काठमाडौं । सन्दीप लामिछानेको अलराउन्ड प्रदर्शन गरेपछि नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा कतारलाई पराजित गरेको छ । बिहीवार त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न समूह ‘ए’अन्तर्गतको समूह चरणको अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले हरायो ।
१५८ रनको विजयी लक्ष्य पछ्याएको कतारको आधा टोली लामिछानेको बलिङमा धराशयी बन्यो । ९.१ ओभर बलिङ गरेका लामिछानेले १४ रन खर्चिएर ५ विकेट लिएपछि कतार ८९ रनमै समेटियो । नेपालका लागि सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको नेपाल १५७ रनमै अलआउट भएको थियो । यो स्कोर जारी प्रतियोगितामा अहिलेसम्म नेपालले बनाएको सबैभन्दा कम हो । नेपालले उक्त स्कोरमा पुर्याउन लामिछानेले नै सर्वाधिक रन जोडेका थिए । उनले ५८ बलमा ४२ रन बनाएका थिए ।
जितसँगै नेपाल समूह ‘ए’को विजेता बनेको छ । प्रतियोगिताका ३ खेलमा जित र १ मा अंक बाँडेको नेपालको ४ खेलबाट ७ अंक बनेको छ । यो समूहबाट उपविजेता हुँदै ओमान पनि सेमिफाइनलमा पुगिसकेको छ ।
नेपालले सेमिफाइनलमा अर्काे समूहको उपविजेता कुवेतसँग खेल्नेछ । अर्को समूहबाट यूएई समूह विजेता बनेर सेमिफाइनल पुगेको छ।