असोज १३, नयाँ दिल्ली (भारत) । भारतमा थप १८ हजार ८७० जना नयाँ संक्रमित थपिएका छन् ।
संक्रमित भएका मध्ये ११ हजार १९६ जना केरलाका मात्रै रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बताएको छ । सरकारी अधिकारीहरुले बुधवार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ३७८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै कुल मृतकको सङ्ख्या ४ लाख ४७ हजार ७५१ पुगेको छ ।
भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या २ लाख ८२ हजार ५२० रहेको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार यो सङ्ख्या १९४ दिनपछिकै सवैभन्दा कम हो । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरुको सङ्ख्या ३ करोड २९ लाख ८६ हजार १८० पुगेको छ । ती मध्ये २८ हजार १७८ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका हुन् ।
पछिल्लो समय दैनिक नयाँ संक्रमितहरुको सङ्ख्याभन्दा संक्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी भएकाले सक्रिय संक्रमितहरुको सङ्ख्या घटेको हो । पछिल्लो एक दिनमा देशभरी १५ लाख ४ हजार ७१३ जनाको कोरोना परीक्षण गरिएको छ ।
योसँगै अहिलेसम्म ५६ करोड ७४ लाख ५० हजार १८५ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले बताएको छ । रासस/ एएनआई