नेपाली टेलिभिजनका दर्शक र व्यापार घटिरहेको छ । यसो हुनुमा टेलिभिजनले आफ्ना कार्यक्रम तुरुन्त डिजिटल प्लेटफर्ममा अपलोड गर्नु, टेलिभिजनलाई भन्दा युट्युबलगायत डिजिटल प्लेटफर्मलाई प्राथमिकता दिनु, आफ्नो टेलिभिजनको टीआरपी (टेलिभिजन रेटिङ प्वाइन्ट) मापदण्ड डिजिटल प्लेटफर्मलाई बनाई बजारीकरण गर्नु मुख्य कारण हुन् । कार्यक्रम निर्माताहरूले पनि घट्दो विज्ञापन बजारलाई दृष्टिगत गरी डिजिटल प्लेटफर्मलाई प्राथमिकता दिँदा नेपालमा टेलिभिजनको बजार र प्रभाव घटेको देखिन्छ । नेपालमा विज्ञापन बजार घट्नुमा बजारले धान्नै नसक्ने टेलिभिजन च्यानलहरू खोल्नु र विज्ञापनदाता तथा एजेन्सीले ब्रान्डअनुसार आफ्नो लक्षित दर्शकमा पुग्ने कार्यक्रम र टेलिभिजनमा मात्र विज्ञापन गर्न नपाउनु हो ।
विज्ञापनदाताले कुनै नयाँ क्याम्पेन गर्दा लगभग १० देखि १५ ओटा टेलिभिजनमा विज्ञापन दिनैपर्ने अवस्था छ । विज्ञापन नदिए विभिन्न इस्युहरू निकाली ब्रान्ड र आफ्नो व्यक्तिगत चरित्र नै हत्या गर्नेगरी अनइथिकल कन्टेन्ट बनाउने परिपाटीले गर्दा पनि विज्ञापनदाताहरू विज्ञापन वितरण गर्न हच्किन थालेका छन् । विज्ञापन वितरण नगर्दा आफूलाई र कम्पनीलाई सुरक्षित महसूस गर्दा विज्ञापन बजार घटेको देखिन्छ । टेलिभिजन च्यानलमा विज्ञापन घट्नुको अर्को कारण इन्टरनेटको विकास पनि हो ।
टेलिभिजनले पाउने विज्ञापन सामाजिक सञ्जालमा जाने गरेका कारण पनि यो समस्या निम्तिएको हो ।
यी विविध कारणले गर्दा टेलिभिजनको भविष्य पनि खतरामा पर्न थालेको छ । यद्यपि इन्टरनेटको विकासले प्रविधिलाई सहज र सस्तो भने बनाएको छ । यसलाई टेलिभिजन व्यवस्थापकहरूले व्यवस्थापन गर्न नजान्दा टेलिभिजन उद्योग विज्ञापन कम भएकै कारण बन्द पो हुने हो कि भन्ने चिन्ता बढ्न थालेको छ ।
विज्ञापन बजार खुम्चिँदो अवस्थामा छ भने टेलिभिजन च्यानलको संख्या बढ्दो छ । अध्ययन अनुसन्धान नगरी लहलहैमा र अरूको देखासिकी गरेर व्यवसाय गर्ने प्रवृत्ति नेपालमा छ । टेलिभिजन च्यानलहरूको अवस्था पनि उस्तै छ । युट्युब च्यानल, फेसबुक च्यानलको नाममा अनियन्त्रित रूपमा डिजिटल मिडिया खुलेका छन् । सरकारले यसको नियन्त्रण र नियमन गर्न नसक्दा नेपाली मुद्रा विदेशिएको त छ नै साथमा टेलिभिजन उद्योग पनि समस्याग्रस्त भएको छ । यसका लागि टेलिभिजन उद्यमीहरूले सशक्त आवाज उठाउन सकेका छैनन् भने उनीहरू विज्ञापन नपाएर आफूहरू धराशयी भएको भन्ने निष्कर्षमा पुग्दै छन् । तर, वास्तविकता भने अर्कै छ ।
आम्दानीकै लागि पत्रकारिताको धर्म र आचारसंहिता उल्लंघन गरी कसैलाई बोक्ने र कसैको व्यावसायिक मानमर्दन हुने गरी कन्टेन्ट बनाउँछन् र प्रसारण गर्छन् । यसले गर्दा केही नेपाली टेलिभिजन उद्यमीहरू बदनाम हुन पुगेका छन् । खासमा टेलिभिजन उद्यमीहरूले घाँटी हेरेर हाड निल्न नजान्दा अनुमानकै भरमा लगानी खन्याउँछन् र अन्तिममा पुर्पुरोमा हात राखेर एक अर्कालाई दोषारोपण गर्न पुग्छन् ।
अहिले टेलिभिजन उद्योगको विज्ञापन बजार २ अर्बको हाराहारीमा मात्र छ । विगतमा ३ अर्ब भए तापनि कोरोनापछि यो खुम्चेर २ अर्बमा आएको हो । मध्यम खालका र साना आकारका स्थानीय टेलिभिजनलाई यो बजारले धान्न सक्ने अवस्था छैन । यसकारणले टेलिभिजन उद्यमीहरू मर्जरमा जानु आवश्यक छ ।
२ अर्बको विज्ञापन बजारलाई डिजिटल बजारले चुनौती दिन थालेको अवस्था छ । फेसबुक, टिकटक, युट्युबजस्ता डिजिटल प्लेटफर्ममा विज्ञापन बढ्न थालेको छ । विदेशिएको वैदेशिक मुद्राबाट विदेशी विनिमय सञ्चितिमा परेको प्रभावका विषयमा पर्याप्त छलफल भएको छैन । यसलाई सरकारले नियन्त्रण गर्न सकेको पनि छैन । अन्जानमै टेलिभिजन व्यवस्थापकहरूले आफ्ना कन्टेन्टहरू सामाजिक सञ्जालमा सहज रूपमा उपलब्ध गराउँदा समस्या थपिएको छ । त्यसैले टेलिभिजनहरूले आफ्ना मौलिक निर्माणहरू सामाजिक सञ्जालमा जानबाट रोक लगाउन आवश्यक छ । कन्टेन्ट हेर्न शुल्क तिर्नुपर्ने गर्न सकियो भने थप आम्दानी पनि हुने थियो । कपी राइट, पेटेन्ट राइट, बौद्धिक सम्पत्तिको अधिकारका लागि पहल गर्न सकेको खण्डमा टेलिभिजन उद्योग थप बलियो हुने थियो ।
टेलिभिजनले गुणस्तर र प्रविधिमा धेरै फड्को मारिसकेको छ । नयाँ मिडिया सशक्त रूपमा आए पनि टेलिभिजनको महत्त्व उत्तिकै छ भनेर देखाउन टेलिभिजन उद्यमीहरू लागिपर्नुपर्छ । नयाँ प्रविधि अँगाल्दै टेलिभिजन प्रतिस्पर्धामा खरो रूपमा उत्रिनु आवश्यक छ ।
सामाजिक सञ्जालको विश्वसनीयता घट्दै गइरहेको परिप्रेक्ष्यमा टेलिभिजनले गति लिन सक्यो भने टेलिभिजनप्रति जनताको विश्वास कायमै हुने देखिन्छ । शिक्षा, सूचना, मनोरञ्जन र अभिप्रेरणा जगाउन सक्ने अनि हाइ डिफिनेशनमा प्रत्यक्ष प्रसारण गर्न सक्ने क्षमताका कारण टेलिभिजनको महत्त्व अझै व्यापक छ । इन्टरनेटको प्रयोगले टेलिभिजन झन् सहज माध्यम भएको छ । आफूले चाहेका बेला हेर्न सकिने, प्रसारणकै समय हेर्न नपर्नेजस्ता सहजता इन्टरनेटले थपिदिएको छ ।
विश्वमा जनचेतना अभिवृद्धि गर्न, द्वन्द्व कम गर्न र मनोरञ्जन प्रदान गर्न टेलिभिजनले खेलेको भूमिकाको मूल्यांकन संयुक्त राष्ट्रसंघले समेत गरेको छ । यसले सामाजिकीकरण गर्न, सामाजिक मूल्यमान्यताको हस्तान्तरण गर्न अनि आपसी सद्भाव र सामञ्जस्य कायम गर्न थप टेवा दिएको छ । परम्परागत टेलिभिजनलाई न्यू मिडियामार्फत सञ्चालन गर्नुपर्ने, उत्पादन र वितरणलाई समेत नियमन गर्नुपर्ने चुनौतीलाई अवसरका रूपमा लिन अब ढिला गर्नु हँुदैन ।
अहिले विश्वमा १ अर्ब ६७ करोड घरमा टेलिभिजन सेट रहेको अनुमान गरिन्छ । नेपालमा २० लाख टेलिभिजन सेट रहेको मानिन्छ । मोबाइलमार्फत टेलिभिजन हेर्र्नेहरूको संख्या अझ बढी छ । तत्काल विश्वसनीय दृश्यसहित हाइक्वालिटीमा प्रसारण गर्न सक्ने र विश्वव्यापी हुन सक्ने सामथ्र्य टेलिभिजनसँग बाहेक अरूसँग हुँदैन भनेर प्रमाणित गर्न सक्ने अवस्था छ । नेपालको कन्टेन्टलाई विदेशी बजारमा पुर्याउन सकेको खण्डमा अझ यसको दायरा बढाउन सकिन्छ भन्ने बहस केन्द्रित हुनुपर्छ । नेपालको भूगोलमा अढाइ करोड जनता छन् भने यसबाहिर त्यति नै संख्यामा नेपाली भाषी छन् । यति बुझ्न सकेको खण्डमा टेलिभिजन विज्ञापन बजार थप फस्टाउने थियो । टेलिभिजनको विज्ञापन बजार अझ बलियो र दीर्घकालीन हुने थियो ।
लेखक नेपाल विज्ञापन संघका कार्यसमिति सदस्य हुन् ।