सुन्दरको विद्युतीय सवारी एसेम्बलिङ प्लान्ट स्थापनाका लागि टेन्डर आह्वान

काठमाडौं (अस) । बुटवलको सैनामैना नगरपालिकासँग जग्गा लिजमा लिई नेपालमै विद्युतीय गाडी एसेम्बिलिङको तयारी गरिरहेको सुन्दर यातायात प्रालिअन्तर्गतको सुन्दर अटो इन्जिनीयरिङले प्रक्रिया अघि बढाएको छ । कम्पनीले प्लान्टका लागि आवश्यक भवनसहित सबै संरचना निर्माणका लागि टेन्डर आ≈वान गरेको छ । सुन्दरले प्लान्ट स्थापनाका लागि नगरपालिकाबाट ८ बिगाहा १० कट्ठा जग्गा भाडामा लिएको छ । जग्गा उपलब्धताका लागि कम्पनीले निवेदन दिएकोमा नगरपालिकाले गत असार १६ गतेको नगरसभाबाट सुन्दरलाई प्लान्ट स्थापनाका लागि नगरपालिकाभित्रको सरकारी जग्गा भाडामा दिने निर्णय गरेको थियो । कम्पनीले आगामी १० सेप्टेम्बरसम्म टेन्डर हाल्ने समायवधि तोकेको छ । उक्त अवधिभित्र निर्माण क्षेत्रमा संलग्न जुनसुकै कम्पनीले टेन्डर हाल्न सक्ने कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए । नेपालमा पहिलोपटक विद्युतीय बस सञ्चालन गरेको कम्पनीले आगामी १ वर्षभित्र एसेम्बिलिङ प्लान्ट स्थापना गरी त्यसको एक वर्षभित्र नेपालमै एसेम्बिलिङ गरिएका गाडी सार्वजनिक गर्ने लक्ष्य लिएको छ । कम्पनीले २०७६ मंसिरमा चीनको सिचुआन गुहाङ अटोमोबाइल र यूएईको सेक ग्रूपसँग लगानीका लागि सहमति गरेको थियो । तर, कोभिड महामारीका कारण काम अघि बढ्न नसकेको कम्पनीको भनाइ छ । यी दुई कम्पनीबीच लगानीका लागि सम्झौता भइसकेको बताउँदै कम्पनीका अध्यक्ष थापाले करीब रू. ३ अर्ब ६० करोड शुरुआती लगानीसहित एसेम्बलिङ प्लान्ट स्थापना गर्न लागिएको जानकारी दिए । नेपालको तर्फबाट कम्पनीको लगानी भने एकदमै न्यून रहनेछ । सुन्दर भगिनी संस्थाका रूपमा रहने भए पनि उद्योगमा सिचुआनको ४७ र सेकको ४६ प्रतिशत लगानी रहनेछ । कम्पनीका अध्यक्ष थापाले सुन्दरको तर्फबाट प्लान्टमा केबल ७ प्रतिशत लगानी रहने जानकारी दिए । कम्पनीले पहिलो वर्ष १ सयओटा गाडी एसेम्बल गर्ने तयारी गरेकोमा त्यसपछि लगानी थप्दै दोस्रो वर्ष ३ सय र तेस्रो वर्ष वार्षिक १ हजार गाडी एसेम्बल गर्ने तयारी गरेको कम्पनीका अध्यक्ष थापाले बताए । नगरपालिकाले वार्षिक ६ लाख भाडामा कम्पनीलाई नगरपालिकाभित्रको खाली सरकारी जग्गा उपलब्ध गराएको हो । यसबाहेक पहिलो वर्ष एम्बुलेन्स, दोस्रो वर्ष फोहोर बोक्ने गाडी र हरेक वर्ष स्थानीय एक सामुदायिक विद्यालयलाई ३३ प्रतिशत छूटमा बस उपलब्ध गराउने सम्झौता नगरपालिकाले कम्पनीसँग गरेको छ ।