चितवन । ‘विदेश गएर कमाउने, उतै रमाउने, उतै सेटल (स्थापित) हुने ।’ नेपालका अधिकांश युवालाई उनीहरूको चाहना वा योजनाबारे सोधे यस्तै जवाफ आउँछ । यो कुरा वैदेशिक रोजगारीमा गएका वा जाने तयारीमा रहेका युवाको संख्याले पनि पुष्टि गर्छ ।
पढाइ तथा रोजगारीका लागि अस्ट्रेलिया–युरोप गएका युवा सकेसम्म उतै स्थापित हुन चाहान्छन् । तर, त्यहाँ गएका केही युवाको सोच फरक छ । उनीहरूमा विदेशमै स्थापित हुने होइन, विदेशमा शीप सिकेर स्वदेशमा लगानी गर्नुपर्ने भावना छ । यिनैमध्येका एक हुन्– भरतपुर महानगरपालिका–१० का ४३ वर्षीय प्रकाश पन्थी ।
युवा विदेश पलायन भएपछि ‘ब्रेन ड्रेन’ अर्थात् प्रतिभा पलायन हुन्छ भन्ने होइन, ज्ञान र शीपको लाभ पनि हुन्छ भन्ने देखाएका छन् उनले । झण्डै ९ वर्ष विदेश बसेर ज्ञान–शीपसँगै धनसमेत आर्जन गरेका उनले स्वदेशमै लगानी मात्रै गरेका छैनन्, कतिलाई रोजगार पनि दिएका छन् ।
उनले ४ वर्षदेखि भरतपुर महानगरपालिका–१२ मा १२ कठ्ठा जग्गा भाडामा लिएर ‘युवा एग्रो फार्म एण्ड रिसर्च सेन्टर’ चलाइरहेका छन्, जहाँ आधुनिक प्रविधिबाट माछापालन हुने गरेको छ । ‘९ वर्ष अस्ट्रेलिया रहँदा शिक्षासँगै कृषि क्षेत्रमा काम गर्ने मौका पाएँ । त्यहाँ सिकेको ज्ञान नै यहाँ लगानी गर्दैछु,’ प्रकाश भन्छन् ।
उनलाई दुई जना युवाले साथ दिएका छन् । ती हुन्– कपिल रेग्मी र राजकुमार राना । ‘योभन्दाअघि दुई जनाले माछापालन मात्र गर्दै आएका थियौं । अहिले ‘किसान चुलो रेस्टुरेण्ट एण्ड बार’ पनि सञ्चालनमा ल्याएका छौं,’ प्रकाशले आफ्नो नयाँ कामबारे सुनाए । जसमा प्रकाश र कपिलले माछापालन व्यवसाय सम्हाल्दै आएका छन् भने राजकुमारले रेस्टुरेण्ट ।
उनले पोखरीमा होइन, पानी ट्यांकीमा माछापालन गरेका छन् । जहाँ माछालाई चाहिने अक्सिजन र पानी विद्युत्बाट सन्तुलन गरिएको छ । ‘यो बायो फ्लक फिस फार्मिङ्ग प्रविधि हो,’ उनले भने, ‘यसले स्पेस, पानी, बिजुली, दानाको कम खर्च हुन्छ । उत्पादनमा दोब्बर वृद्धि हुन्छ ।’
उनले यो प्रविधि अस्ट्रेलियाबाट मात्र सिकेका होइनन्, भारतको गोरखपुरबाट पनि सिकेका हुन् । यसबारे उनले इन्डोनेशियाको पेकन बरुमा गएर तालिम पनि लिए । ‘मैले यी सबै ठाउँबाट शीप र ज्ञान लिएर मात्र यो शुरु गरेको हुँ,’ प्रकाशले भने ।
उनको फार्ममा १७ ओटा आधुनिक ट्यांकीमा माछा पालिएको छ, जहाँ विशेषगरी ‘पंगास’, ‘तिलापीया’, ‘कमन कार्प’, ‘मांगुर’ जातका माछा पालिएका छन् । यहाँ उत्पादित माछा चितवन र काठमाडौंमा विक्री हुँदै आएको छ ।
उत्पादन र उपभोगलाई जोड्ने प्रयास गरेका उनले हालै रेस्टुरेण्ट पनि सञ्चालन गरेका छन् । ‘उत्पादन, विक्री अनि फाइदा पनि राम्रै थियो । तर, यसलाई विस्तार गरेर किसान चुल्हो पनि सञ्चालनमा ल्याएका छौं,’ उनले भने । ग्राहकलाई अर्गानिक र स्वस्थ परिकार दिन रेस्टुरेण्ट सञ्चालनमा ल्याएको उनले बताए ।
हाल उनको रेस्टुरेन्टमा माछाका विभिन्न परिकार पाइन्छन्, जसमा मःम, तावा ग्रील, फोयल फिस, फ्राई फिस, रोल माछा लगायत छन् । यससँगै लोकल हाँस र कुखुराका परिकार पनि पस्कँदै आएका छन् उनले । ‘यहाँ आएपछि हरेक ग्राहकको चाहना फरक–फरक हुन सक्छ । एकै ठाउँमा सबै स्वाद पाउन र पटकपटक ग्राहक आउन भन्ने हाम्रो उद्देश्य हो,’ प्रकाश भन्छन् ।
शहरको भीड र कोलाहलबाट केही पर अर्गानिक स्वाद पस्कन आफूले यो अवधारणा ल्याएको उनले बताए । सबै संरचनासहित झण्डै ६० लाख रुपैयाँ लगानी गरेका हाल उनको फार्म र चुल्होमा गरी ९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अब यसलाई थप विस्तार गरी एग्रो टुरिज्म अवधारणामा लैजाने योजना रहेको उनले सुनाए । ‘कृषिलाई पर्यटनसँग जोड्ने योजना छ । यसको लागि नजिकै पोखरीको निर्माण पूरा गरी फिसिङ्ग गराउने सोचमा छौं,’ पन्थी भन्छन्, ‘यसपछि आवास सहितको व्यवस्था पनि छिट्टै गर्ने योजनामा छौं ।’
यो प्रविधिसम्बन्धी तालिम र अभिमुखीकरणको लागि पनि आफूले सहजीकरण गर्ने उनको चाहना छ । ‘नयाँ कृषि नयाँ विचार, कृषि नै समृद्धिको आधार’ भन्ने मूलमन्त्रका साथ भविष्यमा अन्य ठाउँमा पनि यो प्रविधिको माछापालन विस्तार गर्ने उनको सोचाइ छ । ‘विदेशमा शीप र ज्ञान लिने हो । लगानी त आफ्नै देशमा गर्नुपर्छ । शीप र ज्ञान भए विदेशमा भन्दा बढी नेपालमा नै कमाउन सकिन्छ । त्योभन्दा पनि ठूलो आत्मसन्तुष्टि पनि मिल्छ,’ उनी ठान्छन् ।
सामान्य पारिश्रमिकमा पनि दैनिक सयौं युवा रोजगारीका लागि विदेश जाने लर्को लागेको बेला प्रकाश र उनका साथीले अपनाएको बाटो त्यसको उल्टो छ । विदेशिएका वा विदेशिने तयारीमा रहेका युवाले प्रकाश र उनका साथीले अपनाएको बाटो पछ्याउलान् त ? उनीहरूले अपनाएको बाटो नेपाली युवाले पछ्याउन सके पैसा र समय खेर जाने थिएन कि ?