पाल्पा । पाल्पाको तानसेनमा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । गाईको दूधबाट उत्पादित वार्षिक १० मेट्रिकटन छुर्पी निर्यात हुने गरेको छ । यहाँ उत्पादित छुर्पी पोखरा, काठमाडौं हुँदै अमेरिका निर्यात हुँदै आएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा. चन्द्रबहादुर रानाले बताए ।
अमेरिकामा कुकुरलाई आहाराका रूपमा खुवाउने गरिएकाले यहाँ उत्पादित छुर्पी काठमाडौंमा संकलन गरी अमेरिका पठाउने गरिएको उनको भनाइ छ । पाल्पा पछिल्लो वर्ष दूध र मासुमा आत्मनिर्भर बनेको छ ।
जिल्लामा उत्पादित भैंसीको दूधको खपत सहजरूपमा हुँदै आएको छ । गाईको दूधको माग न्यून हुँदा खपतमा समस्या भएपछि सहकारी तथा निजी डेरी छुर्पी उत्पादनमा आकर्षित भएका हुन् । तानसेन नगरपालिकाको बसपार्कका टीकाराम खरालले उत्पादित दूधले उचित मूल्य नपाएपछि इलाम गएर छुर्पी उत्पादन गर्न सिकेका थिए ।
स्थानीयस्तरमा उत्पादित गाईको दूध खपत गर्न कृषक खरालले २०७६ सालदेखि तानसेन नगरपालिका–७ काजीपौवा गोरस घर तथा जय किसान डेरी स्थापना गरेका थिए । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा चीज तथा छुर्पी उत्पादन गरिँदै आएको छ ।
उत्पादित दूध सहजरूपमा खपत गर्न जिल्लाका अन्य स्थानमा पनि छुर्पी उत्पादन हुन थालेको छ । ‘छुर्पी खाऊँ, सुर्ती हटाऊँ’ भन्ने अभियानका साथ सञ्चालित उद्योगले अहिले स्वदेशमै आम्दानीसँगै स्थानीयस्तरमा रोजगारीका अवसर सृजना गरेको छ ।
दूधको विविधीकरण गर्न थप जनशक्ति आवश्यक पर्ने भएकाले छुर्पी उद्योगमा २० युवाले रोजगारी पाएका छन् । दूधको नयाँ–नयाँ परिकार उत्पादनसँगै स्थानीयस्तरमा रोजगारीका अवसर सृजना भएको छ । जिल्लाको तानसेन र रामपुर नगरपालिकाभित्र सञ्चालित छुर्पी उद्योगबाट तीन हजार किसान लाभान्वित भएका छन् । रासस