वैशाख ३०, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको कुल बीमाशुल्क आर्जन गत आवको तेस्रो त्रैमासको तुलनमा चालू आवको सोही अवधिमा २१ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीले गत आवमा कुल रू. १ अर्ब ९९ करोड बीमाशुल्क आर्जन गरेकोमा चालू आवमा बढेर रू. २ अर्ब ४३ करोड पुगेको हो ।
त्यसैगरी कम्पनीको नाफा भने गत आवको तुलनामा चालू आवमा सामान्य बढेको छ । कम्पनीले गत आवमा रू. २८ करोड ५४ लाख नाफा कमाएकोमा चालू आवमा रू. २८ करोड ७१ लाख पुगेको हो । कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ११ करोड रहेको छ भने जगेडामा रू. ६० करोड ८६ लाख सञ्चित गरेको हो ।
चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले बीमा कोषमा रू. १ अर्ब १८ करोड जम्मा भएको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३४ दशमलव ४५, मूल्य आम्दानी अनुपात ३७ दशमलव ९०, तरलता अनुपात ३ दशमलव ८२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २७१ रहेको छ ।