निक्षेप हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । वाणिज्य बैंकहरूको कुल निक्षेप सकंलन बढेर हालसम्मकै उच्च विन्दुमा पुग्दा पनि बैंकमा तरलता (लगानीयोग्य पूँजी) को अभाव भने कायमै रहेको छ । असोजको दोस्रो सातासम्म वाणिज्य बैंकहरूको कुल निक्षेप रू. ४२ खर्ब १८ अर्ब पुगेको छ, जुन हालसम्मकै बढी हो । गत असार मसान्तसम्म कुल निक्षेप ४१ खर्ब १ अर्ब पुगेको थियो । चालू आर्थिक वर्ष शुरू हुनासाथ निक्षेप संकलन घटेको थियो । तर, अहिले निक्षेप संकलन बढेर नयाँ विन्दुमा पुगेको हो । बैंकहरूमा निक्षेप नै आउन नसक्दा चालू आवको शुरूदेखि नै तरलता अभावको समस्या हुँदै आएको थियो । अहिले बैंकिङ क्षेत्रमा निक्षेप आउन थाले पनि तरलता अभावको समस्या नहटेको बैंकरहरू बताउँछन् । अहिले कर्जाको माग उच्च रहेको छ । त्यसैले निक्षेप बढे पनि तरलता अभावको समस्या कायमै रहेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ‘अहिले सरकारी खर्च हुन थालेपछि बैंकहरूमा निक्षेप आउन थालेको छ । रेमिट्यान्स (विप्रेषण) पनि आउन थालेको छ । तर, तरलता अभावको समस्या भने कायमै छ,’ उनले भने, ‘अहिले कर्जाको माग निकै उच्च छ । साथै, कर्जा प्रवाह पनि बढेको छ । त्यसैले तरलताको अभाव भएको हो ।’ चाडपर्वका कारण आयात पनि उच्च मात्रामा भएको छ । आयात अझै बढ्ने सम्भावना छ । त्यो आयातका लागि आवश्यक पर्ने पूँजीका लागि सम्बद्ध उद्योग तथा आयातकर्ताबाट कर्जाको माग बढेको छ । फलस्वरूप तरलता अभाव कायमै भएको बताइएको छ । अब विप्रेषण नै तरलता व्यवस्थापन गर्ने उच्च माध्यम हुने उनको भनाइ छ । ‘दशैंले गर्दा गतहप्तादेखि नै विप्रेषण आप्रवाह बढेको जस्तो देखिन्छ । साथै, अबको २ साता पनि उच्च मात्रामा विप्रेषण आउने सिजन हो,’ उनले भने, ‘अपेक्षित मात्रामा विप्रेषण आयो भने तरलता व्यवस्थापनमा सहज हुनेछ ।’ विप्रेषण आप्रवाह बढ्दा शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिमा पनि सुधार आउने उनको भनाइ छ । त्यो अवस्थामा व्याजदरमा पुनरवलोकन गर्न पनि सहज सकिने दाहालले बताए । गत साता बैंकहरूको कुल निक्षेप ३८ अर्ब १२ करोड रुपैयाँले थपिएको छ, जुन साप्ताहिक आधारमा चालू आवकै धेरै हो । बैंकहरूले तरलता अभाव भएपछि असोज १ गतेदेखि निक्षेपको ब्याजदर बढाएका थिए । तैपनि असोजको पहिलो साता निक्षेप संकलनमा सुधार आएको थिएन । त्यो साता करिब ८ अर्ब रुपैयाँ मात्र निक्षेप संकलन भएको थियो । तर, असोजको दोस्रो साता भने निक्षेप सकंलन ह्वात्तै बढेको छ । सरकारी खर्च बैंक निक्षेपको एउटा मुख्य स्रोत हो । तर, प्रतिस्थापन बजेट पारित हुन नसक्दा चालू आवको असोज पहिलो सातासम्म नै सरकारी खर्च हुन सकेको थिएन । फलस्वरूप बैंकिङ तरलतामा समस्या आएको थियो । तर, अहिले प्रतिस्थापन बजेट पारित भएसँगै गत सातादेखि सरकारी खर्च हुने थालेको छ । फलस्वरूप निक्षेप संकलन बढ्न थालेको हो । कर्जा प्रवाह पनि ह्वात्तै बढेको छ । गत साता बैंकहरूले ३९ अर्ब रुपैयाँ नयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो हप्ता बैंकहरूले रू. ३१ अर्ब नयाँ कर्जा प्रवाह गरेका थिए । बैंकहरूको कुल कर्जा प्रवाह भने ३९ खर्ब ४२ अर्ब पुगेको छ ।

सम्बन्धित सामग्री

महीना दिन पनि टिकेन वैदेशिक व्यापारको सुधार

काठमाडौं। वर्षपछि सकारात्मक बनेको वैदेशिक व्यापार पुन: घटेको छ । चालू आर्थिक वर्ष (आव) को असोज महीनामा बढेको वैदेशिक व्यापार १ महीनामै पुन: घटेको हो । भन्सार विभागले बिहीवार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आव २०८०/८१ को कात्तिक महीनासम्मको वैदेशिक व्यापार गतवर्षको तुलनामा ४ दशमलव १५ प्रतिशतले घटेको छ । गत आवको कात्तिकसम्ममा ५ खर्ब ८७ अर्ब ४६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएकोमा चालू आवको सोही अवधिमा ५ खर्ब ६३ अर्ब ६ करोड रुपैयाँको मात्र व्यापार भएको छ । कात्तिक महीनामा आयात तथा निर्यातमा उच्च गिरावट आएपछि वैदेशिक व्यापार पनि प्रभावित भएको हो ।  कात्तिकसम्ममा ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको आयात हुँदा ५० अर्ब ५६ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । गत आवको यसै अवधिको तुलनामा आयात ३ दशमलव ७९ प्रतिशत र निर्यात ७ दशमलव ६८ प्रतिशतले घटेको विभागले जानकारी दिएको छ । कात्तिकमा मात्र १ खर्ब ४ अर्ब ७४ करोड रुपैयाँ बराबरको आयात भएको छ । यो महीना ९ अर्ब ६९ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । असोजको तुलनामा कात्तिकमा आयातनिर्यात दुवै खुम्चिएको छ । असोजमा १ खर्ब ४८ अर्ब रुपैयाँको आयात हुँदा १४ अर्ब ४२ करोडको निर्यात भएको थियो । गतवर्षको तुलनामा चालू आवको असोजसम्ममा वैदेशिक व्यापार १ दशमलव ३१ प्रतिशतले वृद्धि भएको थियो । राष्ट्र बैंकले बाह्य क्षेत्रको अवस्था सबल भएको प्रतिवेदन सार्वजनिक गरिरहेका बेला वैदेशिक व्यापार पनि बढेपछि शिथिल भएको अर्थतन्त्र चलायमान हुन थालेको विश्लेषण गरिएको थियो । तर, १ महीनामै वैदेशिक व्यापारमा उच्च गिरावट देखिएको छ ।  विदेशी मुद्राको सञ्चिति सहज भएपछि सरकारले आयात प्रतिबन्ध खुला गर्नुका साथै नेपाल राष्ट्र बैंकले समेत आफ्नो नीतिमा पुनरवलोकन गरेको छ । तर, त्यसबाट वैदेशिक व्यापारमा सुधार आउन नसक्ने संकेत कात्तिकको तथ्यांकले देखाएको छ । तर, राष्ट्र बैंकको प्रतिवेदनअनुसार चालू आवको असोजसम्ममा देशको शोधनान्तर स्थिति ९९ अर्ब ७ करोडले बचतमा छ । शोधनान्तर बचत उच्च हुँदा विदेशी मुद्राको सञ्चिति पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । २०८० असोजसम्ममा विदेशी मुद्राको सञ्चिति १६ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ कायम हुँदा १० दशमलव ३ महीनाको वस्तु तथा सेवा आयात धान्ने अवस्था छ । यसै गरी बैंकहरुको निक्षेप तथा कर्जा लगानी पनि बढेको छ ।  आयात–निर्यात घटेपछि वैदेशिक व्यापारघाटा भने घटेको छ । गतवर्षको ४ महीनामा ४ खर्ब ७७ अर्ब ९१ करोड व्यापारघाटा भएकोमा चालू वर्षमा ४ खर्ब ६१ अर्ब ९३ करोड रुपैयाँ बराबरको व्यापारघाटा भएको छ । आयात घटे पनि कात्तिकमा सरकारको भन्सार राजस्व संकलनमा भने सामान्य वृद्धि देखिएको छ । चालू आवको कात्तिकसम्म सरकारले भन्सारबाट १ खर्ब ३७ अर्ब ८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । गतवर्ष कात्तिकसम्म भन्सारबाट १ खर्ब २६ अर्ब ६२ करोड रुपैयाँ राजस्व उठाएको थियो ।

सुधारको लयमा आन्तरिक अर्थतन्त्र

सुधारको लयमा आन्तरिक अर्थतन्त्र यादव हुमागाई काठमाडौं  कोभिड–१९ महामारीले तथा रुस–युक्रेन तनावका कारण विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीले शिथिल बनेको नेपाली अर्थतन्त्रले विस्तारै सुधारको लय समात्न थालेको छ । अर्थतन्त्रमा बाह्य क्षेत्रका सूचकहरु बलियो भएसँगै सरकार र नेपाल राष्ट्र बैंकले आफ्नो कसिलो नीतिमा पुनरवलोकन गरेपछि आर्थिक गतिविधि बढ्न थालेको पाइएको छ ।  राष्ट्र बैंकले शुक्रवार प्रकाशित गरेको देशको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनले अर्थतन्त्रमा आन्तरिक क्षेत्रले पनि विस्तारै लय समाउन थालेको औंल्याएको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप तथा कर्जा प्रवाह बढ्न थालेको र उच्च बिन्दुमा पुगेको ब्याजदर पनि घट्न थालेको छ । आयात वृद्धिसँगै सरकारको राजस्व पनि बढ्न थालेको छ । यसैगरी शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चितिलगायतका बाह्य क्षेत्रका सूचकहरु पनि थप बलियो बनेका छन् । उच्च विप्रेषण आप्रवाह र पर्यटनलगायतबाट हुने सेवा आय वृद्धि हुँदा विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।  गतवर्ष विदेशी मुद्रा सञ्चिति न्यून विन्दुमा झर्नुका साथै आयात धान्ने क्षमता सीमित भएपछि राष्ट्र बैंक र सरकारले कसिलो नीति लिएका थिए । सरकारले विलासी सामानको आयातमा प्रतिबन्ध लगाउनुका साथै राष्ट्र बैंकले पनि आयातका लागि प्रयोग हुने र अनुत्पादक क्षेत्रमा जाने कर्जामा कडाइको नीति लियो । फलस्वरुप आर्थिक गतिविधि खुम्चियो । अर्थतन्त्रको बाह्य सूचकहरु सहज भएसँगै सरकार र राष्ट्र बैंक लचिलो बनेका छन् । कसिलो मौद्रिक नीतिमार्फत कर्जा प्रवाहमा कडाइ गरेको राष्ट्र बैंकले गत महीनामात्र घरजग्गा, शेयर, गाडीलगायत क्षेत्रमा प्रवाह हुने कर्जासम्बन्धी नीतिमा पुनरवलोकन गरिसकेको छ । यसबाट आर्थिक गतिविधि बढ्न थालेको पाइएको छ ।  बढ्न थाल्यो कर्जा  आर्थिक गतिविधि शिथिल भएसँगै गत वर्षदेखि नकारात्मक भएको बैंकहरुको निक्षेप तथा कर्जा लगानी बढ्न थालेको छ । बैंकहरुको आधारदरसँगै ब्याजदर घट्दो क्रममा देखिएको छ । चालू आर्थिक वर्षको असोजसम्ममा बैंक, वित्तीय संस्थामा रहेको निक्षेप २ दशमलव ८ प्रतिशत र कर्जा प्रवाह २ दशमलव ३ प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा निक्षेप ० दशमलव ४ प्रतिशत र कर्जा १ दशमलव ३ प्रतिशतले बढेको थियो । बैंकहरुको आधारदरसँगै निक्षेप र कर्जाको ब्याजदर पनि घट्न थालेको छ । तरलताको अवस्था सहज भएपछि बैंकहरुले ब्याजदर तथा प्रिमियम घटाएर भए पनि कर्जा प्रवाह बढाउन थालेका छन् ।  विप्रेषण हालसम्मकै उच्च  राष्ट्र बैंकका अनुसार असोजमा १ खर्ब ३६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो एकै महीनामा भित्रिएको हालसम्मकै उच्च विप्रेषण हो । चालू आवको असोजसम्ममा विप्रेषण आप्रवाह ३० प्रतिशतले वृद्धि भई ३ खर्ब ६५ अर्ब ३४ करोड पुगेको छ । गत आवको असोजसम्ममा विप्रेषण २ खर्ब ८१ अर्ब ५ करोड भित्रिएको थियो । यसैगरी चालू आवको असोजसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५ दशमलव ९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा यो ७ दशमलव ९ प्रतिशतले बढेको थियो ।  कोभिड–१९ महामारीपछि वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि र औपचारिक च्यानलबाट पैसा पठाउन प्रोत्साहन गर्ने सरकारको नीतिका कारण रेमिट्यान्समा सकारात्मक प्रभाव परेको छ । सरकारले औपचारिक रुपमा प्राप्त हुने रेमिट्यान्सलाई बैंकमा राख्दा एक प्रतिशत विन्दु थप ब्याज प्रदान गर्नुका साथै विप्रेषण पठाउनेलाई पब्लिक कम्पनीले जारी गर्ने साधारण शेयर निष्कासनमा आरक्षण दिएर प्रोत्साहन गर्दै आएको छ ।  शोधनान्तर र विदेशी मुद्रा सञ्चिति उच्च  चालू आवको असोजसम्ममा देशको शोधनान्तर स्थिति ९९ अर्ब ७ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोडले बचतमा थियो । यसैगरी अमेरिकी डलरमा अघिल्लो वर्षको असोजसम्ममा ९ करोड १८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति चालू आवको असोजसम्ममा ७४ करोड ७२ लाखले बचतमा छ । शोधनान्तर बचत उच्च हुँदा विदेशी मुद्राको सञ्चिति पनि हालसम्मकै उच्च भएको छ । २०८० असारसम्ममा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६ दशमलव ७ प्रतिशतले वृद्धि भई असोजसम्ममा १६ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ कायम भएको छ । अमेरिकी डलरमा सञ्चिति २०८० असारमा ११ अर्ब ७१ करोड रहेकोमा असोजमा ५ दशमलव ३ प्रतिशतले वृद्धि भई १२ अर्ब ३३ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । विदेशी मुद्राको सञ्चिति बढ्दा वस्तु तथा सेवाको आयात धान्ने क्षमता पनि बलियो भएको छ । आर्थिक वर्ष २०८०/८१ को तीन महीनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२ दशमलव ४ महीनाको वस्तु आयात र १० दशमलव ३ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।  मूल्य वृद्धिदर घट्दै  अर्थतन्त्रका सूचकहरु सबल भएसँगै मूल्यवृद्धिको अवस्था पनि केही सहज देखिएको छ । चालू आवको असोजमा उपभोक्ता मूल्य वृद्धिदर ७ दशमलव ५० प्रतिशत कायम भएको छ । गत आवको असोजमा मूल्य वृद्धिदर ८ दशमलव ५० प्रतिशत थियो । यसैगरी चालू आवको भदौमा मूल्य वृद्धिदर ८ दशमलव १९ प्रतिशत कायम भएको थियो ।

लयमा फर्किंदै अर्थतन्त्र

काठमाडौं। कोभिड–१९ को महामारीको प्रभाव तथा रूस–युक्रेन तनावले विश्व अर्थतन्त्रमा देखिएको शिथिलतासँगै प्रभावित नेपाली अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको छ ।  नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले चालू आर्थिक वर्ष (आव) को भदौ महीनासम्ममा अर्थतन्त्रको बाह्य क्षेत्र सबल बनेको तथा आन्तरिक क्षेत्रले पनि विस्तारै लय समाउन थालेको प्रतिवेदन सार्वजनिक गरेको हो । देशको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनमा शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायत बाह्य क्षेत्रका सूचक सहज अवस्थामा पुगेको उल्लेख छ । यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप तथा कर्जा प्रवाह सकारात्मक हुन थालेपछि आान्तरिक अर्थतन्त्र पनि लयमा फर्किन थालेको संकेत गरेको छ । विप्रेषण आप्रवाहका साथै पर्यटन लगायतबाट हुने सेवा आय वृद्धि हुँदा विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यसैगरी बैंकहरूको निक्षेप तथा कर्जा प्रवाह पनि बढ्न थालेकाले आन्तरिक अर्थतन्त्र पनि विस्तारै लयमा फर्किने संकेत देखिएको छ ।  बैंकिङ विज्ञ पशुराम कुँवर क्षेत्री पनि गतवर्षको तुलनामा बैंकहरूको निक्षेप तथा कर्जाका साथै राजस्व संकलनको तथ्यांकले अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताउँछन् । ‘अर्थतन्त्रमा केही सुधारका संकेतहरू देखिन थालेका छन्,’ उनले भने, ‘अब राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अवस्था सहज बनाउनका लागि काम गर्नुपर्छ ।’  विप्रेषण बढ्ने क्रम जारी  राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आवको भदौ महीनासम्ममा विप्रेषण आप्रवाह २२ दशमलव १ प्रतिशतले वृद्धि भई २ खर्ब २८ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव ८ प्रतिशतले बढेको थियो । यसैगरी अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७ दशमलव ७ प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११ दशमलव ३ प्रतिशतले बढेको थियो । तर, भदौ महीनामा मात्र १ खर्ब १२ अर्ब रुपैयाँ विप्रेषणबाट भित्रिएको छ । साउन महीनामा १ खर्ब १६ अर्ब १ करोड रुपैयाँ विप्रेषणबाट भित्रिएकोमा भदौमा थोरै गिरावट देखिएको छ ।  कोभिड–१९ को महामारीपछि वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि र औपचारिक च्यानलबाट पैसा पठाउने प्रोत्साहन गर्ने सरकारको नीतिका कारण विप्रेषणमा सकारात्मक प्रभाव देखिएको छ । यसैगरी औपचारिक रूपमा प्राप्त हुने विप्रेषणलाई बैंकमा राख्दा १ प्रतिशत विन्दु थप ब्याज प्रदान गर्नुका साथै विप्रेषण पठाउनेलाई पब्लिक कम्पनीले जारी गर्ने साधारण शेयर निष्कासनमा आरक्षण दिएर प्रोत्साहन गर्दै आएको छ ।  विदेश पढ्न जाने मोहले सेवा आय घाटा बढ्दो  वैदेशिक व्यापारघाटामा केही राहत भए पनि विदेश पढ्न जाने नेपालीहरूको संख्या उच्च हुँदा भ्रमण व्यय भने उच्च दरले बढ्न थालेको छ । चालू आवको २ महीनामा भ्रमण व्यय ७६ दशमलव ५ प्रतिशतले वृद्धि भई ३५ अर्ब ६० करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय २३ अर्ब ३३ करोड रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । भदौ महीनासम्ममा भ्रमण आय ५३ दशमलव ९ प्रतिशतले वृद्धि भई ९ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आय ६ अर्ब ७ करोड थियो । आम्दानीको तुलनामा खर्च उच्च हुँदा भदौ महीनासम्ममा खुद सेवा आय २५ अर्ब ३४ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १९ अर्ब २६ करोडले घाटामा थियो । यही अवधिमा कुल वस्तु व्यापारघाटामा ४ दशमलव ७ प्रतिशतले कमी आई २ खर्ब ३३ अर्ब ३० करोड कायम भएको छ ।  शोधनान्तर र विदेशी मुद्रा सञ्चिति उच्च  चालू आवको भदौसम्ममा शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो गत आवको भदौमा १६ करोड ३४ लाखले घाटामा रहेको शोधनान्तर स्थिति चालू आवको भदौमा ४० करोड ५६ लाखले बचतमा छ । शोधनान्तर बचत उच्च हुँदा विदेशी मुद्राको सञ्चिति पनि हालसम्मकै उच्च भएको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी मुद्राको सञ्चिति ३ दशमलव ९ प्रतिशतले वृद्धि भई २०८० भदौमा १५ खर्ब ९८ अर्ब ९० करोड पुगेको छ । अमेरिकी डलरमा सञ्चिति २०८० असार मसान्तको तुलनामा भदौ मसान्तमा २ दशमलव ६ प्रतिशतले वृद्धि भई १२ अर्ब १ करोड पुगेको छ । विदेशी मुद्राको सञ्चिति बढ्दा वस्तु तथा सेवाको आयात धान्ने क्षमता पनि बलियो भएको छ । आव २०८०/८१ को २ महीनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२ दशमलव ६ महीनाको वस्तु आयात र १० दशमलव ३ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने अवस्था रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।  यसअघि गतवर्ष विदेशी मुद्रा सञ्चिति न्यून विन्दुमा झर्नुका साथै ६ महीनाको मात्र आयात धान्ने क्षमतामा सीमित भएपछि नेपाल राष्ट्र बैंक र सरकारले आयातमा कडाइ गर्ने नीति लिएका थिए । सरकारले विलासी सामानको आयातमा प्रतिबन्ध लगाउनुका साथै राष्ट्र बैंकले पनि आयातका लागि प्रयोग हुने र अनुत्पादक क्षेत्रमा जाने कर्जालाई कडाइको नीति लिएको थियो । अर्थतन्त्रको बाह्य स्थितिका सूचकहरू सहज भएसँगै सरकार र राष्ट्र बैंक लचिलो बनेका छन् । कसिलो मौद्रिक नीतिमार्फत घरजग्गा, शेयर, गाडीलगायत क्षेत्रमा कडाइ गरेको राष्ट्र बैंकले समेत आफ्नो नीतिमा पुनरवलोकन गरिसकेको छ ।  अर्थतन्त्रको बाह्य सूचकहरू सहज बनेसँगै आन्तरिक अवस्था पनि लयमा फर्किने संकेत देखिन थालेको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप तथा कर्जा प्रवाह बढ्न थालेको छ भने ब्याजदर घट्दो क्रममा देखिएको छ ।  भदौसम्ममा बैंक, वित्तीय संस्थाहरूमा रहेको निक्षेप ७ अर्ब ५६ करोड (०.१ प्रतिशत) ले मात्र घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४३ अर्ब ६६ करोड (०.९ प्रतिशत) ले घटेको थियो । चालू आवको भदौमा बैंक, वित्तीय संस्थाहरूबाट निजीक्षेत्रमा प्रवाहित कर्जा ३३ अर्ब ६० करोड (०.७ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रू.२४ अर्ब १३ करोड (०.५ प्रतिशत) ले बढेको थियो । साउनदेखि बैंकहरूले भद्र सहमति तोड्दै प्रतिस्पर्धा गर्न थालेपछि ब्याजदरमा केही वृद्धि देखिएको प्रतिवेदनमा उल्लेख छ ।  तर, राष्ट्र बैंकको तथ्यांकअनुसार असोज महीना लागेपछि बंैकको निक्षेप तथा कर्जा बढिरहेको छ । बैंकहरूमा तरलता उच्च भएपछि अधिकांश बैंकले कात्तिक महीनाका लागि ब्याजदरसमेत घटाएका छन् । जसले आगामी दिनमा कर्जा प्रवाह बढ्दै जाने बैंकरहरूको अपेक्षा छ ।  मुद्रास्फीतिमा भने थप दबाब  अर्थतन्त्रका बाह्य क्षेत्रका सूचकहरू सबल भए पनि मूल्यवृद्धिमा भने दबाब देखिएको छ । चालू आवको भदौ महीनामा उपभोक्ता मूल्यवृद्धिदर ८ दशमलव १९ प्रतिशत छ । गत आवको भदौ महीनाको तुलनामा मूल्यवृद्धिदर केही घटे पनि साउनको तुलनामा भने बढेको हो । गत आवमा भदौमा मूल्यवृद्धिदर ६ दशमलव ६४ प्रतिशत थियो । यस्तै चालू आवको साउनमा भने मूल्यवृद्धिदर ७ दशमलव ५२ प्रतिशत कायम रहेको थियो ।