महामारीको मारमा डन्डी उद्योग : बारा–पर्सा कोरिडोरका अधिकांश ठूला उद्योगको उत्पादन बन्द

वीरगञ्ज । बारा पर्सा औद्योगिक कोरिडोरका अधिकांश ठूला रड (डन्डी) उद्योगको उत्पादन बन्द भएको छ । उद्योगलाई चाहिने अक्सिजनको अभावमा यस्ता उद्योगको उत्पादन बन्द भएको उद्योगीहरूले बताएका छन् । कोरोना महामारीको दोस्रो लहरमा संक्रमित र गम्भीर बिरामी बढेपछि अहिले अक्सिजनको आपूर्ति बिरामीको उपचारमा केन्द्रित गरिएको छ । सरकार र निजीक्षेत्र दुवैले उद्योगको आपूर्ति रोकेरै भए पनि संक्रमितको उपचारमा अक्सिजन पठाउन आग्रह गरेका छन् । कारोना संक्रमितको उपचारमा अक्सिजनको अभाव हुन थालेपछि उद्योगमा अक्सिजन आपूर्ति बन्द गरिएको थियो । सरकारले स्थानीय प्रशासनलाई पत्राचार गरी उद्योगमा आपूर्ति रोकेर भए पनि अस्पतालमा पठाउन निर्देशन दिएको थियो । बारा र पर्सा जिल्ला प्रशासनले अक्सिजन उद्योगहरूलाई पत्रमार्फत औद्योगिक उत्पादनका लागि अक्सिजन आपूर्ति नगर्न भनेका छन् । अक्सिजन बढी खपत गर्ने फलाम डन्डी उद्योगहरू प्रभावित भएको उद्योगीहरूले बताएका छन् । बाराको सिमरास्थित जगदम्बा स्टीलले उत्पादन बन्द गरेको छ । दैनिक २ हजार मेट्रिकटन डन्डी उत्पादन गर्दै आएको जगदम्बाले अक्सिजन अभावमा २ सातादेखि उत्पादन रोकेको उद्योगका सञ्चालक पवन गुप्ताले जानकारी दिए । गुप्ताका अनुसार कोरिडोरका अधिकांश ठूला उद्योगले उत्पादन बन्द गरेका छन् । बारा र पर्सामा एक दर्जनभन्दा बढी यस्ता उद्योग छन् । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले पनि अक्सिजन अभावमा डन्डी उद्योगहरूको उत्पादन प्रभावित भएको बताए । ‘अहिलेको महामारीमा निजीक्षेत्रले समेत कोराना संक्रमितको उपचारमा अक्सिजनको आपूर्ति केन्द्रित गर्न आग्रह गरेको अवस्था हो । संक्रमण सामान्यीकरण हुँदै गएपछि जतिसक्दो चाँडो उद्योगतर्पmको आपूर्तिलाई पनि सहजीकरण गरिँदै जानुपर्छ,’ अध्यक्ष गुप्ताले भने । फलाम उद्योगमा अक्सिजन बढी खपत हुन्छ । फलाम काट्न अक्सिजन प्रयोग हुन्छ । उत्पादन क्षमताका आधारमा एउटा उद्योगले दैनिक ५ देखि ५० सिलिन्डरसम्म अक्सिजन खपत गर्ने उद्योगीको भनाइ छ । फलाम प्रयोग हुने अन्य निर्माणका काम पनि प्रभावित भएको उद्योगीहरूको भनाइ छ । बारा र पर्साका तीनओटा अक्सिजन उद्योग छन् । यी सबै उद्योगले अहिले अस्पतालमा अक्सिजन आपूर्ति गरिरहेका छन् । संक्रमितको उपचार सहज बनाउन उद्योगमा अक्सिजन आपूर्ति रोकिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए । सीमित परिमाणमा आपूर्ति भए पनि धेरै अक्सिजन चाहिने उद्योगलाई अहिले दिन नसकिएको पौडेलको भनाइ छ । ‘उद्योगको उत्पादनभन्दा मानिसको ज्यान जोगाउने काम प्राथमिक हो । अहिले त्यसैअनुसार आपूर्ति भइरहेको छ,’ जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारीसमेत रहेका पौडेलले बताए ।

सम्बन्धित सामग्री

डन्डी उद्योग जम्मा ३ प्रतिशत क्षमतामा

काठमाडौं, असार १९ । सरकारले ल्याएको करनीतिका कारण बिलेटबाट डन्डी उत्पादन गर्ने उद्योग ३ प्रतिशत क्षमतामा मात्रै सञ्चालन हुन बाध्य भएको व्यवसायीले गुनासो गरेका छन् । सरकारले चालू आवको प्रतिस्थापन बजेटमार्फत बिलेटमा कर लाग्ने र स्पन्ज आइरन (पत्रु फलाम) मा कर छूट दिने नीति ल्याएपछि बिलेटबाट डन्डी उत्पादन गर्ने उद्योगहरू क्षमताअनुसार सञ्चालन हुन नसकेका हुन् […]

अघोषित लोडशेडिङले सिमेन्ट र डन्डी उत्पादनमा ५० प्रतिशत कटौती

काठमाडौं, चैत १८। कोभिड–१९ कम भएपछि लयमा फर्किन थालेका सिमेन्ट तथा डन्डी उद्योग फेरि लोडशेडिङको मारमा परेका छन् । यी वस्तुको उत्पादन र माग बढ्ने विकास निर्माणको मुख्य सिजनमा नियमित बिजुली नपाउँदा उत्पादन नै कटौती गर्न थालेको उद्योगीहरूले बताएका छन् । नेपालले हिउँदमा भारतबाट विद्युत् आयात गर्छ । तर, यसपटक भारतीय बजारमै विद्युत्को अभाव देखियो […]

उद्योगमा अघोषित लोडशेडिङ : सिमेन्ट र डन्डी उत्पादन ५० प्रतिशत कटौती

काठमाडौं । कोभिड–१९ कम भएपछि लयमा फर्किन थालेका सिमेन्ट तथा डन्डी उद्योग फेरि लोडशेडिङको मारमा परेका छन् । यी वस्तुको उत्पादन र माग बढ्ने विकास निर्माणको मुख्य सिजनमा नियमित बिजुली नपाउँदा उत्पादन नै कटौती गर्न थालेको उद्योगीहरूले बताएका छन् । नेपालले हिउँदमा भारतबाट विद्युत् आयात गर्छ । तर, यसपटक भारतीय बजारमै विद्युत्को अभाव देखियो । विशेषगरी कोइलाको अभाव भएपछि भारतमै बिजुली उत्पादन कम भई मूल्य आकाशिएको छ । त्यसले गर्दा नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेको दरमा विद्युत् किन्न पाएन । अहिले भने प्राधिकरणले अधिकतम दरमै भए पनि बिजुली किन्ने गरी मूल्य प्रस्ताव गर्न थालेको बताएको छ । तैपनि मागअनुसार बिजुली नपाउँदा उद्योगहरूमा आपूर्ति नियमित हुन नसकेको बताइन्छ । नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष विष्णु अग्रवालले उद्योगहरूले नियमित बिजुली नपाएको बताए । प्राधिकरणले महँगो/सस्तो जुन दरमा भए पनि नियमित र गुणस्तरीय बिजुली दिनुपर्ने उनी बताउँछन् । ‘विद्युत् आपूर्तिमा समस्या हुँदा स्थानीयका साथै वैदेशिक लगानीकर्ता हतोत्साहित हुन सक्छन्,’ अग्रवालले भने, ‘उत्पादनको लागत बढेको छ, यसलाई कम गर्न सरकार तथा प्राधिकरण जिम्मेवार हुनुपर्छ ।’ यसैगरी, नेपाल सिमेन्ट उत्पादक संघका उपाध्यक्ष ताराप्रसाद पोखरेलले उद्योगहरूले १२/१३ घण्टा लोडशेडिङ झेलिरहेको बताए । ‘एकातिर लोडशेडिङ छ, अर्काेतिर ६ मेगावाट बिजुली चाहिने उद्योगले ३ मेगावाट मात्र पाइरहेको छ,’ पोखरेलले भने, ‘बिजुली आधामात्र पाएकाले उद्योग नै धराशयी हुने देखियो ।’ बिजुली नपाउँदा उत्पादन र विक्री चक्र बिग्रने हुँदा बैंक ब्याज बढ्नुका साथै तरलता अभाव हुने अवस्था आएको उनले बताए । दुई सातादेखि विद्युत् आपूर्तिमा नियमितता नभएको उनले बताए । ‘कोभिडपछि उत्पादनले आकार लिइसकेको थियो,’ उनले भने, ‘विकास निर्माणका कामले गति लिन थालिसकेको अवस्थामा देखिएको ऊर्जा समस्याले पुनः अप्ठ्यारोमा पारेको छ ।’ नेपालमा वर्षा याममा बिजुली खेर जाने तर हिउँदमा बिजुलीकै अभावमा उद्योगहरू धराशयी हुने अवस्था आएको उनको भनाइ छ । अग्नि सिमेन्टका प्रबन्ध निर्देशकसमेत रहेका पोखरेलले बिजुली नपाउँदा अहिले सिमेन्ट उत्पादकले ५० प्रतिशत उत्पादन घटाएको बताए । अहिले बिजुलीको शुल्क नबढे पनि बिजुली नै पाउन नसकेको अवस्थामा उद्योगीहरू छन् । सरकारले दीर्घकालीन रूपमा यस्तो समस्या समाधान गर्न जलाशययुक्त आयोजना बनाउने र बिजुली कति आवश्यक पर्छ भन्ने कुरामा बेला छँदैमा हेक्का राख्नुपर्ने पोखरेलको सुझाव छ । अम्बे ग्रूपका अध्यक्ष हरि न्यौपानेले रोलिङ मिलहरूमा विद्युत् कटौतीले निकै समस्या पारेको बताए । केही समयदेखि नै उद्योगहरूले नियमित रूपमा बिजुली नपाएको भन्दै उनले अहिले कारखानाहरूले उत्पादन ५० प्रतिशतले कटौती गरेको बताए । ‘पावर छैन, भए पनि नियमित छैन,’ न्यौपानेले भने, ‘सिमेन्ट र डन्डी उद्योग ठूलो मर्कामा परेका छन् । सामग्री सप्लाई गर्नै सकिएको छैन ।’ अहिले निर्माणको सिजन भएको र सोहीअनुसार माग भइरहे पनि उत्पादन कम गर्नुपर्दा मागअनुसार सामग्री दिन नसकेको उनको भनाइ छ । विद्युत् प्राधिकरण भने आफूले प्रस्ताव गरेको दरमा बिजुली नपाएको खण्डमा मात्रै उद्योगहरूलाई मागअनुसार आपूर्ति नदिएको दाबी गर्छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बिड अस्वीकृत भएका बेला मात्रै बिजुली उपलब्ध गराउन नसकिएको बताए । ‘उद्योगीले भने जस्तै लोडशेडिङको अवस्था होइन,’ भट्टराईले भने, ‘बुधवार पनि नियमित रूपमा बिजुली उपलब्ध गराएका थियौं ।’ पछिल्लो समय रूस–युक्रेनबीच द्वन्द्वले अन्तरराष्ट्रिय रूपमै औद्योगिक कच्चा पदार्थको मूल्य बढेको छ । कोइलाको मूल्य बढ्दा भारतबाट नेपाल आउने विद्युत्मा समस्या देखिएको छ भने नेपालकै सिमेन्ट र डन्डीको मूल्य पनि निकै बढेको छ । अहिले सिमेन्टको मूल्य पनि बढेको छ । ओपीसी र पीपीसी सिमेन्टको मूल्य प्रतिबोरा ३० रुपैयाँले बढेको संघले जानकारी दिएको छ । अहिले औसतमा ओपीसी सिमेन्ट प्रतिबोरा ६४० र पीपीसी सिमेन्ट प्रतिबोरा ५४० पुगेको पोखरेलले बताए । बिजुली महसुल नबढे पनि डिजेलको मूल्य बढेकाले सिमेन्टको मूल्य प्रभावित भएको उनले बताए । यता, फलामे डन्डीको मूल्य पनि उल्लेख्य बढेको छ । प्रतिकेजी ७०/७५ आसपास रहेको डन्डीको भाउ अहिले प्रतिकेजी १३० रुपैयाँसम्म पुगेको छ ।

पारस खड्का प्रिमियर स्टिलको ब्राण्ड एम्बेसडर बने, दैनिक ८ सय टन डन्डी उत्पादन

विराटनगर। मोरङको फलामे डन्डी उद्योग प्रिमियर स्टिलले नेपालको राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको

बारा–पर्सा कोरिडोरमा बढ्दै डन्डी उद्योग

बारा–पर्सा औद्योगिक कोरिडोरको भौगोलिक अवस्थिति र रेलमार्ग जोडिएको सुक्खा बन्दरगाहसम्म कच्चा पदार्थ ढुवानी सहज भएपछि कोरिडोरमा फलामका डन्डी र अन्य निर्माण सामग्री बनाउने उद्योग खुल्नेक्रम बढेको छ । विगत ३ वर्षको अवधिमा यो कोरिडोरमा आधा दर्जनजति फलाम उद्योग थपिएका छन् । यस्ता उद्योगका संख्या डेढ दर्जन पुगिसकेको उद्यमी बताउँछन् । पछिल्लो समय वीरगञ्जमा खुलेको सर्वोत्तम स्टीलले परीक्षण उत्पादन जारी राखेको छ । यो अवधिमा खुलेका अन्य उद्योगले पनि क्षमता वृद्धि गर्न थालेका छन् । यो उद्योगले डण्डीको कच्चा पदार्थ बिलेट पनि आफै बनाउँछ...

घट्न थाल्यो डन्डीको मूल्य, तेलमा छैन सुरसार

खाने तेल र निर्माण सामग्रीमा अत्यधिक मूल्य बढाएका उद्योगीले डन्डीको मूल्य थोरै भए पनि घटाउन थालेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार मुलुकमा दर्जनभन्दा बढी स्टिल तथा डन्डी उद्योग छन् । तीमध्ये सात उद्योगले मूल्य घटाएको विभागले जनाएको छ । यद्यपि खाने तेल उत्पादन गर्ने उद्योगले भने मूल्य घटाउन आलटाल गरिरहेका छन् । दुई तेल उद्योगबाहेक अन्यले मूल्य घटाएका छैनन् ।