गलेश्वर । म्याग्दीका ग्रामीण भेगका किसानलाई भिरालो पाखो वा खेतबारीका डिलमा लगाइने अम्रिसो आम्दानीको बलियो स्रोत बनेको छ ।
पछिल्लो समय अम्रिसोको मूल्य बढ्दै गएपछि यहाँका किसानमा उत्साह थपिएको छ । दुई वर्षअघि प्रतिकिलो रू. ४० का दरले मुस्किलले विक्री हुने गरेको अम्रिसो अहिले प्रतिकिलो रू. १२५ मा विक्री हुन थालेपछि यहाँका किसान उत्साहित भएका हुन् ।
यसको मूल्यमा घटबढ भइरहे पनि यो वर्ष प्रतिकिलो रू. १०० देखि रू. १२५ सम्ममा किसानबाट व्यवसायीले खरीद गरिरहेका छन् । अम्रिसोको व्यापार गर्दै आएका यामबहादुर सापकोटाले प्रतिकिलो रू. १२५ सम्म लगाएर सात क्विन्टल अम्रिसो जम्मा गरेका छन् ।
उनी बेनी, बागलुङ र पोखरासम्म पुर्याएर अम्रिसो बेच्ने गर्छन् । यस वर्ष अम्रिसोको मूल्य केही बढ्न सक्ने अनुमान गरेको सापकोटा बताउँछन् । अम्रिसो पोखरासम्म पुर्याउँदा गत वर्ष रू. १४० मा विक्री गरेका उनले यस वर्ष भने रू. १६० सम्ममा विक्री हुने अनुमान गरेका छन् ।
पछिल्लो समय भारतमा अम्रिसोको माग बढेपछि मूल्य वृद्धि भएको व्यवसायीहरूको भनाइ छ । कुनै समय विक्रीका लागि नभई घाँस र कुचोका लागि अम्रिसो रोप्ने पहाडी क्षेत्रका किसानले बजार र मूल्य पाउन थालेपछि व्यावसायिकरूपमै खेती गर्न थालेका छन् ।
अम्रिसोको डाँठलाई दाउराका रूपमा र पातलाई घाँसका रूपमा प्रयोग गर्ने किसानले फुलेको भागलाई निकालेर कुचोका रूपमा विक्री गर्दै आएका छन् । बहुउपयोगी अम्रिसोले राम्रो मूल्य पाउन थालेकाले पहाडी भेगका किसानमा उत्साह थपिएको छ ।
अन्नबालीका लागि उपयोग हुन नसक्ने भिरालो पाखो जमीनमा समेत अम्रिसो खेती गर्न सकिन्छ । हिउँदका समयमा अन्य घाँसपात नहुँदा अम्रिसोको पात गाईवस्तुका लागि निकै उपयोगी हुन्छ । ग्रामीण भेगसम्म यातायातको पहुँच पुगेपछि यसको व्यावसायिक खेती बढेको हो ।
गुणस्तरीय जीवन विषयमा विधावारिधि गरेका डा. माधवप्रसाद तिवारीका अनुसार अम्रिसोको स्थानीय नाम अम्रिसो तथा कुचो घाँस हो । यसको अंग्रजी नाम ब्रुम ग्रास, टाइगर ग्रास र वैज्ञानिक नाम थाइसेनोलीमा मेक्जिमा हो ।
ग्रेमिनी-पोएसी वानस्पतिक परिवारमा पर्ने यो बहुवर्षीय घाँस प्रजातिको बिरुवा तीन मिटरसम्म अग्लो हुने गर्छ । यसका पातहरू ३० सेन्टिमिटरसम्म लामो र पाँच सेन्टिमिटर चौडा हुन्छन् । यसका पातहरू बाँसका पातजस्ता आकारका हुन्छन् । मुख्यतः यसको फूलको झुप्पा कुचो बनाउन प्रयोग गरिने भएकाले यसको महत्त्व बढेको हो ।
बिरुवा रोपेको आठ महिनादेखि नै यसले उत्पादन दिन सुरु गर्छ । प्रायः कुचो बनाउनका लागि अम्रिसोको प्रयोग गरिए पनि कागज कारखानामा कच्चापदार्थका रूपमा, गाईवस्तुका लागि डालेघाँस, बायो इञ्जिनीयरिङका लागि माटो तथा जलसंरक्षण गर्ने क्षेत्रमा पनि प्रयोग हुन्छ ।
अम्रिसोको बिरुवा वर्षाका बेला रोप्नु उपयुक्त हुन्छ । बिरुवा रोपिसकेपछि यसलाई अरू बालीजस्तो नियमित सिँचाइ वा स्याहारसम्भारको आवश्यकता पर्दैन ।
एकपटक रोपिसकेपछि आफैं राम्रोसँग हुर्कन सक्ने अम्रिसो रोपेको एक महिनापछि एकपटक र त्यसको पहिलो वर्ष थप दुई पटकसम्म गोडमेल गरेमा राम्ररी सप्रन सक्छ । यसलाई राम्रोसँग व्यवस्थापन गर्न सके अम्रिसोबाट छ देखि १० वर्षसम्म निरन्तर उत्पादन लिन सकिन्छ ।
अम्रिसोको बाली संकलन भनेको यसको फूलको गुच्छा टिप्ने हो । बीउ परिपक्व भएपछि गुच्छा संकलन गर्दा बीउ भुइँमा झरी पुनः उत्पादनमा पनि सघाउ पुग्छ ।
साधारणतया माघ-फागुनमा गुच्छासहितको डाँठ काटेर संकलन गरिन्छ र घामको प्रकृति हेरी चारदेखि सात दिनसम्म सुकाएर मुठा पारी कुचो बनाई घरायसी तथा व्यापारिक प्रयोजनमा प्रयोग गर्न सकिने वन डिभिजन कार्यालयका वन तथा वातावरण विज्ञ चन्द्रमणि सापकोटा बताउँछन् । -रासस