काठमाडौं । नेपाल चेम्बर अफ कमर्शको पदाधिकारी टोलीले नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना दिएको छ । बिहीवार राष्ट्रपति कार्यालयमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितको पदाधिकारी टोलीले राष्ट्रपति पौडेललाई भेटेर बधाई एवं शुभकामना दिएको हो ।
चेम्बर पदाधिकारीसँगको भेटमा राष्ट्रपति पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्थाले आफूलाई चिन्तित बनाएको बताउनुभएको थियो । जोखिमयुक्त आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी पूरा गर्नुपर्ने उहाँको भनाइ थियो । वर्तमान संकट समाधान गर्न सरकार र निजीक्षेत्र मिलेर काम गर्न पौडेलले सुझाव दिनुभयो । मुलुकभित्र उत्पादन वृद्धि एवं रोजगारी सृजना गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा उहाँको जोड थियो ।
भेटमा चेम्बर अध्यक्ष मल्लले आर्थिक विकास र समृद्धिमा राष्ट्रपतिबाट पथ प्रदर्शन हुनेमा आफूहरू विश्वस्त रहेको बताएका थिए । बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको उनको भनाइ थियो । पछिल्लो समय उच्च ब्याजदरका कारण उद्यमी व्यवसायी एवं सर्वसाधारणमा गम्भीर असर परेको उनले बताए । अर्थतन्त्रलाई चलायमान बनाउन एकल अंकको ब्याजदर कायम गर्नुपर्ने भन्दै उनले बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिए ।