वैशाख ११, धरान । स्थानीय क्षेत्रमै उत्पादन हुने तेजपत्तालाई ब्राण्डिङ गर्न नसक्दा किसानहरुले मूल्य पाउन सकेका छैनन् ।
भारतीय व्यापारीहरूले सस्तोमा तेजपत्ता खरीद गरेर कच्चा पदार्थको रूपमा लैजाने गरेका कारण कृषकहरुले मूल्य पाउन सकेका छैनन् । कच्चापदार्थको रूपमा नेपालबाट तेजपत्ता निर्यात हुने गरेको छ ।
तेजपत्ताको कारोबार बर्सेनि बढेपनि स्थानीय उत्पादकले मूल्य पाउन सकेका छैनन् । भारतीय व्यापारीको मागमा मूल्य निर्धारण हुने भएकाले नेपाली उत्पादकहरूले तेजपत्ताको मूल्य भने जति पाउन नसकेका हुन् ।
तेजपत्ताको व्यावसायिक खेती र उत्पादन गर्दै आएका साँगुरीगढीका अगुवा कृषक धनबहादुर राई भारतीय बजारको भर पर्नुपर्ने दिनको अन्त्य नभएसम्म सस्तोमा विक्री गर्न बाध्य भइरहने बताउँछन् । उत्पादन भएपनि नेपालमै प्रशोधन गर्ने र आफ्नै ब्राण्ड बनाउने काममा सरकारले सहयोग नगरेसम्म सस्तो भाउमा घाँसको भारी विक्री गरेजस्तो गर्नु परेको उनको गुनासो छ ।
नेपालबाटै तेजपत्तालाई ब्राण्डिङ गरेर निर्यात गर्ने हो भने उच्च मूल्य प्राप्त गर्न सकिने धरान स्थित कृषि बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराई बताउँछन् । उनका अनुसार धरान स्थित कृषि बजारबाट कच्चा पदार्थको रुपमा तेजपत्ता वार्षिक १६ करोड रुपैयाँको कारोबार हुने गरेको छ ।
औषधि र मसलाजन्य नगदेबालीका रूपमा तेजपत्तालाई लिइन्छ । बोलीचालीको भाषामा हाँगासहितको पातलाई सिन्कौली र यसको रुखको बोक्रालाई दालचिनी भनिने तेजपत्ता नेपालमा व्यापक उत्पादन भए पनि मुख्य बजार भने भारत हो ।
भट्टराईका अनुसार गतवर्षको तुलनामा यो वर्ष तेजपत्ताको निर्यात १५ देखि २० प्रतिशतले बढ्ने संकेत देखिएको छ । उनका अनुसार यो वर्ष वैशाखसम्ममा करीब १६ करोड रुपैयाँ बराबरको ४ हजार मेट्रिक टन तेजपत्ताको कारोबार हुने अवस्था छ ।
गतवर्ष कृषिउपज बजारबाट ३ हजार ४२० मेट्रिक टन अर्थात् करीब १५ करोड रुपैयाँको कारोबार भएको थियो । उनले भने, ‘कोरोना महामारीभन्दा अघि नेपालको पूर्वी पहाडमा उत्पादित तेजपत्ताको माग अत्यधिक हुँदा प्रतिभारीको मूल्य २ हजार रुपैयाँसम्म पुगेको थियो । तर, लकडाउनयता नेपाली किसानले तेजपत्ताको मूल्य सोचेजति नपाएकाले सस्तैमा विक्री गरिरहेका छन् ।’
नेपालमा उत्पादित ९५ प्रतिशत तेजपत्ता कच्चा पदार्थको रुपमा भारतमा निर्यात हुने गरेको छ । सरकारले तेजपत्ता प्रशोधन, ब्राण्डिङ, प्याकेजिङ, लेवलिङ र मार्केटिङ गर्नसके वार्षिकरूपमा अर्वौ रुपैयाँको कारोबार गर्न सकिने भट्टराईको भनाइ छ ।
यसको मूल्य हाल टिपेर ल्याएको सुख्खा पातको प्रतिकिलो ४० रुपैयाँमात्र रहेको छ । बजार व्यवस्थापक भट्टराईका अनुसार आर्थिक वर्ष ०७६/७७ मा करीब १२ करोड ५० लाख रुपैयाँ बराबरको ३ हजार ११० मेट्रिक टन तेजपत्ता भारतीय बजारमा निर्यात भएको थियो ।
आर्थिक वर्ष ०७७/७८ मा ३ हजार ८७५ मेट्रिक टन अर्थात् १५ करोड ५० लाख रुपैयाँको निर्यात भएको थियो । धरानबाट भारतमा निर्यात भएका उक्त परिमाणका तेजपत्ता धनकुटा, संखुवासभा, तेह्रथुम र सुनसरीका उत्तरी भेगका किसानहरूले उत्पादन गरेका हुन् ।
तेजपत्ताको मूल्य भारतीय व्यापारीमा भर पर्ने गरेकाले भारतीय व्यापारीले धेरै लगेभने मूल्य बढ्ने र भारतीय व्यापारीले खरीद गरेनन् भने स्वतः मूल्य घट्ने गरेको र कृषकले कति उत्पादन गरेर ल्याए भन्नुभन्दा पनि भारतीय व्यापारीले कति परिमाणमा खरीद गर्छन् भन्नेमा मूल्य भर पर्ने गरेको अवस्था रहेको भट्टराईले बताए ।
मूल्य र परिमाणको आधारमा तेजपात नेपालबाट भारत निर्यात हुने वनस्पतिको प्रमुख १० प्रजातिमध्ये पर्दछ । नेपालबाट प्रशोधन नगरिएका कच्चापदार्थको रूपमा तेजपात भारतीय बजारमा पुर्याउने गरिएको र भारतीय बजारमा पुर्याएपछि त्यहीका उद्योगले नेपालका तेजपत्ता, बोक्रालाई प्रशोधन, ब्राण्डिङ, प्याकेजिङ, लेवलिङ र मार्केटिङ गरेर महँगोमा विक्री गर्ने र बाँकी अन्य मुलुकमा पठाउने गरेको छ ।