कात्तिक २५, काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ४६ हजार १०९ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।
कम्पनीले बिहीवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त ४६ हजार १०९ कित्ता संस्थापक शेयर विक्री गर्ने जानकारी गराएको हो । उक्त शेयरको मूल्य भने तोकिएको छैन ।
कम्पनीले गत असोज १८ गते सूचना प्रकाशित गरी कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुलाई उक्त शेयर खरीद गर्न आह्वान गरेकोमा उक्त शेयर खरीद गर्न संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त शेयर विक्री गर्न लागेको हो ।
उक्त शेयर खरीद गर्न इच्छुक व्यक्ति वा संस्थाले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र कम्पनीको मुख्य कार्यालय, डिल्लीबजार, काठमाडौंमा आवश्यक कागजात तथा अन्य विवरण खुलाई निवेदन पेश गर्न अनुरोध गरेको छ ।