२७ चैत, काठमाडौं । वाणिज्य बैंकहरुले वैशाख महीनाका लागि निक्षेपमा नयाँ ब्याजदर ११ दशमलव शून्य ३ प्रतिशत नै कायम गर्ने भद्र सहमति गरेका छन् ।
ब्याजदर बढाउँदा पनि निक्षेप नआउने भएपछि बैंक तथा वित्तीय संस्थाले वैशाख महिनाका लागि ब्याजदर स्थिर राख्ने भएका हुन् ।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको आइतवार बसेको बैठकले चैतका लागि तोकिएको ब्याजदर नै वैशाखका लागि पनि कायम गर्ने भद्र सहमति गरेको स्रोतले बताएको छ ।
बैंकहरुले हरेक महीना निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । पछिल्लो केही महिना यता लगानी योग्य रकमको अभाव हुँदा बैंकहरुले निक्षेपको ब्याजदर लगातार बढाउँदै आएका छन् ।
तरलता समस्या सहज नभएपछि ब्याजदर स्थिर राख्ने बैंकहरुले भद्र सहमति गरेका हुन् । यस अघि फागुनमा नै ११ दशमलव शून्य ३ प्रतिशत ब्याजदर तोकिएको थियो । चैतमा पनि सोही ब्याजदर कायम थियो ।
फागुन महीनामा वाणिज्य बैंकहरुले संस्थागत एक वर्षे मुद्दती निक्षेपको अधिकतम ब्याजदर १० दशमलव शून्य ३ प्रतिशत र साधारण बचतको ६ दशमलव शून्य ३ प्रतिशत कायम गरेका थिए ।