काठमाडौं (अस) । देशका विभिन्न जिल्लामा फैलिरहेको बर्डफ्लु रोग नियन्त्रण गर्न जनशक्ति अभाव चुनौतीको रूपमा थपिएको छ । स्थानीय तहमा आवश्यकता अनुसार जनशक्ति नहुँदा रोग नियन्त्रणमा चुनौती भएको हो । पछिल्लो पटक करीब एक महीनाअघि देखिएको बर्डफ्लूको संक्रमण अहिले काठमाडौं उपत्यकासहित मोरङ, सुनसरी, चितवन, उदयपुर र सिन्धुपाल्चोकसम्म फैलिसकेको छ । यस्तै लमजुङ र कास्कीमा पनि किसानले पालेका हाँस, कखुरा लगायत पन्छी बिरामी परेर मर्न थालेपछि नमूना परीक्षणको काम अघि बढाइएको छ । एक जिल्लाबाट अर्को जिल्लामा फैलिरहेको यो रोगको संक्रमण जनशक्तिको अभाव हुँदा नियन्त्रण गर्न समस्या भएको पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले बताए ।
ढकालका अनुसार देश संघीयतामा जानुभन्दा अघि देशभरका एक हजार कार्यालयबाट ६ हजारभन्दा बढी प्राविधिक सहितका जनशक्तिले पशुपन्छी सम्बन्धी संक्रामक रोगको क्षेत्रमा काम गर्ने गरेका थिए । तर अहिले ३० ओटा कार्यालयबाट ५०० जनशक्तिले काम गरिरहेका छन् । देश संघीयतामा गएपछि विभिन्न स्थानीय तहमा कार्यालय थपिए पनि नयाँ कर्मचारी नथपिँदा समस्या भएको उनको भनाइ छ । पुराना कर्मचारी अवकाश हुने र नयाँ नथपिएपछि जनशक्ति अभाव भएको उनले बताए ।
यसअघि गतवर्ष पनि नेपालमा बर्डफ्लु रोग देखिएको थियो । त्यसबेला कोरोना महामारी पनि उत्कर्षमा पुगेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका ८ ओटा प्रयोगशालामध्ये पाँचओटा कारोना परीक्षणका लागि प्रयोग भइरहेकाले बर्डफ्लुको नमूना परीक्षणका लागि प्रयोगशाला अभाव भएको थियो । यसपालि प्रयोगशाला पर्याप्त रहे पनि जनशक्ति नभएको जानकारी सम्बन्धित निकायले दिएका छन् । रोग थप फैलिन नदिन सरकारले नमूना संकलन गर्ने, संक्रमण देखिएका ठाउँमा हाँस, कखुरा लगायत पन्छीहरू नष्ट गर्ने काम गरिरहेको छ ।