साउन १५, बैतडी । जिल्ला अदालत बैतडीले गत आर्थिक वर्षमा जरिवाना बापतको ३७ लाख ४१ हजार ६८० रुपैयाँ राजस्व उठाउन सकेको छैन ।
जरिवानाको रकम गत आर्थिक वर्षमा ४५ लाख १३ हजार ९५५ रुपैयाँ थियो जसमध्ये ७ लाख ७२ हजार २७५ रुपैयाँ मात्र अदालतले उठाएको छ ।
गत आर्थिक वर्षमा जरिवना, अदालती शुल्क र अन्य शुल्क गरी विभिन्न शीर्षकको १० लाख ९६ हजार ८२ रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको
राजस्व जरीवनाबाट ७ लाख ७२ हजार २७५ अदालती शुल्कबाट २ लाख ६९ हजार चार रुपैयाँ र अन्य शुल्क ५४ हजार ८५३ रुपैयाँ संकलन गरेको छ ।
यसैगरी, अदालतले ४३ लाख ७४ हजार ५३१ रुपैयाँ धरौटी उठाएको छ भने ८९ हजार ७०० रुपैयाँ धरौटी फिर्ता गरेको जिल्ला अदालत बैतडीका स्रेस्तेदार जनक सिह बोहराले बताए । उनले भने ‘उपल्लो आर्थिक वर्षको २२ लाख ५ हजार ५४३ रुपैयाँ र गत आर्थिक वर्षको गरि जम्मा धरौटी ६५ लाख ८० हजार ७४ रुपैयाँ धरौटी भएको छ’ ।
गत आर्थिक वर्षमा २२४ मुद्दा दर्ता भए पनि १३० ओटा मुद्दा मात्र फैसला भएको अदालतको तथ्यांकमा उल्लेख गरिएको छ । १४ लाख ७४ हजार ४०० रुपैयाँ क्षतीपूर्ती भराइ दिने भन्ने निवेदन दर्ता भए पनि ६ लाख ४५ हजार २००रुपैयाँ मात्र क्षतीपूर्ती भराइएको अदालतले जानकारी दिएको छ ।