काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी शुक्रवार रू. १० अर्बको आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकले ८ वर्ष अवधिको विकास ऋणपत्र २०८८ ‘घ’ बोलकबोल माध्यमबाट विक्री गरेर १० अर्ब आन्तरिक ऋण उठाउन लागेको हो ।
विकास ऋणपत्र आगामी बिहीवार अपराह्न ३ बजेसम्म बोलकबोल हुनेछ भने शुक्रवार निष्कासन हुने राष्ट्र बैंकले जानकारी दिएको छ । यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरीद गर्न सक्नेछन् ।
यो ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइने राष्ट्र बैंकले जनाएको छ । विसं २०८८ असोज २६ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याज अर्धवार्षिकरूपमा भुक्तानी हुनेछ । आर्जित ब्याजमा भने ब्याज कर लाग्नेछ ।
प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई विक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।
घटीमा रू ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमा नबढाइ रू ५० हजारले भाग लिँदा निशेष भाग जाने अङ्कमा ऋणपत्र खरीद गर्न पाइनेछ ।