार माग शून्यजस्तै रहेको बताए । जिल्लामा अधिकांश किसानले एकै समयमा किवीखेती शुरु गरेकाले अहिले सबै ठाउँमा उत्पादन हुन थालेको बुढाथोकीले बताए । किवीको बजार नहुँदा उत्पादन धमाधम भए पनि आम्दानी लिनबाट किसानले बञ्चित हुनुपरेको उनको भनाइ छ । उनकाअनुसार जिल्लामा झण्डै एक हजार क्विन्टलको हाराहारीमा किवी उत्पादन हुन थालेको छ । यस्तै फुङ्लिङ नगरपालिका–६ का किसान हर्कराज गुरुङले पनि आम्दानी थाप्ने समयमा किवीले बजार नपाउँदा आफूहरू मारमा परेको बताए । किवीको बजार अभावसँगै उचित मूल्य नपाउँदा खेतीमा संलग्न किसान मारमा पर्दै आएको अवस्थालाई दृष्टिगत गरी स्थानीय सरकारले बजार व्यवस्थापनमा सहयोग गर्नुपर्ने गुरुङले माग गरे । शीतभण्डार (कोल्डस्टोर) सहित प्रशोधन गर्ने व्यवस्था भएमा किसानलाई राहत पुग्ने उनको भनाइ छ । पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेका किसान विजय डाँगीले किवीको बजार व्यवस्थाका लागि स्थानीय सरकार हुँदै प्रदेश र संघीय सरकारबाट कुनै सहयोग नहुने हो भने किसानले लाखौँ आम्दानी गुमाउनु पर्ने अवस्था आउने बताए । बजार व्यवस्थामा तीनै तहको सरकारको सहयोग भएमा किवी खेतीमा संलग्न किसानलाई ठूलो राहत पुग्ने डाँगीको भनाइ छ ।  यसरी उनीहरू जस्तै जिल्लामा किवीको व्यावसायिक खेतीमा संलग्न रहँदै आएका किसान बजार अभावले भौतारिँदै आएका छन् । सुरुमा प्रतिकिलो रू. ६०० सम्म पर्ने गरेकोमा अहिले स्थानीय बजारमा मुस्किलले प्रतिकिलो रू. ८० देखि १०० सम्ममा खरीदविक्री हुने गरेको छ । उक्त मूल्यमा पनि जिल्लामा उत्पादन हुने सबै परिमाण खपत नहुने किसानको भनाइ छ । फक्ताङलुङ गाउँपालिका–४ इखाबुका स्थानीयवासी कुमारीबुद्ध काम्बाङले पनि किवीबाट राम्रो फाइदा लिन सकिने अवस्था रहँदारहँदै पनि यसबाट किसान बञ्चित हुनु परेको बताए । शीतभण्डारको व्यवस्था भएमा किवीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने काम्बाङको भनाइ छ ।  किवीलाई प्रशोधन गरेर जुस, वाइनलगायत रक्सीजन्य परिकार बनाएर उपभोग गर्न सकिने र यसबाट किसानले आम्दानी गर्नसक्ने अवस्था रहेको काम्बाङले बताए । रासस

मल अभावले किसान मारमा

खेत जोतेर तयार छ । यहाँका किसानले गहुँ छरेका छैनन् । ‘डीएपी मलबिना कसरी गहुँ छर्ने ? उब्जनी हुँदैन,’ बाँकेको जानकी गाउँपालिका मानपुरका किसान उद्धव यादवले भने, ‘दुई सातादेखि मलका लागि दौडधुप गरिरहेको छु । भेटेको छैन ।’ उद्धवमात्रै होइन, बाँके र बर्दियाका हजारौं किसान अहिले मलका लागि दौडधुप गरिरहेका छन् । तर, मल नपाउँदा हिउँदे बाली लगाउने समय घर्किंदै गएको उनीहरूले गुनासो छ ।

चरनको चरम अभावले मौरी किसान मारमा

कात्तिक २७, चितवन । चितवनमा वर्षेनी मौरीको चरन क्षेत्रफल खुम्चिदै गएको छ । व्यवसायिक मौरी किसान वृद्धि हुँदै जानु र चरन क्षेत्र प्रशस्त नहुंँदा मौरी किसान मारमा परेका छन् ।  मौरीपालनतर्फ किसानहरुको आकर्षण बढेपनि मौरीपालनका लागि चिउरी, तोरी, रुदिलो लगायतका बोटविरुवा कम हुँदा चितवनका किसानले अन्य जिल्लामा लगेर मौरी चराउनु पर्ने बाध्यता छ ।  भरतपुर महानगरपालिका वडा नम्बर ९ का मौरी किसान विष्णु भूषाल चरन अभावका कारण केही वर्ष अघिदेखि चरनको लागि दाङ, प्युठान, सर्लाही महोत्तरी जिल्लाहरुमा लगेर चराउंँदै आएको बताउँछन् । ‘चितवनमा चरन प्रशस्त छैन के गर्नु, अहिले डेढसय गोला लिएर दाङ आएको छु, उनले भने, चितवनमा ६० गोला छाडेर आएको छु ।’ गत वर्षभन्दा यसवर्ष मौसम, मह उत्पादनमा केही सुधार हुने भएतापनि चरनको अभाव सास्ती खेप्नु परेको उनले बताए ।  ‘गोलालाई गाडीमा राखेर बचाएर दाङ ल्याउनुपर्छ, फेरी केही समयपछि फेरी चितवननै फर्किनुपर्छ ।’ उनले भने । अहिले चितवनमा चिउरी पनि नफुलेको र भर्खर धान काटेर तोरी लगाउने बेला भएकोले चरनको चरम अभाव भएको उनको भनाइ छ ।  रत्ननगर नगरपालिका वडा नम्बर १५ का मौरी किसान रोशन पण्डित चरनकै अभावका कारण महको उत्पादन पनि घट्ने बताउँछन् । ‘मौरी किसानको संख्या र गोलाको संख्या बढेको छ । चरनचाँही वर्षेनी घट्दो छ ।’ चितवनको मौसमको भर नहुने र नियमित  हावा पानी आउने  भएकोले चरन अभाव हुने उनले बताए । ‘अहिले चितवनको मौसम राम्रो छैन । नियमित पानी जस्तै परेको छ, उनले भने, दाङतिर यो समय चिउरी र तोरी राम्रैसँग फुलेकोले चराउन लग्नुपर्ने बाध्यता छ ।’ पछिल्लो समय चितवन लगायत प्युठान, रोल्पा लगायतका मौरी किसानहरुले दाङ जिल्लामा मौरी चराउन ल्याएका कारण त्यहाँपनि चरन अभाव हुन थालेको घोराही नगरपालिका वडा नम्बर ४ का मौरी किसान गोपीचन्द्र न्यौपाने बताउँछन् ।  ‘अहिले हाम्रै जिल्लामा मौरी किसान बढेका छन् । यसमाथि चितवन, प्यूठान, रोल्पाबाट पनि मौरी ल्याउनुभएको छ, उनले भने, मौरीको गोला धेरै भएकोले चरन अभाव भयो ।’ चरन अभाव भएका कारण उत्पादनमा समेत ह्रास आउने उनले बताए । ‘अहिले मौरीले प्रसस्त रस चुस्न पाएका छैनन्, उनले भने, मेरोमा यसपटक उत्पादन ५० प्रतिशत मह उत्पादन घट्छ ।’  कतिपय फलफूल तथा अन्नबालीहरुमा विषादीको प्रयोग गरिएका कारणपनि मह उत्पादनमा ह्रास हुँदै गएको उनको भनाइ छ । नेपाल मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष शिव प्रसाद शर्मा अहिले मौसम अनुकुल भएकोले गत वर्षभन्दा यस वर्ष मह उत्पादन बढ्ने अनुमान गरिएको बताउँछन् । ‘अहिले तराईका जिल्लामा चिउरी चाँडै फुल्न थालेको छ, उनले भने, गतसाल भन्दा यसवर्ष २० प्रतिशतले बढ्ने लक्षण देखिएको छ ।’  मौरी किसान बढेपनि जग्गा खण्डीकरण, वनजंगल मासिनु, रानी मौरीको गुणस्तरमा ह्रास र अव्यवस्थित विषादीको प्रयोगका कारण किसान र गोलाको संख्या बढेपनि मह उत्पादनमा भने ह्रास आएको उनको भनाइ छ । मंसिरबाट दाङ लगायतका जिल्लाहरुमा मह काढ्न शुरु गरिन्छ ।   उनका अनुसार आर्थिक बर्ष ०७५/७६ मा देशभर ३५ हजार मेट्रिक टन मह उत्पादन भएको थियो तर पछिल्ला वर्ष यो परिमाण घटेर वार्षिक एक हजार पाँचसय मेट्रिक टनसम्म उत्पादन भएको थियो । यसवर्ष देशभर तीन हजार मेट्रिक टन मह उत्पादन हुने अनुमान गरिएको छ ।  चितवनमा हाल व्यवसायिक किसानको संख्या साढे पाँचसयको हाराहारीमा छन् भने यहाँ ३५ हजार मौरीको गोला रहेका छन् ।  यसैगरी देशभर ११ हजार मौरी किसान रहेका छन् भने १ लाख भन्दा बढी गोलाबाट मह उत्पादन हुँदै आएको छ । नेपालमा मेलिफेरा र सेरेना जातको मौरीबाट मह उत्पादन हुँदै आएको छ ।

मौरीपालनमा निषेधाज्ञाको असर : उत्पादनमा ह्रास, विक्री पनि छैन

चितवन । देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू गरिएको १ महीनाभन्दा बढी भइसकेको छ । निषेधाज्ञाका कारण अत्यावश्यक सेवा बाहेकका सबै क्षेत्र ठप्पप्रायः छन् । कोरोना महामारीका कारण सबै गतिविधि प्रभावित भइरहँदा यसको असर कृषिक्षेत्रमा पनि परेको छ । चितवनमा अघिल्लो वर्षदेखि नै मह उत्पादनमा ह्रास आएकोमा यसपटकको निषेधाज्ञाले मौरीपालक किसानलाई थप चिन्तित बनाएको छ । चरनको अभाव हुँदै जाँदा यस वर्ष पनि उत्पादन खुम्चिएको छ । ‘चरनको अभावले मह उत्पादन घटेको छ, निषेधाज्ञाको प्रभावले उत्पादन विक्रीमा पनि समस्या छ,’ भरतपुर महानगरपालिका–९ का मौरीपालक विष्णु भुसालले भने । अहिले वन लगायत स्थानीय बारी तथा खेतहरूमा फूल नफुल्ने भएकाले मह उत्पादन नहुने र भएका मौरीलाई चिनी÷चास्नी खुवाएर पाल्नुपर्ने उनले बताए । ‘अहिले मौरीका लागि खर्च मात्र हुने बेला हो, आम्दानी शून्य,’ उनले भने । यस्तै विगत केही दिनदेखि परेको हावाहुरी, पानीले घारभित्रका मौरी मर्न थालेको र रानो पनि उत्पादन हुन नसकेको खैरहनी नगरपालिका–४ का किसान श्याम गुरुङले बताए । गतवर्षदेखि बन्दाबन्दीको मार खेपिरहेका मौरीपालक किसान यस वर्ष निषेधाज्ञाका कारण थप मारमा परेका छन् । जिल्लाका मौरीपालक किसानले मौरी चरनको अभावले उत्पादनमा ह्रास, उत्पादन हुँदा समेत उचित मूल्य नपाउने लगायत समस्या खेप्दै आएका छन्, जसकारण कतिपय किसान यो पेशाबाटै विस्थापित हुने अवस्थामा पुगेका छन् । ‘अहिले महको माग भए पनि उत्पादन छैन, चरन पनि छैन । मौरीलाई बचाउन पनि उत्तिकै गाह्रो छ,’ मौरीपालक किसान गुरुङले भने । स्थानीय उत्पादन प्रवद्र्धनमा प्रोत्साहनका लागि सरकारले विशेष योजना नल्याउँदा यस व्यवसायप्रति निराशा बढेको उनको भनाइ छ । जिल्लामा मौरीपालन तथा उत्पादनमा वर्षेनि ह्रास आएको छ, जसकारण उपभोक्ताले विदेशी महँगो मह वा सस्तोमा कम गुणस्तरको मह उपभोग गर्नुपर्ने बाध्यता छ । ‘मौसममा व्यापक परिवर्तन छ । न मौसममा फूल फुलेका छन्, न त प्रशस्त रूपमा मौरीले चरन गर्न पाएका छन्,’ मौरीविज्ञ डा. खेमराज न्यौपानेले भने, ‘यसले मौरीपालनमा चुनौती सृजना भएको छ ।’ स्वदेशी उत्पादनको प्रवद्र्धनमा राज्यको ठोस नीति तथा कार्यक्रम नहुँदा मोरीपालन क्षेत्र पनि उपेक्षामा परेको उनको भनाइ छ । ‘वर्षेनि मौरी गोला विस्तार र महकै उत्पादनमा ठूलो ह्रास आएको छ, यो चिन्ताको विषय हो,’ उनले भने । मौरीको भूमिका मह उत्पादन गर्ने मात्र नभई परागसेचनको कारण खाद्यान्न बाली उत्पादनमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । केही वर्षदेखि महको उत्पादन घट्दै गएपछि माग धान्न सकेको छैन । नयाँ किसान यस व्यवसायमा थपिए पनि उत्पादन अपेक्षित रूपमा बढ्न सकेको छैन । ‘मूल्य बढ्यो, माग बढ्यो भनेर नयाँ किसान आउनुभएको छ,’ मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष शिवप्रसाद शर्माले भने, ‘तर घारको संख्यामा वृद्धि भए पनि मह उत्पादन बढेको छैन । उनका अनुसार गतवर्षभन्दा यस वर्ष मह उत्पादन ३० प्रतिशतले घटेको छ । विगतका वर्षमा प्रतिघार वार्षिक २२ केजी मह उत्पादन हुने गरेकोमा हाल प्रतिघार १५ देखि १६ केजी मात्र उत्पादन हुने गरेको शर्माले बताए । चितवनमा मौरीका ३५ हजार घार रहेका छन् भने मौरीपालक किसानको संख्या ५०० को हाराहारीमा छ ।