काठमाडौं । ब्रोकर लाइसेन्स पाएका सात कम्पनीहरूले सदस्यताका लागि नेपाल स्टक एकसचेन्ज (नेप्से) मा आवेदन दिएका छन् । आशयपत्र प्राप्त गरिसकेका सात कम्पनीहरूलाई नेपाल धितोपत्र बोर्डले गत जेठ ८ गते ब्रोकर लाइसेन्स प्रदान गरेको थियो ।
ती कम्पनीहरूले आफ्नो सेवा शुरू गर्न नेप्सेसँग सदस्यता माग गरेका हुन् । नेप्सेले सदस्यता प्रदान गरेपछि नेप्सेकै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मार्फत सेवा शुरू गर्ने जानकारी नयाँ ब्रोकर कम्पनीहरूले दिएका हुन् ।
पहिलो चरणमा ४३ कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र प्रदान गरेको बोर्डले अहिलेसम्म सात कम्पनीलाई मात्र लाइसेन्स वितरण गरेको हो । बोर्डले भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालयन ब्रोकरेज लिमिटेड, सन सेक्युरिटिज प्रालि, मियो सेक्युरिटिज प्रालि, शेयरप्रो सेक्युरिटिज प्रालि र प्रोपर्टी विजार्ड लिमिटेडलाई ब्रोकर लाइसेन्स प्रदान गरेको हो ।
नयाँ ब्रोकर लाइसेन्सका लागि ४३ कम्पनीहरूले आशयपत्र प्राप्त गरेका छन् । आशयपत्र प्राप्त गरेका कम्पनीहरूले बोर्डले तय गरेबमोजिमको आवश्यक पूर्वाधार तयार गरेपछि ब्रोकर लाइसेन्स वितरण गरेको जानकारी दिएको छ ।
पछिल्लो समय आशयपत्र प्राप्त गरेकामध्ये केही कम्पनीले पूर्वाधार तयार गरी बोर्डमा अन्तिम स्वीकृतिको माग गरेको जानकारीसमेत बोर्डका अध्यक्ष रमेशकुमार हमालले दिएका छन् । ती कम्पनीहरूले तयार गरेको पूर्वाधार अनुगमन गरी अन्तिम स्वीकृति दिने जानकारीसमेत बोर्डका अध्यक्ष हमालले दिएका छन् ।
बोर्डले पहिलो चरणमा चुक्तापूँजीका आधारमा सीमित कार्य गर्ने ब्रोकर कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको हो । बोर्डले पूँजी संरचनाका आधारमा तीन किसिमको ब्रोकर लाइसेन्स वितरण गर्न लागेको हो ।
पहिलो तहको सीमित कार्य गर्ने ब्रोकरका लागि रू. २० करोड, शेयर खरीदविक्री गर्नेसँगै डीपीको रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरासहितको दोस्रो तहको ब्रोकरको चुक्तापूँजी रू. ६० करोड र तेस्रो तहको स्टक डिलरका लागि रू. १ अर्ब ५० करोड चुक्तापूँजी हुनुपर्ने व्यवस्था बोर्डले गरेको हो ।
बोर्डले आशयपत्र प्रदान गरेका ४३ कम्पनीहरूमध्ये एक स्टक डिलर, ३९ सीमित कार्य गर्ने र तीन पूर्ण कार्य गर्ने ब्रोकरहरू रहेका छन् ।