चैत १८, काठमाडौं । रिभर फल्स पावर लिमिटेडले चैत २७ गतेदेखि आईपीओ विक्री खुला गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दाहरुका लागि आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले स्थानीयमा जारी पूँजी रू. ७० करोडको १० प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित मूल्यका कुल ७ लाख कित्ता आईपीओ विक्री गर्न लागेको हो ।
स्थानीयलाई छुट्याएको शेयर सम्पूर्ण विक्री नभएमा उक्त विक्री नभएको शेयर समेत समायोजन गरी सर्वसाधारण (सामूहिक लगानी कोष तथा कर्मचारीमा समेत) निष्कासन गर्ने कम्पनीले जानकारी दिएको छ । स्थानीयले छिटोमा वैशाख ११ गतेसम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा वैशाख २६ गतेसम्म यो आईपीओ विक्रीमा रहने कम्पनीले जानकारी दिएको छ ।
आईपीओ खरीदका लागि प्राइम कमर्सियल बैंकका खाँदवारी, तुम्लिङटार, सभापोखरी, प्रभु बैंकको खाँदवारी शाखा, ग्लोबल आइएमई बैंकको खाँदवारी, चैनपुर शाखा, रिभर फल्स पावरको आयोजना कार्यालय, संखुवासभाबाट आवेदन दिन सकिने व्यवस्था छ ।
यी सँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनश रेटिङ्ग प्रदान गरेको छ ।
यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीले संखुवासभा जिल्लामा १० दशमलव ३० मेगावाट क्षमताको पिपुवाखोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आगामी असार मसान्तसम्म आयोजनको निर्माण कार्य सम्पन्न गर्ने योजना कम्पनीको छ । यस योजनाको कुल अनुमानित लागत प्रति मेगावाट रू. १८ करोड ६ लाख १५ हजार रहेको छ ।