जेठ १०, काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले सञ्चालन गर्न लागेको एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाई विक्रीको मिति तय गरेको छ ।
एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजनाको इकाई जेठ १९ गतेदेखि विक्री गर्ने भएको हो । प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई क्यापिटलले विक्री गर्न लागेको हो ।
सर्वसाधारणमा विक्री गर्न लागिएको कुल इकाईमध्ये बीज पूँजीबापत न्यूनतम १ करोड ५० लाख वा कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमा आउन लागेको हो ।
यस इकाई खरीदका लागि न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म माग गर्न पाउने व्यवस्था गरेको छ । यस इकाई खरीदका लागि जेठ २४ गतेसम्म आवेदन दिन सकिनेछ ।
उक्त अवधिमा माग बमोजिम आवेदन नपरेको अवस्थामा भने असार २ गतेसम्म आवेदन म्याद थप गर्न सकिने व्यवस्था क्यापिटलले गरेको छ । इकाई निष्कासन तथा विक्री प्रवन्धकको जिम्मेवारी क्यापिटल आफैले पूरा गर्नेछ ।
इच्छुक आवेदकहरुले विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् । बन्दमुखी प्रकृतिको यस योजना ७ वर्षमा परिपक्व हुनेछ ।