नेपालका नेताहरू काम गर्न ढंग पुर्याउँदैनन् । ढंग पुर्याएर काम गर्न पनि चाहँदैनन् । तर आफ्नो नाम भने सबैले लिऊन् भन्ने चाहन्छन् । त्यसैले कुनै उद्घाटन समारोहमा सरीक हुन पाए दौडिएर जान्छन् । त्यो कामले उपलब्धि के हुन्छ भन्ने कहिल्यै सोच्दैनन् । केपी ओलीले त्यही भएर निर्माणै नसकिएको धरहराको उद्घाटन गरेर शिलालेख राख्न लगाए । मेलम्चीको उद्घाटन त तीनतीनपटक गरियो ।
मन्त्रीदेखि प्रधानमन्त्री र राष्ट्रपतिले सम्म त्यसको उद्घाटन गरे । नामका भोका भए पनि कामका भने भोका छैनन् । त्यही भएर मुलुकको विकास निर्माणलाई गति दिने, तमाम समस्यालाई निकास दिने कुरामा कहिल्यै एकोहोरिएर लागेनन् । पार्टीभित्रको गोटी चाललाई मात्र राजनीतिक उद्देश्य बनाए । मुलुकलाई निकास दिन र विकासमा हिँडाउन भने कहिल्यै हतारो गरेनन् । त्यही भएर राजनीतिक खिचलो खडा गर्ने र त्यसमै रमाउने अनि त्यसका लागि रातारात पनि बैठक बस्ने कामलाई निरन्तरता दिइरहेका छन् ।
यस्ता नेता नै नेपालका लागि अहिले अभिशाप बनेका छन् । यी नेता न आफू केही गर्न सक्छन् न नयाँ पुस्तालाई नै केही गर्न दिन्छन् । भजनमण्डली बनाएर सत्ताको दाउपेचमा लागिरहनु र छिर्के हानिरहनु नै यिनको कर्म हो । यिनको क्षुद्र अहम्कै कारण सत्तामा किचलो भइरहेको छ । अन्य देशमा केकस्ता आयोजना ल्याउने, शिक्षा नीति कस्तो लिने, रोजगारी सृजना कसरी हुन्छ, जनतालाई आयको अवसर कसरी दिने, कसरी उनीहरूको जीवनस्तर उकास्ने भनेर मन्थन हुन्छ । सारा सरकार, कर्मचारी यसैमा जुटेका हुन्छन् । एकाध व्यक्ति र घटनाबाहेक सबै जना आफ्नो जिम्मेवारीमा लागेका हुन्छन् । आआफ्नो विज्ञताका क्षेत्रमा काम गरिरहेका हुन्छन् ।
तिनलाई काम गर्न राजनीतिक हस्तक्षेप हुँदैन । सरकारले पनि कुनै हस्तक्षेप गर्दैन । आवश्यक परे स्रोत र नीतिगत व्यवस्था गरिदिन्छ । तर, नेपालका नेताहरू विदेश भ्रमणमा गएर त्यहाँको विकास हेरेर पनि त्यस्तै काम गरूँ भन्नेचाहिँ कहिल्यै सोच्दैनन् । जनता विदेशिइरहेकोमा पनि चिन्ता होइन, खुशी छन् । अर्थतन्त्र बलियो बन्न सकेको छैन, वास्ता छैन । विज्ञका कुरा सुन्दैनन्, सुने पनि लागू गर्दैनन् ।
तैपनि यी नेता मान पुगेन भनेर झगडा गरिरहन्छन् । ठूला दलको यही बानीका कारण जनता वाक्कदिक्क भएका छन् । अब त तिनको नाम लिँदा पनि आक्रोशित हुने जमात बनिसकेको छ । नयाँ राजनीतिक धार विकसित हुँदै छ । हिजो नेपालभन्दा निकै कमजोर मुलुक भुटान अहिले नेपालभन्दा निकै माथि गइसक्यो । सुडान, इथियोपियाजस्ता मुलुकमा पनि पूर्वाधार निर्माण राम्रै गतिमा छ । अर्को, जातीय द्वन्द्वमा जलेको रूवान्डाको विकास लोभलाग्दो छ । तर, नेपाल ? नामका भोका नेता रहेसम्म यसले निकास र विकास दुवै पाउने देखिँदैन ।
प्रमोद कार्की
मण्डिखाटार, काठमाडौं ।