वैशाख २४, कोलम्बो । श्रीलंकामा फेरि संकटकाल घोषणा गरिएको छ।
श्रीलंकाका राष्ट्रपति गोताबाय राजापाक्षले पाँच सातापछि अर्थात् शुक्रवार मध्यरातदेखि लागू हुने गरी फेरि संकटकाल घोषणा गरेका हुन्। राष्ट्रपति राजापाक्षले आर्थिक तथा राजनीतिक संकटलाई व्यवस्थापन गर्न संकटकाल लागू गर्नु परेको बताएका छन् ।
सरकारले संकटकाल घोषणा गरेर जनताको आवाजलाई नियन्त्रण गर्न खोजेको र नागरिक अधिकार कुण्ठित गरेको भन्दै कतिपयले भने विरोध गरेका छन् ।
यसक्रममा शुक्रवार मात्रै संसद भवन अगाडि विरोधमा उत्रिएका दर्जनौं प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । केहि समययता चरम आर्थिक संकटका बीच यहाँ सरकारविरोधी प्रदर्शनहरू भइरहेको छ ।
विरोध प्रदर्शन चर्किरहेका बेला उनले फेरि संकटकालको घोषणा गरेका हुन्। सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानूनको आह्वान गरेको बताइएको छ । देशको आर्थिक संकटलाई लिएर शुक्रवार विभिन्न ट्रेड युनियनले राष्ट्रपतिको राजीनामा माग गर्दै देशव्यापी हड्ताल गरेका थिए।
अहिले श्रीलंका सबैभन्दा ठूदो आर्थिक संकटबाट गुज्रिरहेको छ । कोभिड- १९ को महामारीपछि श्रीलङ्का ऋणको समस्या, तरलता समस्या, र न्यूनतम विदेशी सञ्चितिले लामो समयसम्म विद्युत् कटौती र इन्धनको अभावले उत्पादनशील उद्योग र मध्यम वर्गलाई असर पार्ने कारणले गम्भीर आर्थिक सङ्कटमा फसेको छ।
श्रीलंकामा पछिल्लो समय खाद्यान्न र इन्धनको चरम अभाव हुनुका साथै दैनिक उपभोग्य वस्तुको भाउ अकासिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । एजेन्सी