काठमाडौं। प्रसिद्ध उद्योगपति बनवारीलाल मित्तलको सम्झनामा पुस्तक प्रकाशित भएको छ । ‘बनवारीलाल मित्तल एक प्रेरणा पुरुष’ शीर्षकको उक्त पुस्तक बनवारीलाल मित्तल स्मृतिग्रन्थ प्रकाशन समितिले हालै प्रकाशित गरेको हो । १९९२ चैत १९ मा जन्मिएका मित्तलको निधन २०७२ मङ्सिर ९ गते भएको थियो । पुस्तकमा मित्तलको पारिवारिक अवस्थादेखि उनले नेपालको औद्योगिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरिएको छ । पूर्वप्रधानमन्त्री, मन्त्री, उच्चपदस्थ कर्मचारी, सञ्चारकर्मी, उद्योगपति, सुरक्षा निकायका अधिकारीलगायतले बनवारीलालले नेपालको औद्योगिक क्षेत्र र समग्र अर्थतन्त्रमा पुर्याएको योगदानको आ–आफ्नो तरीकाले व्याख्या गरेका छन् ।
औद्योगिक क्षेत्रको माध्यमबाट नेपाली अर्थतन्त्रको विकासमा विभिन्न किसिमले योगदान गरेकाले उनीप्रतिको बुझाइ पनि फरकफरक हुनु स्वाभाविक हो । पूर्वप्रधानमन्त्री झलनाथ खनालले बनवारीलाललाई सफल उद्यमीको रूपमा सम्झेका छन् । उद्योगी पवनकुमार सारडाले बनवारीलाललाई दूरदर्शी विश्लेषक, वसन्त चौधरीले असाधारण व्यक्ति, शेखर कोइरालाले औद्योगिक एवं व्यापारिक क्षेत्रका चम्किला नक्षत्र र हिमालय शमशेर राणाले अर्थनीतिका जानकारको रूपमा व्याख्या गरेका छन् ।
पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विचार र व्यवहारमा एकरूपता भएको व्यक्ति, न्यू बिजनेश एज तथा आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले बिर्सनै नसकिने व्यक्ति र राधेश्याम सर्राफले निडर लिडरको रूपमा बनवारीलाललाई सम्झेका छन् ।
बनवारीलालले आफ्ना उद्योग व्यवसायको वृद्धि र विकासमा मात्र होइन, विभिन्न सामाजिक संघसंस्थामा रहेर समाजमा पुर्याएको योगदान स्मरणीय छ । उनले नेपाल चेम्बर अफ कमर्सको दुई कार्यकाल (२०४६ देखि २०५० सालसम्म) नेतृत्व गरेका थिए । उनकै कार्यकालमा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दरकुमार गुजरालले चेम्बर अफ कमर्सको सभामा सम्बोधन समेत गरेका थिए । यसबाट विदेशका उच्च राजनीतिक तहसँग पनि उनको सम्बन्ध रहेको देखिन्छ । भूराजनीतिक द्वन्द्वात्मक अन्तरराष्ट्रिय सम्बन्ध, अत्यन्त कठिन अवस्थाबाट आर्थिक क्षेत्रलाई सफलतापूर्वक दिशानिर्देश गर्न अध्यक्षको हैसियतमा बनवारीलालले निर्वाह गरेको भूमिका र सहजीकरणलाई चेम्बरका पदाधिकारीहरू अझै पनि सम्झन्छन् । आँखा बैंक, ब्लड बैंक स्थापना, दुर्गममा खाद्यान्न ढुवानी, दैवी प्रकोप उद्धार एवं राहत कार्यमा पनि उनले योगदान गरेका थिए ।
उद्यमशीलताका बहुविधाबाट बनवारीलालको व्यावसायिक जीवन प्रारम्भ भएको थियो । मित्तल एण्ड कम्पनी स्थापना गरी उनी नेशनल ट्रेडिङका अधिकृत विक्रेता बनेका थिए । उनले कन्स्ट्रक्सन कम्पनी स्थापना गरी सडक, जलविद्युत्, सिँचाइलगायत पूर्वाधार विकासका क्षेत्रमा समेत उल्लेख्य काम गरेका छन् । ‘क’ वर्गको निर्माण व्यवसायी समेत रहेका उनी नेपाल निर्माण व्यवसायी महासंघको संस्थापक अध्यक्ष समेत हुन् । त्यति मात्र नभई उनले पश्मिना, गलैंचा, तयारी पोशाक र चिया विदेश निर्यात तथा श्री एयरको स्थापना गरेका थिए । श्री एयर कम्पनीको स्थापना गर्दा उनी ६४ वर्षका थिए ।
उक्त पुस्तकको अध्ययनबाट नेपालको तत्कालीन औद्योगिक अवस्थाको बारेमा जानकारी पाइनुका साथै बनवारीलालको योगदानबारे छर्लङ्ग हुन्छ । विशेषगरी नेपालमा उद्योग व्यवसायको विकासबारे जान्न चाहने जो कोहीका लागि सो पुस्तक उपयोगी छ । पुस्तकमा समाजका लब्ध–प्रतिष्ठित व्यक्ति मात्र नभई स्वयम् बनवारीलाल र उनको घरपरिवारका सदस्यले लेखेका लेख पनि समेटिएका छन् । पुस्तक ६८२ पृष्ठको छ ।