माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माण तीव्र

रसुवा । रसुवा जिल्लाको सबैभन्दा ठूलो माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले आफ्नो निर्माण तीव्ररूपमा अघि बढाएको छ । त्रिशूली नदीको पानी सदुपयोग गर्दै आमाछोदिङ्मो गाउँपालिका–१ र उत्तरगया गाउँपालिका–१ को हाकु पाखाको जमिनलाई आधार बनाई भूमिगत संरचनाबाट २१६ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न लागिएको हो । धुञ्चेको पुछार भोटेकोशीमा बाँध बाँधेर ९ दशमलव ७ किमी सुरुङको सहायताले मैलुङ दोभानमा पानी पुर्‍याई विद्युत् उत्पादन गरिनेछ । रू.  ५५ अर्बको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिई प्रारम्भिक अध्ययन भएको १० वर्षपछि नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले दुई महीनादेखि पूर्णरूपमा निर्माण अगाडि बढाएको हो । आर्थिक स्रोत व्यवस्थापन, वातावरण तथा भौगर्भिक अवस्थाको अध्ययन, नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरीदविक्रीको सम्झौता, बाह्य संरचनाअन्तर्गत आवास तथा पहुँच मार्गको निर्माणलगायत काम पूरा गरी सुरुङ निर्माण अगाडि बढाइएको छ । सदरमुकाम धुञ्चे पुछार भोटेकोशीमा १०९ मिटर लम्बाइ, ३० दशमलव ८ मिटर चौडाइ र २९ दशमलव ५ मिटर उचाइ भएको बाँध, ६ दशमलव ७ मिटर व्यास र ९ दशमलव ७ किलोमिटर लम्बाइको हेडरेस सुरुङ निर्माण हुने आयोजनाका प्राविधिक निर्देशक गिरिराज अधिकारीले बताए । सुरुङ निर्माणअन्तर्गत ९० डिग्री भिरालो आकारमा २९२ मिटर लामो पेनस्टक तथा २४१ मिटरको टेलरेस सुरुङ निर्माण हुनेछ । नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीको आफ्नो आन्तरिक स्रोतबाट ३० प्रतिशत र ९ विदेशी बैंक तथा वित्तीय संस्थाको ७० प्रतिशत ऋण प्रवाह गर्ने सम्झौता भएको छ । रासस

सम्बन्धित सामग्री

जलविद्युत्को प्रभाव प्रतिवेदन सार्वजनिक

रसुवामा निर्माण भइरहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना (२१६) बारे तयार पारिएको अध्ययन प्रतिवेदन (नेपाली र तामाङ दुवै भाषामा) सार्वजनिक गरिएको छ।...

माथिल्लो त्रिशूली १ मा ठूलो वैदेशिक लगानी, लगानीकर्तासँग सम्झौता आज

जलविद्युत् आयोजनामा हालसम्मकै सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी ल्याउने गरी माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना निर्माणका लागि ऋण लगानीकर्ताको टुङ्गो लागेको छ ।