माथिल्लो तामाकोशी आयोजनाको परामर्शदाता नर्वेको नरकन्सल्ट र जर्मनीको लेहमेयर इन्टरनेशनललाई तीन हप्ताभित्र नियुक्त गर्ने गरी तयारी भएको छ । दुई हप्ताअघि दुवै कम्पनीलाई पत्र पठाएर परामर्शदाता नियुक्तिबारे छलफलका लागि बोलाइएको थियो । यसका लागि दुवै कम्पनीका प्रतिनिधि भोलि (मंगलवार) नेपाल आउन लागेको आयोजनाका प्रबन्ध सञ्चालक भोजराज रेग्मीले अभियानलाई जानकारी दिए । यी दुई कम्पनीले संयुक्त रूपमा परामर्शदाताका लागि प्रस्ताव पेश गरेका थिए ।
विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक तथा आयोजना अध्यक्ष डा. जीवेन्द्र झाको संयोजकत्वमा गठित वार्ता कमिटीले दुवै कम्पनीका प्रतिनिधिहरूसँग एकदुई दिनभित्रै छलफल शुरू गर्ने रेग्मीले बताएका छन् । ‘हामी सकारात्मक नै छौं, उनीहरू पनि इच्छुक देखिएकाले यही हप्ताभित्र वार्ता निष्कर्षमा पुग्छ भन्ने विश्वास छ,’ झाले भने । वार्ता सफल भएमा आगामी तीन हप्ताभित्र परामर्शदातामा नियुक्त गर्ने गरी उनीहरूसँग सम्झौता हुने रेग्मीले बताए । आयोजनाको परामर्शदाता हुन पाँच कम्पनीले चासो देखाए पनि तीन वटा मात्र प्रस्ताव आएको थियो । तीमध्ये सबैभन्दा मितव्ययी प्रस्ताव पेश गरेको नरकन्सल्ट र लेहमेयर परामर्शदाताका लागि सबैभन्दा योग्य ठहरिएका छन् । अन्यभन्दा उनीहरूको प्रस्ताव प्राविधिक रूपले उत्कृष्ट देखिएको बताइएको छ ।
वर्ष ५ अंक ५३, २०६७, भदौ १४–२०