आदर्श लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलले आज सोमबार बिहान आईपिओ बाँडफाँड गरेको हो ।क्यापिटलका अनुसार आईपिओमा १६ लाख ७४ हजार ६ सय ५२ जनाबाट १ करोड ८४ लाख २४ हजार ९ सय कित्ताको लागि आवेदन परेको छ । १ हजार ८ सय ५८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । योग्य रहेका १६ लाख ७२ हजार ७ सय ९४ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराई शेयर बाँडफाँड गरिएको छ ।जस अनुसार कुल ६ हजार २ सय ६१ जनाले मात्र शेयर पाएका छन् । ६ हजार २ सय ६१ जना मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन्। यस हिसाबमा आवेदन दिएका मध्ये १६ लाख बढी आवेदन हात खाली भएका छन् । कम्पनीले असार १ गतेदेखि असार ५ गते सम्म ६७ लाख बराबरको जम्मा ६७ हजार कित्ता शेयर सर्वसाधारणको निमित्त निष्काशन गरेको हो । जस मध्ये १ हजार ३५ कित्ता कम्पनीको कर्मचारीको लागि सुरक्षित गरिएको थियो, भने ३ हजार ३ सय ५० कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकी रहेको ६२ हजार ६ सय १५ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि दिन सकिने ब्यबस्था थियो । हाल कम्पनीको चुक्ता पुँजी १ करोड ४० लाख रहेकोमा आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २ करोड ७ लाख पुग्ने छ । नेपाल धितोपत्र बोर्डले जेठ १० गते मंगलबार कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । कम्पनीले शेयर निष्काशनको अनुमति माग गर्दै असोज २० गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ ।