कोही यहाँ क्रिकेट नामको खेल बेचिरहेका छन् ।
त कोही थाना र कोही जेल बेचिरहेका छन् ।
पैसाको खेल हो यो, शताब्दीका खलनायकहरू
जनतालाई सपनाको रेल बेचिरहेका छन् ।
त्यसैले त यहाँ चार सिटेहरूलाई पनि उपप्रधानमन्त्री नै चाहियो रे, १० सिटेलाई त प्रधानमन्त्री नै । १० भन्दा बढी सीट उछिट्याउनेहरूलाई के दिने ? हे भोका नांगाका मसिहाहरू हो, भागबण्डा गरेर सबै खाऊ, सबै लेऊ । बस, जनतालाई अलिकति केही गरेर बाँच्ने अर्थात् खाने र सास फेर्ने आधार त देऊ ।
अब उप्रान्त मान्छेलाई गधा भन्न छाडियोस् रे । गधाहरूको भनाइमा उनीहरू मानिसभन्दा पनि इमानदार छन् रे । गधामा जति स्वामीभक्ति मानिसमा हुनै सक्तैन रे ।
अहिले हरेकका मनमा यस्तै भाव उर्लिरहेको पाइन्छ । अहिले देशमा यति चरम निराशा छ कि हरेकको मन उद्वेलित छ । र, हरेक व्यक्ति र समुदाय आन्दोलित छ । यस्तो राजनीतिक अस्थिरता र नेताहरूको यस्तो रवैयामा हुन्छ के नै अर्थोक ? मानिस त मानिस अब गधाहरू पनि हडतालमा उत्रिन थालेका छन् । अनि ती गधा एक्ला एक्लै छैनन् । राजनीतिक दलहरूबाट उनीहरूले पनि संगठन बनाउन सिकिसकेका छन् । गधाहरूको संगठन ‘अल नेपाल गधा एसोसिएसन’ (अनेगए)का तर्फबाट सरकारसँग विभिन्न माग पनि पेश गरिसकिएको छ ।
अब उप्रान्त मान्छेलाई गधा भन्न छाडियोस् रे । गधाहरूको भनाइमा उनीहरू मानिसभन्दा पनि इमानदार छन् रे । गधामा जति स्वामीभक्ति मानिसमा हुनै सक्तैन रे ।
मानिसहरू समय समयमा मान्छेलाई गाली गर्नुपर्दा ‘तँ गधा हो’ भनिरहेका हुन्छन् । ‘दिल लगी गधी पे तो परी क्या चीज है’ भनेर गधाका आधा आकाशलाई हेपिरहेका छन् मानिसहरूले । यसले गधाहरूको अपमान भएको छ रे । आखिर मान्छेले गधालाई यति मूर्ख किन सम्झन्छ ? यति अछुत किन सम्झन्छ ? यो अपमान कहिलेसम्म सहने ? मानिसहरूको यस्तै व्यवहारका कारण नै गधाहरू हडतालमा जाने निधो गरेका रहेछन् ।
जब गधाहरू हडतालमा उत्रिए, तब अखवारहरूले पनि भँगेरे टाउके शीर्षकमा गधाका हडतालका समाचार महत्त्वका साथ छाप्न थालेका छन् । अनि त के ? पशु अधिकारवादीहरू पनि गधाहरूको हडतालमा ऐक्यबद्धता जनाउन सडकमा आइरहेका छन् । मैनबत्ती चोक (माइतीघर मण्डला)तिर मैनबत्ती पनि जलिरहेका छन् गधा आन्दोलनलाई बल दिन ।
यसो हेर्दा माहोल यस्तो देखिँदै छ कि समयसँगै गधाको यो आन्दोलन राष्ट्रव्यापी पो बन्ला जस्तो छ । जनआन्दोलन १ ले प्रजातन्त्र ल्यायो, जनआन्दोलन २ ले गणतन्त्र ल्यायो । अब जनआन्दोलन ३ अर्थात् गधा आन्दोलनले कस्तो तन्त्र ल्याउला भन्ने सबैलाई चासो छ । तर गधा आन्दोलनले ल्याउने तन्त्र पहिला भाग १ र २ भन्दा पक्कै पनि राम्रो हुनेछ, यसमा चाहि शंका छैन । त्यसैले त देशका राष्ट्रिय मिडिया पनि गधाहरूको हडताललाई ब्रेक गर्ने वा कभर गर्ने होडबाजीमा छन् । हुन पनि देशमा कि त राजनीतिक दल वा संगठनका नेताहरूको बैठक हुन्छ, कि चुनाव हुन्छ कि हडताल । अनि मिडियाले कभर गर्ने विषय अरू के नै बाँकी रहन्छ र ?
गधाहरूको अर्को माग यो छ कि उनीहरूको लोकतान्त्रिक र संवैधानिक अधिकारलाई ध्यानमा राख्दै उनीहरूलाई पनि राजनीतिक दल गठन गर्नुका साथै भोट हाल्ने अधिकार पनि दिइयोस् रे । मानिसहरूमा सबै लिंगकालाई यो अधिकार उपलब्ध छ भने गधालाई किन छैन ? ‘हामी त मानिसको सबैभन्दा नजिक र भरोसायोग्य हौं । हाम्रो संविधानले पनि कसैप्रति भेदभाव गर्ने अधिकार दिएको छैन’ भन्दै उफ्रँदै छन् गधाहरू ।
‘उहिले कालाहरूलाई शोषण गरेको भनेर अहिले गोराहरूसँग क्षतिपूर्तिको कुरा भइरहेछ । हामीलाई मानिसले गरेको शोषणको क्षतिपूर्ति पनि चाहियो नि अब ?’ भन्दै गधाहरू उफ्रिरहेका छन् ।
देशका संविधान, संस्कृति र परम्पराले पनि सबैलाई अंगीकार गरेको छ । समावेश गरेको छ । डाँफेलाई हामीले राष्ट्रिय पन्छी बनायौं र लालीगुराँसलाई राष्ट्रिय फूल । गाईलाई राष्ट्रिय जनावर बनायौं । योबाहेक अझ कुकुर, गोरु, सर्प, काग लगायत धेरै जनावर, पन्छीलाई हाम्रो धर्म, संस्कृतिमा विशेष श्रद्धासहित पुजिन्छ । तर देशको सम्पूर्ण भारी बोकी हिँड्ने गधाप्रति यो भेदभाव किन ? अझ आम चुनावहरूमा गधाहरू पनि एउटा विषय बन्ने गरेका छन् भने गधाहरूलाई चुनाव लड्न प्रतिबन्ध किन ?
हडतालमा गएका ‘अल नेपाल गधा एसोसिएसन’का राष्ट्रिय अध्यक्षले मिडियामा आफ्नो बयान जारी गर्दै भने, ‘चुनाव आयोगले हामीलाई राष्ट्रिय दलको मान्यता दिएन भने यो संविधानले दिएको अधिकारको अवहेलना गरेको ठहरिनेछ । समता–समानता–समावेशी जस्ता मूल्यमान्यता र अधिकारहरूको विरुद्ध हुनेछ । आवश्यक पर्यो भने हामी देशैभरिका गधाहरू आफ्ना अधिकारको रक्षाका लागि खुलामञ्च, बन्दमञ्च, माइतीघर, ससुरालीघरदेखि देशैभरि प्रदर्शनमा उत्रिनेछौं । अधिकारीहरू मात्र होइन, अनधिकारीहरू समेत सबैलाई कालोमोसो दल्ने अभियान शुरू गर्नेछौं । जब मान्छे र तिनका जातीय समूहहरूले आफ्ना अधिकारलाई लिएर दल, संगठन, मोर्चा आदि बनाउन सक्छन् भने हामी गधाहरूले किन सक्तैनौं ?’
गधाहरूको आन्दोलनमा अन्य कतिपय पीडितहरू पनि समर्थनमा आउन लागेका छन् । गधाहरूका भनाइमा उनीहरूलाई हिजोसम्म आफ्नो शक्तिको अन्दाज थिएन । तर अब उनीहरू जागिसकेका छन् । त्यसैले अब आफ्नो हक मान्छेलाई नदिरे रे । अब गधाहरूलाई पनि मान्छे र अन्य पशुपन्छी सरह राष्ट्रको मूलधारमा ल्याउनैपर्छ रे ।
भीड बढ्दो थियो र केही उत्ताउलो पनि । गधाहरूको भीडबाट आवाज आइरहेको थियो– गधातन्त्र जिन्दावाद !, जिन्दावाद !!! जिन्दावाद !!!
म त्यै बाटो गइरहेको थिएँ । देखेँ कि त्यो रमिता कुकुर र साँढे तथा गाईहरू पनि हेरिरहेका थिए र मुखामुख गर्दै थिए, मानौं उनीहरू पनि आफ्नो संगठन बनाएर आन्दोलन शुरू गर्ने सोच्दैछन् । अनि सोचेँ कि ओहो ! हेर्नुस् त ! देशमा लोकतन्त्र साँच्चै कति बलियो पो हुँदै गइरहेको छ त !