निफ्रा उर्जा ऋणपत्र धितोपत्र बजारमा सूचीकृत

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले मङ्सिर २९ गतेदेखि पुस १४ गतेसम्म विक्री गरेको उर्जा ऋणपत्र धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको छ । बैंकले सातवर्षे अवधिको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५/८६’ नामको ऋणपत्र विक्रीपश्चात् पुस २१ गते बाँडफाँट गरेको थियो ।  बैंकले कुल २२ लाख ८९ हजार ८१३ कित्ता ऋणपत्र फागुन ११ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको हो । निफ्रायूआर ८५/८६ स्टक सिम्बोलमार्फत सूचीकृत बैंकको ऋणपत्र आइतवारदेखि कारोबारयोग्य हुनेछ । सात वर्षमा परिपक्व हुने यो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्द्धवार्षिक र दोस्रो अर्द्धवार्षिक समाप्त भएपश्चात् कर कट्टा गरी भुक्तानी गरिने बैंकको भनाइ छ ।

सम्बन्धित सामग्री

फागुनमा थपियो ९२ करोडभन्दा बढी कित्ता धितोपत्र

काठमाडौं । धितोपत्र दोस्रो बजारमा फागुनमा मात्र ९२ करोड ४६ लाख ३ हजार ९७० कित्ता धितोपत्र थप भएको छ । धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले विभिन्न २८ कम्पनीको धितोपत्र फागुनमा सूचीकृत भएको जानकारी दिएको हो । यो महीना सबैभन्दा बढी बोनस शेयर सूचीकृत भएको छ । १९ कम्पनीको बोनस शेयर, एक कम्पनीको हकप्रद शेयर, तीन कम्पनीको मर्जर तथा प्राप्तिपछि कायम शेयर, तीन कम्पनीको साधारण शेयर (आईपीओ) र दुई कम्पनीको ऋणपत्र दोस्रो बजारमा थपिएको हो । फागुनमा साधारण शेयर जारी गरी युनिक नेपाल लघुवित्त, शुभम् पावर र सुपर मादी हाइड्रोपावर दोस्रो बजारमा प्रवेश गरेका हुन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जारी गरेको ७ प्रतिशत ब्याजदरको ‘निफ्रा उर्जा ऋणपत्र २०८५/८६’ र बैंक अफ काठमाण्डूले जारी गरेको बिओके डिबेन्चर २०८६ ‘क’ नामको ऋणपत्र पनि फागुनमै दोस्रो बजारमा सूचीकृत भएको हो । एक कम्पनीको हकप्रद भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको सूचीकृत भएको हो ।  फागुनमा धेरै कम्पनीको बोनस शेयर सूचीकृत हुँदा बजारमा विक्री चाप बढेको अनुमान ब्रोकरहरूले गरेका छन् । नयाँ कम्पनीहरू बजारमा भित्रिने क्रम निरन्तर भए पनि कम्पनीहरूको धितोपत्रमा माग बढ्न नसकेको जानकारी ब्रोकरहरूले दिएका छन् । बजार घटिरहेको अवस्थामा नयाँ कम्पनीको शेयर खरीदमा आकर्षित हुन नसक्नु स्वाभाविक भएको अनुमान उनीहरूको छ ।  नियामक निकाय नेपाल धितोपत्र बोर्डले भने प्राथमिक बजारमा आईपीओ निष्कासन प्रक्रियालाई खाली नबनाई अनुमति प्रक्रियालाई निरन्तरता दिएको छ । यो प्रक्रियाले बजारमा धितोपत्रको आपूर्तिले भने निरन्तरता पाउने देखिन्छ । सूचीकृत कम्पनीहरूको मूल्य माग र आपूर्तिको आधारमा निर्धारण हुने भएकाले लगानीकर्ताले धितोपत्रको आपूर्तिसँगै माग बढ्ने खालको नीतिमा जोड दिन नियामकलाई अनुरोध गरेका छन् ।  फागुनमा नेप्सेमा धितोपत्र सूचीकृत गर्ने कम्पनी

धितोपत्र दोस्रो बजारमा ऋणपत्रको कारोबार नगन्य

काठमाडौं । धितोपत्र दोस्रो बजारमा ऋणपत्रको कारोबार नगन्य देखिएको छ । धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइटलाई आधार मान्दा हाल विभिन्न कम्पनीको ६५ ओटा ऋणपत्र सूचीकृत छन् । वाणिज्य बैंकहरूलाई आफ्नो चुक्तापूँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था लागू भएसँगै ऋणपत्र निष्कासनले तीव्रता पाइरहेको छ । वाणिज्य बैंकहरूले मात्र हैन, लगानी समूहअन्तर्गतका कम्पनीसँगै केही फाइनान्स कम्पनीले समेत ऋणपत्र निष्कासन गरी धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएका छन् ।  निश्चित अवधि र निश्चित ब्याजदर तोकेर निष्कासनमा आउने ऋणपत्र खरीदविक्रीका लागि दोस्रो बजारमा पनि सूचीकृत हुने गरेको छ । सूचीकृत ऋणपत्रको संख्या धेरै भए पनि कारोबार भने नगन्य रूपमा हुने गरेको तथ्यांकले देखाउँछ ।  चैत १ गतेको कारोबारमा २५३ कम्पनीको रू. १ अर्ब २० करोड २१ लाख ४१ हजार बराबरको ३७ लाख १६ हजार ६८४ कित्ता धितोपत्र कारोबार भएको छ । कुल कारोबारमा ऋणपत्रको हिस्सा सबैभन्दा कम रहेको हो । नेप्सेका अनुसार चैत १ गते आठ कम्पनीको रू. ५ लाख २३ हजार ८२४ बराबरको ६०२ कित्ता ऋणपत्र मात्र कारोबार भएको छ । जुन कुल कारोबारमा प्रतिशतको हिसावमा शून्य दशमलव शून्य ४ प्रतिशत हुन आउँछ ।  बुधवार ८ दशमलव ५ प्रतिशत रहेको बिओके डिबेञ्चर २०८६, १० दशमलव ५० प्रतिशत ब्याजदर रहेको सेञ्चुरी डिबेञ्चर २०८८, ८ दशमलव ५ प्रतिशत ब्याजदर रहेको एभरेष्ट बैंक डिबेञ्चर २०८६, ८ दशमलव ५ प्रतिशत नै ब्याजदर रहेको ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०८६÷८७, १२ प्रतिशत ब्याजदर रहेको गुडविल फाइनान्स लिमिटेड डिबेञ्चर २०८३, ८ दशमलव ५ प्रतिशत ब्याजदर रहेको नेपाल बैंक डिबेञ्चर २०८७, ७ प्रतिशत ब्याजदर रहेको निफ्रा उर्जा ऋणपत्र २०८५÷८६ र १० प्रतिशत ब्याजदर रहेको प्राइम डिबेञ्चर २०८८ को कारोबार भएको छ ।  कारोबारमा आएका डिबेञ्चरमध्ये गुडविल फाइनान्सको ऋणपत्र प्रतिकित्ता रू. १ हजार ७ सम्मको मूल्यमा कारोबार भएको देखिन्छ । यस दिन निफ्रा उर्जा ऋणपत्र पनि प्रतिकित्ता रू. १ हजार मूल्यमा कारोबार भएको छ । प्राथमिक बजारमा प्रतिकित्ता रू. १ हजारमा खरीद गरेको ऋणपत्र दोस्रो बजारमा खरीद मूल्यभन्दा कममा कारोबार गरेको देखिन्छ । बुधवारको कारोबारमा निफ्रा र गुडविल फाइनान्सको ऋणपत्रबाहेक अन्यको ऋणपत्र प्राथमिक बजारमा खरीद गरेको मूल्यभन्दा कम मूल्यमा लगानीकर्ताले विक्री गरेका छन् ।  नियामक निकाय नेपाल धितोपत्र बोर्डले धेरै वर्षदेखि आफ्नो नीति तथा कार्यक्रममा ऋणपत्रको बजार विस्तारको योजना समेट्दै आए पनि त्यसले पूर्णता भने पाउने नसकेको अवस्था छ । अन्य धितोपत्रको तुलनामा ऋणपत्रको कारोबार सहज रूपमा नहुने भएकाले पनि लगानीकर्ताहरू नगन्य देखिएको बताउँछन् । अनुभवी लगानीकर्ता दुर्गा तिवारीले बजारमा ऋणपत्र सूचीकृत भई लगानीयोग्य औजारको विकास भए पनि त्यसको कारोबारका लागि सहजता नभएको बताइन् । लगानीकर्तामा साधारण शेयरको तुलनामा ऋणपत्रको जानकारी कम भएर पनि कारोबार कम भएको भनाइ तिवारीको छ । ऋणपत्र सार्वजनिक निष्कासनमा आउँदा साधारण शेयर सम्झेर आवेदन दिएको गुनासो लगानीकर्ताबाट आउने गरेको समेत तिवारीले जानकारी दिइन् । आम लगानीकर्ताको हकहितका लागि नेपाल इन्भेष्टर्स फोममा महासचिवको जिम्मेवारी पूरा गरिरहेकी तिवारीले बजारमा थपिएका धितोपत्रको बारेमा आम लगानीकर्ता जानकार हुन आवश्यक रहेको बताइन् । ऋणपत्रको कारोबारका सम्बन्धमा सहज तरीकाले कारोबार गर्ने वातावरण बन्नुपर्नेमा तिवारीले जोड दिएकी छन् ।