विभिन्न विरोधको नतिजास्वरूप कक्षा १२ को परीक्षा हाललाई रद्द भएको छ । अहिले देखिएको नयाँ भेरिएन्टले अवस्था केकस्तो हुनेबारे स्पष्ट खाका नबनिसकेको हुँदा जोखिम न्यूनीकरण गर्न यसबाहेक अन्य विकल्प थिएन । विद्यार्थीको पढाइ महत्त्वपूर्ण हो, परीक्षा पनि महत्त्वपूर्ण हो । परीक्षा भइहालेको भए अवस्था के कस्तो हुन्थ्यो त्यो कल्पनाभन्दा बाहिरको कुरा हो । हुन त, त्रिभुवन विश्वविद्यालयले यसै समयमा कतिपय परीक्षा सम्पन्न गरिरहेको छ । परीक्षा कोठामा खोक्ने, रुघा लागेका परीक्षार्थी पनि थिए । उक्त परीक्षा हलभन्दा बाहिर हुने भीडका बारेमा कसैको ध्यान गएको छैन । सबैको ध्यान परीक्षा सम्पन्न भएको कुरामा मात्रै छ । कक्षा १२ को परीक्षा पनि सोही प्रकृतिको हुनेमा कसैको दुई मत थिएन । तसर्थ हाललाई रद्द हुनुपर्ने थियो र भयो पनि ।
तर, विषय त्यहाँ टुंगिँदैन । विषय विकल्पको हो – परीक्षा रद्द गर्नु तत्कालीन समाधान भए पनि, दिगो समाधान अवश्य होइन । वैशाखमै सम्पन्न भएर नतिजा प्रकाशन हुनुपर्ने समयसम्म परीक्षा सम्पन्न नहुँदा विद्यार्थीमा वितृष्णा उत्पन्न हुन सक्छ । यसै पनि तल्लो तहबाट माथिल्लो तहसम्मको शैक्षिक यात्रामा बीचमै पढाइ त्याग्ने जमात बढी भएको हाम्रो जस्तो मुलुकमा यस प्रकारले परीक्षा व्यवस्थित नहुँदा उक्त खाडल झन् बढ्ने देखिन्छ । हुने खानेले विदेशमा पढ्ने, सामान्यले मात्र नेपालमै पढ्ने प्रवृत्ति झन् मौलाउने खतरा हुन्छ । यस कारण पनि विधिवत रूपमा परीक्षाको विकल्प सोच्न आवश्यक छ ।
कक्षा १२ का विद्यार्थीको १ वर्ष खेर जान नदिन हाललाई चार विकल्प देखिन्छ— आन्तरिक मूल्यांकनको आधारमा परीक्षा सम्पन्न गर्ने, गृहकार्य प्रदान गरी त्यसैलाई आधार बनाई उत्तीर्ण गराउने, अनलाइन परीक्षा वा सम्पूर्ण विद्यार्थीलाई भ्याक्सिन लगाई परीक्षा सम्पन्न गर्ने ।
आन्तरिक मूल्यांकनलाई आधार बनाइने विकल्प सहज देखिन्छ । यस प्रकारले विद्यार्थी उत्तीर्ण गराउँदा कम मेहनतमै विद्यार्थी उत्तीर्ण हुने र शिक्षाकै गुणस्तर खस्कने देखिन्छ । विद्यालयहरू पारदर्शी थिए भने आन्तरिक मूल्यांकन सहज विधि हुने थियो । तर, विद्यालयलाई आफ्नो नाममा आँच नआओस् बरु सबै विद्यार्थी पास हुन भन्ने सोचले सही मूल्यांकन गरेको देखिँदैन । विद्यार्थीको गुणस्तर, उनीहरूको शैक्षिक अवस्थाभन्दा पनि विद्यालय र शिक्षकको दृष्टिअनुरूप हुने यस्ता मूल्यांकनले न्याय गर्दैन ।
अर्को उपाय भनेको अनलाइन परीक्षा हो । हेर्दा, भन्दा र सुन्दा सहज भए पनि यो नेपाल जस्तो मुलुकलाई कठिन विषय हो । सबै उच्च माध्यमिक तह भएको विद्यालयमा अनलाइन विधिबाट परीक्षा गर्न सक्ने वातावरण नहुन सक्छ । विद्यार्थीसँग इन्टरनेटको पहुँच नहुन सक्छ जसले गर्दा यो हाललाई निकै चुनौतीपूर्ण विषय हो । तर, ग्रामीण भेगमा यो सोचेझैं सहज नहुने पक्षलाई बुझ्न आवश्यक छ । प्रविधिसँग पन्छिनुलाई उत्तम विकल्प पनि भन्न मिल्दैन । विश्व यति बेला प्रविधियुक्त हुँदै छ । नेपाली शिक्षाले पनि उक्त पाटोलाई आत्मसात गर्न सक्नुपर्छ । कोरोना विपद्लाई अवसर बनाएर अनलाइन परीक्षाको परीक्षणसमेत गर्न सकिन्छ । अहिले, हर एक स्थानीय तहमा इन्टरनेटको पहुँच पुगिसकेको छ । बैंकसमेत पुगेको स्थानीय तहमा इन्टरनेट नपुगेको भन्न मिल्दैन । स्थानीय तहका विद्यालयमा हरेक वर्ष बजेट विनियोजित हुँदा कम्प्युटरका लागि बजेट छुट्ट्याएको पाइन्छ । ल्याबसमेत धेरै ठाउँमा रहेको छ, यसैलाई आधार बनाई परीक्षा सञ्चालन गर्न समेत सकिन्छ । एकै पल्ट सबैको परीक्षा सम्भव नहोला, तर चरणबद्ध रूपमा भए पनि सञ्चालन गर्न सकिन्छ । प्रश्नपत्र धेरै निर्माण गर्नुपर्ने हुन्छ होला, तर परीक्षा नहुनुभन्दा यो एउटा विकल्प हो । यसमा थप बहस र विचार विमर्श आवश्यक पर्ने हुन्छ ।
त्यसैगरी गृहकार्यमा आधारित परीक्षा अर्को विकल्प हुन सक्छ । विदेशमा अभ्यासमा समेत रहेको यस विधिमा नेपाली शिक्षकले थप मेहनत गर्नुपर्ने हुन सक्छ र विद्यार्थीलाई समूह छुट्ट्याई फरक फरक प्रश्न वितरण गर्न सकिन्छ । एकआपसमा नमिल्ने गरी निश्चित समयमा घरमै बसेर उत्तर लेख्न सकिने यस विधिमा विद्यार्थीले पाठ्यक्रममा केकति बुझेका छन् त्यसको आधारमा प्रश्न दिन सकिन्छ । विद्यार्थीको बुझाइको आधारमा उनीहरूलाई अंक प्रदान गर्न सकिन्छ । यस प्रकारको परीक्षामा आफूभन्दा अग्रजसँग सहयोग माग्ने मुख्य चुनौती रहे तापनि, ठूलो समुदायलाई यस प्रकारले समेट्न समेत सकिन्छ । प्रश्न केन्द्रबाट गएर केन्द्रमै उत्तर मूल्यांकन गरेमा मात्र यसको सार्थकता झल्किन्छ । त्यहींको विद्यालयलाई अधिकार दिएमा औचित्य नरहन सक्छ ।
अन्तिम विकल्प भनको कोरोनाको भ्याक्सिन सम्पूर्ण विद्यार्थीलाई लगाइदिएर पुरानै ढाँचामा परीक्षा गर्ने हो । तर, त्यसको निमित्त गाउँगाउँको विद्यार्थीसमक्ष भ्याक्सिन पहुँच पु¥याउनुपर्ने हुन्छ । जुनै विकल्प छान्दा पनि केहि समय लाग्ने निश्चित छ । यस विषयमा पहिले नै बहस हुनुपथ्र्यो । तर, कोरोना संक्रमण कम हुनसाथ परीक्षा सञ्चालन गर्ने होडबाजीले फेरि अर्को लहर निम्तने खतराको मूल्यांकन भएन । अहिले, कक्षा १२ मात्र होइन, विभिन्न क्षेत्रका परीक्षामा अवरोध आइपरेको स्पष्ट देखिन्छ— एमबीबीएस प्रवेश परीक्षा होस्, लोक सेवा आयोगले लिने खुला वा आन्तरिक परीक्षा होस् या विद्यालयले लिने कक्षाकै परीक्षा । कोरोनाका कारण, अहिले साना बालबालिका विद्यालय जानबाट वञ्चित छन् । त्यसको प्रत्यक्ष असर उनीहरूको मानसिकतामा समेत देखिन थालिसकेको विभिन्न अध्यनले देखाएका छ । झर्किने, मोबाइल खेलाइ रहने, सामाजिक नहुनेजस्ता गुण देखा पर्न थालिसकेको छ । त्यसैगरी परीक्षा सञ्चालन नहुँदा उच्च शिक्षा वा रोजगारको निमित्त तयारीमा रहेकाहरूलाई पनि मार पर्न थालिसकेको छ । त्यसैले विकल्पबारे अग्रिम निर्णय आवश्यक छ । गतहप्ता एक निजी बैंकले आफ्नो प्रवेश परीक्षा अनलाइनमार्फत सम्पन्न गर्यो जसमा उल्लेखनीय सहभागिता थियो । यसै गरी अन्य क्षेत्रले समेत अब विकल्पमा ध्यान केन्द्रित गर्न आवश्यक छ ।
रेग्मी बैंकर हुन् ।