विराटनगर । विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नसार्न आग्रह गरिएको छ । कार्यालय अन्यन्त्र सार्दा करोडौं रुपैयाँका उपकरण खेर जाने भएकाले नसार्न कार्यालय प्रमुख राजकुमार रिजालले आग्रह गरेका हुन् । प्रदेश १ सरकारले उक्त कार्यालय रहेको भवनमा कुनै एउटा मन्त्रालय राख्ने तयारी गरेपछि रिजालको यस्तो प्रतिक्रिया आएको हो ।
कार्यालयका उपकरणहरू अन्यत्र सार्न नमिल्ने गरी जडान गरिएको र यहाँबाट अन्यत्र सार्दा करोडौंको क्षति हुने कार्यालय प्रमुख रिजालले बताए । कार्यालयको दोस्रो त्रैमासिक प्रगति सार्वजनिक कार्यक्रममा उनले रसायन भण्डारण कक्ष तथा प्रयोगशाला सुरक्षा उपकरणको व्यवस्था गरिएकाले यसलाई हटाउन नहुनेमा उनले जोड दिए ।
खाद्यको प्रयोगशालामा ९०० भन्दा बढी खाद्य उद्योगको परीक्षण गर्ने गरिएको उनले जानकारी दिए । यहाँ वार्षिक ५ हजारभन्दा बढी अन्तरराष्ट्रियस्तरको परीक्षण हुने गर्छ । कार्यालयका प्रमुख रिजालका अनुसार भवन अत्याधुनिक उपकरण राख्नेगरी डिजाइन गरिएको छ । अन्य भवनको भन्दा फरक संरचना रहेकाले त्यसैको आधारमा सूक्ष्म जीवाणुको विश्लेषण गर्ने व्यवस्था मिलाइएको उनले बताए ।
अन्तरराष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला भएकाले यसले देशलाई नै फाइदा पुग्ने उनको भनाइ छ । मौजुदा संरचना हटाउँदा प्रयोगशाला उपयोगविहीन बन्न सक्नेतर्फ रिजालले ध्यानाकर्षण गराएका छन् । केमिकल भण्डारण कक्ष तथा प्रयोगशाला सुरक्षा उपकरणको व्यवस्था गरिएकाले यसलाई हटाउन नहुने उनले प्रस्ट पारे । हाल कायम रहेका सात मन्त्रालयलाई फुटाएर १२ पुर्याउने प्रदेश १ सरकारले निर्णाय गरेको छ । सोहीअनुसार प्रदेश राजधानी विराटनगर आसपास ठूला सरकारी भवन खाली गर्ने काम शुरू भएको छ । थप हुने मन्त्रालयका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको भवन पनि प्रयोग हुने सम्भावना छ ।