काठमाडौं । म्यान्मारको उत्तरी भागमा प्रदर्शनकारी र सुरक्षाकर्मीहरू बीच भिडन्त भएको छ । अन्लाइनमा राखिएको फूटेजमा प्रहरीले भीडमा गोली प्रहार गरेको देखिएको छ ।
आइतवार ठूलो संख्यामा विरोधकर्ताहरू मीटकीना शहरको बिजुली उत्पालन केन्द्रमा दंगा प्रहरीसँग भिडेका थिए । १५ दिनअघि सेनाले कू गरेदेखि नै उक्त शहरमा विरोध प्रदर्शनहरू भइरहेका छन् ।
प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रूग्यास, धूवाँ बम र पानीको फोहरा समेत प्रयोग गरेको थियो । सेनालाई पनि भीड नियन्त्रण गर्न खटाइएको खबर छ ।
अधिकारीहरूले बिजुली उत्पादन कम्पनीलाई विद्युत् आपूर्ति काट्नका लागि माग राखेपछि भिडन्त भएको बताइएको छ ।
त्यस घटनालगत्तै देशमा लगभग सबैतिर इन्टरनेट बन्द गरिएको जेटब्लक्स इन्टरनेट अब्जर्भेटरी नामक संस्थाले जनाएको छ । पछि इन्टरनेट पुनर्बहाली गरिएको थियो ।
सोमवार सेनाका गाडीहरू विभिन्न शहरका सडकमा निस्किएका छन् ।
यसैबीच प्रभावशाली नेत्री आङ सान सू चीलाई हिरासतमा राख्ने अवधि बढाइएको छ ।
पश्चिमी मुलुकका दूतावासहरूले लोकतन्त्रको पक्षमा रहेको भन्दै विज्ञप्ति निकालेका छन् । एजेन्सी