वैशाख २२, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक ३७ दशमलव शून्य ६ अंक घटेको छ । नेप्से परिसूचक २ हजार २३८ दशमलव ६२ विन्दुमा झरेको हो ।
यस अवधिमा कारोबारमा आएका २३२ धितोपत्रको ४६ लाख ७४ हजार ९४० कित्ता शेयर ३४ हजार २६० पटकमा रू. १ अर्ब ६५ करोड ४५ लाख ६१हजार ४७२ दशमलव ५४ बराबरको शेयर खरीदविक्री भएको छ ।
कारोबारमा आएका २३२ धितोपत्रमध्ये जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ५२० दशमलव ६० कायम भएको छ । त्यसैगरी, दोस्रोमा एनआईसी एशिया सेलेक्ट फण्डको इकाई मूल्य १ दशमलव ८४ प्रतिशत वृद्धि भएर रू. ८ दशमलव ८६ पुगेको छ ।
त्यसैगरी बिहीवार सबैभन्दा बढी घलेम्दी हाइड्रो लिमिटेडको शेयरमूल्य ६ दशमलव ८६ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २१३ दशमलव २० कायम भएको छ । त्यसैगरी, शेयरमूल्य घट्ने दोस्रोमा मैलुङखोला जलविद्युत् कम्पनीको शेयरमूल्य ६ दशमलव ८१ प्रतिशत घटेर रू. ४६५ कायम भएको छ ।
त्यसैगरी, बिहीवार सर्वाधिक शेयर खरीदविक्री सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । सो अवधिमा कम्पनीको रू. ८ करोड ४५ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५८२ कायम भएको हो । त्यसैगरी, सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रो कम्पनीमा एनआईसी एशिया बैंकको रू. ६ करोड ७३ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
बजार निरन्तर घटेसँगै लगानीकर्ताहरुले प्यानिक सेल गरिरहेका छन् । सोही कारण नेप्से परिसूचक दिनहुँ घट्दो क्रममा रहेको छ । यसअघिको उच्चतम विन्दु ३ हजार २०० विन्दुमा पुगेको बजार यसअघि २ हजार २६० को आसपासमा आएर फर्किएको थियो ।
पछिल्लो समय वित्तीय प्रणालीमा तरलता अभावनै छ, यसोत अझै ब्याजदर बढ्न सम्भावना भएकाले पनि लगानीकर्ताहरु प्यानिक भएको देखिन्छ ।
सोही कारण पनि शेयर बजारमा नकारात्मक प्रभाव परेको हो । यद्धपि बजार घटेसँगै सूचीकृत कम्पनीहरुको शेयरमूल्य सस्तिएको छ । सोही कारण यो दीर्घकालिन लगानीको अवसर रहेको शेयर जानकारहरु बताउँछन् ।