झापामा दैनिक ५० टन फोहोर प्रशोधन गर्ने परियोजना सञ्चालनमा आउँदै, काठमाडौंमा के हुँदैछ ?

झापा । झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडसहित तीन नगरपालिकाले सहलगानीमा फोहरमैला व्यवस्थापन गर्ने बायोग्यास परियोजना निर्माण गरेका छन् । निर्माणको अन्तिम चरणमा रहेको परियोजना केही महीनाभित्रै सञ्चालनमा आउने छ । जिल्लाको मध्यभागमा रहेको विर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिका परियोजनामा जुटेका हुन् । ४ वर्षदेखि निरन्तर निर्माण भइरहेको परियोजना कनकाई नगरपालिका–२ को सुकेडाँगीमा रहेको छ । परियोजना सञ्चालनमा आएपछि ती नगरपालिकामा फोहरमैलाबाट उत्पन्न समस्याको दिगो समाधान हुने विश्वास गरिएको छ ।  कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार तीनवटै नगरको फोहरमैलालाई ल्याएर जैविक मल र बायोग्यास उत्पादन गर्ने सोचका साथ २०७५ सालमा कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा लिमिटेड स्थापना गरिएको थियो । परियोजनाका लागि आवश्यक कूल लगानी १३ करोड ६३ लाख रुपैयाँमध्ये ४० प्रतिशत रकम वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट अनुदान प्राप्त हुने र बाँकी ६० प्रतिशत तीनवटै नगरपालिकाले जुटाउने सहमतिअनुरुप हाल काम अन्तिम चरणमा पुगेको उनले बताए । दैनिक ५० टन फोहर प्रशोधन हुने परियोजनास्थलमा दैनिक ५० टन फोहर प्रशोधन गर्नसक्ने चार हजार घनमिटर क्षमताको बायोग्यास प्लान्ट जडान भइसकेको छ । यसबाट हरेक दिन १० टन जैविक मल र एक हजार केजी मिथेन ग्यास उत्पादन हुने छ । तीन बिघा क्षेत्रफलमा फैलिएको परियोजनास्थलमा ग्यासप्लान्ट, पाइपलाइन विस्तार र प्रशासनिक भवन निर्माण भइसकेको परियोजनाका बायोविज्ञ जीवन श्रेष्ठले बताए । अहिले केही महत्वपूर्ण मेसिनरी जडान र विद्युत् आपूर्तिको लाइन निर्माण धमाधम भइरहेको उनले जानकारी दिए । ग्यास होल्डर, डिजेस्टर पार्टलगायत परियोजनाको ९० प्रतिशत कार्य सम्पन्न भइसकेको जनाउँदै उनले भने, “कुनै व्यवधान खडा भएन भने अबको १ महीनापछि प्लान्ट सञ्चालनमा ल्याउन सकिन्छ ।” उनले विर्तामोड, अर्जुनधारा र कनकाई नगरबाट निस्कने फोहर परियोजनाका लागि अपर्याप्त हुने बताए । पूर्ण क्षमताका साथ मेसिन चलाउने हो भने आसपासका अरू पालिकाबाट समेत फोहर सङ्कलन गर्नुपर्ने र घाँस, गोबरलगायत अन्य प्रकारका कच्चापदार्थको बन्दोबस्त पनि गरिनुपर्ने उनको सुझाव छ । परियोजनामा सहलगानी गरेका तीन नगरपालिकाबाट दैनिक १५ देखि १८ टन मात्र फोहर सङ्कलन हुने सम्भावना छ । फोहर व्यवस्थापनका लागि लगानी साझेदारीका लागि मेचीनगर, भद्रपुर, बाह्रदशी, शिवसताक्षीलगायतका छिमेकी पालिकाहरुलाई समेत आग्रह गरिएको छ । तर अरू पालिकाहरु अध्ययनकै चरणमा रहेका छन् । आफ्नै ल्यान्डफिल्ड साइटको उचित बन्दोबस्तसमेत गर्न नसकेका भद्रपुर र मेचीनगर नगरपालिकालाई कनकाईको ग्यासप्लान्टमा आबद्ध हुन आग्रह गरिएको छ । कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले हालै मेचीनगरका जनप्रतिनिधिहरुलाई ग्यासप्लान्टको अवलोकन भ्रमण गराएर सहलगानीमा आउन आग्रह गरेका छन् । फोहर वर्गीकरणमा चुनौती दमक र कनकाई गरी दुई स्थानमा फोहरमैलाबाट ग्यास र मल उत्पादन गर्ने परियोजना निर्माण भइसके तापनि त्यसको सञ्चालनमा ‘फोहरको वर्गीकरण’ चुनौतीपूर्ण बन्ने सम्भावना छ । कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा लिमिटेडका बायोविज्ञ श्रेष्ठका अनुसार बायोग्यास प्लान्टमा कुहिने फोहर मात्र हाल्नुपर्ने हुन्छ । घरको भान्सा, होटल, तरकारी तथा फलफूल पसल आदिबाट निस्कने फोहरलाई ट्याङ्कीमा हालेर कुहाइने र मिथेन ग्यास उत्पादन गरिने प्रविधि परियोजनामा जडान गरिएको छ । बायोविज्ञ श्रेष्ठले नगरपालिकाहरुले परियोजनामा फोहर पठाउँदा नै वर्गीकरण गरेर पठाउनुपर्ने बताए । “स्रोतमै फोहरको वर्गीकरण गर्न अहिलेदेखि तयारी थाल्न नगरपालिकाहरुलाई अनुरोध गर्दछु,” उनले भने, “यहाँ ल्याएर सबैखालका फोहर थुपार्न थालियो भने यो पनि डम्पिङ साइट बन्ने सम्भावना हुन्छ ।” नगरपालिकाहरुले आफ्नै क्षेत्रमा फोहरको तीन किसिमको वर्गीकरण गर्नुपर्ने हुन्छ । कुहिने, नकुहिने र धातुजन्य फोहर गरी तीन किसिमको वर्गीकरण हुनुपर्ने विज्ञको सुझाव छ । कुहिने फोहरबाट ग्यास र मल उत्पादन हुन्छ भने नकुहिने प्लास्टिकजन्य फोहरबाट निर्माण सामग्री (पेभर्स) उत्पादन गरिने श्रेष्ठले बताए । कनकाईको परियोजनास्थलमा प्लास्टिकजन्य फोहरबाट पेभर्स उत्पादन गर्नका लागि मेसिनरी जडान भइरहेको छ । हाल विर्तामोड नगरपालिकाले घरबाटै फोहरको वर्गीकरण गर्नका लागि नगरवासीलाई तालिम र सचेतनामूलक कार्यक्रम शुरु गरेको छ । घरबाटै कुहिने र नकुहिने फोहर छुट्याएपछि त्यसलाई सिधै कनकाईको बायोग्यास प्लान्ट रहेको परियोजनामा लैजाने नगरको तयारी छ । अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले आफ्नो नगरबाट सङ्कलन हुने फोहरमैलालाई वर्गीकरण गरेर कनकाईको बायोग्यास प्लान्टमा प्रशोधनका लागि लगिने तयारी भइरहेको जानकारी दिइन् । हाल सो नगरमा निजी जग्गा भाडामा लिएर फोहरलाई विसर्जन गरिँदै आएको उहाँले बताउनुभयो ।  विर्तामोडमा ठूला अस्पतालबाट निस्कने फोहरमैला थप समस्या बनेका छन् । अस्पतालहरुले प्रयोग भइसकेका सिरिन्ज र अपरेसन थिएटरबाट निस्कने फोहरलाई एउटै ठाउँमा हाल्ने गर्दा समस्या निम्तिएको हो । खोला, जङ्गल र सडक किनारमा सिरिन्जजन्य फोहर फाल्दा मानवीय क्षति पुग्ने सम्भावना हुन्छ । केही महिनाअघि विर्तामोडका केही अस्पताललाई कनकाईको बिरिङ खोलामा सिरिन्जजन्य फोहर राति फाल्ने गरिएको भेटिएपछि जरिवाना तिराइएको थियो । लगातार बढिरहेको शहरीकरणमा सबैभन्दा चुनौतीको विषय बनिरहेको फोहरमैला समस्या अब भने कनकाईको वायोग्यास परियोजना निर्माणपछि समाधान हुने आशा गरिएको छ । काठमाडौंमा कहिले हुन्छ फोहोरको समस्या समाधान ? काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको मुख्य चुनावी नारा नै फोहोरको दीर्घकालिन व्यवस्थापन थियो । उनले चुनाव जितेर मेयरको सिटमा बसेको करीब १० महीना भइसक्यो । तर काठमाडौंको फोहोरको दीर्घकालिन समाधानका लागि उनले ठोस काम अघि बढाउन सकेका छैनन् ।  उनी मेयरमा निर्वाचित  भएलगत्तै नुवाकोट स्थित डम्पिङ साइटमा पुगेर फोहोरको दीर्घकालिन समाधान निकाल्ने बताएपनि अहिलेसम्म काम भने शुरू  गरेका छैनन् । उपत्यका बाहिर बनेका यस्ता परियोजनाले अब पक्कै पनि  उनी माथि दबाब बढ्ने छ । -राससको सहयोगमा

सम्बन्धित सामग्री

सिन्धुली अस्पतालमा फोहोर प्रशोधन गरी व्यवस्थापन गर्न सुरू

सिन्धुली । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा अवस्थित सिन्धुली अस्पतालले फोहोर प्रशोधन गरी व्यवस्थापन गर्न सुरू गरेको छ । अस्पतालले स्वास्थ्य संस्थाजन्य फोहोरको स्मार्ट अटोक्लेभ मेसिन प्रविधिबाट वर्गीकरण गरी व्यवस्थापन सुरू गरेको हो । सिन्धुली अस्पतालले अस्पतालमा उव्जिएका औषधिका रित्ता डब्बा, स्लाईनका बोतल, सिरिन्ज, मेटल, बाक्लो कागज, पानीका बोतल लगायतका विभिन्न खाले फोहोरलाई संकलन केन्द्रमा भण्डारण […]

युवा संघले उठायो फोहोर

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बानेश्वर क्षेत्रको फोहोर उठाएको छ । युवा संघको कार्यालय बिजुली बजार क्षेत्रमा रहेको फोहोर उठाउँदै कार्यक्रमको सुरुवात गरेको हो ।बानेश्वर क्षेत्र वरपर, रत्नराज्य स्कुल हुँदै पुरानो बानेश्वरमा रहेको फोहोर उठाएर पेप्सीकोलामा रहेको फोहोर प्रशोधन स्थलमा लगेको युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए । यसरी उठाएको फोहोर मनोहरा मल्टिप्रपोज कम्पनी प्रालिको फोहोर बोक्ने गाडीमा हालेर प्रशोधन स्थलसम्म लगिनेछ ।

गलकोट नगरपालिकाले थाल्यो फोहोर प्रशोधन

स्थानीय तहहरुले फोहाेर व्यवस्थापनको चुनौती भोगिरहेका बेला गलकोट नगरपालिकाले भने जिल्लामै पहिलोपटक फोहर प्रशोधन गर्न थालेको छ।...

फोहोरलाई मोहोरमा परिणत गर्दै गलकोट नगरपालिका : सञ्चालनमा आयो प्रशोधन केन्द्र

गलकोट : स्थानीय तहहरुले फोहोर व्यवस्थापनको चुनौती भोगिरहेका बेला गलकोट नगरपालिकाले भने जिल्लामै पहिलोपटक फोहोर प्रशोधन गर्न थालेको छ। गलकोट विकसित शहर भएकाले यहाँ बस्तीको विकास तीव्र गतिमा भइरहे पनि फोहोर व्यवस्थापन गर्न हालसम्म कठिन हुँदै आएको थियो। नगरपालिकाले यस वर्षदेखि भने फोहोर प्रशोधन गरी मोहोरमा परिणत गर्न थालेको हो।…

इटहरीमा फोहोर प्रशोधन केन्द्रको उद्घाटन, दैनिक ५५ टन फोहोर व्यवस्थापन हुँदै

चैत १८, सुनसरी । इटहरीको फोहोर व्यवस्थापनको चुनौती हटेको छ । फोहोर व्यवस्थापनका लागि फोहोर प्रशोधन केन्द्र सञ्चालनमा ल्याएपछि इटहरीको फोहोर मैला व्यवस्थापनमा सहज हुने भएको छ ।  अब दैनिक इटहरीले प्रत्येक दिन संकलन हुने ५५ टन फोहोरलाई प्रशोधन केन्द्रमार्फत प्रत्येक दिन ८०० केजी सम्म ग्यास उत्पादन गर्ने भएको छ । इटहरी वडा नम्बर १० मा निर्माण गरिएको केन्द्रको बिहीवार एमाले नेता एवं प्रदेश नं १ का पुर्वमुख्यमन्त्री भिम आचार्यले उद्घाटन गरेका छन् ।  इटहरी उपमहानगरपालिका, वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र वेस्ट एण्ड इन्भाइरो म्यानेजमेन्टको त्रिपक्षीय साझेदारीमा फोहोर प्रशोधन केन्द्र सञ्चालनमा आएको हो ।  केन्द्र सञ्चालनका लागि वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र मार्फत विश्व बैंकको ६० प्रतिशत अनुदान र वेस्ट एण्ड इन्भाइरो म्यानेजमेन्टको ४० प्रतिशत लगानी रहेको छ । इटहरी उपमहानगरपालिकाले जग्गा, त्यहाँसम्म पुग्ने कालोपत्रे बाटो र पर्खाल निर्माण गरिदिएको छ ।  केन्द्र सञ्चालनमा आएपछि फोहोर मैलाको उचित व्यवस्थापनसँगै फोहोरबाट आम्दानी पनि हुने इटहरी उपमहानगरपालिकाले जानकारी दिएको छ । उपमहानगरका वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीका अनुसार इटहरीमा प्रत्येक दिन ५५ टन फोहोर जम्मा हुन्छ ।  केन्द्रमा प्रत्येक दिन ८०० केजीसम्म ग्याँस उत्पादन गर्ने क्षमता छ । सड्ने फोहोरबाट मात्र ग्याँस उत्पादन हुन्छ । नसड्ने फोहोरलाई रिसाइक्लिङ्ग गरेर विक्री गरिने चौधरीले जानकारी दिए ।  प्रदेश सांसद लिलम वस्नेतले इटहरीमा चुनौतीको रुपमा रहेको फोहोरमैला व्यवस्थापनको कार्य व्यवस्थित हुनु नगरवासीकालागि खुशीको कुरा भएको बताए । नगर प्रमुख द्वारिकलाल चौधरीले प्रशोधन केन्द्रका कारण वडा नम्वर १० को विकासमा टेवा पुगेको बताए ।  उनले गुणस्तरीय कालोपत्रे सडक लगायत सम्झौता वमोजिमका अन्य कार्य गरिएको पनि दाबी गरे । उपप्रमुख लक्ष्मी गौतमले पाँच वर्षे कार्यकालकै एक गौरव गर्न लायक कार्य सम्पन्न भएको बताइन् ।

प्रधानमन्त्रीबाट फोहोर प्रशोधन केन्द्रको उद्घाटन

काठमाडौं, पुष २० । फोहोरबाट ग्यास र मलसमेत उत्पादन गर्ने गरी धरानमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्रको मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नु भएको छ । गत बैशाखदेखि परीक्षण गर्ने तयारी गरिए पनि कोरोना महामारीका कारण केही काम हुन बाँकी थियो । धरान उपमहानगरपालिका–६ स्थित पानवारीमा प्रशोधन केन्द्र बनाएको हो । धरान उपमहानगरपालिकाको फोहोरलाई व्यवस्थापन […]

धरानमा फोहोर प्रशोधन गरेर ग्याँस र मल उत्पादन सुरु

सहरको फोहाेरलाई प्रशोधन गरेर ग्याँस र मल उत्पादन गर्ने उद्योग धरानमा सञ्चालन भएको छ।धरान ६ स्थित पानवारीमा भेञ्चर वेष्ट टु इनर्जी प्रालिले फोहोर प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको हो।...

धरानमा फोहोर प्रशोधन केन्द्र, प्रधानमन्त्री देउवाले गरे उद्‍घाटन

फोहोरबाट ग्यास र मलसमेत उत्पादन गर्ने गरि धरानमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्र मंगलबार उद्‍घाटन गरिएको  छ। गत बैशाखदेखि परीक्षण गर्ने तयारी गरिए पनि कोरोनाको कारण केही काम हुन बाँकी...

फोहोर प्रशोधन केन्द्र सञ्चालनमा ढिलाइ

धरान । गत चैत ९ गतेदेखि परीक्षण शुरू गरेको धरानस्थित फोहोर प्रशोधन केन्द्र नियमित सञ्चालनमा आउन सकेको छैन । प्रशोधन केन्द्रको निर्माण पूर्णरूपमा सम्पन्न भए पनि उत्पादित ग्यास खपत गर्न अनुमति नहुँदा सञ्चालनमा आउन नसकेको हो । धरान उपमहानगरपालिका–६ मा रहेको फोहोर प्रशोधन केन्द्रको निर्माण ‘भेन्चर वेस्ट टु इनर्जी’ नामक कम्पनीले गरेको हो । धरानको फोहोर व्यवस्थापन गर्दै ग्यास र मल उत्पादन गर्ने लक्ष्यसहित केन्द्रको निर्माण गरिएको थियो । गत वैशाखदेखि नै सञ्चालनमा आउने भनिए पनि सरकारी प्रक्रियामा ढिलाइले समय लम्बिएको परियोजनाका इन्जिनियर विवेक अग्रवालले बताए । उनका अनुसार केन्द्रले गत चैत ९ गतेदेखि धरानको फोहोर संकलन गरी परीक्षण थालेको थियो । तर खपत गर्ने साधन सञ्चालनको अनुमति नहुँदा सञ्चालन गर्न नसकिएको उनको भनाइ छ । ‘सबै फोहोर लिएर प्रशोधन गर्न सक्ने अवस्था छ, तर खपत गर्न सवारीसाधन सञ्चालन गर्ने अनुमति नहुँदा पूर्ण क्षमतामा सञ्चालन गर्न सकिएको छैन,’ उनले भने, ‘ग्यासबाट चल्ने टेम्पो पनि आउनुप¥यो, त्यसैले अड्किरहेको छ ।’ उनका अनुसार २४ करोडको परियोजनाको लागत कोरोनाका कारण २६ करोड पुगेको छ । दैनिक ५० टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको केन्द्र पुस २० गतेदेखि शुरू हुने ‘धरान डे’को अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन गर्ने तयारी छ । २० वर्षपछि धरान उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरी प्रशोधन केन्द्र निर्माण गरिएको हो । कोरोना संक्रमणको जोखिम न्यून हुँदै गएपछि पुस अन्तिम सातादेखि सञ्चालनको तयारी गरिएको अग्रवालले बताए । प्रशोधन केन्द्रबाट उत्पादित ग्यास धरानमा चलिरहेका टेम्पोहरूमा प्रयोग हुनेछ । ‘धरानमा चलिरहेका विभिन्न ब्राण्डका टेम्पोमा एउटा सिलिण्डर सहितको किट हाल्छौं, त्यो हालिसकेपछि मल्टी फ्युल हुन्छ,’ अग्रवालले भने, ‘त्यसो हुँदा पेट्रोल र ग्यासले दुवैले चल्न सक्छ ।’ हिमालयन पेट्रोल पम्प नजिकै खहरे खोलाको छेउमा रिफिल स्टेसन बनाइएको छ । प्रशोधन केन्द्रले दिनको २ हजार केजी ग्यास उत्पादन गर्छ । दैनिक ४ सयदेखि ५ सय टेम्पोलाई ग्यास उपलब्ध गराउन सकिने अग्रवालले बताए । कम्पनीले पानवारीमा १ बिघा २ कठ्ठा जमिन खरीद गरेर प्लान्ट स्थापना गरेको छ । यो प्लान्ट सञ्चालनमा आएपछि धरानको फोहोर मैलाको दीर्घकालीन व्यवस्थापन हुने अपेक्षा गरिएको छ ।

वीरेन्द्रनगरमा फोहोर प्रशोधन केन्द्र निर्माण

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको उत्तरपश्चिमी क्षेत्र तारेभिरमा फोहोर व्यवस्थापन गर्न प्रशोधन केन्द्र निर्माण गरिएको छ । नगर क्षेत्रबाट संकलित लेदो फोहोरबाट प्रांगारिक मल उत्पादन गर्ने उद्देश्यले प्रशोधन केन्द्र निर्माण गरिएको हो । प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरमा प्रशोधन केन्द्र नहुँदा सेप्टिक ट्यांकीबाट निस्कने फोहोर व्यवस्थापन चुनौती बनेको थियो ।     दातृ संस्था एसएनभीले लेदो प्रशोधन केन्द्रको निर्माण तथा परीक्षण सम्पन्न गरेको हो । एसएनभी नेपालले सफल परीक्षणपश्चात् प्रशोधन केन्द्र सञ्चालनका लागि नगरपालिकालाई हस्तान्तरण गरेको छ । सन् २०१६ मा नगरपालिकाले एसएनभी नेपालको समन्वयमा सरसफाइ गुरुयोजना बनाएपछि प्रशोधन केन्द्रको निर्माण शुरू गरिएको थियो । वीरेन्द्रनगर–१ को कृष्ण सामुदायिक वन क्षेत्रस्थित ल्यान्डफिल साइटमा १ करोड ९७ लाख लागतमा प्रशोधन केन्द्र निर्माण भएको नगरपालिकाले बताएको छ । नगरपालिकाका अनुसार प्रशोधन केन्द्रबाट मिश्रित प्रांगारिक मल उत्पादन गरिनेछ भने नकुहिने फोहोरलाई नजिकैको ल्यान्डफिल साइटमा व्यवस्थापन गरिनेछ । काठमाडौंको नेपाल आदर्श निर्माण कम्पनी र सुर्खेतको दीपमाला इञ्जीनियरिङ कम्पनीले प्रशोधन केन्द्र निर्माणको जिम्मेवारी पाएका थिए । केन्द्रको प्रशोधन क्षमता प्रतिदिन १० घनमिटर रहेको छ भने दैनिक ५० घनमिटर दिसाजन्य लेदो र २ दशमलव ५ मेट्रिक टन ठोस फोहोर प्रशोधन गर्नेछ । एसएनभी नेपालका सुशासन सल्लाहकार मनिमा बुढाथोकीले प्रशोधन केन्द्र निर्माण वीरेन्द्रनगरको सरसफाइका क्षेत्रमा महŒवपूर्ण उपलब्धि भएको बताइन्  । रासस