हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग लिमिटेडले गत आर्थिक वर्ष (आव) २०७७/७८ मा कुल १ अर्ब ४० करोड ३३ लाख ९९ हजार रुपैयाँ बराबरको सिमेन्ट विक्री गरेको छ । गत आवमा १८ लाख ५३ हजार ७६४ बोरा सिमेन्ट विक्रीबाट सो बराबरको आर्थिक कारोबार गरेको हेटौंडा सिमेन्ट उद्योगले बताएको छ ।
गत आवमा ३१ लाख २० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य भए पनि कोरोनाको असहज परिस्थिति, पुरानो मेशिनरी उपकरण र पटक–पटक मर्मतसम्भार गर्नुपर्दा लक्ष्य भेट्टाउन नसकेको उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले जानकारी दिए ।
उद्योगका विभिन्न चार स्थानमा चुनढुंगा खानी छन् । यद्यपि उद्योगले गत आवमा आवश्यक कच्चा पदार्थ व्यवस्थापनका लागि मकवानपुरको ओखरे र धादिङको जोगिमाराबाट मात्र चुनढुंगा ल्याएको थियो । उद्योगले सो आवमा १ लाख ५० हजार मेट्रिक टन क्लिंकर उत्पादन गर्ने लक्ष्य लिए पनि १ लाख मेट्रिक टन मात्र उत्पादन भएको बताइएको छ ।
एशियाली विकास बैंकको ऋण सहयोगमा २०३३ सालमा स्थापित यस उद्योगमा तत्कालीन अर्थ मन्त्रालय, जलस्रोत मन्त्रालय, उद्योग मन्त्रालय, खानी विभागलगायत विभिन्न सरकारी निकायको समेत शेयर छ । उद्योग लामो समयदेखि नाफामा जान सकेको छैन । यद्यपि उद्योगलाई नाफामा लैजान अन्य निजीक्षेत्रबाट स्थापना गरिएका सिमेन्ट उद्योगसरह नयाँ प्रविधि जडान गर्नेगरी विकास गर्न आवश्यक रहेको महाप्रबन्धक सिंहले जानकारी दिए ।
हेटौंडा सिमेन्ट उद्योगअन्तर्गत करीब १०१ बिगाहा क्षेत्रफलमा उद्योग र आवास क्षेत्र छ भने विभिन्न स्थानमा गरी करीब २०० बिगाहा क्षेत्रफलमा उद्योगका लागि आवश्यक कच्चापदार्थ खानी (चुनढुंगा) छ । उद्योगका लागि आवश्यक कच्चापदार्थ व्यवस्थापनका लागि मकवानपुरको ओखरे, भैसे, मजुवा र धादिङको जोगिमारामा चुनढुंगा खानी छ ।
उद्योग धेरैजसो आवमा नोक्सानीमा सञ्चालन हुँदै आएको छ । पुराना मेशिनरी प्रविधि र पटकपटक बिग्रने समस्या तथा लागत खर्च बढी आउने कारणले उद्योगले अन्य निजी सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसकेको उद्योगका कामु प्रबन्धक (अर्थ) रामबाबु साहले बताए । उद्योगको पछिल्लो अवस्था हेर्दा वार्षिक करीब २ अर्ब बराबरको वार्षिक आम्दानी र सोभन्दा बढी खर्च देखिन्छ । उद्योगको बढी खर्च कर्मचारी पारिश्रमिक, कच्चापदार्थ व्यवस्थापन तथा मर्मतसम्भार क्षेत्रमा हुने गरेको छ ।
उद्योगमा स्थापना गरिएको प्रविधि निकै पुरानो भए पनि जर्मन मोडलको हो । सिमेन्ट उत्पादनका दृष्टिले यो प्रविधिलाई विश्वमै उत्कृष्ट मानिन्छ । तोकिएको गुणस्तर मापदण्ड पुगेका कच्चा पदार्थ मात्र प्रयोगशालाले स्वीकार गर्दछ । यद्यपि निजीक्षेत्रको जस्तो अत्यधिक मुनाफा कमाउने उद्देश्य नभएकाले गुणस्तर उद्योगको मुख्य प्राथमिकता रहेको उद्योगले बताएको छ ।
उद्योग प्रशासनका अनुसार हेटौंडा सिमेन्टको माग मुलुकका मुख्य शहरमा अत्यधिक बढी छ । काठमाडौंमा हेटौंडा सिमेन्ट प्रयोग गरेर निर्माण गरिएका घरमा २०७२ सालको विनाशकारी भूकम्पबाट कम क्षति भएको पाइएपछि हेटौंडा सिमेन्ट उद्योगद्वारा उत्पादित सिमेन्टको माग बढेको उद्योगको दाबी छ । २०३३ सालमा स्थापित उद्योगले २०४२ देखि व्यावसायिक उत्पादन शुरू गरेको थियो । रासस