पर्यटनको चित्र

हाल स्वयं सक्रिय नरहेकाले दैनन्दिनरूपमा सूचित नरहे पनि हाम्रो आफ्नो पर्यटन सञ्चार मुलुक बाहिर त्यति सक्रिय र पर्यटक आकर्षित गर्नेखालबाट भइरहेको भने महसुस हुँदैन। राष्ट्रिय ध्वजाबाहकको दयनीय अवस्था यसको एउटा मुख्य कारण हो भने उसको देखासिकीले पनि अन्य धेरै नाम चलेका हवाई सेवा पनि प्रतिस्पर्धामा उत्रने थिए र त्यसको लाभ हाम्रो पर्यटन क्षेत्रले पाउने थियो।

सम्बन्धित सामग्री

आधुनिक कृषिले बदलेका चिनियाँ गाउँहरु, यसरी बन्दैछन् गरिबी निवारणका उदाहरण

बौसान, युनान (चीन) । जताततै आँपका बिरुवा लगाइएका छन् । सिँचाइका लागि हरेक बोटका मुनि पाइप राखिएको छ । हुर्किएका बिरुवा मिलाएर छिमलिएको छ । कान्लाहरु सफा र चिटिक्क पारिएको छ । कम्पोट मलका लागि घाँस र पात सङ्कलन गर्ने व्यवस्था गरिएको छ । एकै खालका हजारौँ आँपका बोटले प्रकृतिलाई पनि उत्तिकै सुन्दर देखाएको छ । आँखाले भ्याउन्जेलको ठाउँमा रोपिएका ती आँपका बोटको रेखदेखका लागि निरन्तर रुपमा मानिसहरु खटिएका छन् । रोगव्याधी लाग्न नदिन उत्तिकै सचेतना अपनाइएको छ । कामदारलाई ‘सिफ्ट’ प्रणालीमा खटाइएको छ । विभिन्न प्रजातिका आँपले क्रमशः उत्पादन दिने र अर्थतन्त्रमा ठूलो योगदान गर्ने विश्वास पनि उत्तिकै छ । यस किसिमको आधुनिक फलफूल खेती भएको ठाउँ हो कुनै बेलाको गरिब भनेर चिनिएको चीनको युनान प्रान्तको बौसान नगरपालिकास्थित छिङवाङ ड्रागन फ्रुट प्लान्टिङ बेस । यो स्थान कुनै बेला रातो माटोको गाउँ भएकाले खेती नहुने र तथा गरिबहरु बस्ने स्थानका रुपमा परिचित थियो । पछिल्लो दिनमा सो क्षेत्रको रुप फेरिएको छ । चिनियाँ राष्ट्रपति सि जिन पिङले अगाडि सारेको गरिबी निवारणको केन्द्र बनेको छ । कृषि पेसालाई नै आधुनिक तरिकाले अगाडि बढाएको सो स्थानबाट क्रमशः गरिबी एकादेशको कथा बन्न पुगेको छ । मानिसहरुको आर्थिक स्थितिमा सुधार भएको छ भने विश्व समुदायका लागि एक अध्ययन स्थलका रुपमा समेत परिचित भएको छ । स्थानीय सरकारले एकीकृत खेती प्रणाली अपनाएको छ । त्यसमा पनि जैविक खेती प्रणालीलाई व्यवहारमा लागू गरेको छ । उम्रेका झारपातलाई मल बनाइएको छ । परम्परागत र आधुनिक दुवै प्रणालीलाई मिश्रण गरिएको खेती प्रणालीले मानिसको जीवनस्तरमा सुधार गरेको छभने आर्थिक उन्नयनको मार्गचित्रमा गुणात्मक फड्को मारिएको छ । बारीका प्रत्येक गह्रामा पुग्नका लागि बाटो बनाइएको छ । सोही बाटोबाट हरेक बोटसम्म मल, कीटनाशक औधषि तथा अन्य सामग्री सहजै पुर्‍याइन्छ । हरेक मानिसले तोकिएको जिम्मेवारी पूरा गर्छन् । काम गर्ने, त्यसको अनुमगन तथा निरीक्षणका लागि फरक फरक मानिस खटिएका छन् । आधुनिक कृषि प्रणालीले ल्याएको परिवर्तन आफैँमा लोभलाग्दो छ । उत्पादित कृषि उपज बिक्रीका लागि बौसानदेखि खुनमिङका डिपार्टमेन्टलहरुमा सोझै लगिन्छ । बीचमा बसेर कमिसन खाने कुनै विचौलिया छैनन् । खेती प्रणाली व्यवस्थापनको काम स्थानीय पार्टी समिति मातहत रहेको सहकारीले गर्दछ ।  आधुनिक खेती प्रणालीलाई पर्यटनसँग पनि जोडिएका छ । देशभित्रका हजारौं मानिस दैनिकजसो नै त्यस क्षेत्रमा भएको खेती हेर्न आउने गरेका छन् । छिङवाङडार्गन फ्रुट अफ सबट्रपिकलक्यास क्रप्स अफ युनान एकेडेमी अफ युनान एग्रिकल्चर साइन्सलाई हेर्दै आएका स्थानीय पार्टी समितिको डेपुटी पार्टी सेक्रेटरी चेन जी लीले भने, 'हामीले कृषिलाई प्रविधिसँग, प्रविधिमार्फत बजारसँग र बजारलाई सहजरुपमा उपभोक्तासँग जोडेका छौँ । यसले स्थानीय उत्पादनको बजारीकरण तथा आर्थिक उन्नयनको क्षेत्रमा ठूलो योगदान गरेको छ ।' हरेक दिन खेतबारीमा के काम गर्ने, किसानलाई के कसरी परिचालन गर्ने, कुन बाली टिप्ने बेला भयो, कुन बालीमा मल पानी लगाउने बेला भयो भन्ने बारेमा स्पष्टसँग कार्यतालिका बनाइएको छ । कसले के गर्ने हो त्यसको व्यवस्था गरिएको छ । सँगसँगै प्राविधिक पनि खटाइएका छन् । कीटनाशक औषधि कसरी राख्नेदेखि सबै काम प्राविधिकले गर्छन् । साथमा वैज्ञानिक पनि छन् । उनीहरुले हरेक उपजको अध्ययन गर्छन् । माटोको गुणस्तरदेखि सिँचाइसम्मको ख्याल गर्छन् । कहीँ कतै पनि जमिन खाली छैन । कोही पनि बेरोजगार छैनन् । सबै स्थानमा बाली लगाइएको छ । सडकको दाँयाबायाँ कतै केरा रोपिएको छ भने कतै कफी रोपिएको छ । सुन्तला, आँपका बिरुवा पनि छन् । कतै ड्राग्रन फ्रुट पनि लगाइएको छ । यसले खेतीमा विविधता पनि दिएको छ । उत्पादनमा विविधताका साथै आम्दानीमा पनि उत्तिकै फरकपन छ । डेपुटी पार्टी सेक्रेटरी चेन जी लीले भने, 'गरिबी निवारणको यो ढाँचा साँच्चै चिनियाँ विशेषतामा आधारित छ । हाम्रा पार्टीका महासचिव सि जिन पिङले अगाडि सार्नुभएको नीतिको हामीले अक्षरशः कार्यान्वयन गरेका छौँ । यसले हामीलाई मार्गदर्शन मात्रै गरेको छैन, अरुहरुका लागि पनि प्रेरणाको स्रोत बन्न पाएका छौँ ।' बौसान सहर नजिकै रहेको लुजिङवाङमा भेट्टिएका डेपुटी पार्टी सेक्रेटरी चेन जीका अनुसार सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने मामिलामा कोहीभन्दा कोही पनि कम नभएको बताए । उनको फार्ममा फल्दै गरेको कफी मेहनतको अर्को उदाहरण हो । विशाल टनेलभित्र फल्दै गरेका कफीले आधुनिक चीनको आधुनिक कृषि प्रणालीको अर्को नमूना पेस गरेको थियो । उनले भने, 'चीनमा यस्ता धेरै कफी फार्महरु छन् । त्यसमध्ये सबैभन्दा गुणस्तरीय र स्वादिलो कफी हामी उत्पादन गर्छौं । स्थानीय माग पूरा गरेर बाहिरी सहरमा समेत यहाँको कफी बिक्री हुने गरेको छ ।' सोही फार्ममा कफी वैज्ञानिकका रुपमा कार्यरत हुङजी छिङले पाक्दै गरेको कफी देखाउँदै भने, 'हरेक कफीका बोट मेरा छोराछोरी जस्तै छन् । हरेकलाई हुर्काउन मैले उत्तिकै मेहनत गरेको छु । यसको मल, पानीको पनि उत्तिकै ख्याल गरेको छु । यिनका हरेक दाना मलाई उत्तिकै प्रिय लाग्छन् । यसले युनान प्रान्तको शान र नाम दुवै राखेको छ । मेरो कामको समेत सम्मान गरेको छ ।' उनले आफ्नै चिनियाँ लवजमा कृषि प्रणालीमा भित्र्याइएको आधुनिक पद्धतिले बदलेको चित्र र चरित्र उत्तिकै प्रभावकारी रहेको बताए । वैज्ञानिक तरिकाले गरिएका हरेक खेतीका आ–आफ्नै विशेषता छन् । जुन नेपाल र हामी नेपालीका लागि पनि उत्तिकै अनुकरणीय हुन सक्ने नेपाली काँग्रेसका नेता एवम् काठमाडौँ क्षेत्र नं १० का सांसद राजेन्द्रकुमार केसीको भनाइ छ । यही नोभेम्बरको ७ देखि १४ तारिखसम्म चीनको युनान प्रान्तको भ्रमणमा रहेका केसीले असाध्यै चासोका साथ अत्याधुनिक कृषि प्रणाली र खेतीको समेत निरीक्षण गरे । दक्षिण एसियाका पार्टीहरुको सम्मेलनमा भाग लिन युनान पुगेका सांसद केसीले यस समाचारदातासँग भने, 'रोजगारीको खोजीमा देश छाडेर विदेशिएका युवालाई यस्तै आधुनिक कृषि प्रणालीको प्रबन्ध गरेर देश फर्काउने उपायको खोजी गर्न सकिए नेपालले पनि ठूलो प्रगति गर्न सक्छ । हामी पनि त्यसतर्फ लाग्नै पर्छ ।' थुमुक्क परेका आँपका बोट, त्यसैको डिलमा फल्दै गरेका केरा, अनि साथमा ड्रागन फ्रुट । खेतीको विविधता अनि ठूलो सङ्ख्यामा गरिएको खेतीले आधुनिक चीन र त्यसको बदलिदो तस्बिर देखाइरहेको छ । कुनै बेलाको गरिब मानिएको युनान प्रान्तले बदलेको तस्बिर आफैँमा नेपालजस्ता देशका लागि अनुकरणीय बनेको छ । हामीले सिकेको ज्ञान सीप अरूलाई पनि बाड्न चाहन्छौँ, डेपुटी पार्टी सेक्रेटरी चेन जी लीले भने, 'हामी अरूलाई पनि हाम्रो सफलताको कथा सुनाउन चाहन्छौँ । किनकि ज्ञान अरूलाई बाँड्दा फाइदा हुन्छ भन्ने मान्यता हामी राख्छौँ ।' चीनले पछिल्लो समय गरिरहेको कृषि उपजको विस्तार आफैँमा उदाहरणीय रहेको छ । तीव्र रुपमा आर्थिक विकासको यात्रामा अगाडि बढिरहेको चीनले आफ्नो परम्परागत कृषि पेसालाई पूर्णतः आधुनिक बनाएको छ । बाओसानको दक्षिणतर्फ बग्ने नुचियाङ नदी किनार क्षेत्रका विशाल फाँटहरु हराभरा छन् । जहाँ किसानको मेहनतका अलावा राज्यले कृषि क्षेत्रलाई कुन हदसम्म प्राथमिकतामा राखेको छ भन्ने स्पष्ट देख्न पाइन्छ । जहाँ कहीँ कतै पनि खाली जमिन भेटन मुस्किल छ । जताततै कृषि उपजले भरेको छ । जहाँ मकै, फलफूलदेखि अनेकन कफीको खेती गरिएको छ । राकिला सम्म फाँटदेखि भिराला पठारसमेत कृषि उपजले भरिएका छन् । अत्याधुनिक भौतिक पूर्वाधार सडक तथा सुरुङहरुका अलावा हिमाली क्षेत्रमा समेत चीनको भव्यता सहजै देख्न सकिन्छ । चीन खाद्यान्नमा आत्मनिर्भर मात्रै भएको छैन । आफूलाई बढी भएको कृषि उपज अन्य देशमा निर्यात पनि गरिरहेको छ । समथर फाँटमा फलेका सागसब्जी र कफीलगायत उत्पादन भियतनाम, दक्षिण कोरिया, अफ्रिका र दक्षिण अमेरिकासमेत पुग्ने गरेको स्थानीयको भनाइ छ । स्थानीय पार्टी समिति, स्थानीय सरकारले कृषिकर्म गर्नेलाई अनेकन सहुलियत दिएको छ । खेतीमा सकेसम्म विषादी कम मात्रै प्रयोग गरिएको छ । सरकारको सहुलियत पनि उत्तिकै छ । कृषकका उत्पादन आन्तरिक बजारमा खपत गराउनेदेखि विश्व बजारसम्म पु्र्‍याउने सुनिश्चितता गरिएका कारण युनान प्रान्तका हरेक ग्रामीण बस्ती यतिबेला शतप्रतिशत हराभरा छन् । ठूला सडकका दायाँबायाँ खेतीले भरिएका छन् । जमिनको शत्प्रतिशत उपयोगमा ध्यान दिएको चीनले सिँचाइको प्रबन्ध पनि उत्तिकै राम्ररी गरेको छ । सहजरुपमा सिँचाइ नपुग्ने स्थानमा सौर्य सिँचाइ प्रणाली तथा अन्य उत्तम विकल्पसमेत उपलब्ध गराएको छ । स्थानीय बौसान नगरपालिकाले सन् २०१६ देखि नै बौसान कफी पर्यटन र सांस्कृतिक महोत्सव गर्दै आएको छ । कफी बगैँचालाई नै पर्यटनको केन्द्रसमेत बनाइएको छ । त्यहाँ अनेकन सुविधासमेत प्रदान गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी ले १९औँ र २०औँ राष्ट्रिय महाधिवेशनमा देशको ग्रामीण क्षेत्रलाई पुनःजागरण गर्नका लागि विभिन्न योजना अगाडि सार्नुभयो । सोही योजनाको वस्तुनिष्ठ कार्यान्वयन भएको र हरेक गाउँहरु क्रमशः समृद्ध र आर्थिक रुपमा सबल बन्दै गएका छन् । सोही योजनाअनुसार नै सिन्छाई गाउँ सरकारले अहिले आफ्नो मुख्य ध्यान कफीको गुणस्तरीय उत्पादनमा दिएका छ । गाउँ समृद्ध र सबल बनेको छ । औद्योगिकीकरण हुँदै गएको गाउँमा कफी खेती विशेष प्राथमिकतामा राखिएको छ । युवा गाउँमा छन्, वैज्ञानिक पनि साथमा छन् । नियमित प्रशिक्षण र तालिम पनि गरिन्छ । यसले आधुनिक चीन गाउँहरुबाट जन्मिइरहेको छ । युवा विदेश पलायन भइरहेको नेपालका लागि चीनको यो उदाहरण आफैँमा अनुकरणीय हुन सक्छ । रमेश लम्साल / रासस

थीम रेस्टुराँमा विवाद

भैरहवामा सञ्चालनमा आएको जेल रेस्टुराँ जिल्ला प्रशासन कार्यालय रूपन्देहीले बन्द गराएको र केही शर्तसहित सञ्चालन गर्न भनेको समाचार पढ्दा नेपालको प्रशासनिक क्षेत्रका मानिसले नयाँ सोचलाई स्वीकार गर्न नसक्ने तथ्य पुष्टि गरेको छ । जेलका कोठाहरू, हतकडी, बन्दुक, फाँसीको डोरीलगायत सामग्री राखेर जेलको थीममा सञ्चालनमा ल्याइएको रेस्टुराँमा खाना खाने ग्राहकले टिकटक र अन्य सामाजिक सञ्जालमा फोटो राखेपछि त्यो बन्द गराएको देखिन्छ । तर, व्यवसायीको विरोधपछि प्रशासन केही लचिलो त बनेको छ । तर, यसले थीम रेस्टुराँ के हो र किन यसप्रति आकर्षण छ भनेर प्रशासनिक संयन्त्रले नबुझेको देखिन्छ । डर, त्रास र आतंकको अनुभव गर्न र मृत्युको भयलाई नजिकैबाट हेर्न पनि पर्यटक जाने गरेका छन् । डार्क टुरिजम पर्यटनको सशक्त विधा बनेको छ । जेल थीमको रेस्टुराँ पनि यस्तै खालको हो । विश्वकै प्रवृत्ति पन्छाउँदै नेपालमा पनि थीम रेस्टुराँ खोल्ने लहर चलेको छ । कोरोना शुरू हुनु अघि रेस नेपालले पार्टी बस सञ्चालनमा ल्याएको थियो । बसभित्रै पार्टी मनाउने गरी यो रेस्टुराँ शुरू गरिए पनि कोरोनाका कारण सञ्चालन भएन । खानाका परिकार, पस्कने तरिका, साजसज्जा, भाँडाकुँडा आदिमा नयाँपन दिने क्रम निकै बढेको छ । साथै नेपालीमा बाहिर खाने प्रवृत्ति पनि बढ्दो छ । यही क्रममा रूपन्देहीमा जेलको थीममा रेस्टुराँ बनेको देखिन्छ । तर, प्रमुख जिल्ला अधिकारी (सीडीओ) भरतमणि पाण्डेले रेस्टुराँको नाम परिवर्तन गर्नुपर्ने, त्यहाँ प्रयोग गरिएका ‘थिम’हरू परिमार्जन गरेर सञ्चालन गर्नदिने बताएका छन् । हतकडी, फाँसीको फन्दा, बन्दुकहरू राखिएको जेल नै देखिनेजस्तो वातावरण हटाउनुपर्ने प्रशासनको भनाइ छ । यो भनेको थीम रेस्टुराँ के हो भनेर थाहा नहुनु हो । भिन्न स्वभाव र रुचि नै मानिसको चिनारी हो । मानिस जहिले पनि नयाँपनको खोजीमा रहेको हुन्छ । पर्यटनको शुरुआत पनि यसैबाट भएको हो । डर, त्रास र आतंकको अनुभव गर्न र मृत्युको भयलाई नजिकैबाट हेर्न पनि पर्यटक जाने गरेका छन् । डार्क टुरिजम पर्यटनको सशक्त विधा बनेको छ । जेल थीमको रेस्टुराँ पनि यस्तै खालको हो । थीम रेस्टुराँको इतिहास १९औं शताब्दीको प्रारम्भमा पेरिसबाट शुरू भएको मानिन्छ । त्यहाँको एउटा नाइट क्लब मृत्यु, स्वर्ग र नरकको थीममा सञ्चालन भएको थियो । त्यस्तै खालको रेस्टुराँ त्यसपछि न्यूयोर्कमा पनि त्यही समयमा खुलेको हो । यही बेलादेखि खाना खाने ठाउँ, खाना र खाना सर्भ गर्ने तरीकामा नयाँपनको खोजी हुन थालेको हो । डिज्नेल्यान्ड थीम पार्क खुलेपछि थीम रेस्टुराँ र होटलहरू खुल्ने क्रम झनै तीव्र भयो । स्पेनमा मेडियाभल टाइमको चेन रेस्टुँरा १९७० मा खुल्यो । हार्ड रक क्याफे, प्लानेट हलिवुड, रेनफरेस्ट क्याफे थीम क्यामेका उदाहरण हुन् । चीनको ताइपेमा शौचालय थीमको रेस्टुराँ छ । शौचालयमा बसेजस्तो गरी प्यान आकारको टेबलमा प्यान आकारको कटोरामा नै खाना पस्किइन्छ । त्यस्तै दक्षिण कोरिया एउटा यस्तो क्याफे छ जहाँ एक दर्जनभन्दा बढी जनावरहरू छन् । ती जनावरसँग जिस्किँदै खाना खाने व्यवस्था छ । सिंगापुरमा अस्पताल थीमको रेस्टुराँ छ । त्यहाँ अपरेशन टेबलमा खाना पस्किइन्छ । बिरामीले लगाउने लुगा लगाउनुपर्छ । सिरिन्जबाट सस लिनुपर्छ । स्टेथिस्कोप झुन्ड्याएका वेटरले सेवा दिन्छन् । न्यूयोर्कमा निन्जा थीमको रेस्टुराँ छ । निन्जाको पहिरन लगाएका कर्मचारी हुन्छन् । जापानको जेल थिमको अल्कार्टज रेस्टुराँ पनि विशेष छ । यसमा जेलको सेलमा ग्राहक थुनिन्छन् र टेबलमा हतकडी हुन्छ । एयरप्लेन थीमको रेस्टुराँ छ, ताइवानमा । विमानमा यात्रा गरेजस्तै गरी खाना खान सकिन्छ । ताइपेमा स्काइ रेस्टुराँ छ जहाँ आकाशमै रहेर खाना खाएको अनुभव गर्न सकिन्छ । यसमा वेटरले एयर होस्टेसको ड्रेस लगाएका हुन्छन् । यस्तै स्पेनको भूकम्पको थीममा बनेको रेस्टुराँ छ जहाँ खाना खाँदै अचानक ठूलो भुइँचालो आउँछ र अँध्यारो हुन्छ । लेबनानमा सेनाको थीममा बनेको रेस्टुराँ छ । यहाँका भित्ताहरू, गोलाबारुद, क्यामरुफेज जालका साथ सजाएका पर्खालहरू हुन्छन् । बन्दुक र हेलिकोप्टरका आवाज आइरहेको हुन्छ । भान्साको नाम पनि सैन्य संरचनाअनुसारका छन् । विश्वभरि नै मृत्युदण्ड, जेल, मृत्यु र नरकजस्ता थीम रेस्टुराँप्रति मानिस आकर्षित भएको पाइन्छ । तीमध्ये जेल थीमको रेस्टुराँ प्रायः मुलुकमा पाइन्छन् । भारतमा मात्रै जेलको थीममा सयौं रेस्टुराँ सञ्चालनमा रहेका छन् । नेपालमा पनि थीम रेस्टुराँ खुल्न थालेको केही समय भएको छ । थ्रीडी चित्र भएका, सांस्कृतिक झलक दिने, रूख जंगलको छनक दिने विविध खालका थीम रेस्टुराँ खोल्ने क्रम तीव्र बनेको छ । रेस्टुराँमा नयाँपन दिने क्रममा नै भैरहवामा जेल थीम रेस्टुराँ सञ्चालनमा आएको देखिन्छ जुन भारतमा भएको जेल रेस्टुराँबाट प्रभावित छ । अहिले प्रशासनले जेल थीम र नाममै आपत्ति देखेको पाइन्छ । त्यसैले नाम फेर्न र थीममा परिवर्तन गर्न दबाब दिएको हो । तर, यसमा आपत्ति देख्नुपर्ने र बन्देज नै लगाउनुपर्ने कारण नै छैन । विश्वभरि चलेको प्रवृत्ति नेपालमा किन अनुपयुक्त भयो भन्ने प्रश्नको जवाफ प्रशासनसँग देखिँदैन । भारतमा मात्रै सयौं रेस्टुराँ जेलको थीममा बनेका छन् । मानिसहरू हतकडी लगाएर खाना खाइरहेको फोटो सामाजिक सञ्जालमा हालिरहेका छन् । विश्वभरि यो अनुपयुक्त नहुने तर नेपालमा चाहिँ आकाशै खसेजस्तो गर्नुपर्ने कारण देखिँदैन । फरक अनुभव सँगाल्ने चाहने खानाका पारखीहरू यस्तो रेस्टुराँमा आउँछन् । अमेरिका, बेलायत, जापान, थाइल्यान्ड, दक्षिण अफ्रिकादेखि धेरै देशमा जेल ढाँचाका रेस्टुराँहरू खुलिसकेका छन् र यसको इतिहास निकै लामो छ । तर, ती देशमा सरकारले जेलको संरचना जस्तो देखिएको तथा खेलौना बन्दुक र डोरीजस्ता कुरा राख्दैमा बन्दै गरेको पाइँदैन । आमप्रवृत्तिभन्दा फरक खालका हुने भएकाले झट्ट हेर्दा र सुन्दा अनौठो लाग्ने यस्ता रेस्टुराँ चर्चामा रहेको पाइन्छ । नेपालमा पर्यटन व्यवसायलाई बलियो बनाउनु छ भने नयाँ थीम, नयाँ शैली र नयाँ खालका सेवासुविधा दिने होटल, रेस्टुराँ खोलिनु आवश्यक हुन्छ तर त्यसले अपराधलाई मलजल गर्नु हुँदैन । त्यसमा कडा नियमन चाहिन्छ । तर, व्यवसायको मर्म नबुझी कुनै व्यवसाय बन्द गराउन लगाउने प्रवृत्तिले व्यावसायिक वातवरण बिथोल्ने काम गर्छ ।

मौलाकालिकामा पर्यटन

मौलाकालिका मन्दिर नवलपरासी जिल्ला, गैंडाकोट नगरपालिकाअन्तर्गत, पूर्व–पश्चिम महेन्द्र राजमार्गको नारायणी पुलबाट उत्तरतर्पm करीब ४ किमी टाडा समुद्र सतहदेखि ५६१ मिटर उचाइ पहाडी वनको धुरीमा रहेको छ । १६औं शताब्दीमा पाल्पाली राजाले देवी कालिकाको नाममा प्रतीकात्मक प्रस्तुति स्थल सृजना गरेपछि पर्वत (मौला पहाड) को नाम राखिएको थियो । मन्दिरलाई स्थानीय स्थानबाट धेरैपटक पुनःस्थापित गरिएको पाइन्छ । मौलाकालिका मन्दिर लोकप्रिय हुनुभन्दा अगाडि गैंडाकोटका स्थानीय मानिसहरूले मौलाकालिका मन्दिरको धेरै दशकदेखि नै पूजा गर्दै आएका थिए । हालको मन्दिर १९९० को दशकमा मात्र बनेको थियो । मौलाकालिका मन्दिरमा हरेक वर्ष नेपाल र छिमेकी मुलुकबाट हजारौं धार्मिक आस्था राख्ने मानिसहरू पूजा गर्न आउने गरेका छन् । साहसिक र रोमाञ्चक यात्राको अनुभव गर्न धर्मावलम्बीहरू १८८२ ओटा सिँढीहरू पार गरेर मात्र मन्दिरमा पूजा आर्चना गर्छन् । साथै सिँढीको दायाँबायाँको पर्खालहरूमा कुँदिएका विभिन्न मूर्ति, चित्र तथा वरिपरिको मनोरम प्राकृतिक रौनकले धर्मावलम्बी तथा पर्यटकलाई आकर्षित गरेको पाइन्छ । नारायणघाट बजारबाट पैदलयात्राको दूरीभित्र पर्ने र देवीको नियमित दर्शनका कारण व्यायाम हुने भएकाले पनि मानिसहरू मन्दिरमा जान्छन् । सामाजिक तथा धार्मिक संस्थाहरूको अभिभावक नै समाज हो । समाजको स्नेह, सद्भाव, ममता, अपनत्व र योगदान प्राप्त गर्न भगवतीको शक्ति नै मुख्य प्रभावकारी भई धार्मिक पर्यटकको संख्यामा वृद्धि भएको छ । विश्वमा सूचना र सञ्चारको जगत्मा एक्काइसौं शताब्दीमा देखिएको दु्रत विकासको साथै पूँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पूँजी बजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूको लागि वस्तु तथा श्रमबजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको शुरूदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पूँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि प्राप्त गर्दै पर्यटकीय क्षेत्रबाट आएको पाइन्छ । आआफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोत साधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारको लागि उपयुक्त रणनीतिक एवं भूराजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात गर्दै अर्थतन्त्रमा विकसित देशको साथै विकासशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि संचालन गरी उपलब्धि प्राप्त गर्नुपर्ने अवस्था छ । यसै परिवेशमा विश्वमा माहामारीको रूपमा फैलिएको कोभिड–१९ ले हाम्रो जन्मभूमिमा पनि धक्का दिएको छ । उक्त क्रममा वैदेशिक रोजगारीमा गएका दाजुभाइ, दिदीबहिनी जन्मभूमिमा फर्किरहेका छन् । उक्त कारण बेरोजगारीको समस्या हल गर्नको लागि पर्यटन व्यवसायलाई अगाडि बढाउनु अपरिहार्य छ । समृद्ध गाउँ तथा नगरको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रविन्दु युवा जनशक्तिको विदेश पलायनलाई रोक्दै स्वदेश एवं जन्मभूभिमा नै उद्यमशीलता र रोजगाारीको अवसर सृजना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भूधरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ कृषिपछिको मुख्य व्यवसायका रूपमा धार्मिक, संस्कृतिक र पर्यटन व्यवसायको विकास गर्नु यस क्षेत्रको आवश्यकता हो । यस क्षेत्र प्राकृतिक, सांस्कृतिक एवम् ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवम् पर्यटकीय स्थल हुँदा छुट्टै पनि उक्त स्थानको पर्यटकीय विकास हुन सकेको छैन । यसबाट स्पष्ट हुन्छ कि उत्कृष्ट पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन । सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण मौलाकालिका क्षेत्र आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । नगर तथा ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवंम् वातावरणको संरक्षण र संवर्द्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्नु अहिलेको समयको माग हो । प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्छ । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरीने तत्त्वहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गर्न आवश्यक छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सृजना गरी अवसर जुटाई गरीबी न्यूनीकरण गर्दै यस मौलाकालिका क्षेत्रभित्रका जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ । यस क्षेत्रमा, ट्रेकिङ स्थलको विकास गर्नु आवश्यक छ । यसले स्थानीय स्तरमा रोजगारी सृजना भई वैदेशिक मुद्रा आर्जनबाट जीविकोपार्जनमा ठूलो टेवा पुग्नेछ । समुदायमा आधारित यस क्षेत्रको प्राकृतिक धरोहरको प्रयोग गरी सामुदायिक विकासका कार्यहरू सञ्चालन गर्न सकिन्छ । यसले यस क्षेत्रको विकासमा जनसहभागिता जुटाउने कार्य गरी नमूनाका रूपमा मौलाकालिका क्षेत्रलाई विकास गर्न सकिन्छ । पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानून र प्रक्रियाअनुरूप पर्यटनलाई एक उद्योगका रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । यसो भएमा मात्र हाम्रो जन्मभूमि पनि समृद्ध भई यहाँका बासिन्दाको आर्थिक स्थितिमा दरिलो टेवा पुग्ने थियो । लेखक डा. अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।

अनि उनले ठमेल छोडे...

‘पर्यटनको भविष्य नै अन्यौलमा परेका बेला भाडा तिरेर ठमेलमै बसिरहनु बुद्धिमानी होइन भनेर आफ्नै घरमा कार्यालय सारें’, अगुवा पर्यटनकर्मी चित्र बहादुर गुरुङ भन्छन्, ‘अनलाइन सम्पर्कका आधारमा पर्यटक आउने हुन्। जहाँ बसेर काम गरे पनि फरक पर्दैन।’