प्रांगारिक खेतीका उत्पादनसँग उपभोक्ता आकर्षित हुन थालेपछि नेपालमा यसबारे बहस र पहल हुन थालेको छ । खासगरी रासायनिक मल र विषादीको अत्यधिक प्रयोगबाट स्वास्थ्यमा गम्भीर असर पर्ने विश्लेषण हुन थालेपछि प्रांगारिक खेती र मलको चर्चा चुलिन थालेको हो ।
तर, नेपालमा प्रांगारिक मल र खेतीका नाममा कतिपयले सरकारी अनुदान पचाएका छन् भने थोरैले मात्रै यसमा साँच्चिकै काम गरेका छन् । यसै क्रममा राष्ट्रिय खाद्य बैंक लिमिटेडले प्रांगारिक मल कारखाना खोल्ने तयारी गरेको छ । ठूलो कम्पनी र समाजका प्रतिष्ठित व्यक्ति संलग्न व्यक्तिहरूको सक्रियतामा कारखाना खोल्ने तयारी भएकाले यसमा काम होला भन्ने आशा गर्न सकिन्छ ।
मुलुकमा रासायनिक मल र विषादीको आयात र प्रयोग बढ्दो छ । विषादी परीक्षणको भरपर्दो प्रणाली नबनिसकेकाले उपभोक्ताहरू विषादीयुक्त तरकारी, फलफूल र खाद्यान्न खान बाध्य छन् । त्यसैले यसको विकल्पमा अहिले प्रांगारिक खेती र मलप्रति आकर्षण बढेको हो । यस क्षेत्रमा लगानी पनि बढेको छ । प्रांगारिक खेतीबारे स्पष्ट नभएको अवस्थामा प्रांगारिक मल कारखाना खोल्नु आर्थिक दृष्टिकोणले कत्तिको उपयुक्त हुन्छ भन्न सकिन्न । प्रांगारिक मलका लागि गुणस्तर निर्धारणको प्रावधान र मापदण्ड केकस्ता छन् भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ । गुणस्तरको मापदण्ड परिवर्तन गर्नुपर्ने पनि हुन सक्छ । अहिले कौसीखेती गर्नेहरूले प्रांगारिक खेतीको बखान गर्ने गरेको पाइन्छ । सानो परिमाणमा प्रांगारिक खेती हुने गरे पनि ठूलो परिमाणमा भने भएको पाइँदैन । त्यसैले प्रांगारिक मलको कारखाना खोल्दा यी पक्षमा पनि ध्यान दिनु जरुरी हुन्छ ।
प्रांगारिक मलको प्रयोग गर्दा रासायनिक मल प्रयोग गरेको भन्दा कम उत्पादन हुन्छ । त्यस्तै यसको बजार पनि ठूलो छैन । केही शहरी क्षेत्रमा यस्तो उत्पादनको माग भए पनि समग्र मागको दाँजोमा यो निकै कम छ । प्रांगारिक मलको प्रयोग गरिएको उत्पादन महँगो हुने भएकाले पनि बजार साँघुरो देखिन्छ । त्यसैले प्रांगारिक खेती सविकल्प अघि बढाइनु उपयुक्त हुन्छ । र, अहिले खाद्य कम्पनीले शुरू गर्न खोजेको प्रांगारिक मलको उत्पादन सफल हुनुपर्छ । अब पनि यस्तो उत्पादनमा सफलता नमिल्ने हो भने निराशा हात लाग्न सक्छ ।