ग्रेटर वीरगञ्ज : अवधारणा अब्बल, कार्यान्वयनमा बेवास्ता

वीरगञ्ज । वीरगञ्ज क्षेत्रको भौगोलिक र आर्थिक सम्भावना उपयोगका लागि अघि सारिएको ग्रेटर वीरगञ्जको अवधारणा चर्चामै सीमित भएको सरोकारका पक्षले बताएका छन् । वीरगञ्जमा भौतिक, आर्थिक र सामाजिक विकासलाई अघि बढाउन निजीक्षेत्रले डेढ दशकयता अघि सार्दै आएको यो अवधारणा सरकारले सुन्ने तर कार्यान्वयनमा चासो नदिने प्रवृत्ति देखिएको गुनासो उनीहरूको छ । विगतमा देशका पाँच जना पूर्वप्रधानमन्त्रीले वीरगञ्जमा एउटै मञ्चमा उभिएर ग्रेटर वीरगञ्जको अवधारणा कार्यान्वयन गर्न वीरगञ्ज–पथलैया कोरिडोरलाई मापदण्डसहितको औद्योगिक कोरिडोर घोषणाको प्रतिबद्धता पनि व्यक्त गरे । २०७० सालमा भएको ‘नेपाल लिडरसीप समिट’मा १२ बुँदे प्रतिबद्धतामा हस्ताक्षर गर्ने नेताहरू त्यसयता पटकपटक प्रधानमन्त्री बने पनि प्रतिबद्धता कार्यान्वयनमा चासो नदेखाएको उद्यमी अशोककुमार वैद बताउँछन् । अहिले नेपाल–भारत सहयोग मञ्चको नेतृत्व गरिरहेका वैद त्यतिबेला वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष थिए । उनकै अगुवाइमा १० वर्षे आर्थिक क्रान्तिको मार्गचित्र तय गर्दै उक्त समिट भएको थियो । उक्त प्रतिबद्धतामा अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहालदेखि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् । त्यसयता वीरगञ्ज उद्योग वाणिज्य संघले ग्रेटर वीरगञ्जलाई आफ्नो आधिकारिक अवधारणा बनाएको छ । प्रत्येक सभा, सम्मेलनदेखि शीर्ष नेतृत्वलाई संघका अगुवाहरूले यो अवधारणा कार्यान्वयनका लागि ध्यानाकर्षण गराउँदै आएका छन् । शीर्ष नेताहरूले भने उक्त प्रतिबद्धतालाई आआफ्नो दलमा अनुमोदन गराएको जानकारीसमेत निजीक्षेत्रले पाएको छैन । भौगोलिक रूपमा देशको केन्द्रमा रहेको वीरगञ्ज शहरको व्यवस्थित र आर्थिक विकासमा प्रस्थान विन्दु बन्न सक्ने संघका अध्यक्ष सुबोधकुमार गुप्ताको दाबी छ । ‘आयातनिर्यातको मुख्य प्रवेशद्वारका रूपमा रहेको वीरगञ्जबाट नेपालको कुनै पनि स्थानको दूरी करीबकरीब बराबर छ । आयातनिर्यातको करीब आधा कारोबार वीरगञ्ज नाकाबाटै हुन्छ,’ गुप्ताले भने, ‘वीरगञ्जलाई दीर्घकालीन योजनाअन्तर्गत समृद्ध, सुन्दर र व्यवस्थित शहरका रूपमा विकास गर्न ग्रेटर वीरगञ्जको परिकल्पना गरिएको हो ।’ अहिले यो अवधारणमा पर्सा जिल्लाको वीरगञ्ज महानगर र आसपासका गाउँपालिका तथा बाराको कलैया र जितपुरसिमरा उपमहानगरलगायत क्षेत्रलाई समेटेर व्यवस्थित विकास गर्ने अवधारणा ग्रेटर वीरगञ्जले समेटेको छ । ग्रेटर वीरगञ्जलाई संघको विकास अवधारणाका रूपमा स्थापित गर्ने तत्कालीन अध्यक्ष अशोककुमार टेमानी अहिले यो क्षेत्रमा बस्ती र उद्योग विस्तार सँगसँगै भएकाले समस्या भएको देख्छन् । सवारी र ढुवानी साधनको चापसँगै सडक संरचनाहरू पनि अपर्याप्त भएकाले वीरगञ्ज क्षेत्रमा एउटा बेग्लै ट्रान्सपोर्ट नगरको खाँचो खट्किएको टेमानीको बुझाइ छ । ‘मुख्य नाकामा रहेको वीरगञ्ज दिनदिनै संकुचित हुँदै गएको छ । आयातनिर्यातको बढ्दो कारोबार र तीव्र बस्ती विस्तारले वीरगञ्ज क्षेत्रमा एउटा बेग्लै ट्रान्सपोर्ट नगरको अभाव महसूस भएको हो,’ उनले भने । ग्रेटर वीरगञ्जको अवधारणाले वीरगञ्जलाई आर्थिक राजधानी घोषणाको उद्देश्यलाई समेटेको बुझाइ विश्लेषक उमेशचन्द्र ठाकुरको छ । ठाकुर भन्छन्, ‘भारतमा राजनीतिक राजधानी दिल्ली भए पनि आर्थिक राजधानी मुम्बईलाई मानिएको छ । चीनमा व्यावसायिक गतिका कारण सांघाई आर्थिक राजधानीका रूपमा छ ।’ मुख्य आयातनिर्यात केन्द्र र औद्योगिक तथा व्यापारिक शहर वीरगञ्जले आर्थिक राजधानीको वैधानिकता प्राप्त गर्न नसक्नु र यसमा राजनीतिक नेतृत्व निरन्तर उदासीन देखिनु उचित नभएको उनी बताउँछन् ।

सम्बन्धित सामग्री

नेपाल एसबिआई बैंक लिमिटेडको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडले ‘ग्लोबल मनी विक २०२४’ को अवसरमा ‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ नाराका साथ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रमले कलेज विद्यार्थीहरूलाई बचतको महत्त्व, ऋण र लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीको पहिचान, शेयर बजार, अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणा लगायत वित्तीय साक्षरताका विभिन्न पक्षहरूमा सचेत गराएको बताइएको छ । बैंकका न्यूरोड, भक्तपुर, पाटन, बरगाछी, वीरगञ्ज, जनकपुर, डडेल्धुरा, वालिङ, टेकु, हेटौंडा, पीपीओ पोखरा, दुलेगौंडा, विराटनगर, चन्द्रनिगाहापुर, कोहलपुर, मणिग्राम, दाङ लगायतका विभिन्न शाखामा सञ्चालित कार्यक्रममा करीब आठ सय जनाको सहभागिता रहेको बताइएको छ ।

समृद्धि शृंखलाले मधेशको १० वर्षे विकासको मार्गचित्र तयार पार्दछ

मधेश समृद्धि शृंखलाको उद्देश्य के हो ? मधेश सम्भावनामा सबैभन्दा अगाडि भएर पनि त्यसको उपयोगमा पछाडि परेको प्रदेश हो । भूगोलमा सबैभन्दा सानो, तर यो प्रदेश जनशक्तिमा सबैभन्दा अगाडि छ । जनशक्ति यस्तो स्रोत हो, जो विकासको ऊर्जा हो । तर, मधेश वैदेशिक रोजगारीका लागि जनशक्ति निकासीमा मात्र अगाडि भयो, यसको उपयोग हुन सकेन । कृषिको सम्भावना त्यस्तै छ । यो क्षेत्रलाई खाद्यान्न उत्पादनको केन्द्र भनिन्छ । तर, खेत बाँझो राखेर युवाहरू विदेश पलायन भइरहेका छन् । देशको मध्यभाग र वैदेशिक व्यापारमा सहजताका कारण उद्योग व्यापारको पनि केन्द्र हो । यो प्रदेशमा उद्योग दर्ताको तथ्यांक हेर्ने हो भने निराशाजनक देखिन्छ । भौतिक र भौगोलिक रूपमा कम सम्भावना भएका क्षेत्रमा यहाँको तुलनामा बढी उद्योग देखिन्छन् । यो सम्भावना उपयोग हुन नसक्नुको परिणाम नै हो । जनकपुर, वीरगञ्ज क्षेत्र पर्यटकीय महत्त्वले पनि अगाडि छन् । यस्ता स्थानहरूको प्रभावकारी उपयोग हुन सकेको छैन । पर्यटकीय प्याकेज बनाउने र त्यसलाई प्रचारप्रसार गर्ने काम प्रभावकारी भएको छैन । कुल गार्हस्थ्य उत्पादनदेखि प्रतिव्यक्ति आयमा मधेश पछाडि छ भने गरीबीमा अगाडि छ । त्यसकारण मधेशका सम्भावनाहरूको अधिकतम उपयोगमार्फत मधेशलाई कसरी विकासका पथमा अगाडि बढाउन सकिन्छ भन्ने सोचले यो कार्यक्रम अगाडि बढाइएको हो ।  यसले विकासका अवसर उपयोगलाई कसरी सहयोग पुर्‍याउँछ ? हामीले यो शृंखलाअन्तर्गत धनुषामा पहिलो कार्यक्रम गर्‍यौं । मधेशका आठै जिल्लामा त्यहाँको निजीक्षेत्र, सार्वजनिक क्षेत्र र सरोकारका अन्य पक्षसँग ती जिल्लाको आर्थिक र सामाजिक अवस्था के कस्तो छ ? सम्भावना कस्ता छन् ? उपयोगमा समस्या छन् भने तिनको समाधान कसरी हुन सक्दछ भन्ने विषयमा गहन छलफल चलाउँछौं । छलफलका क्रममा आएका तथ्यहरूलाई सार्वजनिक गर्दै जान्छौं । र, त्यसको समग्र रूपमा ‘मधेश विकासको मार्गचित्र २०९०’ तयार गर्छौं । यो भनेको विसं २०९० सम्म अर्थात् अबको १० वर्षभित्र मधेशको विकास कस्तो हुनु पर्दछ र त्यसका लागि कुन कुन पक्षले के कस्तो भूमिका निर्वाह गर्नु पर्दछ भन्ने मार्गदर्शन हो । यसरी तयार पारिएको मार्गदर्शनबारे प्रदेश सरकारसँग समन्वय गरेर त्यसलाई विकास रणनीतिको आधारको रूपमा अघि बढाउने प्रयास गर्दछौं । यसबाट मधेशको समग्र विकासले अपेक्षित गति लिनेमा हामी विश्वस्त छौं ।  यो सोच कसरी आयो ? विगतमा म वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा ग्रेटर वीरगञ्जको अवधारणा ल्याएको थिएँ । आजको वीरगञ्ज महानगरको विकासले हामीले त्यतिबेला अघि सारेका तथ्य र सम्भावनाहरूलाई सम्बोधन गरिरहेको छ । अहिले म नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशको अध्यक्ष भइसकेपछि मधेशको सापेक्ष र अपेक्षित विकास कसरी गर्न सकिएला भन्नेमा सोच केन्द्रित भयो । र, मधेशका आठै जिल्लाको विकासको वास्तविक अवस्था पत्ता लगाएर आवश्यकताका आधारमा एउटा ठोस अवधारणा बनाउने योजना बन्यो । यसलाई मधेशको समग्र विकासको प्रस्थानबिन्दु बनाउने उद्देश्य छ ।

ग्रेटर वीरगञ्ज अभियानको सार्थकता

वीरगञ्ज क्षेत्रको भौगोलिक र आर्थिक सम्भावना उपभोगका लागि अघि सारिएको ग्रेटर वीरगञ्जको अवधारणा कार्यान्वयनमा आउन सकेको छैन । डेढ दशकअघि सारिएको यस अभियानले वीरगञ्जलाई नेपालको आर्थिक राजधानीका रूपमा स्थापित गराउने लक्ष्य लिएको छ । मुलुकको राजधानी काठमाडौंमा सबै थोक केन्द्रित भइरहेको सन्दर्भमा वीरगञ्जलाई आर्थिक राजधानी बनाउन सकिए धेरै नै फाइदा लिन सक्ने देखिन्छ । प्रधानमन्त्रीहरूले प्रतिबद्धतामा हस्ताक्षर गर्ने तर त्यसको कार्यान्वयनका लागि कत्ति पनि भूमिका निर्वाह नगर्ने हो भने किन हस्ताक्षर गरेको हो, त्यसको जवाफ उनीहरूले दिनुपर्छ । ग्रेटर वीरगञ्ज अवधारणाअनुसार बारा र पर्साका वीरगञ्ज उपमहानगरपालिका र कलैया नगरपालिकासहित दुवै जिल्लाका ३५ गाविसको करीब ५ सय वर्ग किलोमीटरलाई समेटेर ग्रेटर वीरगञ्जको अवधारणा अघि सारिएको हो । यसले यस क्षेत्रमा सञ्चालनमा रहेका तथा निर्माणाधीन औद्योगिक, व्यापारिक र सामाजिक क्षेत्रको स्तरोन्नतिका निम्ति आवश्यक पूर्वाधारलाई समेट्ने भएकाले यसको महत्त्व निकै देखिएको हो । भौगोलिक रूपमा देशको मध्यभागमा पर्ने यो शहर आयातनिर्यातको केन्द्र हो । त्यस्तै मुलुकको कुल लगानीको ७० प्रतिशत लगानी यही क्षेत्रमा भएको छ । त्यसैले यसलाई कानूनी आधारसहित ग्रेटर वीरगञ्ज बनाउने अभियान सञ्चालन गरिएको हो । आर्थिक अभियानले आयोजना गरेको एक कार्यक्रममा मुलुकका पाँच जना प्रधानमन्त्रीलाई एउटै मञ्चमा राखेर ग्रेटर वीरगञ्ज अभियान चलाइएको थियो । पाँचै जना प्रधानमन्त्रीले यो अवधारणामा लिखित प्रतिबद्धतासमेत व्यक्त गरे तर तिनले यसलाई कार्यान्वयन गराउने पहल भने कत्ति पनि गरेनन् । यसो हुनुको कारण यसको महत्त्व र यसले पार्ने दूरगामी प्रभाव बुझ्न नसक्नु हो । वीरगञ्जवासीले पनि यस्तो अवधारणा कार्यान्वयन गराउन प्रयास गर्न आवश्यक हुन्छ । यस्तो अभियानमा विभिन्न राजनीतिक स्वार्थ देखिन सक्छ । जस कसले लिने भन्नेमा होडबाजी हुन सक्छ । तर, ग्रेटर वीरगञ्ज अभियानमा अगाडि यस्ता स्वार्थ र चासो गौण हुन्छन् र हुनुपर्छ । ग्रेटर सिटीको अवधारणा नेपालमा मात्र उठेको होइन, अन्य देशमा पनि प्रचलनमा रहेको पाइन्छ । यस अवधारणाले मूल शहरको आसपासमा सानासाना शहर विकास गर्छ र त्यसलाई मूल शहरसँग जोड्छ । उदाहरणका लागि काठमाडौंलाई ग्रेटर सिटीको अवधारणामा अघि बढाइयो भने बनेपा, त्रिशूली, नौबीसेजस्ता आसपासका शहरलाई स्याटेलाइट सिटीका रूपमा विकास गरिन्छ । यसो हुँदा कोर शहर र आसपासमा रहेका क्षेत्रको सँगसँगै विकास हुन्छ । ग्रेटर वीरगञ्जको अवधारणा कार्यान्वयनमा आए त्यस वरपरका धेरै ठाउँको विकास हुन्छ । राजनीतिक राजधानी काठमाडौं भए पनि आर्थिक राजधानी भने वीरगञ्ज बन्न सक्छ । वीरगञ्ज वरपरका शहरसँग यसको अन्तरनिर्भरता बढ्छ र वीरगञ्ज आफै पनि विकसित हुन्छ । त्यसैले यो अवधारणालाई छिटो कार्यान्वयनमा लैजानु आवश्यक छ । भारतमा ग्रेटर सिटीको अवधारणाअनुसार शहरको विस्तार गरिएको छ । यो स्मार्ट सिटीजस्तै हो जुन निकै व्यवस्थित हुन्छ । मुख्य शहरभन्दा बाहिर विकसित हुने शहरलाई बढी योजनाबद्ध ढंगले अघि बढाउन सकिन्छ । काठमाडौं उपत्यकामा विभिन्न महानगर र नगर भएकाले यसको एकीकृत विकास हुन सकेको छैन । यदि उपत्यकाका सबै नगरपालिकालाई एउटै प्राधिकरणभित्र राखेर काम गर्ने हो भने त्यसले अहिले देखिएको असमन्वय र समस्या निकै कम गर्छ । वीरगञ्जमा यो अवधारणा लागू भए अन्य शहरलाई पनि त्यसै अनुसार अघि बढाउन सकिन्छ । प्रधानमन्त्रीहरूले प्रतिबद्धतामा हस्ताक्षर गर्ने तर त्यसको कार्यान्वयनका लागि कत्ति पनि भूमिका निर्वाह नगर्ने हो भने किन हस्ताक्षर गरेको हो, त्यसको जवाफ उनीहरूले दिनुपर्छ । यदि गलत हो भने प्रतिबद्धतामा सही गर्न हुँदैनथ्यो । यदि उपयुक्त छ भने सही गरिसकेपछि त्यसको कार्यान्वयन कसरी गर्ने भनेर सरोकारवालासँग छलफल गर्न सकिन्छ र त्यसलाई कार्यान्वयनको प्रक्रियामा लैजान सकिन्छ । तर, नेपालमा आर्थिक विकाससँग सम्बद्ध कुरालाई अत्यधिक महत्त्व दिने र आर्थिक विकाससँग सम्बद्ध मुद्दालाई ज्यादै कम महत्त्व दिने सोचाइ र संस्कृति आमरूपमा व्यापक रहेको पाइन्छ । यही कारण व्यवसायीलाई सबै कुुरा स्पष्ट पार्नुभन्दा अन्योल र भ्रम सृजना गरिन्छ । त्यसैले कथनी र करनीमा अन्तर नल्याएसम्म राजनीतिक नेतृत्वलाई जनताले पत्याउने अवस्था आउँदैन ।

वीरगञ्ज : सम्भावना र सकस

प्रधानमन्त्री शेरबहादुर देउवा वीरगञ्जमा एउटा औपचारिक कार्यक्रममा सहभागी हुन आएको मौका छोपेर केही दिनअघि बारा–पर्साका उद्योगी व्यापारीहरूको वर्गीय संस्था वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीले मागपत्र बुझाए । यसो त वीरगञ्जका उद्यमीले अघि सारेका ती माग कुनै नयाँ र विशिष्ट थिएनन् । वीरगञ्जलाई आर्थिक राजधानीको मान्यता दिएर समग्र अर्थतन्त्रको विकासको आधारका रूपमा स्थापित गरिनुपर्ने विषय नौलो र अन्यथा पनि होइन । तर, वर्षौं देखि उठाउँदै आएको आवश्यकता र ५ जना पूर्वप्रधानमन्त्रीबाट प्रतिबद्धता भएको विषय आजसम्म मागकै रूपमा दोहोरिँदै आएको छ । अहिले पनि वीरगञ्ज उद्योग वाणिज्य संघको टोली संघीय राजधानी काठमाडौंमा पुगेर आफ्ना मागमा सरोकारका मन्त्रालयदेखि विभागीय प्रमुखहरूलाई ध्यानाकर्षण गराइरहेका समाचार सञ्चारमाध्यममा आइरहेका छन् । वीरगञ्जका व्यवसायीले उठाएका माग वीरगञ्जको व्यापार व्यवसायसँगमात्र सरोकार राख्दैनन् । देशको मुख्य प्रवेशद्धारमा रहनुका कारण यहाँको उद्योग, व्यापार, पारवहन, यसका पूर्वाधारहरूको सरोकार सिंगो देशको अर्थतन्त्रसित जोडिएका हुन्छ । त्यसैले त आजभन्दा ८ वर्षअघि वीरगञ्ज उद्योग वाणिज्य संघले नै देशका ५ जना पूर्वप्रधानमन्त्रीलाई वीरगञ्जमा भेला पारेर विकासको १० वर्षे मार्गचित्रका १२ ओटा बुँदा सामूहिक प्रतिबद्धता लिने काम गरेको थियो । त्यतिबेला निर्दिष्ट विकास दृष्टिकोणको १० वर्षमा अब करीब २ वर्षमात्र बाँकी छ । तर, प्रतिबद्धता कार्यान्वयनको अवस्था भने निराशाजनक छ । प्रतिबद्धताका १२ बुँदामध्ये वीरगञ्ज–पथलैया कोरिडोरलाई मापदण्डअनुसारको औद्योगिक कोरिडोर घोषणा गरिनुपर्ने माग वीरगञ्जका उद्योगीले वर्षांैदेखि उठाउँदै आएका छन् । नेतृत्वले आवश्यकता महसुस गरेको विषय पनि हो । वीरगञ्जलाई आर्थिक राजधानीको मान्यता दिएर समग्र अर्थतन्त्रको विकासको आधारका रूपमा स्थापित गरिनुपर्ने विषय नौलो र अन्यथा पनि होइन । तर, वर्षौदेखि उठाउँदै आएको आवश्यकता र ५ जना पूर्वप्रधानमन्त्रीबाट प्रतिबद्धता भएको विषय आजसम्म मागकै रूपमा किन दोहोरिँदै आएको छ । स्पष्ट छ, राजनीतिक नेतृत्व विकास र समृद्धिको सवालमा अपेक्षा गरेजति प्रतिबद्ध छैन । नेताहरूबाट प्रकट हुने औपचारिक अनौपचारिक प्रतिबद्धता केवल राजनीतिक खपत र लोकप्रियतामुखी उपायमात्रै सावित भएका छन् । वीरगञ्जमा भएको १२ बुँदे प्रतिबद्धताका हस्ताक्षरकर्तामध्येका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा केही दिनअघि वीरगञ्जमै आएको मौका छोपेर उद्यमी अशोककुमार वैदले १२ बुँदे प्रतिबद्धताको प्रति दिएर देउवालाई प्रतिबद्धता स्मरण गराए । यो संयोगमात्र होइन, विकास र विकासको चालक मानिएको निजीक्षेत्रले उठाएका मागप्रति नेतृत्वको उदासीनताको प्रमाण पनि हो । प्रधानमन्त्री देउवालगायत शीर्ष नेताले जुन भूमिमा उभिएर विकासको साझा प्रतिबद्धतामा हस्ताक्षर गरेका थिए । त्यो समयसीमाको उत्तरार्धतिर त्यतिबेलाको कार्यक्रम आयोजक संस्थाका तत्कालीन नेतृत्वकर्ताले प्रतिबद्धता स्मरण गराउनु भनेको स्वयम् प्रधानमन्त्रीकै लागि लज्जा र ग्लानिको विषय हुनुपर्ने हो । तर, समकालीन राजनीतिमा आपूmले गरेका प्रतिबद्धताप्रति खरो उत्रिने इमानको अभाव छ । त्यसबेला वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष रहेका अशोककुमार वैदले आर्थिक अभियान दैनिकमा प्रकाशित विशेष आर्टिकलमा लेख्छन्– देशको समग्र विकासमा वीरगञ्जको महत्त्व र सम्भाव्यतालाई मनन गरेरै वीरगञ्जलाई आर्थिक समृद्धिको आधारका रूपमा विकास गर्नुपर्ने अवधारणामा नेताहरू सहमत हुनुभएको हो । तर, वीरगञ्जमा व्यक्त सामूहिक प्रतिबद्धता त्यसयता सरोकारका कुनै पनि राजनीतिक दलमा एजेन्डाको रूपमा प्रवेश पाएको जानकारीसमेत छैन । त्यसबेलाका हस्ताक्षरकर्ता रहेका नेताहरूमध्ये अन्य पनि पटकपटक देशको कार्यकारी प्रमुखको कुर्सीमा बसिसकेका छन् । वीरगञ्जका सम्भाव्यताको उपयोगका अवरोधहरूको समाधानमा नेतृत्व निरन्तर गैरजिम्मेवार रूपमा पेश हुँदै आएको छ । तमाम प्रतिबद्धता राजनीतिक लाभहानि र त्यसको पूर्तिको औजारमात्र बढी बनाइएको अवस्था छ । यतिसम्म कि, वीरगञ्जलाई हरेकजसो राजनीतिक परिवर्तनताका कुनै न कुनै आश्वासन दिएर सहयोगको आग्रह गरिन्छ । तर, राजनीतिक उद्देश्य पूरा भएपछि वीरगञ्ज पूरै उपेक्षामा परिआएको छ । विगत मधेश आन्दोलनमा ६ महीनासम्म वीरगञ्जमा भएको प्रदर्शन, त्यसको आडमा मधेश राजनीतिका अगुवाहरूले हात पारेको राजनीतिक लाभ र त्यसयता निरन्तर पाएको उपेक्षा यसको निकट उदाहरणमात्रै हो ।   अर्को विडम्बना, संघको वर्तमान नेतृत्वले यसैबेला प्रधानमन्त्री देउवालाई वीरगञ्ज–पथलैया कोरिडोर मुलुककै प्रमुख कोरिडोर रहेकोले औद्योगिक कोरिडोरका लागि चाहिने सम्पूर्ण सेवा सुविधासहितको औद्योगिक कोरिडोरको घोषणा गर्न आग्रह गर्‍यो । वीरगञ्ज–पथलैया कोरिडोरमा उद्योग विस्तार हुनेक्रमसँगै यहाँका उद्यमीले कोरिडोर घोषणाको माग गर्दै आएका हुन् । पछिल्लो समय कोरिडोरमा उद्योग र स्थानीय समुदायबीच द्वन्द्व बढ्दो छ । यो समस्याबाट आजित उद्यमीले सरकार र सरकारी अधिकारीहरूसँगको औपचारिक वा अनौपचारिक भेटमा यो माग उठाउन छोडेका छैनन् । तर, आजपर्यन्त यो माग सम्बोधन हुन नसक्नु भनेको राजनीतिक नेतृत्व आर्थिक विकास र यसको आधार निर्माणका कतिसम्म उदासीन रहेछ भन्ने कुराको पुष्टि पनि हो । देशकै सबैभन्दा ठूलो औद्योगिक कोरिडोरका उद्योगीहरू आजसम्म पनि सुरक्षाको सवालमा ढुक्क हुन नसकेको अवस्था छ । प्रकारान्तले यो समग्र सुरक्षा वयवस्थामाथि गम्भीर प्रश्न पनि हो । यसले औद्योगिक र व्यापारिक लगानीको वातावरणलाई प्रत्यक्ष असर पारिरहेको हुन्छ । प्रधानमन्त्रीदेखि गृहमन्त्री तथा मातहतका निकायका प्रमुखहरूसँगको भेटमा आज उद्योगीहरू कोरिडोरमा औद्योगिक सुरक्षा बल पुनःस्थापनाको माग गर्दै आएका छन् । केही वर्षअघि कोरिडोरका उद्योगको सुरक्षाका लागि परिचालन गरिएको सशस्त्र प्रहरीको विशेष सुरक्षा दस्ता हटाइएपछि कोरिडोरका औद्योगिक प्रतिष्ठानहरूमा सुरक्षा चुनौती बढेको गुनासो उद्योगी व्यापारीहरूको छ । वीरगञ्जका उद्यमी व्यापारीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पनि वीरगञ्जका यो आग्रह दोहोर्‍याउन छुटाएनन् । विगतमा वीरगञ्जका व्यवसायीको लामो समयको मागपश्चात् स्थापना गरिएको औद्योगिक सुरक्षा बल खारेज गरिएपछि औद्योगिक सुरक्षा पुनः खल्बलिएको बुझाई निजीक्षेत्रको छ । औद्योगिक तथा व्यापारिक प्रयोजनका लागि नाकाहरूको सुधार, एकीकृत जाँच चौकी, सुक्खा बन्दरगाह, यसको क्षमता विस्तारको आवश्यकता वर्षौंदेखि महसूस भए पनि यसका लागि सरकारले तदारुकताका साथ काम अघि बढाएको छैन । यसबाट आयातनिर्यातमा विलम्बका कारण समय र खर्चमा परेको असरले समग्र अर्थतन्त्रमै नकारात्मक असर थपिन गएको छ । वीरगञ्ज र यसको आसपासका क्षेत्रको सम्भावनासँग जोडिएको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेका तराई–काठमाडौं द्रुतमार्ग र निजगढ अन्तरराष्ट्रिय विमानस्थलको निर्माणमा बढी समय लागिरहेको छ । यसलाई गति दिन सरकारले आवश्यक स्रोत छुट्ट्याउन सकेको छैन । योजनाको कछुवा गतिका कारण यस्ता आयोजनाको लागत त बढिरहेको छ नै, कुनै पनि योजनाको सान्दर्भिकता कुनै समय सीमाभित्र बढी हुन्छ । त्यो समयसीमापछि त्यस्ता योजनाको व्यावसायिक ओज कमजोर हुँदै जान्छ भन्ने तथ्यलाई सरकारले आत्मसात् गर्न नचाहेकोजस्तो देखिन्छ । यस्ता बहुआयामिक महत्वका योजनाहरू समयसीमा तोकेरै अघि बढाउनुपर्छ । र, यसका लागि आवश्यक स्रोत व्यवस्थापनलाई उच्च प्राथमिकता दिइनुपर्छ । तर, हामीकहाँ यस्ता योजनाहरू व्यावसायिक सम्भाव्यता र आवश्यकताभन्दा पनि कार्यकर्ता खुशी पार्ने आग्रह र नेताको राजनीतिक लाभबाट बढी निर्देशित हुँदा यी राज्यको ढुकुटीका भार बढी बनेका छन् । सीमित विकास बजेट यस्ता आयोजनाका कनिका छरेजस्तो वितरण गर्दा त्यसको उपादेयता कमजोर बन्दै गएको छ । यी आवश्यकतामा सकारका आफै सचेत हुनुपर्ने हो । निजीक्षेत्रले बारम्बार यसमा ध्यानाकर्षण गराउनु परेको देख्दा हामीकहाँ विकास र यसको पूर्वाधार निर्माणको काम त निजीक्षेत्रको एजेन्डामात्रै हो कि जस्तो भान हुन थालेको छ । वीरगञ्ज अन्तरदेशीय व्यापारको मूल नाका र यो नाकाबाट दिनहुँ हुने हजारौं यात्रु आवागमन हुने भए पनि यसलाई व्यवस्थित गर्नेतर्फ सरकारको आवश्यक ध्यान जान सकेको छैन । हालैका दिनमा निजीक्षेत्रले ‘ह्यापी बोर्डर’को अवधारणा अघि सारेको छ । कुनै पनि देशको सीमा क्षेत्रमा देखिने सुन्दरता र खुशीको अनुभूतिले बाहिरबाट आउने विदेशीहरूमा त्यस देशप्रतिको दृष्टिकोण तय हुने र यसबाट खासगरी पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुग्ने भएकाले वीरगञ्जजस्तो सीमावर्ती क्षेत्रमा त्यसैअनुसारको भौतिक, आर्थिक र सामाजिक पूर्वाधारको आवश्यकता सान्दर्भिक छ । वीरगञ्ज र आसपासका क्षेत्रका सम्भावनाहरूको उचित उपयोगमार्फत देशकै आर्थिक समृद्धिको गति तय हुनेमा सरोकारका सबै पक्ष सहमत हुँदै आए पनि त्यसको उपयोगका लागि पूर्वाधार निर्माणका देखिएको निरन्तर उदासीनता भने बुझिनसक्नु बनेको छ । ठाकुर वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष हुन् ।

‘तरलताको अभावले अर्थतन्त्रमा शिथिलता र ब्याजदर वृद्धिले लगानीको वातावरणमा ह्रास’

चैत ८, काठमाडौं । नेपाल चेम्वर अफ कमर्स तथा वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्य समिति सदस्य बीच अन्तरक्रिया कार्यक्रम सोमवार सम्पन्न भएको छ । उक्त अवसरमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले हाल मुलुकमा तरलताको अभावले अर्थतन्त्रमा शिथिलता देखिएको र ब्याजदरमा भएको वृद्धिले लगानीको वातावरणमा ह्रास आएको  बताए ।  उनले लगानीको वातावरणमा ह्रास आएको सन्दर्भमा समस्त  निजीक्षेत्र साझा अवधारणा लिएर अगाडी बढ्नु पर्ने भन्दै कृषिलाई निजी क्षेत्रले उद्यमको रुपमा प्राथमिकतामा राख्नु पर्ने बताए । अध्यक्ष मल्लले वीरगञ्ज उद्योग वाणिज्य संघ पनि नेपाल चेम्बर अफ कमर्स जस्तै पुरानो संस्था भएको बताउँदै व्यवसायीका हकहितका विषयमा ऐक्यबद्धता आवश्यक रहेको धारणा राखे । साथै उनले वीरगञ्ज प्रमुख औद्योगिक नगर भएकोले निर्यात गृहको अवधारणामा निर्यात प्रवर्द्धनको लागि अग्रसर हुनु पर्ने र यसमा नेपाल चेम्वर अफ कमर्स सहकार्य गर्न तयार रहेको पनि बताए । बढ्दोे व्यापार घाटालाई पूर्ति गर्न कृषिको उत्पादकत्वमा जोड दिनु पर्ने र यसको लागि कृषि क्षेत्रको व्यवसायीकरण तथा उत्पादकत्वमा वृद्धि गर्न जिल्लास्थित उद्योग वाणिज्य संघको  पनि भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ । उक्त अवसरमा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध गुप्ताले व्यवसायीहरु जुनसुकै क्षेत्रका भएता पनि  चुनौतिहरु साझा रहेको बताए । उनले सामाजिक सुरक्षा र श्रम नीतिले व्यवसायीहरु मारमा परेको भन्दै मजदूरहरुको मात्र भलाई हेर्दा व्यवसाय बन्द हुने अवस्थामा पुगेको बताए । उनले भीसीटीएस प्रणाली प्रभावकारी कार्यान्वयन हुन नसक्दा साना व्यवसायी मारमा परेको पनि बताए । नेपालको पारवहनको लागि भारतका सवै बन्दरगाहहरुबाट नेपालमा मालसामान ल्याउन खुला हुन आवश्यक रहेको भन्दै उनले पर्यटन क्षेत्रमा भारतीय पर्यटकको ठूलो योगदान रहेको तर भारतीय पर्यटकहरुको नेपाल आगमनमा वृद्धि गर्न भारु २५ हजारमात्र बोक्न पाउने, भारतीय ठूला नोटहरु नचल्ने, डेबिट तथा क्रेडिट कार्ड भरपर्दो नरहेको  कारणले असहज रहेको बताए । कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठ तथा वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय माधव राजपाल हरी गौतम, महासचिव मनोज कुमार दास, सहकोषाध्यक्ष प्रेमचन्द गोयल लगायतको उपस्थिति रहेको थियो ।

‘चुनौति सामना गर्न साझा अवधारणा’

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध गुप्ताले सामाजिक सुरक्षा र श्रम नीतिले व्यवसायीहरू मारमा परेको बताउनुभयो ।

चेम्बरले भेट्यो वीरगञ्जका व्यवसायी, व्यवसायीका हक हितका लागि एक भएर अगाडी बढ्ने

नेपाल चेम्बर अफ कमर्श र वीरगञ्ज उद्योग वाणिज्यसंघले देशको वर्तमान आर्थिक स्थितीको विषयमा छलफल गरेका छन् । तरलता अभावले अर्थतन्त्रमा देखिएको शिथिलता र ब्याजदरमा भएको वृद्धिले लगानीको वातावरणमा आएको ह्रासको विषयमा छलफल गरेका हुन् ।यसक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले तरलता अभावका कारणले लगानीको वातावरणमा ह्रास आउँदा समस्त निजी क्षेत्र साझा अवधारणा लिएर अगाडी बढ्नुपर्ने बताए । उनले कृषिलाई निजी क्षेत्रले उद्यमकोरूपमा प्राथमिकतामा राख्नुपर्ने समेत बताए ।वीरगञ्ज उद्योग वाणिज्य संघ पनि नेपाल चेम

विशेष आलेख : ‘नेपाल लिडरसीप समिट’ कहाँ चुक्यो कार्यान्वयन ?

वीरगञ्ज यस्तो ठाउँ हो, जसका आर्थिक आयामहरू समग्र अर्थतन्त्रको उन्नतिसँग सरोकार राख्छन् । देशको मुख्य प्रवेशमार्ग हुनुका कारण वीरगञ्जको विकास देशको आर्थिक विकासको आधार बन्नेमा द्विविधा छैन । तर, यहाँ विकासका पूर्वाधारहरू अपेक्षित रूपमा विकास हुन सकेको छैन । आज वीरगञ्ज र आसपासका क्षेत्रमा जति पनि विकास भएको छ, त्यो यहाँको भौगोलिक अवस्थितिका कारण सम्भव भएको हो । सरकार वा राजनीतिक नेतृत्वको विशेष आग्रह र लगावबाट भएको होइन । वीरगञ्ज नाकामा बनाइएका एकीकृत भन्सार, सुक्खा बन्दरगाहदेखि पेट्रोलियम पाइपलाइन, निर्माणाधीन द्रुतमार्ग, व्यापारिक मार्ग, विमानस्थलजस्ता सबै योजना वीरगञ्जको अवस्थितिका उपज हुन् । देशकै सबैभन्दा ठूलो औद्योगिक कोरिडोर पनि मुख्य नाका र मध्य भागमा रहनुका कारण ढुवानीमा तुलनात्मक सहजताका कारण विस्तार भएको हो । वीरगञ्जको यो विशिष्टतालाई समग्र आर्थिक विकासमा उपयोग गर्न यहाँका सम्भाव्यतालाई अझ बढी उपयोग गरिनु पर्दछ । र, यहाँ यस्ता सरोकारका पूर्वाधारहरूको व्यापक विकास र विस्तार हुनुपर्छ । यसका लागि नीति निर्माण गर्ने राजनीतिक नेतृत्व प्रतिबद्ध हुनुपर्छ भन्ने थियो । निजीक्षेत्रले विकासको दृष्टिकोण दिन सक्छ । त्यसलाई कार्यान्वयनको दिशामा अघि बढाउने काम राजनीतिको हो । यस अर्थमा वीरगञ्जलाई आर्थिक विकासको केन्द्र भागमा राखेर विकासको मोडेल अघि बढाउने सन्दर्भमा राजनीतिक दलहरूबीच समान र साझा अवधारणाको आवश्यकता थियो, यसको खाँचो आज पनि छ । यो तथ्यलाई आत्मसात् गरेर वीरगञ्ज उद्योग वाणिज्य संघ र आर्थिक अभियान दैनिकको सहकार्यमा ८ वर्षअघि २०७० भदौ २० गते वीरगञ्जमा ‘नेपाल लिडरसीप समिट’ आयोजना भएको थियो । त्यसबेला ५ जना पूर्वप्रधानमन्त्रीले एउटै मञ्चबाट १० वर्षे विकास मार्गचित्रको १२ बुँदामा हस्ताक्षर गर्नुभएको थियो । यसको समयसीमा सकिन अब करीब २ वर्षमात्रै बाँकी छ, तर ती प्रतिबद्धता भने अहिलेसम्म पूरा भएका छ्रैनन्, कागजमै सीमित छन् । खासमा वीरगञ्ज उद्योग वाणिज्य संघ अवधारणाको उत्पादकमात्रै हो । विकासको त्यो मार्गचित्र त देशको समग्र उन्नतिसँग सरोकार राख्छ । वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले पनि यो आवश्यकतालाई उठाउँदै आउनुभएको थियो । विकासको सवालमा शीर्ष राजनीतिक नेतृत्वबाट किन साझा प्रतिबद्धता नलिने ? राजनीतिक दृष्टिकोण र आग्रह जे भए पनि विकास सबैको आवश्यकता हो भने राजनीतिक नेतृत्वलाई यसमा सहमत तुल्याउनुपर्छ भन्ने उद्देश्यले म वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा यो काम सम्पन्न भएको थियो । त्यसैबेला बारा र पर्साबाट व्यवस्थापिका–संसद्मा चुनिएर गएका जनताका प्रतिनिधिहरूबाट यसबारेमा आवाज उठाउन सांसद क्लब पनि गठन भयो । सीमावर्ती वीरगञ्ज र भारतको रक्सौल क्षेत्रका राजनीतिक नेतृत्वबीच संवादबाट हेप्पी बोर्डरको अवधारणा अगाडि आयो । त्यसबेला हामीले गरेको यो कार्यको प्रशंशामात्र भएन, अन्य ठाउँका लागि पनि यस्तो पहल गरिदिन आग्रहसमेत आएका थिए । यो प्रयासबाट केही उपलब्धि देखिएको पनि हो । विकासका मूल आवश्यकता र पूर्वाधारको प्रबन्धमा भने हाम्रो राजनीति अपेक्षित इमानदार देखिएन । फलतः वीरगञ्ज घोषणाका प्रतिबद्धताको पूर्णतामा आज ८ वर्ष बितिसक्दा पनि उत्साहजनक उपलब्धि देखिएको छैन । ‘नेपाल लीडरसीप समिट–आर्थिक क्रान्तिको मार्गचित्र : भिजन २०८०’ यस्तो समयमा भएको थियो, जतिबेला पहिलो संविधानसभा उद्देश्यमा नपुगी अवसान भएर दोस्रो प्रयोजनका लागि गैरदलीय सरकार गठन भएको थियो । त्यो बेला दलहरूलाई एउटै अवधारणामा सहमत गराउनु जति चुनौतीपूर्ण थियो, अहिले त्यसको कार्यान्वयन त्यति नै अन्योलमा परेको छ । देशको समग्र विकासमा वीरगञ्जको महŒव र सम्भाव्यतालाई मनन गरेरै वीरगञ्जलाई आर्थिक समृद्धिको आधारको रूपमा विकास गर्नुपर्ने अवधारणामा नेताहरू सहमत हुनुभएको हो । तर, वीरगञ्जमा व्यक्त सामूहिक प्रतिबद्धता त्यसयता सरोकारका कुनै पनि राजनीतिक दलमा एजेण्डाको रूपमा प्रवेश पाएको जानकारी छैन । त्यतिबेला प्रतिबद्धता जनाउने नेतामध्ये कतिजना त पटकपटक सत्तामा पुग्नुभयो । माओवादी केन्द्रका अध्यक्ष दाहाल दुईपटक प्रधानमन्त्री बन्नुभयो । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा पनि पटकपटक त्यो पदमा पुग्नुभयो, अहिले देशको कार्यकारी प्रमुख हुनुहुन्छ । नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई मुख्य राजनीतिक दलको शीर्ष स्थानमा हुनुहुन्छ । आपैmले गरेको प्रतिबद्धता पूरा गर्ने काममा भने उहाँहरू गम्भीर देखिनुभएको छैन । हामीले देशको समग्र विकासका लागि दिएको दृष्टिकोणलाई रूपान्तरण गर्ने सन्दर्भमा नेतृत्वको अपेक्षित भूमिका देख्न पाइएन । यस्तो लाग्छ, उहाँहरूले वीरगञ्जमा ८ वर्षअघि विकासको साझा अवधारणामा प्रतिबद्धता जनाएको कुरा नै बिर्सिनुभयो । ती राजनीतिक दलका स्थानीय नेता र यहाँबाट नीति तथा योजना निर्माणको तहमा प्रतिननिधित्व गर्नेहरूले पनि शीर्ष नेतृत्वको ध्यानाकर्षण गराउने कामलाई बेवास्ता गरेको भान हुन्छ । हामीले लिखित रूपमा, कतिपय अवस्थामा भेटेरै प्रतिबद्धता स्मरण गराएको पनि हो । तर, कार्यान्वयनमा नेतृत्व उदासीन नै रह्यो । वीरगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वले अब यसमा राजनीतिक नेतृत्वलाई निरन्तर घचघच्याउनु पर्छ । आम सञ्चारका माध्यमबाट नेतृत्वलाई यसमा ध्यानाकर्षण गराउने काम हुनुपर्छ । यसबीचमा वीरगञ्जको नेपाल–भारत एकीकृत जाँच चौकीको सञ्चालन भएको छ । यद्यपि, यसमा सुधारको आवश्यकता महसूस हुन थालेको छ । नेपाल र भारतका शहरमा शान्ति बस सेवा सञ्चालन हुनु सकारात्मक छ । परवानीपुर–वीरगञ्ज–रक्सौल विद्युत् प्रसारण लाइन निर्माण भएको छ । सीमावर्ती भारतीय शहर रक्सौलमा विमानस्थल सञ्चालनको प्रक्रिया अघि बढेको छ । रक्सौलमा रेलवे पूर्वाधार विस्तार र आकाशेपुललगायतको काम अघि बढेको छ । वीरगञ्ज र रक्सौलको विकासमा एकरूपताबारे बहस शुरू भएको छ । तर, हाम्रो सरकारीस्तरबाट अपेक्षा गरिएका मूलभूत काम र प्रतिबद्धतालाई पूर्णता दिने काममा भने निरन्तर उदासीनता देखिएको छ । वीरगञ्जलाई आर्थिक राजधानीको मान्यता दिने, औद्योगिक कोरिडोर घोषणा गर्नेजस्ता काम पनि अघि बढ्न सकेनन् । आज मुख्य कोरिडोर मानिएको वीरगञ्ज क्षेत्रमा उद्योग र मानव समुदायबीच द्वन्द्व बढ्दो छ । उद्योग खोल्नु चुनौतीपूर्ण काम बनेको छ । प्रक्रियाका नाममा लगानीकर्तालाई दुःख दिने काम मात्र भइरहेको छ । उद्योग स्थापनाको प्रक्रिया एउटा वडाध्यक्षको लहडमा अवरुद्ध हुने अवस्था छ । ब्रान्ड दर्ता गराउन २ वर्ष धाउनुपर्छ । लगानीकर्ताले मुद्दामामिला खेप्नुपर्छ । एकद्वार प्रणालीको कुरामात्रै हुन्छ, प्रत्याभूति छैन । हामी एकातिर उत्पादन र लगानी आकर्षणका कुरा गर्छौं, अर्कातिर मुख्य औद्योगिक कोरिडोरमै लगानीकर्ता सकसमा रहेको अवस्थामा बाहिरको लगानी किन र कसरी आउँछ ? यस्ता विरोधासको अन्त्यका लागि मापदण्डसहितको औद्योगिक कोरिडोरको आवश्यकता महसूस भएको हो । यसबाट लगानीको वातावरण बन्न सक्छ । यसमा राजनीतिक नेतृत्वको उदासीनता भने बुझिनसक्नु विषय बनेको छ । दशवर्षे मार्गचित्रका मूल कामहरू बाँकी छन्, समय भने २ वर्षमात्रै बाँकी छ । यो समयमा कम्तीमा अवधारणाअनुसार कामको शुरुआत मात्रै भयो भने पनि सन्तोष गर्न सकिने आधार बन्नेछ ।

सिसिटिभी क्यामेरा हस्तान्तरण

पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादवले वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्तालाई १० लाख बराबरको २१ थान सिसिटिभी क्यामेरा हस्तान्तरण गरेका छन् ।सांसद यादवले आफ्नो संसदीय कोषबाट व्यवस्थित एवम् सुरक्षित वीरगञ्जको अवधारणा अनुसार वीरगञ्ज उद्योग वाणिज्य संघको अगुवाईमा स्थानीय प्रशासन, प्रहरी र को सहकार्यमा गठित सेफर वीरगञ्ज २१ थान सिसिटिभी क्यामेरा हस्तान्तरण […]

ग्रेटर वीरगञ्जको संयोजकमा अशोककुमार टेमानीलाई मनोनयन

साउन १, वीरगञ्ज  । वीरगञ्ज उद्योग वाणिज्य संघले ग्रेटर वीरगञ्ज समितिको संयोजकमा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोककुमार टेमानीलाई मनोनयन गरेको छ ।  समिति विस्तार कार्यक्रममा संघका अध्यक्ष सुबोधकुमार गुप्ताले ग्रेटर वीरगञ्ज समितिको संयोजकमा टेमानीको मनोनयनले संघको समग्र उद्देश्य पूरा गर्न सहज हुने विश्वास व्यक्त गरे । ग्रेटर वीरगञ्ज समितिका संयोजक टेमानीले ग्रेटर वीरगञ्जको अवधारणालाई मूर्त रुप प्रदान गर्नको लागि स्थानीय तह, प्रदेश र केन्द्रीय तहमा समेत निरन्तर संवाद र सहकार्य हुँदै आएको बताए ।  उनले ग्रेटर वीरगञ्जको अवधारणा आफ्नो अध्यक्षीय कार्यकालमा शुरुवात भएकोले यसलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।