कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । कूल विनियोजन मध्ये चालूतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पुँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार रुपैयाँ रहेको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आइतबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्य आन्तरिक राजस्वबाट २५ करोड १० लाख ४१ हजार, चालू आर्थिक वर्षको खर्च नभई बाँकी रहन जाने अनुमानित रकम ८ अर्ब ९४ करोड ७४ लाख ८४ हजार, संघीय सरकारबाट राजस्व बाँडफाँड वापत प्राप्त हुन आएको रकम ७ अर्ब ४४ करोड ४३ लाख रहेको छ ।