विश्वकै लामो ट्रेलका रूपमा पहिचान गरिएको ग्रेट हिमालय ट्रेलको विकास तथा विस्तार निकै सुस्त गतिमा अघि बढिरहेको छ । घोषणाको १ दशक बितिसक्दा पनि ट्रेलको काम अघि बढ्न सकेको छैन भने पर्यटकले यसबारेमा खासै चर्चा गरेको समेत पाइँदैन । यसो हुनुको कारण यसको सही ढंगले प्रचार र बजारीकरण हुन नसक्नु हो ।
मुख्य कुरा हिमालय ट्रेलको प्रचार नै हो । यो पदयात्राका लागि अद्वितीय प्रडक्ट हो तर त्यसको प्रचार भएको छैन । यसका लागि जसरी सगरमाथाको देश भन्ने नेपालको पहिचान छ त्यसैगरी ‘द कन्ट्री अफ हिमालय ट्रेल’का रूपमा पहिचान स्थापित गरिनुपर्छ ।
नेपालले पदयात्रामा आउने पर्यटकको मनोविज्ञान बुझ्न नसकेको देखिन्छ । पदयात्रामा आउनेहरूले प्राकृतिक रूपलाई बिगार्ने गरी तयार पारिएको संरचनालाई रुचाउँदैनन्, किनकि पदयात्रा साहसिक कार्यभित्र पर्छ । प्रकृतिको चुनौतीलाई सामना गर्ने सोच नै साहसिक पर्यटनको मूल मनोविज्ञान हो । त्यसैले ग्रेट हिमालय ट्रेलमा बाटो बनाएर पदमार्ग तय गर्नु गलत हो ।
पदयात्रा एडभेन्चर पर्यटन हो । एडभेन्चर पर्यटनमा सजिलो बाटो खोजिँदैन, रहस्यको सामना गर्न तयार भएर नै पर्यटक आउँछन् । तर, अहिले त्यो रहस्यलाई निमिट्यान्न गर्ने गरी पदमार्गहरूमाथि अतिक्रमण गरिएको छ । ट्रेलमा भौतिक पूर्वाधार ‘निर्माण’ जरूरी छैन । एकाध पुलपुलेसा आवश्यक पर्छन् । त्यसबाहेक भौतिक संरचना बनाइनु हुँदैन । कतिपय पदमार्गको समानान्तर कच्ची सडक बनाइएको छ जहाँ गाडी गुड्छन् । गाडीले उडाएको धूलो र धुँवा खाँदै को पदयात्रा गर्न आउला ? त्यसैले पदयात्रा सम्बन्धमा नेपालले गम्भीर भएर सोच्ने बेला आएको छ ।
विश्वभरि नै छोटो र लामो दूरीको पदयात्राप्रति मानिसहरूको आकर्षण पाइन्छ । यस्तो पदयात्रा गर्ने बाटो प्राकृतिक हुनुपर्छ, सुनसान हुनुपर्छ र आपत् पर्दा चाहिँ उद्धार गर्न सकिने हुनुपर्छ । यति कुरामा ध्यान दिएर पदयात्रा मार्गको रूट तय गरिनुपर्छ । रूटको नाममा सिँढीयुक्त बाटो बनाइनु गलत हो । कल्पना गरौं, सगरमाथा आरोहणका लागि यस्तै बाटो बनाइएको भए त्यसको रहस्यात्मकता र सौन्दर्यले पर्यटकलाई साहसी बनाउँथ्यो होला त ? पक्कै पनि यसमा केही कमी आउँथ्यो । हिमालय ट्रेल पनि सगरमाथा आरोहण जत्तिकै रोमाञ्चक र साहसिक छ । तर, यसको प्रचार हुन सकेको छैन । जसरी सगरमाथा चढ्नुलाई गौरवको विषयका रूपमा प्रचार गरिन्छ हिमालय ट्रेल पूरा गर्नुलाई पनि त्यस्तै गौरवको विषयका रूपमा प्रचार गरिनुपर्छ । यो सगरमाथा चढ्नुजत्तिकै एड्भेन्चर हो तर नेपाल सरकारले नै समान किसिमले महत्त्व दिएको छैन । यसलाई गौरव र महत्त्वपूर्ण बनाउन बाटो सजिलो बनाउनुभन्दा पनि यात्रा गर्नेलाई प्रमाणपत्र दिनु बढी प्रभावकारी हुन्छ । ट्रेल पूरा गर्नेलाई त्यसको प्रमाणपत्र दिने हो भने त्यसको प्रचार बढी हुन्छ । हो, पूरै ट्रेल एकैपटकमा पदयात्रा गर्न सकिन्न । त्यसो हुँदा पटकपटक यात्रा गर्नेलाई पनि त्यसैअनुसार प्रमाणपत्र दिन सकिन्छ । पटकपटक गरेर पूरा ट्रेल यात्रा गर्नेलाई पनि प्रमाणपत्र दिनुपर्छ । यसो गर्दा यस ट्रेलमा गरिने पदयात्रा विशेष बन्छ । अहिलेसम्म एकाध व्यक्तिले मात्रै पूरै ट्रेलमा यात्रा गरेको देखिन्छ ।
नेपाल रहस्यले भरिएको देश हो । यही रहस्यकै कारण पर्यटक आउने हुन् । त्यो रहस्य र अद्वितीय विशेषतालाई नेपालले जोगाउनुपर्छ । त्यही कुरालाई बजारीकरण गरेर पर्यटकलाई आकर्षित गर्नुपर्छ । त्यसैले प्रकृतिको चुनौतीपूर्ण संरचनालाई सहज बनाइनु हुँदैन । त्यो चुनौतीपूर्ण र रहस्यपूर्ण नै रहन दिनुपर्छ । यसैका लागि पर्यटक आउने हुन् । खर्चालु र बढी समयसम्म बस्ने पर्यटक ल्याउने हो भने नेपालको यो विशेषतालाई मर्न दिनु हुँदैन ।
पदयात्राका लागि आवश्यक नक्सा, एप, उद्धार र सहयोगको व्यवस्था, सुरक्षाजस्ता कुरामा भने सरकारले ध्यान दिनुपर्छ । अहिले ठाउँठाउँमा पदयात्रा मार्ग बिगारिएको पाइन्छ । त्यसमा संघ सरकारले ध्यान दिनुपर्छ र त्यसलाई रोक्नुपर्छ । गाइडविना यात्रा गर्नेलाई गाइडसहित यात्रा गर्नेलाई भन्दा केही बढी दस्तुर लिनु उपयुक्त हुन्छ ।
मुख्य कुरा हिमालय ट्रेलको प्रचार नै हो । यो पदयात्राका लागि अद्वितीय प्रडक्ट हो तर त्यसको प्रचार भएको छैन । यसका लागि जसरी सगरमाथाको देश भन्ने नेपालको पहिचान छ त्यसैगरी ‘द कन्ट्री अफ हिमालय ट्रेल’का रूपमा पहिचान स्थापित गरिनुपर्छ ।