सानो हुनु सम्पन्नताका लागि अभिशाप होइन : नेपाल सम्भावना उपयोगमा चुक्दै

जनसंख्या र भूभागको हिसाबले नेपालका छिमेकीहरू ठूला छन् । सानो देश नेपाल यिनीहरूको बीचमा अवस्थित छ । जनसंख्या र भूभागको गणितमा कुनै देश ठूलो वा सानो हुन सक्छ । यो कुनै अनौठो र सरोकारको विषय होइन । उपलब्ध स्रोतसाधनको विकास र आर्थिक आकारका बारेमा भने सरोकार र खोजको विषय हुन सक्छ । एक दशकअगाडि सन् २०१३ मा भारत र चीनको आर्थिक आकार क्रमश: १८ दशमलव ६ खर्ब अमेरिकी डलर र ९५ दशमलव ७ खर्ब अमेरिकी डलर थियो । यो आकारमा ८४ प्रतिशत र ८८ प्रतिशतले वृद्धि भई सन्् २०२२ मा क्रमश: ३४ दशमलव २ खर्ब अमेरिकी डलर र १७९ दशमलव ६ खर्ब अमेरिकी डलर पुगेको छ । यी भीमकाय दुई देशका बीचमा रहेको नेपालको आर्थिक आकार सन्् २०१३ मा २२ दशमलव १६ अर्ब अमेरिकी डलर थियो । जुन ८२ प्रतिशतले वृद्धि भई सन्् २०२२ मा ४० दशमलव ४३ अर्ब अमेरिकी डलर पुगेको छ । कुनै पनि देशको जीवनस्तरको मापन प्रतिव्यक्ति आम्दानी वा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनका आधारमा गरिन्छ । यसले मानिसको जीवनस्तर कस्तो छ भनेर किटान गर्छ । विश्व बैंकको आँकडाअनुसार सन् २०१३ मा नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ८०९ दशमलव ४ अमेरिकी डलर थियो । जुन छिमेकी मुलुकहरू भारत र चीनको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन क्रमश: १४३८ दशमलव १ अमेरिकी डलर र ७०२० दशमलव ४ अमेरिकी डलर थियो । भारत र चीनको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उतपादनभन्दा क्रमश: १ दशमलव ८ र ८ दशमलव ७ गुणाले बढी थियो । एक दशकपछि सन् २०२२ मा नेपाल, भारत र चीनको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन क्रमश: १३३६ दशमलव ५ अमेरिकी डलर, २४१० दशमलव ९ अमेरिकी डलर र १२७२० दशमलव २ अमेरिकी डलर थियो । सन् २०२२ मा भारत र चीनको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उतपादनभन्दा क्रमश: १ दशमलव ८ र ९ दशमलव ५ गुणाले बढी थियो । यसले के पुष्टि गर्र्छ भने भारतीय र चिनियाँहरूको जीवनस्तरभन्दा नेपालीहरूको जीवनस्तर दयनीय र दु:खदायी अवस्थामा रहेको छ । कुल गार्हस्थ्य उत्पादन र प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको तुलनामा नेपाल यसका छिमेकीको निकटतामा पुग्न सकेको छैन । कोभिड–१९ का कारण विश्व अर्थतन्त्रमा मन्दी आइरहँदा पनि नेपालका छिमेकी मुलुकहरूको अर्थतन्त्रमा चामत्कारिक प्रगति भई नै रह्यो । छिमेकीहरूको प्रगतिबाट प्रभावित हुन नसक्दा नेपाल भने मन्दीको कुचक्रमा जकडिन पुग्यो । केही गर्नका लागि अरूका राम्रा कार्यको सिको गर्नुपर्छ । अर्थात् केही राम्रो नतिजा निकाल्न अरूको राम्रा कार्यबाट सिक्नुपर्छ । देशको अर्थतन्त्रलाई दिगो, भरपर्दो र विकसित बनाउन खाली पेटमा पटुका बेरेर जुट्न जरुरी हुन्छ । नेपालको सन्दर्भमा कृषि, उद्योग, पर्यटन, जलस्रोत आदि क्षेत्र अर्थतन्त्रका स्तम्भ हुन् । यी क्षेत्रको विकासले रोजगार सृजना गर्छ, निर्यात बढाउन मद्दत गर्र्छ र देशलाई आत्मनिर्भरताको मार्गमा डोर्‍याउँछ । तर, अर्थतन्त्रमा यी क्षेत्रको योगदन क्रमश: घट्दै गएको छ ।  उदाहरणका लागि सन् २०१३ मा उद्योग व्यवसाय र कृषिक्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा योगदान क्रमश: ६ प्रतिशत र २८ दशमलव ६ प्रतिशत थियो । एक दशकपछि अर्थात् २०२२ मा यी क्षेत्रको योगदान क्रमश: ५ प्रतिशत र २१ दशमलव १ प्रतिशत रह्यो जुन १६ दशमलव ६ प्रतिशत र २६ दशमलव २ प्रतिशतका दरले ह्रास हुन पुग्यो । नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदानमा खासै परिवर्तन हुन सकेको छैन । नेपालले आर्थिक क्षेत्रहरूको विकासमा ध्यान दिन नसक्दा आम नेपालीमा तिक्तता र वितृष्णा पैदा भइरहेको छ ।  नेपालको पर्यटन क्षेत्र अर्को आकर्षक क्षेत्र हो । यसको विकास गर्न सकेमा अर्थतन्त्रको विकासले तीव्रता पाउँछ । पर्याप्त मात्रामा रोजगारी सृजना हुन सक्छ । यो क्षेत्रको विकासले तीव्रता पाउन सक्ने हो भने अर्थतन्त्रमा यसको योगदान ८–१० प्रतिशत पुर्‍याउन सकिन्छ । नेपालको अर्थतन्त्रको दिगो विकासका लागि जलविद्युत्, पर्यटन, जडीबुटी, स्वास्थ्य र शिक्षाक्षेत्रको विकासका लागि ध्यान जान जरुरी छ । यिनीहरूको विकासमा ध्यान जान नसक्नुका कारण यिनले नेपालको अर्थतन्त्रमा खासै उल्लेखनीय योगदान पुर्‍याउन सकेका छैनन् । आजकल जलविद्युत् क्षेत्रको विकासका लागि व्यापक चर्चा र परिचर्चा भइरहेको छ । हालै भारतले नेपालबाट १० वर्षको अवधिमा १० हजार मेगावाट बिजुली आयात गर्ने सम्झौता गरिसकेको छ । यसका साथै दीर्घकालीन बिजुली व्यापार सम्झौता पनि भइसकेको छ । यही व्यापार सम्झौताको प्रभाव हुन सक्छ, यसको विकासमा दुवै निजी र सरकारी क्षेत्रको चासो बढेको देखिन्छ । यसको विकासका लागि निजीक्षेत्र अझ बढी उत्साहित देखिन्छ । यसको मुख्यकारण निजीक्षेत्र आफैले पनि स्वतन्त्र ढंगले उत्पादित बिजुली भारतीय बजारमा निर्यात गर्न सक्ने प्रावधानको व्यवस्था हो । यति हुँदाहुँदै पनि उल्लिखित अवधिमा १० हजार मेगावाट बिजुली भारततर्फ निर्यात हुन सक्ने कुरामा भने विश्वस्त हुन सकिँदैन । यसलाइ मूर्तरूप दिन नेपालले आउँदो दशकभित्र २५ हजार मेगावाट जलविद्युत्को उत्पादन गर्नुपर्छ । यस अवधिभित्रमा बिजुलीको आन्तरिक माग १५ हजार पुग्ने अनुमान गरिएको छ । के यो लक्ष्य आउँदो दशकमा पूरा हुन सक्ला ? नेपालको पर्यटन क्षेत्र अर्को आकर्षक क्षेत्र हो । यसको विकास गर्न सकेमा अर्थतन्त्रको विकासले तीव्रता पाउँछ । पर्याप्त मात्रामा रोजगारी सृजना हुन सक्छ । हाल कुल गार्हस्थ्य उत्पादनमा यसको योगदान करीब २ प्रतिशत मात्र रहेको छ । यो क्षेत्रको विकासले तीव्रता पाउन सक्ने हो भने अर्थतन्त्रमा यसको योगदान ८–१० प्रतिशत पुर्‍याउन सकिन्छ । यसका लागि माथि उल्लेख भएअनुसार भारत र चीनका धनाढ्य मानिसहरूलाई नेपाल यात्राका लागि आकर्षित गर्न सक्नुपर्छ । यसका लागि धार्मिक स्थलहरूको संवर्धन र विकास, हिमालयको दृश्यावलोकन हुन सक्ने विभिन्न पहाडका चुचुरामा पुग्न पदमार्ग र केबुलकारको विकास गर्न जरुरी हुन्छ । यस प्रकारको विकासले विभिन्न ठाउँहरूमा साना ठूला होटेलहरूको विकास हुन्छ र नेपालको धेरै भूभागको विकास समान रूपले भई स्थानीय बासिन्दाहरूले सोही ठाउँमा रोजगार प्राप्त गरी जीवनस्तर सुधार्न सक्ने कुरामा विश्वस्त हुन सकिन्छ । यसैगरेर नेपालको हिमाली र पहाडी क्षेत्रमा पाइने जडीबुटीको अनुसन्धान गरी औषधि उत्पादनमा तीव्रता दिन सकिन्छ । यो क्षेत्रको विकासले नेपालको अर्थतन्त्रलाई दिगो विकास प्राप्तिका लागि सहयोग पुर्‍याउनुका साथै केही हदमा आयात प्रतिस्थापन गर्न सक्छ ।  नेपालका विकासयोग्य आर्थिक क्षेत्रहरू पर्याप्त छन् तर तिनीहरूको विकास हुन नसकेका कारण बेरोजगारीले देश ग्रस्त भइरहेको छ । अधिकांश युवायुवती जीविकोपार्जनका लागि विदेशिएका छन् । खेतीमा आकर्षण घटेपछि गाउँघरका युवायुवती विदेशिएका हुन् । यसबाट गाउँघरका बस्तीहरू उजाडिन पुगेका छन् । यो क्रम गाउँगाउँमा मात्र होइन कि शहरमा पनि उत्तिकै रूपमा छ । पढेलेखेका युवायुवती विदेशिने प्रवृत्तिले अझ बढी तीव्रता पाएको छ । नेपालमा बस्ने परिवारका सदस्यहरूको जीविकोपार्जनका लागि यी विदेशिएका युवायुवतीले रकम पठाउने गर्छन् जसलाई विप्रेषण भनिन्छ । मानिसहरूको जीविकोपार्जनको आधार विप्रेषण हुन पुगेको छ ।  विगतका केही दशकदेखि विप्रेषण नेपालको आर्थिक जग बनेको छ । सन् २०२२ मा नेपालको कुल गार्हस्थ्य उत्पादनमा विप्रेषणको अनुपात २२ दशमलव ८ प्रतिशत रहेको थियो । सोही वर्षमा भारत र चीनमा विप्रेषणको अनुपात क्रमश: ३ दशमलव ३ प्रतिशत र शून्य दशमलव १ प्रतिशत थियो । के यी आँकडाले भारत र चीनको विकास विप्रेषण निर्भर रहेको देखाउँछ ? निश्चय पनि देखाउँदैन । त्यसैले नेपालले छिमेकीहरूबाट सिक्न जरुरी छ । यसो गर्न सक्दा नेपाल पनि भारत र चीनजस्तै बस्नलायक देश बन्न सक्छ ।  अन्त्यमा के भन्न सकिन्छ भने सानो हुनु सम्पन्नताको लागि अभिशाप होइन बरु नेपालको सन्दर्भमा अकर्मण्यताको प्रतीक हो । लेखक अर्थशास्त्री हुन् ।

सम्बन्धित सामग्री

जहाँ भुइँमान्छे जहिल्यै आन्दोलन गर्न अभिशप्त छन् !

नेपाल यस्तो देश हो जहाँ हरेक पुस्ताले आफ्ना जिन्दगीमा पटक–पटक आन्दोलन देख्नु सामान्य भएको छ भने गरिबी र अन्यायमा बाँचेका आन्दोलनकर्मीहरूले आन्दोलन भोग्नु र पीडा महसुस गर्नु अभिशाप जस्तै भइरहेको छ।...

वैदेशिक रोजगारी : अवसर कि अभिशाप

अनियमित प्रवासन या रोजगारीका लागि बिदेसिएका युवाका कारण नेपालमा प्रतिभा पलायनका साथै उत्पादनमुखी युवा जनसङ्ख्यामा कमी भएको छ । नेपाल आर्थिक शक्तिसम्पन्न मुलुक होइन र आवश्यक पूर्वाधारको विकास पनि हुन सकेको छैन तर सामाजिक सुविधा र प्राकृतिक स्रोतमा ज्यादै कमजोर मुलुक भने होइन । नेपालमा नै उद्यम, व्यवसाय, कृषि या यस्तै रोजगारमूलक काम गरेर बस्नुभन्दा विदेश पलायनमा युवा बढी उद्यत भएको पाइन्छ । हुन त अहिले अन्तर्राष्ट्रिय सर्वेक्षणबाट स्पष्ट भइसके

नामका भोका नेता

नेपालका नेताहरू काम गर्न ढंग पुर्‍याउँदैनन् । ढंग पुर्‍याएर काम गर्न पनि चाहँदैनन् । तर आफ्नो नाम भने सबैले लिऊन् भन्ने चाहन्छन् । त्यसैले कुनै उद्घाटन समारोहमा सरीक हुन पाए दौडिएर जान्छन् । त्यो कामले उपलब्धि के हुन्छ भन्ने कहिल्यै सोच्दैनन् । केपी ओलीले त्यही भएर निर्माणै नसकिएको धरहराको उद्घाटन गरेर शिलालेख राख्न लगाए । मेलम्चीको उद्घाटन त तीनतीनपटक गरियो । मन्त्रीदेखि प्रधानमन्त्री र राष्ट्रपतिले सम्म त्यसको उद्घाटन गरे । नामका भोका भए पनि कामका भने भोका छैनन् । त्यही भएर मुलुकको विकास निर्माणलाई गति दिने, तमाम समस्यालाई निकास दिने कुरामा कहिल्यै एकोहोरिएर लागेनन् । पार्टीभित्रको गोटी चाललाई मात्र राजनीतिक उद्देश्य बनाए । मुलुकलाई निकास दिन र विकासमा हिँडाउन भने कहिल्यै हतारो गरेनन् । त्यही भएर राजनीतिक खिचलो खडा गर्ने र त्यसमै रमाउने अनि त्यसका लागि रातारात पनि बैठक बस्ने कामलाई निरन्तरता दिइरहेका छन् । यस्ता नेता नै नेपालका लागि अहिले अभिशाप बनेका छन् । यी नेता न आफू केही गर्न सक्छन् न नयाँ पुस्तालाई नै केही गर्न दिन्छन् । भजनमण्डली बनाएर सत्ताको दाउपेचमा लागिरहनु र छिर्के हानिरहनु नै यिनको कर्म हो । यिनको क्षुद्र अहम्कै कारण सत्तामा किचलो भइरहेको छ । अन्य देशमा केकस्ता आयोजना ल्याउने, शिक्षा नीति कस्तो लिने, रोजगारी सृजना कसरी हुन्छ, जनतालाई आयको अवसर कसरी दिने, कसरी उनीहरूको जीवनस्तर उकास्ने भनेर मन्थन हुन्छ । सारा सरकार, कर्मचारी यसैमा जुटेका हुन्छन् । एकाध व्यक्ति र घटनाबाहेक सबै जना आफ्नो जिम्मेवारीमा लागेका हुन्छन् । आआफ्नो विज्ञताका क्षेत्रमा काम गरिरहेका हुन्छन् ।  तिनलाई काम गर्न राजनीतिक हस्तक्षेप हुँदैन । सरकारले पनि कुनै हस्तक्षेप गर्दैन । आवश्यक परे स्रोत र नीतिगत व्यवस्था गरिदिन्छ । तर, नेपालका नेताहरू विदेश भ्रमणमा गएर त्यहाँको विकास हेरेर पनि त्यस्तै काम गरूँ भन्नेचाहिँ कहिल्यै सोच्दैनन् । जनता विदेशिइरहेकोमा पनि चिन्ता होइन, खुशी छन् । अर्थतन्त्र बलियो बन्न सकेको छैन, वास्ता छैन । विज्ञका कुरा सुन्दैनन्, सुने पनि लागू गर्दैनन् । तैपनि यी नेता मान पुगेन भनेर झगडा गरिरहन्छन् । ठूला दलको यही बानीका कारण जनता वाक्कदिक्क भएका छन् । अब त तिनको नाम लिँदा पनि आक्रोशित हुने जमात बनिसकेको छ । नयाँ राजनीतिक धार विकसित हुँदै छ । हिजो नेपालभन्दा निकै कमजोर मुलुक भुटान अहिले नेपालभन्दा निकै माथि गइसक्यो । सुडान, इथियोपियाजस्ता मुलुकमा पनि पूर्वाधार निर्माण राम्रै गतिमा छ । अर्को, जातीय द्वन्द्वमा जलेको रूवान्डाको विकास लोभलाग्दो छ । तर, नेपाल ? नामका भोका नेता रहेसम्म यसले निकास र विकास दुवै पाउने देखिँदैन ।  प्रमोद कार्की मण्डिखाटार, काठमाडौं ।

पर्वतमा सिसैसिसाको 'स्काई ब्रिज'

पर्वत – नेपालमै पहिलो पटक सिसैसिसाको पुल स्काई ब्रिज सञ्चालनमा आएको छ । पर्वतको कुश्मा बजारमा कालीगण्डकी नदीको खोँचमा बनेको स्काई ब्रिज आज सोमवारदेखि सञ्चालनमा आएको हो । गृह जिल्ला पर्वतमा बनेको स्काई ब्रिजको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्नुभयो ।उद्घाटनका क्रममा अध्यक्ष तिमिल्सिनाले कालीगण्डकी नदी कुनै बेला बलेवा र कुश्मा बासीहरूका लागि अभिशाप बनेको भए पनि अहिले वरदान साबित भएको बताउनुभयो । उहाँले कालीगण्डकी खोँचमा बनेका र बन्दै गरेका साहसिक पर्यटकीय खेलहरूले पर्वत मात्रै नभइ समग्र नेपाल नै साहसिक...

भारत-चीन-अमेरिका त्रिकोण : नेपालका लागि अभिशाप कि वरदान ?

भारत-चीन-अमेरिका रणनीतिक स्वार्थको त्रिकोणभित्र नेपाल रूपी जहाज हराउँछ भन्ने भाष्य सत्य हो कि बर्मूडा त्रिकोणबारे कुत्सेको दाबी झैं अतिशयोक्तिपूर्ण चर्चा मात्र ? यो 'हाइपोथेसिस' अब सम्परीक्षणको चरणमा प्रवेश गरेको छ ।

चपली हाइटसँग जुधाउन अल्लु अर्जुनको फिल्म भित्रिएपछि निर्माताको आक्रोश

निर्माता अर्जुन कुमारले नेपाली फिल्म सिध्याउन नेपाली नै लागि परेको भन्दै आक्रोश पोखेका छन् । ‘चपली हाइट ३’ सँग जुधाउन नेपाली वितरकले अल्लु अर्जुन अभिनित साउथ फिल्म ‘पुष्पा’ नेपाल भित्र्याएपछि उनी आक्रोशित बनेका हुन् । यो फिल्म वितरक मनोज राठीले नेपाल ल्याएका हुन् ।नेपाली फिल्मका लागि भारतीय फिल्म अभिशाप भएको उनले बताए । नेपाली फिल्मका सबै निर्माता एक भएर भारतीय फिल्म विरुद्ध लाग्नुपर्ने उनको धारणा उनले सामाजिक सञ्जालमा व्यक्त गरेका छन् । ‘डेढ दुई लाखमा हिन्दी ड