परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धमा आँच पु¥याउने सिमानासम्बन्धी समस्या वार्ताको माध्यमबाटै समाधान गर्न सहमत नेपाल र भारतले एउटा क्षेत्रको मतभिन्नताका बाबजुद पारस्परिक सम्बन्धका समग्र आयामलाई निरन्तर गति दिइरहेका बताउनुभएको छ ।
भारतीय विश्व सम्बन्ध परिषद्ले आज नयाँ दिल्लीमा आयोजना गरेको प्रवचनमा उहाँले नेपाल र भारतबीचको एक हजार आठसय किलोमिटर अन्तर्राष्ट्रिय सिमानामध्ये केही किलोमिटर खण्डको मात्र सिमाङ्कनको काम बाँकी रहेको यथार्थ सुनाउँदै त्यसको पूर्णताका निम्ति संवाद गर्न नेपाल तयार रहेको तथा निष्कर्षमा पुग्न विश्वास र दायित्वको दायरालाई विस्तारित गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालको बाह्य सम्बन्धका प्राथमिकता आफ्ना अन्तर्राष्ट्रिय सिमानाबाट प्रारम्भ हुने तथा भारतसँगको सम्बन्धको आधारशिलालाई अझ मजबुत तुल्याउँने स्पष्ट लक्ष्य र उद्देश्य रहेको उहाँले बताउनुभयो । राजनीतिक एवं आर्थिक सामथ्र्यले विश्वशक्ति राष्ट्रका रुपमा अघि बढेको भारतले गरेको उल्लेखनीय प्रगतिबाट नेपाल हर्षित रहेको तथा दुवै देशका आ–आफ्नै आकाङ्क्षा रहेका बताउँदै मन्त्री ज्ञवालीले स्थिर र समृद्ध नेपाल निर्माण नै तीन करोड नेपालीको अभिलाषा रहेको प्रष्ट्याउनुभयो ।