लगानी भनेको त्यस्तो वस्तु वा सम्पत्तिको खरीद हो जसको उद्देश्य आम्दानी गर्नु अथवा समयानुकूल सम्पत्तिको मूल्य बढ्दै जानु हो । शेयर, ऋणपत्र, ट्रेजरी, बन्ड, म्युचुअल फन्ड, सुन वा चाँदी, घरजग्गा, कलाकृति वा पुराना दुर्लभ वस्तुहरू किनेर राख्नु लगानी हो । शेयरबजारमा लगानी गर्नुको मुख्य उद्देश्य मुनाफा सुनिश्चित गर्दै पोर्टफोलियो बढाउँदै लैजानु हो ।
शेयरको बजार मूल्य भनेको कुनै कम्पनीले अनन्तकालसम्म हरेक वर्ष गर्ने उत्पादकत्वलाई आजको मूल्यमा गरिएको मौद्रिक रूपान्तरण हो । पूँजीबजारले यो मौद्रिक रूपान्तरणलाई किनबेच हुने व्यवस्था गरेर तरलता प्रदान गरेको छ । कुनै कम्पनीको भविष्यमा उत्पादकत्व अरू बढ्दै जाने देखिएमा यसको बजार मूल्य बढ्ने सम्भावना पनि हुन्छ । आज बजार मूल्य प्रतिकित्ता रू. १० हजार भएको कुनै शेयरको चुक्ता रकम रू. १०० बाटै बढेर त्यहाँसम्म आइपुगेको हो । उत्पादकत्व नभएको कम्पनीका शेयर मूल्य झरेर अंकित मूल्यभन्दा तल पनि हुन सक्छ । कुनै शेयरको बजार मूल्यले कम्पनीको उत्पादकत्वलाई प्रतिनिधित्व गर्दैन भने यस्तो अवस्थामा कुनै लगानीकर्ता अंकित मूल्यमा पनि लगानी गर्न तयार हुँदैन । कहिलेकाहीँ उत्पादकत्व कम भएका कम्पनीको शेयर मूल्य बढेको पनि देखिन्छ तर त्यो दिगो हुँदैन ।
शेयरबजारमा कमाउनेको संख्याभन्दा गुमाउनेको संख्या ज्यादा भएको पाइन्छ । तसर्थ शेयरबजारमा लगानी गर्दा केही कुरामा ख्याल राख्नैपर्छ ।
१. लगानीकर्ताले कुनै पनि शेयर किन्नुभन्दा पहिला ती कम्पनीको दीर्घकालीन विकास र व्यावसायिक सिद्धान्तहरूको विश्लेषण गर्नुपर्छ । कम्पनीको आर्थिक संरचना, त्यसको व्यवस्थापनको स्तर र कम्पनीको नियमित लाभांश बारेमा सुनिश्चित हुनुपर्छ । अल्पकालीन मूल्यान्तर आयको चक्करमा पर्नु हुँदैन । वर्तमान समयमा लोकप्रिय नभएको कम्पनी भए पनि आशाजनक रेकर्ड छ, लगातार लाभ आर्जन गरेको छ भने लगानी गर्नु विवेकपूर्ण हुन सक्छ ।
२. लगानीकर्ताले लगानीमा विविधता ल्याएर गम्भीर नोक्सानबाट आत्मरक्षा गर्न सक्छन् । वारेन बफेटले पनि भनेका छन्, सबै पैसा कहिल्यै पनि एउटै शेयरमा नलगाउनुहोस् । तपाईंले किनेको शेयरवाला कम्पनी कुनै काण्डमा समाचारमा देखियो भने लगानीको मुल्य तुरुन्त गुमाउनु पर्नेछ । त्यसैले विविधता ल्याउनाले एकैपटकमा सबै थोक नगुमोस् भन्नेमा ध्यान जानुपर्छ ।
३. अस्वाभाविक मुनाफा र मूल्यान्तरमा आकर्षित हुनुभन्दा सुरक्षित, नियमित र स्थिर प्रतिफलमा ध्यान केन्द्रित गर्नुपर्छ । लगानीकर्ताको मुख्य लक्ष्य आफ्नो लगानीलाई फराकिलो बनाउँदै मुनाफा सुनिश्चित गर्दै लानु हो । साधारण व्यक्तिले उनीहरूको तुलनामा राम्रो गर्न सक्दैनन् जो प्रशस्तै जोखिम मोलेर पनि जीवित रही व्यापार गर्छन् । साधारण व्यक्तिको लक्ष्य तेज धन प्राप्ति हुनु हुँदैन । तेज धनको पछि लाग्नाले व्यक्तिलाई केवल लोभी र लापरवाह बनाइदिन्छ ।
४. लगानीकर्ताले बजारको इतिहासको महत्त्व बुझ्नुपर्छ । लगानी गर्नुभन्दा पहिला कम्पनीको शेयर कारोबार र सम्पूर्ण शेयरबजारको इतिहासलाई पनि हेर्नुपर्छ । इतिहासको माध्यमबाट शेयरबजारको उतारचढाव परिभाषित गर्न सकिन्छ । यी उतारचढावलाई दूर गर्न त सकिँदैन तर यसलाई हेरी लगानीकर्ताले आफूलाई आर्थिक र मनोवैज्ञानिक रूपमा तयार राख्न आवश्यक हुन्छ । विभिन्न समयमा आर्थिक संकट, मन्दी र विभिन्न काण्ड आइरहन्छन् । त्यसैले लगानीकर्ताले आफ्नो धनको सुरक्षाका लागि सीमा तय गर्नुपर्छ । साथै यो सुनिश्चित गर्न सक्नुपर्छ कि एउटा ठूलो झट्का खाँदा पनि जीवित रहन सकियोस् । यसका लागि एउटा विविध स्टक पोर्टफोलियो हुनुपर्छ जसले गर्दा सबै लगानी एउटै बजारमा नजाओस् ।
५. उकालो, ओरालो र समतल बजारका मुख्यतया तीन चाल हुन्छन् । लगानीकर्ताले बजार समतल चालमा छ र लगानी गर्ने चाहना छ भने आफूले शेयर किन्ने कम्पनीको इतिहासमा ध्यान दिनुपर्छ । पछिल्लो १० वर्षको शेयरको मूल्य, कम्पनीको कमाइ र लाभांश बीचको सम्बन्धमा ध्यान दिनुपर्छ । त्यसैगरी मुद्रास्फीति दर वा मूल्यमा भएको वृद्धिमा विचार गर्नुपर्छ । १ वर्षभित्रको लगानीमा १२ प्रतिशत मुनाफाको गणना गर्दा मुद्रास्फीति दर ७ प्रतिशत छ भने उसले मात्र ५ प्रतिशतको प्रतिफल आर्जन गर्न सक्छ । लगानी गर्दा यसबारेमा ध्यानसँग सोच्नुपर्छ कि के यो ५ प्रतिशत प्रतिफल दिन सक्ने किसिमको लगानी छ त ?
६ लगानीकर्ताले शेयरबजारलाई बजार सधैं अनुचित आशावाद र अनुचित निराशावादको बीचमा अघिपछि घुमिराखेको देख्छ । उदाहरणका लागि जब बजारमा एउटा नयाँ हल्ला फैलन्छ तब मानिसहरू आफ्नो संवेदनशीलता गुमाउँछन् । अब केही अनौठो हुन्छ र मूल्य बढ्छ भनी त्यस्ता मानिस अधिक भुक्तानका लागि तयार हुन्छन् । त्यो हल्लाले भविष्यको मुनाफा देखाउन खोज्छ वा नोक्सान तर वास्तवमा त्यो सत्य हुँदैन । जब बजार भविष्यको विकासका बारेमा आशावादी हुन्छ र बजार बढने संकेत देखिन्छ तब स्टक एकदमै महँगो हुन्छ । कहिलेकाहीँ बजार ज्यादै निराशावादी हुन्छ, लगानीकर्तालाई अन्जान परिस्थितिमै त्यसले बेच्न बाध्य पार्छ । यस्ता हल्लाका कारण कुनै एक स्टकले एक निश्चित समयमा लाभ दिन्छ, तर सधैंका लागि लाभदायी हुन्छ भन्ने हुँदैन । यसविपरीत जुन शेयरले राम्रो प्रदर्शन गरिरहेको छ, त्यसको पनि निकट भविष्यमा मूल्य कम हुने अधिक सम्भावना हुन्छ ।
अत: शेयरबजारमा एउटा कुरा के याद राख्नुपर्छ भने कोही लगानीकर्ता गल्ती नगरी पोख्त हुन सक्दैनन् । यहाँ प्रयास गर्दै गल्ती गर्दै सिक्दै अघि बढ्ने हो । त्यसमा पनि शतप्रतिशत पोख्त कोही हुन सक्दैन । कहिलेकाहीँ बजार जानेबुझेकै मान्छेका लागि पनि अनुमान लगाउँदा लगाउँदा धेरै खराब साबित हुन पनि सक्छ । त्यसैले लगानीकर्ताले आर्थिक मन्दीको समय वा खराब लगानीको कुरामा आफ्नो धनको सुरक्षाका लागि सीमा तय गर्नुपर्छ । यो पनि याद गर्नुपर्छ कि आउने दिनमा फाइदाको प्रवाह बनाइराख्न लगानीकर्ताले पोर्टफोलियोलाई विविधीकरण गर्नुपर्छ, जसले गर्दा सबै लगानी एउटै ठाउँमा नजाओस् । त्यस्तै आफ्नो पोर्टफोलियोको निरन्तर अनुसन्धान, निगरानी तथा छाँटकाँट गर्नु आवश्यक पर्छ ।
गुरागाँई नागरिक लगानी कोषमा आबद्ध छन् ।